कानुनबमोजिम तोकिएको अधिकार क्षेत्र प्रयोग गरेर काम गर्छु : महानगरका निमित्त प्रहरी प्रमुख

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

I work using the jurisdiction prescribed by law: Chief of Police on behalf of the metropolis

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे ६ महिनका लागि निलम्बनमा परेसँगै महानगरका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी उक्त जिम्मेवारीमा आएका छन् । ३२ वर्षअघि महानगर सेवामा प्रवेश गरेका जोशीले यसअघि विपद् व्यवस्थापन र महानगर प्रहरी प्रमुख भएर पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । त्यसलगत्तै उनी निलम्बनमा परेका हुन् ।

खासगरी फुटपाथमा व्यापार गर्ने, साइकल वा ठेलामा फलफूल लगायतका सामान बेच्नेदेखि थर्मसमा चिया बेच्दै हिँड्नेहरुमाथि निर्मम रुपमा प्रस्तुत भएका पाण्डे निलम्बनमा परेसँगै जिम्मेवारीमा आएका जोशीले महानगर प्रहरीको नेतृत्व कसरी गर्लान् ? अनि उनको कार्यकालमा महानगर प्रहरीको सार्वजनिक छवि यसअघिकै दिनमा जस्तो होला कि बदलिएला ? यिनै विषयको सेरोफेरोमा कान्तिपुरकर्मी नुमा थाम्सुहाङले प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीसँग गरेको कुराकानी :

बुधबारदेखि तपाईं काठमाडौं महानगरको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएको छ । अब कसरी काम गर्नुहुन्छ ? 

मैले यसअघि पनि दुई वर्ष (२०७४ र २०७५ साल) महानगरको प्रहरी प्रमुख भएर काम गरिसकेको छु । त्यतिबेलाको र अहिलेको समयमा केही परिवर्तन छ । त्यसलाई मिलाएर लैजाने र कानुनबमोजिम तोकिएको अधिकार क्षेत्र प्रयोग गरेर काम गर्ने हो ।

महानगर प्रहरी ऐन, २०८० मा काम गर्दा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखसँग समन्वय गर्नुपर्ने उल्लेख छ । तर यसअघिका प्रहरी प्रमुखले ऐनविपरीत काम गरेकाले स्पष्टीकरण सोधेर निलम्बन गरेको भनिएको छ । केही भन्नुहुन्छ ? 

उहाँको विषयमा के हो ? कस्तो हो ? मलाई थाहा छैन । म बोल्न पनि चाहन्नँ । काम गर्ने आफ्नो शैली र तरिका हुन्छ । मलाई कानुनले कति अख्तियारी दिएको छ त्यसैको आधारमा मैले काम गर्ने हो ।

अहिले तपाईँले निलम्बनको ६ महिने अवधिका निम्ति जिम्मेवारी पाउनुभएको छ । यो बीचमा तपाईंको कार्यकाल कस्तो हुन्छ ? 

यो ६ महिनामा महानगर प्रहरी बलले दैनिक रूपमा गर्ने काम र भैपरी आउने फैसला कार्यान्वयनहरू, नीति निर्देशन, समयसापेक्ष परिवर्तन भइरहने कुराहरू नै गर्नेछु । आज गर्नुपर्ने काम भोलि गर्नु नपर्ला अथवा केही दिनहुँ गर्नुपर्ने काम पनि छन् । त्यसलाई मिलाएर काम गर्दै जाने हो । 

कबाड व्यवसायी र फुटपाथ व्यवसायीको सन्दर्भमा के गर्नुहुन्छ ? 

त्यो हाम्रो नियमित काम हो । यो ऐनमा व्यवस्था भएको विषय हो । निषेध गरिएको कुनै पनि काम गर्न पाइँदैन । यसमा वर्कसप, कबाड व्यवसाय, सार्वजनिक शौचालयको अनुगमन, दैनिक फोहोरमैलाको कुरा, फुटपाथ अतिक्रमण, फुटपाथ र सडकमा खाल्डो बनाउनेजस्ता नियमित काम हुन् । जुन हामी गरिरहन्छौं । 

यसअघि पनि तपाईँ महानगर प्रहरीको प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । पहिले र अहिले के भिन्नता पाउनुहुन्छ ?

जनशक्ति र स्रोत, साधन, नेतृत्व हरेक किसिमले फरक छ । त्यतिबेला अर्कै नेतृत्व हुनुहुन्थ्यो भने अहिले अर्कै हुनुहुन्छ । अब कर्मचारी, स्रोतसाधन फरक ढंगले छ । फरक यति हो हामी मानिस त्यही नै हौं । जिम्मेवारी आफ्नो ठाउँमा छ । मलाई यसले खासै तात्विक भिन्नता राख्दैन ।

कान्तिपुर

Link copied successfully