‘कमिसन मागेको पुष्टि गर्न चुनौती दिन्छु’

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

”I challenge you to confirm that you asked for commission”

जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि कमिसन मागिएको आरोप लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) फेरि विवादमा परेको छ । २२ महिनायता करिब ८९ कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत् प्रवर्द्धकहरूले छानबिनको माग गरेका छन् । तर, सेबोन र सरकारले यो मागलाई संवेदनशील रुपमा लिएका छैनन् ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले आईपीओ अनुमतिमा ढिलाइ र बिचौलियाको बिगबिगीले पारेको असरबारे मंगलबार छलफल गरेका छन् । कमिसन माग्ने बिचौलियासँग सामूहिक प्रतिवाद गर्नुपर्ने अवस्था आएको ऊर्जा प्रवर्द्धकहरूको निष्कर्ष छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन्। अध्यक्ष श्रेष्ठसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी : 

जलविद्युत् प्रवर्द्धकले २२ महिनासम्म पनि आईपीओ अनुमति नपाएको गुनासो गरिरहेका छन्, किन रोक्नुभएको हो ? 

म अध्यक्ष भएको पाँच महिना भएको छ । २२ महिनासम्म किन रोकियो भन्ने जवाफ दिन सक्दिनँ । पाँच महिनामा आठ कम्पनीले आईपीओ अनुमति पाएका छन् । 

तपाईं अध्यक्ष नियुक्त हुँदा आईपीओका लागि ८२ कम्पनीको आवेदन थियो, अहिले ८९ पुगेको छ । काम गराइको गति राम्रो हो ?

मापदण्ड नपुगेका कम्पनीले अनुमति पाउँदैनन् । कम्पनीको समग्र सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डिलिजेन्स अडिट–डीडीए) मा बोर्डले सम्झौता गर्दैन । कम्पनीका लागि सुरुमा मर्चेन्ट बैंकरले डीडीए गरिदिएको हुन्छ । त्यसको प्रतिवेदनलाई बोर्डको संयन्त्रले पनि परीक्षण गर्नुपर्ने हुन्छ । धेरै कम्पनीको डीडीएमा न्यूनतम मापदण्ड नपुगेकाले पनि अनुमति दिन नसकिएको हो ।

बोर्डको प्रमुख उद्देश्य नागरिकको लगानीको सुरक्षा हो । यसकारण प्राप्त आवेदनलाई सूक्ष्म ढंगले अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसका लागि समय लाग्छ । कम्पनीहरूले छिटो भन्दैमा मापदण्ड नपुगेकालाई पनि आईपीओ अनुमति दिने भन्ने हुँदैन ।अर्कातिर बोर्डको काम आईपीओ अनुमति दिने मात्र होइन । कम्पनी बढेअनुसार बोर्डको क्षमता अभिवृद्धि भएको छैन । क्षमता अभिवृद्धिका लागि पनि काम गरिरहेका छौं । 

कम्पनीले पेस गरेको डीडीए रिपोर्ट परीक्षण गर्दा सूचक फरक परेकाले आईपीओ अनुमति दिन ढिलाइ हुन पुगेको भन्न खोज्नुभएको हो ? 

केही कम्पनीको डीडीए प्रतिवेदनमा केही मापदण्ड पुगेको हुँदैन । त्यस अवस्थामा ती मापदण्ड पूरा गर्न कम्पनीलाई पटक–पटक पत्राचार गरिन्छ । कम्पनीबाट मापदण्ड पुर्‍याएर ल्याउँदा र त्यसलाई बोर्डले पुनः परीक्षण गर्दा समय लाग्छ । उदाहरणका लागि, कतिपयको फाइल अघि आएको हुन्छ तर त्यो कम्पनीको वार्षिक साधारणसभा नै भएको हुँदैन ।

साधारणसभा गर्न त समय लाग्छ । कुनै कम्पनीलाई आईपीओको अनुमति दिँदा बोर्ड विश्वस्त हुनुपर्छ । किनकि जनताको लगानीको विषय हो । यसभन्दा अघि के कसरी भइरहेको थियो, तीनमा प्रश्न उठिरहेको छ । ती सबैलाई बेवास्ता गर्दै हामी अघि बढ्न सक्दैनौं । 

प्रक्रियामा रहेका धेरै कम्पनीमध्ये ८ वटाले मात्रै के आधारमा आईपीओ अनुमति पाए ? 

प्राप्त आवेदनलाई समूहगत रूपमा विभाजन गरिएको हुन्छ । सबै क्षेत्रमा समान रूपमा अनुमति दिइन्छ । जलविद्युत् क्षेत्रका धेरै कम्पनी आए भन्दैमा तिनलाई मात्र अनुमति दिने भन्ने हुँदैन । कहिलेकाहीं अघिआएको कम्पनीको मापदण्ड पुगेको हुँदैन, त्यसलाई मापदण्ड पुर्‍याउन आग्रह गरिन्छ । त्यो कम्पनीले मापदण्ड पुर्‍याएर आउँदासम्म अर्को कम्पनीको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । बोर्डमा कुन कम्पनीले कहिले आवेदन दियो, त्यसको रिभ्यु कहिले भयो, कहिले अपुग कागजात मागियो, कहिले अनुमति दिइयो भन्ने सबै विवरण वेबसाइटमा उल्लेख छ । हामीले लुकाएर काम गरेका छैनौं । ती आठ कम्पनीले मापदण्ड पुगेकै कारण अनुमति पाएका हुन् । मापदण्ड नपुगेका कम्पनीलाई अनुमति दिँदा बोर्डमाथि प्रश्न उठ्न सक्छ । प्रश्न उठ्ने काम बोर्डले गर्दैन । 

लामो समयदेखि प्रक्रियामा रहेका कम्पनीलाई छोडेर बोर्डले भर्खर आएका कम्पनीलाई आईपीओ अनुमति दियो भन्ने आरोप छ नि ?

भन्नेले जे पनि भन्छन् । बोर्डको कामकारबाही पारदर्शी ढंगले भएको छ । 

अहिलेसम्म आवेदन दिएका कम्पनीले कहिलेसम्म अनुमति पाउँछन् ? 

आईपीओको विषयमा यति समयभित्रै अनुमति दिइसक्छौं भन्ने योजना बनाएका छैनौं । बोर्डको क्षमता कम भएकै हो । अब काम गराइको रफ्तार बढाउँछौं । 

आईपीओ अनुमतिका लागि तपाईंनिकट मानिसले कमिसन मागेको आरोप छ नि ? 

यो झूटो आरोप हो । सम्बन्धित निकायलाई पुष्टि गर्न चुनौती दिन्छु । जिम्मेवार निकाय र व्यक्तिले यस्तो ठूलो आरोप लगाउनु खेदजनक छ । म नैतिक रूपमा चुकेको छैन । यस्ता कुरा एकैपटक सञ्चारमाध्यमबाट सुन्दा दुःख लागेको छ ।

कान्तिपुर

Link copied successfully