‘न्याय परिषद्को संरचनामा पुनरावलोकन हुनुपर्छ’

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

”The structure of the judicial council should be reviewed”

१९ औं शताब्दीका बेलायती प्रधानमन्त्री एवार्ट ग्ल्याडिस्टोनको प्रसिद्ध उक्ति छ, ‘ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो ।’ छिटो न्याय नपाउने समस्याबाट ग्रसित नेपाली समाजमा एवार्टले दिएको अभिव्यक्ति अझै सान्दर्भिक देखिन्छ । सर्वोच्च अदालतमा मात्रै २६ हजार २ सय २८ मुद्दा विचाराधीन छन् ।

 त्यस्तै, उच्चमा २५ हजार ५ सय ३९ र जिल्लामा १ लाख १८ हजार ८ सय ३२ मुद्दा विचाराधीन रहेको सर्वोच्चको वार्षिक प्रतिवेदनमा उल्लेख छ । पछिल्ला वर्षमा मुद्दा फर्छ्योटका गति बढ्दा पनि १ लाख ७० हजार ५ सय ९९ मुद्दा बाँकी रहे । बाँकी र नयाँ थपिएर सबै तहका अदालतमा करिब ५ लाख मुद्दा पुग्न थालेका छन् । 

अदालतमा मुद्दाको चाप र न्यायमा भइरहेको ढिलासुस्तीका विषयमा पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी : 

गत वर्ष सर्वोच्च अदालतले सबैभन्दा बढी मुद्दा फैसला गरेछ तर पनि १० वर्षयताको तुलना गर्दा फैसला गर्न बाँकी मुद्दा धेरै हुँदै गएका छन् । के कारणले सर्वोच्चमा यति धेरै मुद्दाको चाप बढेको हो ?

हामीले सर्वोच्चमा न्यायाधीश समयमै नियुक्त गर्न सकिरहेका छैनौं । तोकिएको संख्यामा पूर्ण रूपले न्यायाधीश हुने र इजलास पूराका पूरा लागेमा एउटा परिणाम आउन सक्ने हो । तर, सर्वोच्चमा लामो समयदेखि ४ जना न्यायाधीशको दरबन्दी रिक्तको रिक्तै छ । न्यायाधीशचाहिँ घट्दै जाने, मुद्दा बढ्दै जाने भएपछि समस्या त आउने नै भयो नि । दोस्रो कारण के हो भने जुनसुकै मुद्दा सर्वोच्चमै आउँछन् । यसलाई बदलेर सर्वोच्चमा छानिएका केस मात्रै आउने अवस्था निर्माण गर्न सकियो भने त्यसले राम्रो गर्न सक्छ ।

कानुनमा संशोधन गरेर कतिपय मुद्दा उच्चबाटै सकिने व्यवस्था गर्दा पनि यो समस्या कम हुन्छ । तेस्रो, विभिन्न परिस्थितिले पनि मुद्दा सिर्जना भइरहेका छन् । जस्तो कि, अदालतले एक पटक आदेश गरेपछि सम्बन्धित संस्था, राज्यका निकाय वा व्यक्तिले त्यसको पालना गरे फेरि मुद्दा पर्दैनथ्यो । तर, त्यसको कार्यान्वयन धेरै भएको छैन जसले गर्दा फेरि मुद्दा पर्छ । त्यसकारण पनि मुद्दा बढिरहेका छन् । त्यस्तै, सार्वजनिक सरोकारको विषय भन्दै जथाभावी रिट अदालतमा लैजाने अभ्यास छ । यसले गर्दा पनि सर्वोच्च अदालत मुद्दाको चापले ‘ओभरलोडेड’ छ । 

गोलाप्रथा भएपछि मुद्दा अलिक छिटो फैसला हुन्छ, सुधारिन्छ भन्ने अपेक्षा थियो, अहिले जे–जति सुधार भएको छ, त्यसको कारण यही हो ?

गोलाप्रथामा लगिसकेपछि मुद्दाको फर्छ्योटमा तीव्रता आएकै देखिन्छ । वार्षिक प्रतिवेदन हेर्‍यौं भने फर्छ्योट दरमा प्रगति नै देखिन्छ । तर, गोलाप्रथाका कारणले मात्रै मुद्दा फर्छ्योट दर बढ्ने त होइन । शीघ्र न्याय दिने सबैतिरको माग छ । यस्तो बेलामा न्यायालयमा अभियान फाँट यसैका लागि सुरु गरिएको हो । यो सुरु भएपछि पाँच वर्ष कटेका मुद्दा भरसक शून्यमा ल्याउने भन्ने छ । त्यसले राम्रो परिणाम दिइरहेको छ । पञ्चवर्षीय रणनीतिक योजनामा पनि मुद्दाको संख्या घटाउने भन्ने छ ।

वार्षिक कार्यक्रममा पनि यो छ । जिल्ला र उच्च अदालतमा त ‘डिफरेन्ट केस म्यानेजमेन्ट’ भनेर फरक मुद्दा व्यवस्थापन प्रणाली लागू भएको पनि छ । त्यस्तै, कुनै मुद्दा ६ महिनाभित्र, कुनै एक वर्ष र कुनै डेढ वर्षमा सक्ने न्यायालयको योजना छ । त्यसले पनि मुद्दाको संख्या घटाउन ठूलो मद्दत पुगेको छ । तर पनि, सबैभन्दा चुनौती सर्वोच्चमै छ । 

यस्तो चुनौती हुँदाहुँदै सर्वोच्चमा नियुक्ति चाहिँ किन हुँदैन त न्यायाधीशको ? यहाँकै पालामा पनि नियुक्तिमा ठूलो सकस पर्‍यो नि, होइन ?

हो, तर मेरो पालाको कुरा अलिक बेग्लै छ । त्यस बेलाको अवस्था पनि उस्तै थियो । लामो समय कायममुकायम हुँदा निर्वाचनको समय थियो । त्यसपछि सरकार बन्न समय लाग्यो । एउटा सरकार बनेपछि फेरि अर्को बन्यो । गठबन्धनहरू बदलिरहे र कानुनमन्त्री पनि फेरिइरहे । त्यसले गर्दा न्याय परिषद्ले काम गर्न सकेन । त्यसबाहेक न्यायाधीश नियुक्तिमा हुने ढिलाइका गम्भीर कारणहरू छन् । 

न्याय परिषद्को संरचनामा नै समस्या हो ? 

स्वच्छ न्यायपालिकासम्बन्धी प्रतिवेदन, २०७७ मा न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्न अध्ययन गर्नु आवश्यक भएको छ भनेर लेखिएको छ । त्यो प्रतिवेदन मेरै सक्रियतामा निक्लिएको थियो । मूल कुरा, न्यायाधीश खाली हुनु एक महिनाअघि नै न्यायाधीश नियुक्त हुनुपर्छ भनेर संविधानमै लेखिएको छ । न्यायाधीशको संख्या संविधानमा तोकिएरै २१ भन्दा बढ्न नसक्ने भनेको छ । यो पनि लामो समयसम्म खाली हुने हो भने मुद्दा फर्छ्योट नै हुँदैन । मुद्दा बढ्ने र न्यायाधीश घट्ने भएपछि समस्या त हुने नै भयो । 

कान्तिपुर

Link copied successfully