नेपालको राजनीतिक अस्थिरताबारे भारतीय नेताको चासो छ : बाबुराम भट्टराई

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Indian leaders are concerned about Nepal's political instability: Baburam Bhattarai

काठमाडौँ — अनौपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक र कूटनीतिक भेटघाटलाई तीव्र पारेका छन् । यही भेटघाटमा केन्द्रित रहेर भट्टराईसँग कान्तिपुरले गरेको कुराकानी :

दिल्लीमा राजनीतिक, कूटनीतिक भेटघाट तीव्र पार्नुभएको छ, के कुराकानी भयो ?

पार्टीको प्रगतिशील नेपाली समाजको अधिवेशनका लागि दिल्ली आएको हुँ । सोमबार राजनीतिक र कूटनीतिक भेटघाट भयो । यहाँका राजनीतिज्ञ र कूटनीतिज्ञमा नेपालको राजनीतिक अस्थिरता देखिनुका कारण के हो ? कतै लोकतन्त्रविरुद्ध जान लागेको हो ? भन्ने जिज्ञासा रहेछ । मैले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नभएर खासगरी निर्वाचन प्रणाली, शासकीय प्रणालीमा भएको त्रुटिका कारण केही अस्थिरता देखिएको हो भनें । साथै आम मानिसमा केही असन्तुष्टि छन्, त्यसलाई सम्बोधन गरेर जानुपर्छ भन्ने धारणा राखेँ ।

नेपालको राजनीतिक अवस्थाबारे भारतीय नेताको धारणा कस्तो पाउनुभयो ? 

नेपालमा लोकतान्त्रिक गणतान्त्रिक प्रणालीका बारेमा प्रश्न उठ्न लागेको हो कि भन्ने आशंका रहेछ । नेपालमा भएको आक्रोश पुरानो प्रणाली भत्काउनेतिर नभई सुशासन र आर्थिक मुद्दासँग जोडिएको भनेर प्रस्ट पारेँ । मैले हालकै व्यवस्थालाई सुधार गरी अघि जानुपर्नेमा जोड दिएँ । नेपालका लागि भारतका पूर्वराजदूतहरू, परराष्ट्रविद्सँग दुई देशसम्बन्धबारे राम्रो समीक्षा भयो । उहाँहरूको नेपालबारे गहिरो चासो रहेछ । 

भारतीय नेताबाट हिन्दु राष्ट्रका बारेमा पनि चासो राखियो भनिन्छ नि ?

बीजेपीका मुरलीमनोहर जोशी, भगतसिंह कोशियारीको नेपालमा सांस्कृतिक एकरूपता भए राम्रो हुन्छ कि भन्ने चासो थियो । तर मैले धर्म र सांस्कृतिक आ–आफ्ना धारणा राख्न पाइन्छ । हिन्दुवादी विचार राख्नु आस्थाको कुरा हो । राजतन्त्र लोकतन्त्रविरोधी प्रणाली हो, यो नेपालमा आउन सम्भव छैन भनेर जोड दिएँ । 

दुई देशबीचको सम्बन्धबारे के कुरा भयो ?

सम्बन्धमा केही चिसोपन देखिएको छ । यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा सबैको चासो थियो । रक्षामन्त्री राजनाथ सिंह त यसबारे खुलेर कुराकानी भयो । मैले दुई देशका प्रधानमन्त्रीले प्रष्ट सम्वाद गरेर समस्या हल गर्नुपर्नेमा जोड दिएँ । 

भाजपा नेतासँग भएको छलफलमा ईपीजी प्रतिवेदनका आधारमा अघि बढ्दा राम्रो हुने सुझाव दिएँ तर भाजपा नेताहरूमा ईपीजी प्रतिवेदनमार्फत अघि बढ्न सम्भव छैन भन्ने रहेछ । यो प्रतिवेदन कार्यान्वयनका लागि होइन भन्ने उहाँहरूको बुझाइ रहेछ । त्यसो हो भने प्रधानमन्त्री तहमा खुला संवाद गरेर नेपाल र भारतबीच सीमा समस्या, १९५० को सन्धिलगायतका विषय कूटनीतिक तहबाट हल गर्नेमा सबैको जोड थियो ।

कान्तिपुर

Link copied successfully