घाइते र बिरामी हात्तीको उपचारमा औषधिकै अभाव [अन्तर्वार्ता]

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Lack of medicine to treat injured and sick elephants [Interview]

काठमाडौँ — दुई दशकयता झापामा मात्रै २१ वटा जंगली हात्ती मारिएका छन् । हात्ती संरक्षणमा थपिएको चिन्ता यति मात्रै छैन । झापाका जंगलमा रहेका दुई दर्जनभन्दा बढी रैथाने हात्तीमध्ये धेरै घाइते र बिरामी अवस्थामा रहेका खबर सार्वजनिक भइरहेका छन् । हात्तीमाथि यस्तो संकट किन परिरहेको छ ? घाइते हात्तीको उपचार र रेखदेखमा के काम भइरहेको छ ? यही विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

पछिल्ला दुई दशक झापामा मात्रै २१ हात्ती मारिएको तथ्यांक छ । यो कत्तिको गम्भीर विषय हो ? यसले हात्ती संरक्षणको बारेमा सोच्न बाध्य बनाउँदैन ? 
पछिल्लो दुई दशक अर्थात् २०६२ पछिको तथ्यांक हेर्ने हो भने कोशी प्रदेश र मधेशको सप्तरीसम्म आइपुग्दा ३७ हात्तीको मृत्यु भएको तथ्यांक छ । जुन एकदमै गम्भीर विषय हो । हात्ती सामान्य प्राणी मात्रै होइन, हात्ती त पर्यावरणका लागि पर्यायवाची जनावर जस्तै हो । हात्तीको संख्या यसरी घट्दै जानु एकदमै पर्यावरण र मानव जाति दुवैका लागि चिन्ताजनक विषय हो । मृत हात्तीमध्ये केही प्राकृतिक कारणले मरेका छन् भने कतिपय विद्युतीय (लाइनको करेन्ट) मा परेर पनि मरेका छन् । केही चोरी सिकारीबाट मारिएका छन् भने केही तस्करी गर्ने योजनाअनुरुप गोली प्रहारबाट समेत मरेको विवरण छ । 

जंगलमा विचरण गर्दै आएका हात्ती किन पटक–पटक घाइते अवस्थामा भेटिन्छन् ?
हात्ती घाइते भेटिनु केही मानव–हात्ती द्वन्द्व पनि हो । हात्ती बस्तीसम्म आइपुग्दा मान्छेले लखेट्ने क्रममा ढुंगा हान्ने, भाला हान्ने लगायतका कार्य गर्छन् । हात्ती घाइते हुने यो पनि एक कारण हो । तर, कतिपय अवस्थामा हात्ती एकआपसमा जुधेर पनि घाइते हुन्छन् भने कतिपय अवस्थामा जंगलमै अन्य प्राकृतिक कारणले पनि घाइते भएका हुन्छन् ।

कतिपय संरक्षकर्मीले केही हात्ती समूहबाट अलग्गिएर एक्लै हिँड्ने गरेको र आक्रमणमा पर्ने गरेको पनि बताइरहेका छन् । यसबारे तपाईंको बुझाइ के छ ?
हात्ती विचरण गर्दा, हिँड्दा, डुल्दा उनीहरुको छुट्टै एक समूह हुन्छ । कतिपय अवस्थामा हात्ती समूहबाट निस्किएका हुन्छन् भने कतिपय अवस्थामा समूहबाट निकालिएका पनि हुन्छन् । समूहमा नमिल्ने भाले हात्तीलाई समूहले निकालिदिन्छ । त्यसरी निकालिएको हात्ती एक्लै हुन्छ । जसले आहाराको खोजीमा बस्तीसम्म पुगेर दुःख पनि दिन्छ भने एक्लिएको हात्ती एक्लोपनाको महसुस गर्दै आफ्नै तरिकाले हिँड्ने हुन्छ । कुनै बेला ती एक्लै हिँडेका हात्ती आक्रामक बन्छन् । यस्तो अवस्थामा उनीहरुलाई खाना पनि चाहिरहेको हुन्छ । यसरी आक्रमक बनेका हात्ती पनि मान्छेबाट आक्रमणमा पर्ने गरेको पाइन्छ भने मान्छे पनि हात्तीबाट आक्रमणमा पर्ने हुन्छ ।

घाइते हात्तीको उपचारका निम्त्ति राष्ट्रिय प्रकृति संरक्षण कोषसँग स्रोत साधनको अवस्था कस्तो छ ?
घाइते हात्ती उपचार गर्न पर्याप्त स्रोत साधन त छैन । तर, पनि सिमित स्रोत साधनले हामी काम गरिरहेका छौं । केही घाइते हात्तीको हामीले प्राकृतिक रुपले पनि उपचार गरिरहेका छौं । अहिले झापामा घाइते हात्तीको उपचार हेर्ने हो भने पनि २–३ पटक उपचार गरिसक्यौं । अहिले पनि हात्तीको उपचार जारी छ ।

हात्तीलाई विभिन्न तवरबाट औषधि खुवाइरहेका छौं । हात्तीले औषधि पनि खाइरहेको अवस्था छ । पहिलो पटक भने उक्त हात्तीलाई डार्ट गरेर नै (लठ्याएर) औषधि दिनुपर्यो । त्यो सँगसँगै अर्को हात्ती यमगजको पनि उपचार जारी छ । जसको पनि अवस्था क्रमिक रुपमा राम्रो हुँदै गइरहेको छ । तर, हात्ती उपचारका लागि स्रोत साधन भने पर्याप्त छैन । विभिन्न स्रोतहरुबाट जुटाएर उपचार गर्नुपर्ने अवस्था छ । कतिपय औषधि नेपालमा पाइँदैन, विदेशबाट मगाउनुपर्ने हुन्छ । यसरी औषधी मगाउँदाको प्रक्रिया उस्तै झन्झटिलो छ । भनेको समयमा औषधि पनि पाइँदैन भने चाहिएजस्तो औषधि पनि पाउन मुस्किल छ । हात्तीका लागि भारत, अमेरिका, फ्रान्स, क्यानडा लगायतका नेपाल बाहिरका देशबाट पनि औषधि मगाउनुपर्छ ।

संरक्षणकर्मीहरुको प्रश्न छ, कसले र किन हात्ती मारिरहेको छ ? यसबारे सम्बद्ध निकाय बेखबर देखिन्छ । हात्ती मारिएको विषयमा किन पूरा हुँदैन अनुसन्धान ?
मान्छेमा चेतना नै हात्तीलाई दुस्मनका रुपमा लिने, अलिकति क्षति गर्‍यो भने नराम्रो व्यवहार गर्नेजस्तो छ । यद्यपि त्यो हात्तीप्रति गर्ने व्यवहार नबुझेर पनि हुन सक्छ । हात्तीप्रतिको व्यवहारभन्दा पनि हात्तीले गरेको क्षतिप्रतिको मायाले चाहिँ मान्छेले त्यसो गरेको हो । मान्छेले आफ्नो बालीनाली क्षति गरेपछि पूर्वाग्रही जस्तो गरी हात्तीप्रति नराम्रोपन दर्शाउँछन् । त्यसो गर्नुहुँदैन भनेर हामीले विभिन्न स्थानमा, विभिन्न चरणमा जनचेतनाका कार्यक्रम चलाउँदै आएका छौं । हात्तीको आनीबानी, व्यवहार, पर्यावरणमा उसको महत्व लगायतका विषय बुझाउँदै हात्तीलाई संरक्षण गर्नुपर्छ भनेर कार्यक्रम पनि गरिरहेका छौं ।

कान्तिपुर

Link copied successfully