‘सरकार र समीकरणमा प्रतिकूलता छैन’

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

”There is no adversity in the equation with the government”

राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान लामो संवादसमेत भएको छ । सत्तारूढ दुई दलबीच असमझदारी देखिएकाले थप छलफल गर्न बुधबार संयन्त्रको बैठक बोलाइएको छ । 

कांग्रेसभित्र बढ्दो असन्तुष्टि र त्यसको प्रभावका विषयमा नेपाली कांग्रेस नेता एवम् गृहमन्त्री रमेश लेखकसँग गरिएको संक्षिप्त कुराकानी : 

सरकारप्रति कांग्रेसभित्र असन्तुष्टि बढेको छ, सरकार परिवर्तनसम्मका हल्ला चल्न थालेका छन्, खास के भएको हो ?

सरकार परिवर्तनको कुनै सम्भावना छैन । समीकरण तलमाथि हुँदैन । सरकार बदलिहाल्छ भनेर जो लाग्नुभएको छ, त्यो पनि आवश्यक छैन । 

सरकारसँग कुन–कुन मुद्दामा कुरा नमिलेर पार्टीभित्र असन्तुष्टि देखिएको हो त ?

कुरा नमिलेको कुनै मुद्दा छैन । ठूलै समस्या आइहाल्यो भन्ने कुरा सत्य होइन ।

बाहिर चर्चा भएजस्तै सरकार परिवर्तनको कोर्स अघि बढ्ने कुनै संकेत छैन त ?

कुनै केही छैन ।

कांग्रेसभित्रको असन्तुष्टि गभर्नर आफ्नो भागमा पार्ने रणनीतिक दबाबका लागि मात्रै हो त ?

यसमा पनि असन्तुष्टि छैन । सबै काम सहमतिमै गर्छौं । गभर्नर नियुक्ति पनि सहमतिअनुसार नै हुन्छ ।

कांग्रेसको असन्तुष्टिमा राजनीतिक संयन्त्रको बैठकबाट हल खोज्ने भनेर एमालेले संस्थागत रूपमा नै भन्नुपर्ने अवस्था किन आयो त ?

हामी भाइब्रेन्ट प्रजातान्त्रिक अभ्यासमा छौं । यसमा विभिन्न कोणबाट विभिन्न कुरा उठ्छन् । त्यसैलाई आधार बनाएर सरकार ढल्छ भन्ने होइन । समीकरण र सरकारमा अहिले कुनै प्रतिकूलता उत्पन्न भएको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully