'सत्तापक्षकै नेताहरूले सरकारको कटु टिप्पणी गर्नु उचित होइन’

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

'It is not appropriate for the leaders of the ruling party to make harsh comments about the government'

राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान लामो संवादसमेत भएको छ । सत्तारूढ दुई दलबीच असमझदारी देखिएकाले थप छलफल गर्न बुधबार संयन्त्रको बैठक बोलाइएको छ ।

कांग्रेसभित्र बढ्दो असन्तुष्टि र सत्ता गठबन्धनमा त्यसको प्रभावका विषयमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग गरिएको संक्षिप्त कुराकानी :

सरकार ढल्ने अवस्थामा पुगेको हो ? 

दुई कारणले सरकार ढल्ने हल्ला चलेको छ । एक, माओवादी अध्यक्ष प्रचण्डले अस्ति सरकार ढल्नै लाग्यो भन्नुभयो, अर्को कांग्रेसका नेताबाट सरकारबारे सार्वजनिक टिप्पणी आयो । सरकार ढल्ने प्रचण्डको चाहना हो र तथ्यमाथि आधारित होइन । सरकारबाट बाहिरिनुपरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्ने उहाँको चाहना हो ।

सरकारबारे टिप्पणी हेर्दा कांग्रेसका साथीहरूमा महाधिवेशनको प्रभाव पर्न थालेको छ । पार्टीमा आफ्नो आधार बनाउन टिप्पणी गर्नुपर्ने होला । राजनीतिक संयन्त्रको नियमित बैठक बस्नुपर्थ्यो । त्यसले केही समस्या भए समाधान गर्थ्यो । सरकारले काममा गति लिनुपर्‍यो भन्ने हो । यसको विकल्प छैन ।

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच मंगलबारको बैठकमा के कुरा भयो ?

दुई नेता कसरी सहकार्यलाई बलियो बनाएर लैजाने भन्नेमा केन्द्रित हुनुभयो । गभर्नरलगायत केही नियुक्तिका कुरा पनि भयो । राजावादीको आन्दोलन र त्यसपछिका क्रिया–प्रतिक्रियाबारे समीक्षा भयो । शिक्षकको आन्दोलन समाधान गर्ने विषयमा पनि छलफल भयो । 

गभर्नर नियुक्तिमा सहमति भएको हो ?

दुई दलका अलिअलि फरक प्राथमिकता छन् । यो विषय टुंगिएला । अर्थतन्त्रको महत्त्वपूर्ण नियामक निकाय हो राष्ट्र बैंक । मौद्रिक नीति सन्तुलन कायम गर्न राष्ट्र बैंकको ठूलो भूमिका हुन्छ । नेपाल ग्रे–लिस्टमा छ । यसबाट निकाल्ने प्राथमिकतामा राखेर सरकारले काम गरेको छ । गभर्नर नियुक्तिमा प्राथमिकता फरक भए पनि कुरा टुंगिन्छ ।

सरकारप्रति कांग्रेस महामन्त्री गगन थापालगायतको चर्को आलोचना छ नि ?

विपक्षी नेताजस्तै सत्तापक्षका नेताहरूले सरकारको कटु टिप्पणी गर्नु उचित होइन । जे भए पनि संयन्त्रमै छलफल गर्नुपर्‍यो । त्यहीं समाधान निकाल्न सकिन्छ । आम जनताले सामान्य सुधार मात्र होइन, ठूलो सुधार खोजेका छन् । सरकारले काम गरिरहे पनि कतिपय विषयमा परिणाम आउन बाँकी छ । प्रधानमन्त्री दृढतापूर्वक सहकारी ठगीविरुद्ध उभिनुभयो । सरकार र एमाले नेतृत्वप्रति घेराबन्दीबीच पनि सरकारले दृढतापूर्वक काम गरिरहेको छ । जनस्तरका सुझावलाई सरकारले छिटो सम्बोधन गर्नुपर्छ ।

प्रधानमन्त्री ओली मन्त्री फेर्ने तयारीमा लाग्नुभएको हो ?

त्यसबारे छलफल भएको जानकारी छैन । प्रधानमन्त्रीबाट मन्त्रीको कार्यसम्पादन मूल्यांकन भइरहेको होला । कुनै मन्त्री बढी विवादास्पद भए विचार गर्नुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully