‘९ महिना बिताउनु नै सरकारको उपलब्धि भयो’

हामीले कल्पना गरेको बाटोमा सरकार अघि बढ्न सकेन, सुशासन झन् कमजोर बन्न पुग्यो, भ्रष्टाचार बढेको बढ्यै छ, दण्डहीनता छ, आर्थिक अवस्थामा सुधार छैन, संविधान संशोधनको काममा सिन्को भाँचेको छैन 

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

”The achievement of the government is to spend 9 months”

केपी शर्मा ओली नेतृत्वमा बनेको कांग्रेस–एमालेको गठबन्धन सरकारले नौ महिना पूरा गरेको छ । यस बीचमा सरकारको काम गर्ने शैलीलाई लिएर एकातिर सडकमा आक्रोश बाक्लिँदै गएको छ भने अर्कातिर सत्तारूढ दलभित्रै खचपचसमेत बढ्न थालेको छ ।

यस सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले कांग्रेस–एमाले गठबन्धन सरकारले केही गर्न सकेन भन्दै आउनुभएको छ । साँच्चै त्यस्तै हो ? 

 कांग्रेस–एमाले गठबन्धन बन्नुअघि सरकारमा अस्थिरताको चरम अवस्था थियो । ०७९ सालमा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गए । चुनावपछि एमाले र माओवादीको सरकार बन्यो । त्यसपछि कांग्रेस र माओवादीको सरकार बन्यो । फेरि एमाले र माओवादीको भयो । यस्तो अस्थिरता अन्त्यका लागि कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने बिन्दुमा हामी आएका हौं । संविधान संशोधन, सुशासन कायम, दण्डहीनता अन्त्य र आर्थिक सुधारको मुद्दा लिएर पनि गठबन्धन भएको हो । तर हामीले कल्पना गरेको बाटोमा सरकार अघि बढ्न सकेन । सुशासन झन् कमजोर बन्न पुग्यो । भ्रष्टाचार बढेको बढ्यै छ । दण्डहीनता बढेको छ । आर्थिक अवस्थामा सुधार छैन । संविधान संशोधनको काममा सिन्को भाँचेको छैन । 

दुई ठूला दल मिलेर बनाएको सरकारप्रति पनि यति चाँडै निराश हुनुपर्ने अवस्था आउनुको मुख्य कारण के हो ? 

सरकारको प्राथमिकता नै मूल लक्ष्यतिर देखिएन । प्राथमिकता एउटा कर्मचारी हटाउने दिशामा हुन्छ, कुनैलाई त्यहाँ राख्नका लागि हुन्छ । संसद्को हिउँदे अधिवेशनको अधिकांश समय एउटा कर्मचारी हटाउने विषयले लियो । प्रधानमन्त्री र सम्बन्धित मन्त्री त्यसैलाई मुद्दा बनाएर हिँडे । त्यसबाट पनि सरकारको नेतृत्व र मन्त्रीहरूको मानसिकता के छ भन्ने बुझ्न सकिन्छ । यसरी सरकार चल्दैन । 

कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा सरकारको प्राथमिकता प्रस्ट छ । त्यसअनुसार सरकारले काम गरेन भन्ने तपाईंको तर्क हो ? 

हो, सातबुँदे सहमतिअनुसार सरकारले कुनै पनि काम गर्न सकेन । समय लाग्छ तर सुरुवात पनि सरकारले गरेन । केही गर्दै छ भन्ने पनि भएन । १५ चैतमा तीनकुनेमा जुन खालको घटना भयो, त्यो सरकारका कारणले भयो कि प्रदर्शनकारीका कारणले भन्नेमा सबैका आआफ्ना प्रतिक्रिया छन् । तर सरकारले किन त्यसको न्यायिक छानबिनका लागि आयोग बनाउन चाहेन ? न्यायिक छानबिन त गर्नुपर्‍यो नि ? सरकारले जनतालाई हेर्नुपर्छ । हामीसँग टाढा हुने यस्तै कुराले हो । डेढ दशकयता तीन/चार अनुहारले मात्रै सरकारको नेतृत्व गरिरहेका छन् । राम्रो काम भएको छ भनेर कसरी जनताले पत्याउँछन् ? 

तपाईंले सरकारमा छौं तर सत्तामा छैनौं भन्दै आउनुभएको छ, यसको अर्थ के हो ? 

हामी सरकारमा छौं, किनकि यो गठबन्धन कांग्रेस र एमाले मिलेर बनेको छ । हामी चाहन्छौं, यसले राम्रो काम गरोस्, अघि बढोस् । जनतालाई आशा र भरोसा दिन सकोस् । तर सरकारको ध्यान त्यस दिशामा छैन । जनताबाट टाढा हुने काम मात्रै गरिरहेको छ । सडकमा आक्रोश छ । सहकारी, लघुवित्त, मिटरब्याजका पीडित आन्दोलनमा छन्, शिक्षक सडकमा छन्, रेजिडेन्ट डाक्टरहरू सेतो कोट लगाएर आन्दोलनमा छन् । भोलि अर्को समूह आउला । सडकको आक्रोश हेरेर सरकारले राम्रो काम गर्नुपर्दैन ? बेलैमा सोचेर समाधानको उपाय खोजिएन भने त्यसले झन् दुर्भाग्य ल्याउँछ भन्ने सोचिएन । एउटा कर्मचारीलाई कसरी हटाउने भन्नेमा मात्र सोचियो । कांग्रेस सरकारमा एमालेसँग छ । तर हाम्रो प्रतिस्पर्धा पनि एमालेसँग नै छ । त्यसैले गलत काम गर्दा एमालेको मात्रै होइन, हामीले हाम्रै मन्त्रीहरूको पनि विरोध गर्नुपर्छ, गरेका छौं ।  

संविधान संशोधन गरिएन भने सडकमा आक्रोश अझै बढ्छ भन्दै आउनुभएको छ । संविधान संशोधनसँग आम नागरिकलाई त्यस्तो चासो छ र ? 

संविधान कार्यान्वयनका क्रममा धेरै त्रुटि देखिएका छन् । त्यसलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ । अहिले पनि मधेशका केही समुदायले संविधानलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन् । यो निर्वाचन प्रणालीले काम गर्दैन भन्ने आवाज उठिरहेको छ । न्यायपालिका, संवैधानिक निकायमा सुधारको कुरा उठिरहेको छ । संरचनागत सुधार र अधिकार बाँडफाँटका विषयमा प्रश्न छन् । ती सबैलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ । त्यसमा काम नगरेर प्रधानमन्त्री आफैं सडकमा गएर बोल्नुहुन्छ । अहिले देशभरका शिक्षक आन्दोलनमा छन्, तिनलाई नदेखेर प्रधानमन्त्री बुटवलतिर जानुभयो । प्रधानमन्त्रीका यस्ता प्रवृत्तिले कांग्रेस र एमाले मिल्नुको औचित्य स्थापित हुन सकेन । दुई दल मिल्नुको औचित्य चाँडै स्थापित होस् भन्ने हामी चाहन्छौं ।

यो सरकारले एउटै उपलब्धि हासिल गरेको छैन त ? 

म केही पनि देख्दिनँ । यो सरकारको उपलब्धि भनेकै नौ महिना बिताउनु हो । 

 कांग्रेस र एमाले गठबन्धनको सरकार सफल हुन सकेन भनिरहनुभएको छ । सरकार असफल भएपछि विकल्प पक्कै सोच्नुभएको होला । के छ विकल्प ? 

अहिल्यै हामीले विकल्प भनिरहेका छैनौं । सच्चिएर काम गर्ने अवसर अझै पनि छ । त्यस दिशामा सरकारले छिट्टै काम गरोस् भन्ने चाहन्छौं । सरकार चाँडै सुध्रियोस् भन्ने कामना छ ।  

सरकार सुध्रनका लागि तपाईंहरू कहिलेसम्म धैर्य रहने ? 

हामी राजनीतिक प्राणी भएकाले धैर्य गरौंला तर सडकले धैर्य गर्न सक्दैन । यही गतिमा सरकार अघि बढ्यो भने सडकले विकल्प खोज्छ । सडकले जुन दिन विकल्प खोज्छ, त्यो दिन तपाईं हामीले कल्पना गरेभन्दा बाहिर नेपालको राजनीति जान्छ । त्यो दिन आउन दिनु हुन्न । 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजन अन्तर्वार्तामा कांग्रेस नेतृत्वमा सरकार गठनका लागि निःसर्त सहयोग गर्ने बचनबद्धता जनाएका छन्, यसलाई कसरी हेर्नुभएको छ ? 

कांग्रेसलाई धेरै उत्साहित बनाउने हिसाबले प्रचण्डजीले बोल्नुभएको छ । तर केही दिनपहिले उहाँले ‘हामी कम्युनिस्टहरू फुटेका छौं, जुट्न सक्दैनौं भन्ने नसोच्नुहोस् है, जुट्न पनि सक्छौं’ भन्नुभएको छ । यसले कांग्रेसलाई सशंकित पनि बनाएको छ । 

वामपन्थी एक हुन्छन् कि भन्ने भय पनि तपाईंहरूमा छ ? 

त्यस्तो होइन । हामी जसरी प्रजातन्त्रवादी एक ठाउँमा आउनुपर्छ भन्छौं भने वामपन्थीहरूबाट पनि एक हुनुपर्छ भन्ने आवाज आउनुलाई नकारात्मक रूपमा लिनु हुन्न । वामपन्थीहरू मिलेर देश कता लैजान्छन् भन्ने चिन्ता मात्रै हो । यसै पनि ०७९ पुसयता वामपन्थी नेताहरूले नै सरकारको नेतृत्व गरिरहेका छन् । कांग्रेस त सहयोगी मात्रै भइरहेको छ । यसले पनि वामपन्थीको सरकार कसरी अघि बढिरहेको छ भन्ने थाहा भइहाल्यो नि ।  

कांग्रेसले सरकारको विकल्प खोज्न थालेको हो ?

राजनीतिमा असम्भव भन्ने हुँदैन । अहिले विश्वव्यापी रूपमा नै ‘ट्रेड वार’ चलेको छ । यसले पनि हामी अप्ठ्यारो परिस्थितिमा छौं । त्यसैले सरकार परिवर्तनका लागि हामीमा हतारो छैन । प्रधानमन्त्रीले सडकमा गएर बोल्ने होइन, सडकका आवाज सुनेर काम गर्नुपर्‍यो । आज प्रधानमन्त्री सडकमा गएर बोल्दा कसैले पत्याउनेवाला छैन, कामले मात्रै जनताले पत्याउन सक्छन् ।  

कान्तिपुर

Link copied successfully