‘दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था गर्नुपर्छ’

दलहरूका संगठन छन्, तर संस्थागत भइसकेका छैनन् दलहरूको खर्चको प्रणाली फेर्नुपर्छ, राज्यले नै दललाई कानुनी संरचनामा बाँधेर खर्चको व्यवस्था गर्ने हो कि ? 

चैत्र १७, २०८१

राजेश मिश्र

”There should be a provision not to hold the same post for more than two terms”

प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहसहित संविधानले तोकेका सबै चुनाव सम्पन्न गराएको अनुभव बोकेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आउँदो वैशाख ६ गते बिदा हुँदै छन् । ६ वर्षे कार्यकालका पछिल्ला दुई वर्ष उनले दलहरू र निर्वाचनमा देखिएका समस्या समाधान गर्न कानुनी सुधारका प्रस्तावहरू अघि सारे ।

त्यसलाई मस्यौदाका रूपमा पठाए पनि सरकारले त्यसलाई विधेयकका रूपमा लग्न ढिलाइ गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग ६ वर्षे कार्यकालको अनुभवसहित निर्वाचन सुधारका विषयमा कान्तिपुरका दुर्गा खनालराजेश मिश्रले गरेको कुराकानी :

६ वर्षअघि तपाईंले संसद्समक्ष के प्रतिबद्धता गरेर आउनुभएको थियो र यो अवधिमा के–के गर्नुभयो ?

मैले संसदीय सुनुवाइ समितिमा पेस गरेका कार्ययोजनाहरू प्रत्येक तीन/चार महिनाको अवधिमा समीक्षा गर्दै आएको छु । अहिले कार्यकालको उत्तरार्द्धमा पनि काम कहाँ पुगे भनेर समीक्षा गरिरहेकै छु । मैले पेस गरेका कार्ययोजनाहरू सबै लागू गर्न हाम्रो संगठन संरचनाकै केही कुरामा संशोधन र परिमार्जन गर्नुपर्ने देखियो । त्यसैले समग्र व्यवस्थापनका कामबाहेक अधिकांश कुराहरू प्रारम्भ भएका छन् । किनकि धेरै कुरा हामीले गर्नेभन्दा पनि निर्णय गरेर पठाउने मात्र हुँदा रहेछन् । कानुनमा झन्डै

६० वटा विषयहरू सुधार्न सकिने रहेछ । कानुन त हामीले पेस गरेका छौं तर २०/२१ महिना भइसक्दा पनि त्यो अघि बढेको छैन । यो अवधिमा नीतिगत, संरचनागत, कानुनी र अन्य व्यवस्थापकीय ढंगले सुधार र परिवर्तन गर्न खोजिएको छ । 

निर्वाचनसँग जोडिएको महत्त्वपूर्व कुरा भनेको आयोगले जनताप्रति गर्ने विश्वास हो । यो मामिलामा तपाईंको कार्यकाल कस्तो भएजस्तो लाग्छ ?

हाम्रो अहिलेको समग्र निर्वाचन व्यवस्थापन प्रक्रिया पुरानो ढाँचाको नयाँ प्रयोगशाला जस्तो देखिन्छ । परम्परा र आधुनिकता संयोग जस्तो छ । परम्परागत कुराहरू छोड्न पनि सकिएको छैन, आधुनिक कुरा पनि त्यहाँ भित्र्याइँदै छ । जनताको विश्वास जित्ने कुराचाहिँ उसको नाम मतदाता नामावलीमा कति सहज ढंगले प्रवेश पाउँछ भन्ने कुराबाट सुरु हुन्छ । मतदाता नामावलीमा नाम दर्ताको कुरा नागरिकतासँग जोडिन्छ । नागरिकता सहज छ भने मतदाता नामावली पनि सहज हुन्छ । उम्मेदवार, मतदान, मतगणना, राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको विषय जहिल्यै आलोच्य हुने गर्छ । विश्वास बढाउन यी सबै विषय सुधार्नुपर्छ । जति सुधारेर पारदर्शी बनाउँछौं, त्यति नै विश्वास जित्ने हो ।

हामीसँग संविधान छ, तर संविधानले भनेका कुराभन्दा तोडमोड गरेर कानुन बनाइएको छ र तद्नुसारका नियमहरू छन् । सबैको अवस्था हेर्ने हो भने नियम छ, नियत ठीक छैन । सुरक्षा संयन्त्र, कर्मचारीको संयन्त्र छ तर आयोगले खोजेजस्तो छैन । राजनीतिक दलका नेता छन्, नेतृत्व छैन । मतदाता छन्, तर विज्ञता छैन । कहाँ कसरी भोट हाल्ने भन्नेसम्ममा पनि पुग्न सकेका छैनौं । दुर्गम क्षेत्रको एउटा बासिन्दाले तीन घण्टा हिँडेर भोट हाल्न जानुपर्छ । सहरी क्षेत्रको कुनै मतदाता तीन मिनेट पर्तिर मतदान केन्द्र छ भने पनि भोट हाल्न जाँदैन । उम्मेदवारको योग्यता छ तर उसले पेस गरेको कागजमा सत्यता छैन । यी सबै वातावरण जति प्रभावकारी हुन्छन्, त्यति नै विश्वसनीयता बढ्छ । निष्पक्षता र तटस्थताको स्थिति बन्छ । चुनावको विश्वसनीयताको कुरा समग्र प्रणालीभित्र हेर्नुपर्छ । 

”There should be a provision not to hold the same post for more than two terms”

निर्वाचन आयोग चुनाव गराउने समयमा सक्रिय रहन्छ तर त्यसपछिका वर्षहरूमा के गरेर बिताउँछ ?

निर्वाचनको समयमा स्रोत साधन र जनशक्तिचाहिँ अत्यन्त हुने र त्यसलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने स्थिति रहन्छ । तर सबैभन्दा महत्त्वपूर्ण अवधि भनेको त निर्वाचनपूर्वको अवधि हो । यो झन्डै चार वर्षको अवधि हुन्छ । तर चार वर्षको अवधि अति सुस्त जस्तो चाहिँ देखिन्छ । यसमा परिवर्तन गर्नुपर्छ । यो बीचको अवधिमा निर्वाचनमा आयोगले कानुनी सुधारको प्रक्रियालाई अघि बढाउँछ । अहिले हामीले पनि कानुन सुधार गर्न लागेका छौं । मतदाता नामावलीको शुद्धीकरण, सूचना प्रविधिलाई जोडेर विषय, मतदान केन्द्रहरू ‘रिलोकेट’ गर्ने काम पनि हुन्छ । अहिले पनि हामी यही काममा लागेका छौं ।

तपाईं नेतृत्वको आयोग शक्तिको इसारामा चल्यो । ठूला र साना पार्टीलाई विभेद गर्‍यो भन्ने आरोप पनि लाग्यो । नेकपा विभाजनका समयमा लामो समय निर्णय दिनु भएन, पछि विवाद सर्वोच्च अदालतसम्म पुग्यो । तर अर्को पार्टी जसपा नेपाल विभाजन हुन खोज्दा तत्काल निर्णय गरिदिनुभयो नि ?

यस्ता कुरा विषयवस्तुमा प्रवेश नगरी हुने आलोचनाहरू हुन् । जस्तो नेकपाको विवाद टुक्रिने वा विभाजनको विषय थिएन । त्यो पार्टीलाई विखण्डन गरौं भन्ने थिएन । कुनै पदाधिकारीलाई बाँकी रहेका पदाधिकारीले एकअर्कालाई हटाउने भन्ने विवाद थियो । त्यसरी हटाएको कुरा आयोगले अनुमोदन गरिदिनुपर्ने भन्ने थियो । आयोगले पदाधिकारीहरू फेरबदल गर्ने होइन । निर्णय गरेर पठाएको केन्द्रीय समितिलाई अभिलेखीकरण मात्र गर्ने हो । कुनै ‘क’ भन्ने पदाधिकारीलाई ‘ख’ भन्ने समूहले हटाएको विषय त उसको आन्तरिक विषय हुन्छ । जसपा नेपालको विषय पार्टी विखण्डनको हो । ४० प्रतिशतले फुटाउन सक्छन् । आयोगले संख्या छुट्याएर हेर्ने हो, संख्या पुग्छ भने तोकिदिने हो ।

राजनीतिक दल विभाजनको विषय धेरै स्वार्थसँग जोडिएको विषय हुन्छ । २०४८ मा राजनीतिक दलसम्बन्धी ऐन बनाउँदा दल विभाजनको अवधारणा थिएन । तर पछि हामीले दलीय व्यवस्थामा दलहरूलाई फुटाएर टुक्रा–ट्क्रा बनायौं भने दलीय व्यवस्था संस्थागत र मजबुत पार्न सकिन्छ भन्ने जबर्जस्त राजनीतिक भाष्य निर्माण गर्‍यौं । त्यसको दण्ड हामीले झन्डै–झन्डै तीन दशक भोगिसकेका छौं । दल फुटायो, गरियो भने बलियो भइन्छ भन्ने छ । निर्वाचन आयोग सैद्धान्तिक रूपमा यो पक्षमा छैन ।

तपाईंले दल, नेताहरूसँग संगत गर्नुभयो । कानुन हेर्नुभयो । हाम्रा दल र कानुनी पद्धतिहरूमा कस्ता कस्ता कमजोरी रहेछन् ?

पहिलो दलको कुरा गरौं । हामी संविधानमा लेखिएको भाषा शब्द र मर्म पालना होस् भन्छौं । त्यो दृष्टिकोणबाट हेर्दा हाम्रो संविधानले दलको विधान लोकतान्त्रिक, सामाजिक विविधता प्रतिनिधित्व हुने गरी समावेशी हुनुपर्छ भन्ने छ । संघीय संरचनाअनुसार कमिटी, ५ वर्षदेखि साढे ५ वर्षमा अधिवेशन र सबै पदाधिकारीहरूको निर्वाचन गर्नुपर्छ । तर कानुन बनाउँदा बिगारियो । निर्वाचन वा मनोनयन भन्ने शब्द ऐनमा राख्यौं । संविधानले निर्वाचन भन्छ, कानुनमा मनोनयन छ । निर्वाचन र मनोनयन एउटै होइन ।

दलहरू बाध्यतावश अधिवेशन गर्छन् र त्यसबाट कुनै अमूक व्यक्तिलाई अध्यक्ष निर्वाचित गरी अन्य पदाधिकारी सदस्य छान्न उसलाई अधिकार प्रत्यायोजन गर्छन् । अनि त्यसरी आएको कार्यसमितिलाई निर्वाचित जस्तो ठानेर निर्वाचन आयोगले स्वीकार गरिदिनुपर्ने बाध्यता छ । त्यसकारण हाम्रा राजनीतिक दलहरू आन्तरिक लोकतन्त्र, वित्तीय व्यवस्थापन, वित्तीय सुशासन, समावेशिताको पालना र आमनागरिकसमक्ष आफ्ना नीति, विचार र कार्यक्रमहरू पुग्ने कुरामा अझै पनि संस्थागत बनिसकेका छैनन् ।

”There should be a provision not to hold the same post for more than two terms”

दलहरूका संगठन छन्, तर संस्थागत भइसकेका छैनन् । अहिले १२१ वटा राजनीतिक दल छन् । तीनलाई हामीले केही अघि पत्राचार गर्‍यौं । झन्डै ८० वटा दलको त कार्यालय कहाँ हो पत्तो छैन । पकेटमा पार्टी बोकेर हिँड्नेले देशको समृद्धि गर्छ भनेर हामी विश्वासका साथ बस्नुपर्ने ? दल खोल्न सकिन्छ, यसको विरोध गरेको होइन । तर दल नै संस्थागत भएन भने शासन कसरी संस्थागत हुन्छ ? दलहरूलाई कानुनमा भएको कुरा पालना गर्नका लागि चिठी लेख्यो भने आयोगले दबाब दिन खोजेको अर्थमा बुझिन्छ । नियन्त्रण गर्न खोजेको अर्थमा बुझिन्छ । 

बेलाबेलामा केही राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको कुरा गरेको पनि हामीले सुन्यौं । त्यसैले अहिले हामी निर्वाचनसम्बन्धी कानुन बनाउने बेलामा हामीले केही दलहरूसँग राजनीतिक दलको अध्यक्षचाहिँ प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरौं न भनेर प्रस्ताव गर्‍यौं । पहिले पार्टीमा यो पद्धति सफल भयो भने त्यसैलाई उदाहरण मानेर पछि देशैमा लागू गरे भयो नि भन्दा, पार्टीहरूलाई सिध्याउन यस्ता प्रस्ताव ल्याउने भनेर आलोचना गरियो । आफ्नो पार्टीमा लोकतन्त्र नभए पनि हुने, अनि त्यही पार्टीले चाहिँ देशभित्र प्रत्यक्ष प्रणाली खोज्ने ? यस्तो काम दलबाटै सुरु गरौं न भन्ने हाम्रो प्रस्ताव छ ।

 विश्वका सबै प्रणालीहरूको अध्ययन गर्दा कहीँ पनि कोही सम्पूर्ण रूपमा सन्तुष्टचाहिँ छैनन् । अलिअलि समस्या हुँदैमा प्रणाली नै फेरिहाल्नुपर्ने हुन्छ र ? अहिले देखिएका समस्याका विषयहरूलाई कानुनबाटै सुधार्न सकिन्छ । त्यसैले हामीले कानुन सुधार्ने प्रस्ताव अघि बढाएका छौं । जुन प्रणाली ल्याए पनि हामीले निर्वाचनका प्राविधिक, व्यवस्थापकीय र कानुनी समस्या त सुधार्नैपर्छ । दललाई मजबुत र जनमुखी बनाउने कुरा त जुन प्रणाली आए पनि त गर्नुपर्छ नि । 

आर्थिक दृष्टिले हाम्रा दलहरू कति सुशासित रहेछन् ?

निर्वाचन आयोगले प्रत्यक्ष अनुभूत गर्ने भनेको राजनीतिक दलहरूले आफ्नो वार्षिक विवरणबाट हो । त्यसलाई हामीले महालेखा परीक्षकबाट अडिट गर्नुपर्छ । अर्को आयोगले बाहिर सुन्ने खर्च छ । त्यसको आधिकारिकता हुन्न । अब दलहरूको खर्चको प्रणाली फेर्नुपर्छ । राज्यले नै कतै दललाई कानुनी संरचनामा बाँधेर खर्चको व्यवस्था गर्ने हो कि ?

”There should be a provision not to hold the same post for more than two terms”

अहिले जसले पहुँच, शक्ति, पैसा परिचालन गर्न सक्छ, ऊ मात्रै उम्मेदवार बन्ने स्थिति बनेको छ । यसलाई रोक्न के गर्नुपर्छ ?

संसारभरि यस्तो अवस्था देखिन्छ । यो सबैतिर चिन्ताको विषय हो । नेपालको मात्रै होइन । हाम्रो सन्दर्भमा राजनीतिक दलहरूको इमानदारिताको प्रश्न छ । प्रत्यक्षतर्फ उम्मेदवारी लिएर जान नसक्ने स्थिति बनाइएको छ । २०४८, २०५१, २०५६ मा पैसा नहुनेले पनि चुनाव उठेर जितेका छन् । त्यतिबेला सकिने अहिले नसकिने भन्ने हुँदैन । २०६४ पनि सकियो भने २०८४ मा नसकिने कारण किन निर्माण भयो ? त्यसको कारण के हो ? जनताले पैसा माग्न थालेको हो त ? होइन, मेरो विचारमा राजनीतिक दल, त्यसका उम्मेदवारमा नै यसको कारण देखिन्छ ।

जसरी पनि मैले नै जित्नुपर्छ त्यसका लागि सबै शक्तिको प्रयोग, राज्यशक्तिको दुरुपयोगको मानसिकतामा दोष छ । त्यही भएर पहिलो कुरा दलको शुद्धीकरणकै विषय हो । त्यसो भन्दै गर्दा निर्वाचन आयोग पनि उम्किन पाउँदैन । संसारभरि खर्चको अनुगमन आयोगले गर्छ । आयोगको एक्लो आँखाले मात्रै यसको व्यवस्थापन भने गर्न सकिँदैन । त्यसकारण अब केही पद र ठाउँहरू तोकेर स्वतन्त्र निकायलाई निर्वाचन खर्चको अनुगमन गर्ने जिम्मेवारी दिऊँ भन्ने हाम्रो प्रस्ताव छ । अघिल्लो चुनावमा अख्तियारलाई पनि प्रयोग गर्न खोजेका थियौं । तर, सम्भव भएन ।

हामीले कतै सार्वभौमसत्ता मतादातामाथि लाञ्छित पो गरिराख्या छौं कि । के यथार्थमा राजनीतिक दल वा उम्मेदवारले गर्ने दूषित पैसा जनताले खाइरहेका छन् त ? कि बिचौलियाले कमाइरहेका छन् ? राजनीति नै बिचौलियाको हातमा पुगेको छ वा जनताले पैसा नपाईकन भोट दिन्न भनेको छ ? यसको त कसैले अध्ययन गरेको छैन । अधिकांश मान्छेलाई भेट्दा मतदाताले पैसा मागेको सुनिँदैन । जुन निष्ठाले राजनीतिक दल बनाएका छौं । राष्ट्रप्रति सेवा गर्ने भावना उनीहरूमा हुनुपर्ने अवस्थामा स्खलित भएको उपजले नै यस्तो परिस्थिति निर्माण भएको हो । त्यसकारण त्यहीँबाट यसको सुधार खोजिनुपर्छ । त्यसबाहेक आयोग, मिडिया र समग्र समाज त्यसको विरुद्धमा लाग्नैपर्छ ।

”There should be a provision not to hold the same post for more than two terms”

निर्वाचनमा खटिएर बदमासी गर्ने कर्मचारीलाई समेत आयोगले कारबाही गर्न सक्ने कानुनको अभाव छ । त्यस्ता स्थितिले पनि आयोगलाई समस्या भएको छ । स्थानीय तहको निर्वाचनमा दोलखाको एउटा मतदान केन्द्रमा निर्वाचन तोकिएको समयपूर्व नै एक कर्मचारीले मतपत्रमा हस्ताक्षर गरेछन् । त्यहाँ विवाद भयो । त्यो दिन मतदान हुन सकेन । त्यो कर्मचारीलाई कारबाही गर्ने हामीसँग कानुन छैन । रौतहटमा कुनै दलको कार्यकर्ताले मतपेटिका लुटेर काँधमा बोकेर हिँडे । आगो लगाए । उसलाई मुद्दा चलाउन स्थानीय प्रशासनलाई अनुरोध पनि गर्‍यौं । त्यहाँ मुद्दा चलाइएन । यस्तो अवस्थाबाट माथि उठ्न आवश्यक छ ।

त्यसो भए, निर्वाचनमा बदमासी गर्नेलाई पनि आयोगले कारबाही गर्न सक्दो रहेनछ ?

एउटा उदाहरण दिऊँ । बाजुराको एउटा मतदान केन्द्रमा ३ बजेसम्म मतदान भइरहेको थियो । त्यसपछि त्यहाँ रहेका सुरक्षा निकायका कर्मचारीहरूलाई एकाएक फिर्ता आउन आदेश दिइयो । कसले दियो थाहा भएन । हामीले त्यो जानकारी पायौं । मतपेटिका सुरक्षित राख्न भन्यौं । तर, निर्वाचन आयोग र गृह मन्त्रालयको आदेशमा त्यहाँ फरक परेछ । हामी जसरी पनि निर्वाचन सम्पन्न गराउन चाहन्थ्यौं । ठयाक्कै के चाहनाले त्यसो गरियो त भन्न सकिँदैन तर सम्भवतः कसैले हार्ने भयो भन्ने देखेर होला त्यहाँ सुरक्षा निकायलाई आयोगले चाहेभन्दा फरक आदेश गयो । पछाडि अनुसन्धान गर्दा केहीलाई कारबाही गर्न भन्यौं । मान्छे परिवर्तन गरियो । तर, कारबाही भएन । 

छिमेकी भारतमा चुनावका बेला समग्र सुरक्षा निकाय र कर्मचारी आयोगको निर्देशनमा परिचालित हुन्छ । निर्वाचनको मिति तोकिएपछि त्यहाँ सरकार नै निर्वाचन आयोग भएको जस्तो हुन्छ । तर, हामीकहाँ आयोगलाई त्यो खालको अधिकार छैन ?

आयोगले निर्वाचन प्रयोजनका लागि भनेको वा खोजेको जस्तो मान्छे पनि उपलब्ध गराइँदैन । संवैधानिक निकायलाई काम गर्नका लागि त्यस्तै जनशक्ति चाहिन्छ । तर, त्यसको पनि अभाव हुँदा आयोगले भनेजस्तो प्रभाव पार्न मुस्किल भइरहन्छ ।

आयोगले निर्वाचनका नयाँ कानुनहरूका लागि विधेयकको मस्यौदा तयार पारेको छ । त्यसमा निर्वाचन सुधारका के प्रयास छन् ?

निर्वाचन कानुन व्यवस्थापनमा सुधार गर्न भनेका छौं । त्यसको सुधारले टिकट दिनेदेखि जित्नेसम्मका राजनीतिक दलभित्रका कुरामा सकारात्मक परिवर्तन ल्याउँछ । त्यस्तै, छिटो–छरितो निर्वाचन सम्पन्न हुने वातावरण पनि बन्छ । व्यापक सुधारको मार्गचित्र कोर्छ । महिला प्रतिनिधित्वदेखि समावेशितालाई थप सुनिश्चित गर्ने आधारहरू प्रस्तावित विधेयकमा छ ।

संविधानले संघीय संसद् र प्रदेशसभामा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने भनेको छ । अहिले पहिलो हुने निर्वाचन प्रणालीतर्फ महिलालाई उम्मेदवार नै बनाइँदैन । बनाइए पनि त्यो संख्या नाम मात्रको छ । हामीले प्रत्यक्षतर्फ पनि कम्तीमा ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाइनुपर्ने भनेका छौं, त्यो पनि समावेशी आधारमा । संवैधानिक व्यवस्थालाई अहिलेको कानुनले त्यसैअनुसार लगिदिएको पाइँदैन । त्यसमा आवश्यक सुधारका प्रस्तावहरू गरिएको छ । निर्वाचन कानुन र राजनीतिक दलसम्बन्धी कानुनमा त्यसैअनुसारको सुधार गर्न भनेका छौं । दुईवटा कानुनमा सुधार आयो भने त्यसले निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन कार्यमा स्वतः सुधार हुन्छ ।

निर्वाचनको घोषणा भइसकेपछि अन्तिमसम्म कर्मचारी व्यवस्थापन र निर्वाचन सुरक्षाको सन्दर्भमा निर्वाचन आयोगको निर्णय अन्तिम हुने, आयोगको निर्देशन कार्यान्वयन हुनुपर्ने व्यवस्था गरौं भन्ने हो । त्यति पनि गर्न सकिँदैन भने निर्वाचन आयोगमा संयुक्त कमान्ड फोर्स बनाएर त्यहीँबाट आदेश गर्ने र त्यसको कार्यान्वयन हुने वातावरण बनाइनुपर्छ । सरकारको आदेश र निर्वाचन आयोगको अपेक्षाका बीचमा द्वन्द्व हुने स्थितिमा आयोगको काममै प्रभाव पर्छ । समग्रमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने सन्दर्भमा कानुनहरूमा सुधार भएर आएको खण्डमा एउटा आयामिक परिवर्तन हुनेछ ।

अहिले स्थानीय तहमा नगर प्रमुख वा गाउँपालिका उपाध्यक्ष दुई कार्यकालभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था छ । तर, राजनीतिक दलका अध्यक्षहरू बीसौं, तीसौं वर्षसम्म एउटै व्यक्ति भइरहन्छन् । यसमा सुधारका लागि आयोगले के प्रयास गरेको छ ?

राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि प्रस्ताव गरेको विधेयकमा राजनीतिक दलले आफ्नो विधानमा यस्ता कुराहरू प्रस्ट पार्नुपर्ने भनेका छौं । विधानमा त्यहाँका पदाधिकारीहरूको योग्यता, उमेरको हद र अनुभव तीनवटा कुरा अनिवार्य राख्न प्रस्ताव गरेका छौं । योग्यता के राख्ने भनेपछि दल आफैंले राख्नुपर्‍यो । उसले राखेको कुरालाई जनताले हेर्ने भयो, कस्तो दल रहेछ भनेर । कति पटक भन्नुभन्दा पनि उमेरको हद भनेका छौं । सम्बन्धित राजनीतिक दलले आफ्नो दलभित्र कति उमेर हदसम्म राजनीति गर्ने अधिकार दिन्छ, उसको कुरा भयो । तर, त्यो तोकिनुपर्छ भनेका छौं ।

”There should be a provision not to hold the same post for more than two terms”

सबैलाई बाध्य बनाउने त कानुनले हो । कानुनले त्यो विषयमा प्रस्ट नबोलेपछि दलहरूले अपनाउलान् त ?

दलीय व्यवस्थामा जनताले कुन दलको विधान कस्तो छ, कसको व्यवस्था बढी लोकतान्त्रिक छ आदि विषयलाई छानेरै पार्टीको चयन गर्लान् । विधान नै अगतिलो बनाउने पार्टीको पछाडि निश्चय पनि मतदाताको आकर्षण कम हुन सक्छ । त्यही भएर विधान राम्रो बनाऔं भनेका हौं । सिधै हामीले गर्न मिल्ने देखेनौं । संविधान र प्रचलन पनि हेर्नुपर्छ । तर, मलाई के लाग्छ भने दुई कार्यकालभन्दा बढी कोही पनि व्यक्ति एउटै पदमा रहिरहनु हुँदैन भन्ने सिद्धान्तको विकास दलहरू आफैंले गर्दै जानुपर्छ । र, उमेरको हद पनि तोक्नुपर्छ । यी कुरा पार्टीहरूले विधानमा समेट्दा राम्रो हुन्छ ।

केही ठूला दलले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउन सक्ने स्थिति नरहेको भनिरहेका छन् । कुनै एउटै दलले बहुमत ल्याउन नसक्नुमा के निर्वाचन प्रणालीकै दोष हो त ?

निर्वाचन आयोगलाई पनि अप्रत्यक्ष रूपमा यो सुनाइएकै हो । निर्वाचन खर्च बढी भयो, दोस्रो बहुमत आएन भनेर प्रणालीप्रति असन्तुष्टि जनाइएको छ । बहुमत आएन भन्ने सन्दर्भमा आ–आफ्ना दृष्टिकोण हुन्छन् । राजनीतिक अस्थिरता भइरहन्छ भन्नलाई त २०७२ को संविधानमा पक्कै पनि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीको प्रावधान त राखिएको थिएन होला ।

त्यस्तो त पक्कै होइन होला नि । २०७२ सालमा लेखेको प्रणाली २०७८ सालमै संशोधन गर्नुपर्ने ? त्यस्तो सोच कसरी आउँछ ? पहिलो निर्वाचन हुने प्रणालीमा पनि समानुपातिक समावेशीको व्यवस्था गरेर जानचाहिँ सकिन्छ । प्रत्यक्षतर्फ पनि समावेशी समूहको प्रतिशतअनुसार उम्मेदवार उठाउन दलहरूलाई बाध्य पार्न सक्ने व्यवस्था गर्न सकिन्छ । प्रत्यक्ष चुनाव पनि समावेशी हुन्छ । बेलायतले यो प्रमाणित गरेको छ ।

मेरो विचारमा निर्वाचन प्रणालीका विषयमा बहस गर्न सकिन्छ । तर, तत्कालै परिवर्तन गरेरै जानुपर्छ भन्ने होइन । प्रणालीको विषय उठाएर सम्पूर्ण निर्वाचन प्रक्रिया सुधारको विषय रोक्न खोजिएको त होइन ? त्यस्तो शंका पनि लाग्छ । दलभित्र सुधारको कुरा गरेका छौं । त्यसलाई रोक्न खोजिएको आशंका पनि हामीलाई छ । अमेरिकाले लामो अवधि भयो, एउटै प्रणालीबाट देश चलाइरहेको छ । यहाँ एउटै पुस्ताले पञ्चायत, बहुदलीय, प्रजातन्त्र र गणतन्त्रात्मक प्रणालीको चुनाव हेरेका छन् । 

चारवटा प्रणालीबाट भएका चुनाव त मैले नै देखिसकें । अब फेरि पाँचौं प्रणाली किन ? बहुमत ल्याउन नसक्नुको दोष निर्वाचन प्रणालीलाई दिनु गलत हो । कुनै पनि राजनीतिक दलले आफ्नो नीति सिद्धान्त लिएर जनताको भोट माग्ने हो । आफू नसक्ने अनि दोष प्रणालीलाई ? विचार, सिद्धान्त मिल्नेहरू एकीकरण भएर गए पनि भयो । आयोगमा १ सय २१ दल दर्ता छन् । तर, उनीहरूको सिद्धान्त र विचार हेरियो भने ४/५ प्रकारका समूहभित्र छन् । विचार मिल्नेहरू एकै ठाउँमा बसे हुने नि । दललाई विखण्डन गर्ने कुरा बढी भयो, एकीकरणको कुरा गरिएन । मजबुत राजनीतिक दल बनेर गयो भने मज्जाले बहुमत आउँछ । बहुमत आउन रोक्ने खाले प्रणाली वा कानुन छैन । 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ हुँदा प्रदेशका मुद्दाहरू ओझेलमा पर्‍यो भनिन्छ । चुनाव गर्ने समय फेरबदल आवश्यक छ ?

तीनवटा चुनाव फरक फरक मितिमा गरौं भन्ने सुझाव आएको छ । अहिले भारतमा हेर्नुस् सबै चुनाव एकै दिन गरिनुपर्ने बहस भइरहेको छ । त्यसमाथि अध्ययन चल्दै छ । त्यहाँ वान नेसन, वान एलेक्सनको कुरा छ । उनीहरूले यस मामिलामा नेपालको सफलतालाई उदाहरणका रूपमा लिइरहेका छन् । अमेरिकामा एकैचोटि एकैदिन एउटा मतदाताले झन्डै ३० वटा मतपत्रमा मत हाल्छन् । निर्वाचनलाई प्रभावकारी बनाउने हो भने मेरो विचारमा एकैचोटि सबै तहको निर्वाचन गर्न सकिन्छ । 

स्थानीय तहसहित गर्दा मतपेटिका र मतपत्रमा थोरै परिवर्तन ल्याउनुपर्छ । अनि गणनाका लागि स्क्यानिङ गर्ने मोडलमा जानुपर्छ । मेसिन किन्ने पैसा त्यही चुनावको खर्चले आउँछ । खाली भएका पदमा तत्काल निर्वाचन गरिहाल्नुपर्छ । निर्वाचन गर्ने निकायहरू एकदमै गतिशील हुनुपर्छ । वडा सदस्य, वडाध्यक्ष खाली भयो भने त्यहीँको संरचनालाई चुनाव गर्न दिइहाल्नुपर्छ । वडाध्यक्ष चुन्नलाई पनि केन्द्रको निर्णय पर्खिनु हुन्न । त्यस्तो व्यवस्था गरौं । संविधान संशोधन गरेर एकैसाथ तीनवटै तहको निर्वाचन गरेर जाँदा ठीक हुन्छ । निर्वाचनमा सधैं होमिनुभन्दा एकैसाथ गरौं । आयोगले सक्छ । 

”There should be a provision not to hold the same post for more than two terms”

संसारभर आधुनिक प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको दुरुपयोगले पनि चुनावलाई प्रभावित पारेको छ । अब प्रविधिको प्रयोग र त्यसले ल्याउन सक्ने समस्याहरूको सामना गर्न हामी कति सक्षम हुन्छौं होला ?

प्रविधिको प्रयोगबाट लाभ र दुरुपयोगबाट हानि पनि पुगिरहेको छ । संसारभरि नै निर्वाचनमा प्रविधिको अत्यन्तै विकास र विस्तार भएको छ । तर, सम्पूर्ण रूपमा प्रविधिमा आधारित निर्वाचन असफल हुन्छ भन्ने कोणबाट पनि बहस सुरु भएको छ । जापानमा ईभीएम प्रयोग गरिएको थियो । तर, पछि फेरि कागजकै मतपत्र सुरु गरियो । जर्मनीमा पनि त्यस्तै भएको छ । थाइल्यान्डले पनि कागजकै मतपत्र प्रयोग थालेको छ ।

सम्पूर्ण रूपले आईटीमा आधारित चुनाव साह्रै सीमित देशरूमा मात्रै छ । अहिले सुधार भनेको कागजी मतपत्र नछोड्ने तर मतदान गर्नसाथ मतगणना हुने स्क्यानरबाट मत गणना गर्ने प्रणालीमा जान सकिन्छ । त्यसो गर्दा थारै मतपत्रको डिजाइन फेर्नुपर्छ । अब एआईलगायत सामाजिक सञ्जालको बढ्दो प्रभावले चुनावलाई सडक र भित्ताले प्रभावित गर्दैन । सामाजिक सञ्जालले गर्छ । हार्नेले जित्ने र जित्नेले हार्नेसम्म हुन सक्छ । र, लोकतन्त्र खतरामा पर्ने स्थिति रहन सक्छ । त्यसका निम्ति आयोगले केही नीति बनाएको छ । यस विषयमा केही कानुन पनि बन्दै छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully