काठमाडौँ — राजावादी र प्रहरीबीच झडप हुँदा तीनकुनेमा शुक्रबार ठूलो धनजनको क्षति भयो । यस घटनाबारे राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले प्रदर्शन शान्तिपूर्ण बनाउने प्रयास भए पनि दुर्भाग्यवस सम्भव नभएको दाबी गरे । उनले प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेपछि आन्दोनल भड्किएको दाबी गरे ।
आज भएको हिंसात्मक, अराजक घटनाको जिम्मेवारी कसले लिने ?
यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ । हामी जुलुस गर्ने ठाउँमा गाडीबाट ओर्लेर मञ्चमा गयौं । नजिककै घरको छतबाट प्रहरीले गाडीको वरिपरि ५/१० चोटी टियर ग्यास हान्यो । बल्ल बल्ल हामी मञ्चमा गएका थियौं । त्यहाँ पनि १५/२० वटा टियर ग्यास हानियो । त्यहाँ बस्न नसकेर मलाई बोकेर तल लैजानु पर्यो । त्यो देखेपछि मास अलि उत्तेजित भयो । त्यस बीचमा लाठीचार्ज पनि भएछ । मास साइकोलोजी खराब हुन्छ । त्यो त कसरी कन्ट्रोल गर्न सक्नु । मास उग्र भयो, मासले हिर्काइदियो ।
हामीले कहाँ प्रदर्शन गरौं भन्दा सरकारले तीनकुने दिएको थियो । हामीलाई शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न दिएको भए भइहाल्थ्यो । सरकारको विरुद्धमा नारा लगाउँथ्यौ । राजाको पक्षमा नारा लगाउँथ्यौं । हिन्दूराज्य हुनुपर्छ भनेर भन्थ्यौं । हामीले केही गर्ने थिएनौं । हामीसँग हतियार त थिएन नि !
घर आगलागी हुने थिएन । तोडफोड पनि हुने थिएन । कान्तिपुर टीभीमा पनि क्षति गरिदिए रे भन्ने सुनेँ । मलाई दु:ख लागेको छ । यो दुर्भाग्यो भयो । सरकार अलि संयम भइदिएको भए हुन्थ्यो । हामीले नचाहिने काम केही गरिदिएको थिएन । कार्यक्रम सुरु नै गर्न नपाइकन हामीमाथि किन अट्याक्ट ?
अर्को कुरो, आन्दोलन भड्किन खोज्दा नियन्त्रणका लागि पहिले टियर ग्यास हान्ने चलन छ । अनि रबरको गोली हान्ने चलन छ । केही नलाग्दा कम्मरमुनि गोली हान्ने चलन छ । त्यो सबै नगरेर एकैचोटी गोली चल्यो । त्यो पनि कसैको पिठमा लागेको छ । कसैको हातमा लागेको छ । एउटाको त भुँडीमा लागेको छ । यस्तो पनि कहीं हुन्छ ? म पनि गृहमन्त्री भएको मान्छे । कांग्रेस, कम्युनिस्टहरुसँग मैले पनि फेस गरेको छु । तर जुन रुपमा आज भयो, यो त सरकारको सारै निम्नस्तरको काम भयो ।
मास तपाईंहरु बोलाउने, निजी घर, सञ्चारगृह तोडफोड गर्नेदेखि भाटभटेनीमा लुटपाटसमेत मच्चाइयो अनि यसको जिम्मेवारी सरकारले लिनु पर्ने हो र ?
आन्दोलन भड्कियो । भड्किएको आन्दोलनले जे पनि गर्छ । चैत १७/१८ गतेदेखि हाम्रो प्रदर्शन हुन्छ । यसमा सरकारले नालायकीपन नदेखाओस् । हामी पनि संयमित रुपमा गर्छौं । आज पनि संयमित हुन खोजेका थियौं । तर भएन । दुर्भाग्य भयो ।
आजको आयोजकचाहिँ तपाईंहरु कि दुर्गा प्रसाईं हुनुहुन्छ ?
आयोजक त राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नै हो । तर फिल्डको कमान्डरचाहिँ दुर्गाजीलाई दिएका थियौं ।
फिल्डका कमान्डरले गाडीले प्रहरीलाई धकेल्दै लगे । संयमता कमाण्डरले गुमाए कि राज्यले भन्ने छुट्याउने गाह्रो पर्यो ? प्रहरी नहटेको भए किच्ने अवस्था आउँथ्यो ? मासले होइन, तपाईंहरुकै नेतृत्वले आन्दोलन भड्काएको भन्ने देखिन्छ, यसमा तपाईं के भन्नुहुन्छ ?
त्यो सबै कुरा मलाई थाहा छैन । जानकारी भयो भने कमेन्ट गरुँला ।
![We tried to be restrained but unfortunately it happened: Navraj Subedi [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/navaraj-subedi-2832025042240-1000x0.jpg&w=1001&h=0)