घुसपैठ गरेर जसले तोडफोड गरे, तीसँग हाम्रो सरोकार छैन : रवीन्द्र मिश्र [अन्तर्वार्ता]

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

We have nothing to do with those who vandalized by intruding: Rabindra Mishra [Interview]

काठमाडौँ — राजावादी र प्रहरीबीच झडप हुँदा तीनकुनेमा शुक्रबार ठूलो धनजनको क्षति भयो । राजावादीहरको प्रदर्शनमा सहभागी भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रदर्शनमा घुसपैठ भएकाले आफ्नो सरोकार नभएको भन्दै घटनाको जिम्मेवारी लिन अस्वीकार गरे ।

आज भएको हिंसात्मक, अराजक घटनाको जिम्मेवारी कसले लिने ?

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति स्थापना भएदेखि नै हामीले एकदमै जोड दिएको कुरा नवीन समझदारी हो । शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा देश जाओस् भन्ने हो । यदि त्यो नभएको खण्डमा हामी आन्दोलनमा जानुपर्दा शान्तिपूर्ण र अहिंसात्मक होस् भनेर बारम्बार भनेका छौं ।

आजको स्थितिमा नवराज सुवेदीजी र म एउटै गाडीमा थियौं । गाडीबाट ओर्लिएर स्टेजमा जानेबित्तिकै टियर ग्यास प्रहार भयो । त्यो त सबैले देख्नुभयो होला । टियर ग्यास प्रहार भएपछि त्यहाँ उत्तेजना बढ्यो । प्रदर्शनका सिलसिलामा हामीले जे जत्ति गर्‍यौं । हामी केही प्रमुख मान्छे तीनकुनेमै सीमित रह्यौं । त्यहाँभन्दा कहीं गएको छैन । तर त्यो आन्दोलनमा जति पनि घुसपैठ भयो, जति पनि धन र जनको क्षति भयो त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।

भनेपछि मान्छे तपाईंहरुले बोलाउने, ती मान्छेहरुले तोडफोड गर्ने अनि त्यसको जिम्मेवारी राज्यले लिनु पर्ने ?

हामीले शान्तिपूर्ण आन्दोलन गरेको हो । त्यसमा घुसपैठ गरेर जसले तोडफोड गरे, तीसँग हाम्रो सरोकार छैन । त्यो घुसपैठ र उत्तेजना फैलाउने काम र त्यसपछि जति पनि जनधनको क्षति भयो त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ । 

कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटसमेत गरियो । त्यसलाई पनि घुसपैठ भन्नुहुन्छ ?

भाटभटेनीमा लुटपाट भयो । सञ्चारमाध्यममा गएर आक्रमण गरियो । त्यसपछि घरमा आगो लगाइयो । गोली हानेर मृत्यु भयो । अरु मान्छेहरु घाइते भए । यो स्थिति अझै बिग्रिन नदिन र थप क्षति हुन नदिन नवीन समझदारीमा जाऔं । यो सबै कुरा कम्फर्डमा आउँछ । होइन, यसैगरी दबाएर लैजान्छु भनेर सोच्ने हो भने यिनीहरुले सिरिया, बंगलादेश र श्रीलंकाजस्तो सहन्छन् । 

यो अभियान अब कसरी अगाडि बढ्छ ?

हामी भोलि बैठक बस्छौं । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौं । 

तीनकुनेको कार्यक्रमको आयोजक चाहिँ को हो ?

आयोजक राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नै भनेका छौं । त्यही भएर नै नवराजजी जानु भएको हो । तर यो हिंसा, अशान्ति, तोडफोड, जनधनको क्षति न हाम्रो कुनै योजना हो न हामीले चाहेको कुरा हो ।

कान्तिपुर संवाददाता

Link copied successfully