मापदण्डबिना चलेका अस्पताललाई कारबाही गर्छौँ :  मुख्यमन्त्री सिंह

'जनकपुरका अस्पतालहरूले धेरै बदमासी र लापर्बाही गरेको भेटियो । केही अस्पतालमा त एनेस्थेसिया डाक्टरबिनै अपरेसन गर्ने गरिएको पाइयो ।'

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

We will take action against hospitals that run without standards: Chief Minister Singh

जनकपुर — मधेश प्रदेशका निजी अस्पतालहरू मापदण्डबिनै चलिरहेका छन् । केही दिनअघि मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा केही अस्पताल दर्ताबिनै चलेकोसमेत पाइयो । त्यस्तै बिरामीको अपरेसन एनेस्थेसिया डाक्टरबिनै पनि गरेको पाइएको थियो । मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर फागुनको पहिलो साता जनकपुरका एक निजी अस्पतालका सञ्चालकलाई फोन गरे ।

‘मालदार पार्टी’ भन्दै उनले आफूसँग रहेको बिरामी अस्पताल ल्याउँदा कमिसन कति दिने भनेर अस्पताल सञ्चालकसँग बार्गेनिङ गर्न खोजे । मुख्यमन्त्री सिंहसँग ती अस्पताल सञ्चालकले जताततै छापामारी भइरहेको र आफ्नो अस्पतालमा ताल्चा लागेकोले बिरामीलाई गोदावरी अस्पतालमा लैजान सुझाउँछन् । यस्तै बेथिति नियन्त्रणका लागि मधेश प्रदेश सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा मुख्यमन्त्री सतिशकुमार सिंहसँग कान्तिपुरका लागि अजित तिवारीले गरेको कुराकानी :

मधेश प्रदेशमा नक्कली अस्पताल र स्वास्थ्य संस्थाको त ठूलो जालो रहेछ नि !

जनकपुरको मुस्कान हस्पिटलमा गत माघ ३ गते एक जना बिरामीको पित्तथैलीको शल्यक्रिया गरियो । शल्यक्रियापछि उनको लामो समयसम्म होस खुलेन । उनी अझै अचेत अवस्थामै काठमाडौं उपचाररत्त छिन् । त्यो घटनाले मलाई मर्माहित तुल्यायो । मुस्कान अस्पतालमा पुगेर वस्तुस्थिति बुझ्दा दर्ताबिना नै सञ्चालनमा रहेको पाइयो ।

दर्ता नभएर अस्पताल कसरी सञ्चालनमा आयो ? अपरेशन कसरी गरियो ? मलाई चिन्तित बनायो । यो त जघन्य बदमासी हो । त्यसअघि पनि निजी अस्पतालको बेथितिबारे म जानकार नै थिएँ । मुस्कान अस्पताल बन्द गर्ने निर्देशन दिँदै म जनकपुरका अन्य निजी अस्पतालको निरीक्षणमा निस्किएँ । जनकपुरका अस्पतालहरूले धेरै बदमासी र लापर्बाही गरेको भेटियो । केही अस्पतालमा त एनेस्थेसिया डाक्टरबिनै अपरेसन गर्ने गरिएको पाइयो ।

अधिकांश अस्पताल मापदण्डअनुसार सञ्चालन नहुँदा पनि प्रशासनले नजरअन्दाज गरेको देखियो नि ?

विगतमा अस्पताल संघीय सरकारमातहतमा थियो । प्रदेश सरकारको मातहतमा आएपछि उपल्लो तहको यो किसिमको अनुगमन भएकै थिएन । कर्मचारी लेभलमा हुने गरेको थोरबहुत अनुगमनलाई माथिल्लो नेतृत्वले इशारामा रोकथाम गरिएको हुनसक्छ । दह्रो तरिकाले अस्पतालको अनुगमन नहुँदा जे गर्दा पनि केही नहुने रहेछ भने भ्रम पलायो होला ।  दर्ताबिना नै निर्बाध अस्पताल चलिरहेका थिए । तर, अब त्यो चल्दैन । सरकारी सबै प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन हुनुपर्छ । हाम्रो अभियान पनि त्यही हो । मधेशका स्वास्थ्य संस्थालाई वैधानिक, व्यवस्थित र सुविधासम्पन्न बनाउनैपर्छ ।

कतिपय ठाउँमा अनमी, अहेब र एम्बुलेन्स चालकले समेत अस्पताल सञ्चालन गरेको पनि पाइयो त ?

हो, एम्बुलेन्स चालक मिलेर पनि अस्पताल सञ्चालन गरेको पाइयो । दुइटा कोठा भाडामा लिएर अनमी र अहेबले पनि अस्पताल खोलेका छन् । अस्पताल कुनै पसलजस्तो त हुँदैन होला नि । मानिसको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा जे पनि गर्न पाइँदैन । संवेदनशील पेशा भएकाले यसको मर्यादा र विश्वास कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी राख्ने छैनन् ।

नक्कली अस्पतालका सञ्चालकहरूमाथि के कारबाही हुन्छ ?

अहिले हामी पहिलो स्टेपकै काम गरिरहेका छौं । कागजी प्रक्रिया पूरा गर्न सबै अस्पताललाई भनेका छौं ।  नवीकरण नगरेका अस्पतलालाई दुई महिनाको समय दिएका छौं । दर्ता र नवीकरण दुवै रहेकालाई मापदण्ड पूरा गर्न भनेका छौं । हामी अस्पताल क्षेत्रमा देखिएको समस्यालाई हल गर्नेगरी नै अगाडि बढेका छौं । यो अभियान बीचमै तुहिने कसैलाई शंका छ भने अर्को स्टेप हेर्नुहोला । 

कान्तिपुर

Link copied successfully