'पहिचानको मुद्दा नै पार्टी एकताको आधार'

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

'The issue of identity is the basis of party unity'

काठमाडौँ — जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता प्रयास अन्तिम चरणमा पुगेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले बताएका छन् । एकीकृत पार्टीको नाम र चुनाव चिह्न लगभग टुंगिएको र सहमतिको ड्राफ्ट अन्तिम चरणमा पुगेको उनले बताए । यसै विषयमा उनीसँग गरिएको छोटो कुराकानी :

नागरिक उन्मुक्ति पार्टी जनमतसँग मिल्न तयार भएको हो ?

पार्टी एकताको राजनीतिक ड्राफ्ट तयार भइसकेको छ । अब छिट्टै पार्टी एकता गर्ने तयारीमा छौं ।

पार्टी एकताको आधारचाहिँ के हो ?

हामीले थरुहट पहिचान माग्यौं । यो नेताको स्वार्थले मागेको होइन । त्यहाँका जनताको भावना हो । तराई मधेशमा बसोबास गर्ने रहनसहन, कार्यशैली मिल्ने, तराईमा बसेर हामीजस्तै पहिचानको मुद्दा अघि बढाइरहेका शक्ति मिलेर राष्ट्रिय नेतृत्व लिनुपर्छ भन्ने अवधारणा नै पार्टी एकताको आधार हो । अब पहिचानवादीको ठूलो शक्ति बन्न मुद्दा मिल्ने पार्टीसँग सहकार्य गर्नुको विकल्प छैन ।

यतिबेला नै किन मिल्न थाल्नुभयो ?

राजनीतिक दलसम्बन्धी विधेयकले साना दललाई कस्दै लग्न खोजेको छ । साना दललाई कैंची चलाउन खोजेको छ । हामी प्रतिस्पर्धात्मक राजनीतिबाट आफूलाई श्रेष्ठ साबित गरेर आएका हौं । निर्वाचनमा जान डराउँदैनौं । तसर्थ, मुद्दा मिल्ने शक्तिहरू एक हुनुको विकल्प छैन । हामी पार्टी एकताको अन्तिम चरणमा छौं । पार्टीको नाम र चुनाव चिह्न लगभग टुंगो भइसकेको छ । सहमतिको ड्राफ्ट पनि अन्तिम चरणमा पुगेको छ ।

मधेश तराई केन्द्रित अन्य दल पनि पहिचानको मुद्दालाई अघि बढाइरहेका छन् नि ?

हामी पुराना शक्तिमाथि विश्वास गर्दैनौं । उनीहरू नेतृत्व लिन मात्र विश्वास गर्छन् । पहिचानको मुद्दालाई ध्यान दिंदैनन् । हामीले पहिचानको मुद्दालाई प्राथमिकतामा राखेका छौं । नेतृत्वका लागि होडबाजी नगरी हामी मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्छौं ।

कान्तिपुर संवाददाता

Link copied successfully