‘पहिचानवादी शक्तिबीच एकता भएपछि मात्रै हाम्रा मुद्दा अघि बढाउन सकिन्छ’

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

”Our issues can be advanced only after the unity of the identitarian forces”

काठमाडौँ — पहिचानवादी शक्ति एक हुनुपर्छ भन्ने मुख्य आधारमा जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकताको प्रयास भएको जनमतका महासचिव चन्दन सिंहले बताएका छन् । दुई पार्टीबीचको एकताबारे उनीसँग गरिएको छोटो कुराकानी :

जनमत र उन्मुक्तिबीच पार्टी एकताको आधार बनिसकेको हो ?

गत साता बसेको हाम्रो केन्द्रीय समिति बैठकले नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार प्रक्रिया अघि बढेको छ । अब औपचारिक रूपमा एकता गर्ने बाटो खुलेको छ । जतिसक्दो छिटो एकता गर्ने पक्षमा हामी छौं ।

एकताको आधार के हो ?

हामी पहिचानवादी शक्तिहरू एक हुनुपर्छ भन्ने मुख्य आधार हो । पहिचानवादी, परिवर्तनकामी शक्तिहरूबीच एकता गरेपछि मात्र हाम्रा मुद्दा अघि बढाउन सकिन्छ । नागरिक उन्मुक्ति पार्टीको मूल उद्देश्य पनि पहिचानको मुद्दालाई मूर्त रूपमा अघि बढाउने भएकाले एकताका लागि आधार तयार भएको हो । मधेशी थारु, दलित, मुस्लिमको पहिचानसहित राज्यसत्तामा देखिने गरी उपस्थिति जनाउनका लागि एकता हुन लागेको हो ।

कस्तो राजनीतिक दस्ताबेज, विधान बन्दैछ त ?

एकता पूरा गरेपछि ठोस रूपमा सबै कुरा बाहिर आउनेछ । पूरै समथर मधेश तराईका मुद्दालाई केन्द्रित गरी अघि जानेछौं । मधेश, थरुहटमा आन्दोलन भयो । पहिचानवादी आन्दोलन भयो । हामी कहाँ चुक्यौं यसमा ? हाम्रो आफ्नै पहिचान र इतिहास छ । अब त्यसलाई केलाएर अघि बढ्ने मुख्य उद्देश्य हो । नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा ४ सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सकेन । नागरिक उन्मुक्ति राष्ट्रिय पार्टी बन्यो । त्यतिबेला मिलेर चुनाव लडेको भए हामी ठूलो राष्ट्रिय शक्ति हुने थियौं । हामीले यही राजनीतिक परिस्थितिलाई विश्लेषण गरी एक भएर जानुपर्छ भन्ने टुंगोमा पुगेका छौं । थरुहट र मधेश एक भयौं भने पहिचानवादी शक्ति भोलिको दिनमा निर्णायक शक्ति हुन्छौं । हाम्रो उद्देश्य एउटै हो, हाम्रो पीडा एउटै हो, मिलेर गयौं भने तराई मधेशका थुप्रै समस्या समाधान गर्न सकिन्छ ।

पहिचानको मुद्दा त अरू मधेश केन्द्रित दलले पनि उठाएका छन् नि ?

उनीहरूले सत्तामा जानका लागि पहिचानको मुद्दा उठाएका हुन् । उनीहरू १५ वर्षदेखि सत्तामै छन् । पहिचानको मुद्दा सफल भयो त ? हामी नयाँ शक्ति बनेर आएपछि मधेश, थरुहटको आशा हामीमाथि छ । जनताले हामीलाई नै विश्वास गरेका छन् ।

दुई पार्टी मिल्नुपर्ने किन महसुस भयो ?

हामीले पहिले पनि मिल्ने प्रयास गरेका हौं । त्यतिबेला प्राविधिक कारणले मिलन हुन सकेको थिएन । अहिले जनमत र नागरिक उन्मुक्तिका अध्यक्ष एकमत भएर ०८४ को निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा पुग्नु भएको छ ।

कान्तिपुर

Link copied successfully