काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको ६२ महिना भयो । थपिएको समयअनुसार २०८२ असोजभित्र निर्माण सक्नुपर्नेछ । अहिलेसम्म निर्माण प्रगति ८५ प्रतिशत पुगेको छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । ०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङको काम ४२ महिनाभित्र सक्नुपर्ने थियो । तर कोभिड, स्थानीयको अवरोधलगायत कारणले तोकिएको समयमा काम नसकिएको दाबी आयोजनाको छ ।
पहिलो सडक सुरुङमार्गको सञ्चालनलगायतका विषयमा सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीसँग कान्तिपुरका विमल खतिवडाले गरेको संक्षिप्त कुराकानी :
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा के काम भइरहेको छ ?
मुख्य–मुख्य काम पूरा भइसकेको छ । अहिले कंक्रिट सडक निर्माणको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले अब धेरै काम बाँकी छैन । भेन्टिलेसन, लाइटिङ जडानको काम पनि भइरहेको छ ।
त्यसो भए कहिलेसम्म सुरुङ मार्ग सञ्चालनमा आउँछ त ?
०८२ असोज अन्तिमसम्मको समय छ । अहिले कामको गति बढेको छ । कुनै समस्या आएन भने समयसीमा अघि नै सुरुङ मार्ग सञ्चालनमा आउनेछ ।
काठमाडौंको नागढुंगा, त्यसमा पनि टुटीपाखामै किन सुरुङ निर्माण आवश्यक पर्यो ?
नौबिसेको उकालो लाग्दै गर्दा सिस्नेखोला खण्ड पुगेपछि जोखिमयुक्त क्षेत्र सुरु हुन्छ । जुन अप्ठ्यारो खण्ड छ । जहाँ धेरै दुर्घटना पनि भए । सडकको ग्रेड पनि उच्च छ । यस खण्डका पहाड बलियो खालका छैनन् । विगतमा यस खण्डमा पहिरो खसेर समस्याहरू आए । मानवीय क्षति पनि भयो । गत असोजमा नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटरमा रहेको झ्याप्ले खोलामा पहिरो खसेर ठूलो दुर्घटना भयो । जहाँ पहिरो खस्ने कल्पना गरिएको थिएन । रोकिराखेका दुईवटा माइक्रो र एउटा यात्रुबाहक बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको थियो । यस खण्डमा हुने दुर्घटनाको जोखिम सुरुङमार्ग सञ्चालनमा आएपछि छलिनेछ । समयको बचत हुन्छ । सवारी सञ्चालन मर्मत गर्न लाग्ने लागत कम हुन्छ । इन्धनको बचत हुन्छ ।
सुरुङ सञ्चालनमा आएपछि दूरी र समय कति छोट्टिन्छ ?
यसमा अरु सुरुङमा जस्तो धेरै दूरी घट्ने होइन । यात्राको समय घट्छ । दैनिक हुने ट्राफिक जामबाट छुट्कारा पाइन्छ । अहिले सम्भाव्यता अध्ययनअनुसार सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुको किसिपिडीसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्छ । तर, सुरुङ सञ्चालनमा आएपछि सिस्नेखोलाबाट बलम्बुको किसिपिडीसम्म ७ मिनेटमा आउन सकिनेछ ।
बलम्बुस्थित किसिपिडी क्षेत्रमा फ्लाइओभरको काम पनि भइरहेको छ, कति काम सकियो ?
यो नेपालकै पहिलो फ्लाइओभर हो । यसको निर्माण पनि प्राविधिक रूपमा चुनौतीपूर्ण थियो । यसको काम पनि ९५ प्रतिशत सकिसकेको छ । रेलिङहरूको काम हुँदै छ । फ्लाइओभरबाट सुरुङमार्गसम्म पुग्ने दुई लेन सडकमा तेस्रो तहको कालोपत्र गरिँदै छ ।
यो सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ, यसको सञ्चालनबारेको तयारी कस्तो छ ?
धेरैको माग सडक लामो भयो, दूरी घटाऔं भनेर सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ । तर सुरुङमार्ग निर्माण त्यति सजिलो भने छैन । निर्माण लागत महँगो पर्ने, निर्माणको क्रममा समस्या आउने र फेरि निर्माण गरिसकेपछि सञ्चालन खर्च पनि उस्तै बढी लाग्छ । यसलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्छ । त्यही अनुसार जनशक्ति र मेसिन–उपकरणहरू चाहिन्छ ।
अहिले नागढुंगा सुरुङमार्ग वार्षिक रूपमा सञ्चालन गर्न ४० करोड रुपैयाँ लाग्ने अनुमान छ । टोल शुल्क कति उठ्छ, कति सहज हुन्छ भन्नेबारे सञ्चालन गरेपछि मात्रै थाहा हुने कुरा हो । त्यसैले अत्यावश्यक ठाउँमा मात्र सुरुङ निर्माण गर्नुपर्छ । नत्र आवश्यक नभएको ठाउँमा सुरुङमार्गमा लगानी गर्नु उचित देखिँदैन ।
यो सुरुङ मार्ग सरकारले सञ्चालन गर्छ कि निजी क्षेत्रलाई जिम्मा दिइन्छ ?
सुरुमा हाम्रो दृष्टिकोण सडक विभागले नै सञ्चालन गर्ने भनेर काम गरिएको थियो । पछि यसका बारेमा बुझ्दै र तयारी गर्दै जाँदा सञ्चालन खर्च महँगो पर्ने देखियो । सयभन्दा बढी स्थायी कर्मचारी चाहिने र चौबीसै घण्टा कर्मचारी खटाउनु पर्ने देखियो । त्यसैले सञ्चालनका लागि ठेक्का आह्वान गरी तेस्रो पक्षलाई ५ वर्षसम्म दिने विकल्प अघि सारिएको छ । यसका लागि काम अघि बढाएका छौं । यसबारे धेरै नीतिगत निर्णय भइसकेका छन् । यो नेपालको पहिलो सडक सुरुङमार्ग हो । त्यसैले नियम–कानुन बनाउँदै जानुपर्ने अवस्था छ । हामी त्यसको तयारीमा छौं ।
यो सुरुङमार्गबाट कस्ता सवारी साधन गुड्न पाउने छैनन् ?
प्रज्ज्वलनशील पदार्थ बोकेका साधन, मोटरसाइकल र बढी भारवहन क्षमता भएका सवारी साधनले यो सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । अन्य सवारी साधनले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छन् । अहिले भइरहेको सिस्नेखोलादेखि नागढुंगा उकालो खण्डको स्तरोन्नतिको काम भइरहेको छ । सुरुङमार्ग प्रयोग गर्न नपाउने सवारी साधनले उक्त सडक भएर ओहरदोहर गर्न सक्ने छन् । सुरुङमार्ग प्रयोग गरेबापत सवारी चालकले तोकिएको निश्चित शुल्क भने तिर्नुपर्ने छ । कति शुल्क लिने भन्नेबारे अहिले नै निर्णय भइसकेको छैन ।
यो सुरुङ मार्गले भोलिका दिनमा निर्माणसँग सम्बन्धित प्रविधि हस्तान्तरण गर्न कस्तो सहयोग गर्छ ?
यो सुरुङमार्गले धेरै दूरी छोट्याउने होइन । काठमाडौंमै निर्माण भएको सुरुङमार्ग हो । त्यसैले प्रविधिका बारेमा बुझ्न हामी सबैलाई सजिलो भएको छ । यसमा ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको भए पनि त्यहाँ काम गर्ने नेपाली धेरै छन् । यहाँ काम गरेकाहरूले भोलिका दिनमा अन्य सुरुङमार्गमा गएर काम गर्न सक्ने भए । सडक विभागका प्राविधिकहरूले पनि सिक्ने अवसर पाए ।
पहिला सुरुङभन्दा कसरी बनाउने हो ? के हुने हो भन्ने डर हुन्थ्यो । निर्माणमा गएपछि सबैले सिक्ने अवसर पाइयो । पहिलो सडक सुरुङमार्ग भएकाले यो सञ्चालनसम्बन्धी कानुनहरू बन्दै छन् । यहाँ काम गरेका जनशक्ति अन्य ठाउँमा सुरुङ निर्माण गर्दा प्रयोग हुने भए । जसले गर्दा विदेशी जनशक्तिको मुख ताक्नु पर्ने छैन । पहिलादेखि जलविद्युत् आयोजनामा सुरुङ निर्माण गरिएको त्यो र सवारी साधन गुड्ने सुरुङमार्ग निर्माणमा केही फरक हुन्छ ।
