‘सुरुङ निर्माण जति महँगो छ, सञ्चालन खर्च पनि उत्तिकै बढी पर्ने रहेछ’

माघ २, २०८१

कान्तिपुर संवाददाता

”The more expensive the construction of the tunnel is, the more the operating expenses are.”

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको ६२ महिना भयो । थपिएको समयअनुसार २०८२ असोजभित्र निर्माण सक्नुपर्नेछ । अहिलेसम्म निर्माण प्रगति ८५ प्रतिशत पुगेको छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । ०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङको काम ४२ महिनाभित्र सक्नुपर्ने थियो । तर कोभिड, स्थानीयको अवरोधलगायत कारणले तोकिएको समयमा काम नसकिएको दाबी आयोजनाको छ ।

पहिलो सडक सुरुङमार्गको सञ्चालनलगायतका विषयमा सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीसँग कान्तिपुरका विमल खतिवडाले गरेको संक्षिप्त कुराकानी :

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा के काम भइरहेको छ ?

मुख्य–मुख्य काम पूरा भइसकेको छ । अहिले कंक्रिट सडक निर्माणको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले अब धेरै काम बाँकी छैन । भेन्टिलेसन, लाइटिङ जडानको काम पनि भइरहेको छ ।

त्यसो भए कहिलेसम्म सुरुङ मार्ग सञ्चालनमा आउँछ त ?

०८२ असोज अन्तिमसम्मको समय छ । अहिले कामको गति बढेको छ । कुनै समस्या आएन भने समयसीमा अघि नै सुरुङ मार्ग सञ्चालनमा आउनेछ ।

काठमाडौंको नागढुंगा, त्यसमा पनि टुटीपाखामै किन सुरुङ निर्माण आवश्यक पर्‍यो ?

नौबिसेको उकालो लाग्दै गर्दा सिस्नेखोला खण्ड पुगेपछि जोखिमयुक्त क्षेत्र सुरु हुन्छ । जुन अप्ठ्यारो खण्ड छ । जहाँ धेरै दुर्घटना पनि भए । सडकको ग्रेड पनि उच्च छ । यस खण्डका पहाड बलियो खालका छैनन् । विगतमा यस खण्डमा पहिरो खसेर समस्याहरू आए । मानवीय क्षति पनि भयो । गत असोजमा नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटरमा रहेको झ्याप्ले खोलामा पहिरो खसेर ठूलो दुर्घटना भयो । जहाँ पहिरो खस्ने कल्पना गरिएको थिएन । रोकिराखेका दुईवटा माइक्रो र एउटा यात्रुबाहक बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको थियो । यस खण्डमा हुने दुर्घटनाको जोखिम सुरुङमार्ग सञ्चालनमा आएपछि छलिनेछ । समयको बचत हुन्छ । सवारी सञ्चालन मर्मत गर्न लाग्ने लागत कम हुन्छ । इन्धनको बचत हुन्छ ।

सुरुङ सञ्चालनमा आएपछि दूरी र समय कति छोट्टिन्छ ?

यसमा अरु सुरुङमा जस्तो धेरै दूरी घट्ने होइन । यात्राको समय घट्छ । दैनिक हुने ट्राफिक जामबाट छुट्कारा पाइन्छ । अहिले सम्भाव्यता अध्ययनअनुसार सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुको किसिपिडीसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्छ । तर, सुरुङ सञ्चालनमा आएपछि सिस्नेखोलाबाट बलम्बुको किसिपिडीसम्म ७ मिनेटमा आउन सकिनेछ ।

बलम्बुस्थित किसिपिडी क्षेत्रमा फ्लाइओभरको काम पनि भइरहेको छ, कति काम सकियो ?

यो नेपालकै पहिलो फ्लाइओभर हो । यसको निर्माण पनि प्राविधिक रूपमा चुनौतीपूर्ण थियो । यसको काम पनि ९५ प्रतिशत सकिसकेको छ । रेलिङहरूको काम हुँदै छ । फ्लाइओभरबाट सुरुङमार्गसम्म पुग्ने दुई लेन सडकमा तेस्रो तहको कालोपत्र गरिँदै छ । 

यो सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ, यसको सञ्चालनबारेको तयारी कस्तो छ ?

धेरैको माग सडक लामो भयो, दूरी घटाऔं भनेर सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ । तर सुरुङमार्ग निर्माण त्यति सजिलो भने छैन । निर्माण लागत महँगो पर्ने, निर्माणको क्रममा समस्या आउने र फेरि निर्माण गरिसकेपछि सञ्चालन खर्च पनि उस्तै बढी लाग्छ । यसलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्छ । त्यही अनुसार जनशक्ति र मेसिन–उपकरणहरू चाहिन्छ ।

”The more expensive the construction of the tunnel is, the more the operating expenses are.”

अहिले नागढुंगा सुरुङमार्ग वार्षिक रूपमा सञ्चालन गर्न ४० करोड रुपैयाँ लाग्ने अनुमान छ । टोल शुल्क कति उठ्छ, कति सहज हुन्छ भन्नेबारे सञ्चालन गरेपछि मात्रै थाहा हुने कुरा हो । त्यसैले अत्यावश्यक ठाउँमा मात्र सुरुङ निर्माण गर्नुपर्छ । नत्र आवश्यक नभएको ठाउँमा सुरुङमार्गमा लगानी गर्नु उचित देखिँदैन ।

यो सुरुङ मार्ग सरकारले सञ्चालन गर्छ कि निजी क्षेत्रलाई जिम्मा दिइन्छ ?

सुरुमा हाम्रो दृष्टिकोण सडक विभागले नै सञ्चालन गर्ने भनेर काम गरिएको थियो । पछि यसका बारेमा बुझ्दै र तयारी गर्दै जाँदा सञ्चालन खर्च महँगो पर्ने देखियो । सयभन्दा बढी स्थायी कर्मचारी चाहिने र चौबीसै घण्टा कर्मचारी खटाउनु पर्ने देखियो । त्यसैले सञ्चालनका लागि ठेक्का आह्वान गरी तेस्रो पक्षलाई ५ वर्षसम्म दिने विकल्प अघि सारिएको छ । यसका लागि काम अघि बढाएका छौं । यसबारे धेरै नीतिगत निर्णय भइसकेका छन् । यो नेपालको पहिलो सडक सुरुङमार्ग हो । त्यसैले नियम–कानुन बनाउँदै जानुपर्ने अवस्था छ । हामी त्यसको तयारीमा छौं ।

यो सुरुङमार्गबाट कस्ता सवारी साधन गुड्न पाउने छैनन् ?

प्रज्ज्वलनशील पदार्थ बोकेका साधन, मोटरसाइकल र बढी भारवहन क्षमता भएका सवारी साधनले यो सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । अन्य सवारी साधनले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छन् । अहिले भइरहेको सिस्नेखोलादेखि नागढुंगा उकालो खण्डको स्तरोन्नतिको काम भइरहेको छ । सुरुङमार्ग प्रयोग गर्न नपाउने सवारी साधनले उक्त सडक भएर ओहरदोहर गर्न सक्ने छन् । सुरुङमार्ग प्रयोग गरेबापत सवारी चालकले तोकिएको निश्चित शुल्क भने तिर्नुपर्ने छ । कति शुल्क लिने भन्नेबारे अहिले नै निर्णय भइसकेको छैन ।

यो सुरुङ मार्गले भोलिका दिनमा निर्माणसँग सम्बन्धित प्रविधि हस्तान्तरण गर्न कस्तो सहयोग गर्छ ?

यो सुरुङमार्गले धेरै दूरी छोट्याउने होइन । काठमाडौंमै निर्माण भएको सुरुङमार्ग हो । त्यसैले प्रविधिका बारेमा बुझ्न हामी सबैलाई सजिलो भएको छ । यसमा ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको भए पनि त्यहाँ काम गर्ने नेपाली धेरै छन् । यहाँ काम गरेकाहरूले भोलिका दिनमा अन्य सुरुङमार्गमा गएर काम गर्न सक्ने भए । सडक विभागका प्राविधिकहरूले पनि सिक्ने अवसर पाए ।

पहिला सुरुङभन्दा कसरी बनाउने हो ? के हुने हो भन्ने डर हुन्थ्यो । निर्माणमा गएपछि सबैले सिक्ने अवसर पाइयो । पहिलो सडक सुरुङमार्ग भएकाले यो सञ्चालनसम्बन्धी कानुनहरू बन्दै छन् । यहाँ काम गरेका जनशक्ति अन्य ठाउँमा सुरुङ निर्माण गर्दा प्रयोग हुने भए । जसले गर्दा विदेशी जनशक्तिको मुख ताक्नु पर्ने छैन । पहिलादेखि जलविद्युत् आयोजनामा सुरुङ निर्माण गरिएको त्यो र सवारी साधन गुड्ने सुरुङमार्ग निर्माणमा केही फरक हुन्छ ।

कान्तिपुर

Link copied successfully