उडिरहने चराको गणना कसरी गरिन्छ ?

पुस २१, २०८१

कान्तिपुर संवाददाता

How are flying birds counted?

कपिलवस्तु — फुरफुर उडिरहने, एकै ठाउँमा बस्दै नबस्ने अनि उस्तै उस्तै देखिने चराको गणना कसरी गरिन्छ होला ? धेरैलाई अचम्म लाग्न सक्छ । शनिबारबाट नेपालमा पानी र सीमसार क्षेत्रमा पाइने जलपन्छीहरूको गणना सुरु भएको छ । जसमा चरासम्बन्धी ज्ञान भएका चार सयभन्दा धेरै स्वयंसेवक, नेचरगाइड र चराविद् परिचालित छन् ।

फुत्त फुत्त हिँड्ने र फुरफुर उड्ने चरा कसरी गनिन्छ ? के यो सजिलो काम हो ? चरा गन्न के कस्ता विधि र प्रविधिको प्रयोग हुन्छ ? अनि चरा गन्नका लागि के विशेष खालको सीप र दक्षता चाहिन्छ ? कान्तिपुरकर्मी मनाेज पाैडेलले यिनै प्रश्न चराविद् हठन चौधरीलाई सोधेका छन् :

चराको गणना कसरी गरिन्छ ?
पानी चरालाई भिजुवल्ली अर्थात् हेरेर गणना गरिन्छ । हामीले प्रत्येक चराको टाउको नै गनेर यसको गणना गर्ने हो । तर ठूलो तालतलैया छ भने प्रत्येक चराको टाउको गन्न गाह्रो हुन्छ । त्यस्तो बेला भने हामीले ताललाई विभिन्न भाग अर्थात् ग्रिडमा विभाजन गर्छौं । अनि प्रत्येक ग्रिडको जिम्मा निश्चित व्यक्तिलाई दिन्छौं । अनि एउटा ग्रिडमा गनिएका चराको संख्या र प्रजातिको औसत संख्या निकालेर तालमा कति चरा छन् भनेर हिसाब निकाल्छौं ।

तालमा बसेको चराको त टाउको गन्न सकिएला । उडिरहेका चराको गणना चाहिँ कसरी हुन्छ ?
उडिरहेका चराको गणना यकिन गर्न गाह्रो हुन्छ । उडिरहेका चरा ठ्याक्कै कति छन् भनेर भन्न सकिन्न । अनि हेरेकै भरमा ती कुन जाति र प्रजातिका चरा हुन् भनेर पनि भन्न सकिन्न । तर अहिले प्रविधिले हामीलाई सहयोग गर्छ । कुन चराको हो भनेर चिन्न सकिएन भने क्यामराले जुम गरेर त्यसको तस्बिर खिचेर हामी पहिचान गर्छौं । वनजंगलमा पाइने चराको हकमा भने आवाजका भरमा पनि गणना गर्न सकिने विधि हुन्छ । तर पानीचरा भने हेरेरै गणना गर्नुपर्ने हुन्छ । अरू चराको तुलनामा पानीचरा अलि ठूला हुन्छन् । सजिलै देखिन्छन् । त्यसैले पनि गणना गर्न सजिलो हुन्छ ।  How are flying birds counted?

चराहरू स्वभावैले चञ्चले हुन्छन् । फुर्रफुर्र उडिरहन्छन् । एक पटक गणना गरेको चरा उडेर गणना नगरेको ठाउँमा गएर बस्यो भने कसरी तथ्यांक व्यवस्थापन गर्नु हुन्छ ?
यस्तो अवस्थामा आफूले गणना गरेको चरा उडेर गणना नगरेको ठाउँमा गएर बस्यो भने त्यसलाई घटाउँछौं । तर, पर गणना गरेको ठाउँभन्दा अलिक पर गएर बस्यो भने घटाउँदैनौं । गणना स्थलमा साथीहरू विभिन्न ठाउँमा बसेर गणना गर्छन् । कताबाट उडेर कता गयो ? कता आउँदैछ भनेर निगरानी चाहिँ गर्छौं । यो काममा साथीबीच राम्रो सञ्चार सम्पर्क हुन्छ । ठूलो ठाउँमा धेरै जना साथी हुँदा प्रजाति विभाजन गरेर जिम्मेवारी दिई काम गर्छौं । दई-तीनतिरबाटै गणना गर्दै आउँछौं । यसले काम गर्न सजिलो हुन्छ । मिसमास हुने सम्भावना कम हुन्छ । जलपन्छी पानीमा लेउ र माछा धेरै पाइने ठाउँमा झुण्डझुण्ड बनाएर बस्छन् । पानीचरा मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारी लिएर निश्चित दूरीबाट गणना गर्छौं । अगाडि देखिने चराको संख्या र प्रजाति टिपोट गर्दै जान्छौं । कुनै चराले गणकलाई पछाडिबाट नाघेर अगाडि जान्छन् भने संख्या नदोहोरियोस् भनेर त्यसलाई घटाउँछौँ । चरा गणनाका लागि त्यसको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चराविज्ञ नेचर गाइड दूरबिन र क्यामरा लिएर गणनामा खट्छन् ।

गणना गर्दा के के उपकरण प्रयोग हुन्छ ?
लोकेसनका लागि जीपीएस चाहिन्छ । दूरबिन निकै महत्त्वपूर्ण हुन्छ । क्यामरा पनि चाहिन्छ । कहिलेकाहीँ क्यामराले तस्बिर खिचेर पहिचान गर्नुपर्ने हुन्छ । नयाँ चरा रेकर्ड गर्न पाइयो भने त गजब भइहाल्यो । जसका लागि पनि क्यामरा नभई नहुने उपकरणमा पर्छ । टेलिस्कोप भए अझ राम्रो हुन्छ । यसले टाढाको चरा राम्ररी पहिचान गर्न मद्दत गर्छ ।

चरा गणना गर्न कत्तिको गाह्रो काम हो ?
चुनौतीपूर्ण नै हुन्छ । हेलचेक्र्याइँ गरे तथ्यांक गल्ती हुन्छ । नीति योजना प्रभावकारी बन्दैन ।

मान्छेले गर्ने चरा गणनाले कत्तिको आधिकारिकता पाउँछ ?
चरा गणनाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले राम्रो रेस्पोन्स गरिरहेको छ । विभागसँग स्रोत र जनशक्ति अभाव हुँदा स्वयंसेवी रूपमा चराविद् र संरक्षणकर्मीले गर्ने गणना हुँदा यसको प्रमाणिकता मजबुत बनाएको छ । गणनाबाट आउने नतिजाले संरक्षणका नीति योजना र कार्यक्रम बनाउन विभागलाई सहयोग पुगेको छ ।

चरा गणनाबाट आउने नतिजाले के के कुरालाई दिशा निर्देश गर्छ ?
सीमसार क्षेत्रको अवस्था कस्तो छ ? बासस्थान, आहारविहार राम्रो छ कि छैन । विषादी, जलवायु परिवर्तनको असर के छ ? चरालाई असुरक्षा र चुनौती के कस्ता छन् भन्ने कुरा मापन गर्न सहयोग गर्छ । जलपन्छी सीमसार र त्यस आसपासका वातावरणको सूचक प्रजाति पनि भएकाले त्यसको संख्याले त्यस ठाउँमा वातावरणीय अवस्थालाई पनि इंगित गर्छ । त्यसले सीमसार क्षेत्रको संरक्षण गर्न पानीचराको गणना र संख्याले महत्त्व राख्छ । समग्रमा सीमसार क्षेत्र कति स्वस्थ छ भन्ने सन्देश दिन्छ ।  

कान्तिपुर

Link copied successfully