काठमाडौँ — पछिल्ला केही वर्षयता विभिन्न जिल्लामा निर्माणका लागि अध्ययन गर्न भन्दै सुरुङ मार्गको नाम बजेटमा राख्ने गरिएको छ । त्यस्ता सुरुङको संख्या करिब दुई दर्जन हाराहारी छ । अहिलेसम्म पाल्पाको सिद्धबाबा र नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको मात्र निर्माण जारी छ ।
अन्य सुरुङ मार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । केही बजेटमा राखिए पनि अध्ययन थालिएको छैन । यसरी बजेटमा राखिएका दुई दर्जन सुरुङको निर्माण कसरी सम्भव छ ? यसै सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासँग कान्तिपुरका विमल खतिवडाले गरेको संक्षिप्त कुराकानी :
निर्माण गर्ने भन्दै सुरुङको अध्ययन दुई दर्जन हाराहारी पुर्याइएको छ, यी सबै सुरुङको निर्माण सम्भव छ त ?
अहिले धेरै सुरुङको पूर्वसम्भाव्यता अध्ययन मात्र गरिएको छ । कुनै पनि सुरुङ बनाउन सम्भव नहुने हुँदैन । निर्माण गरेअनुसार फाइदा हुन्छ/हुँदैन भन्ने मात्र हो । अहिले हेर्दा अध्ययन गरिएका धेरै सुरुङबाट लागत कम गर्न सकिने (कस्ट रिकभरी) हुने खालका छैनन् । फेरि विस्तृत अध्ययन गर्दा दूरी घटाएर लागत कम गराउन सकिन्छ । अहिले अध्ययन गरिएका सबै सुरुङको निर्माण सम्भव छैन । सम्भव हुने सुरुङको निर्माण क्रमशः गर्दै लगिनेछ । अहिले पूर्वसम्भाव्यता अध्ययन गरिएका सुरुङलाई छानेर विस्तृत सम्भाव्यता अध्ययन गरेपछि मात्र निर्माणमा जाने कुरा टुंगो लाग्छ ।
यति धेरै संख्याबाट निर्माण गर्ने सुरुङ कसरी छनोट गरिन्छ ?
कुन ठाउँमा सुरुङ बनाउँदा सडकको लम्बाइ घट्छ, समयको बचत हुन्छ, ढुवानी खर्च कम पर्न जान्छ र ट्राफिक जाम कम हुन्छ त्याे हेरेर मात्रै निर्माणको प्रक्रिया अघि बढाइन्छ ।
नेपालमा यति धेरै सुरुङ मार्ग आवश्यक छन् र ?
हाम्रो अर्थतन्त्रले धान्ने हुँदा त अहिले अध्ययन भएका सबै सुरुङको आवश्यकता छ । तर तत्कालका लागि अध्ययन गरिएका यी सबै सुरुङ आवश्यक होइनन् । जहाँ अप्ठ्यारो सडक छ, सवारी चाप बढी छ, त्यहाँ सुरुङ बनाउन सकियो भने त्यसबाट फाइदा हुन्छ ।
राजनीतिक दबाबमा प्रत्येक वर्ष बजेटमा सुरुङको नाम अनिवार्य रूपमा राखिन्छ, फेरि त्यस्तो सुरुङको अध्ययन गरेर मात्र थन्क्याइन्छ, निर्माणमा जान सकिँदैन, किन ?
पाल्पाको सिद्धबाबा दुर्घटनाको ठूलो जोखिम रहेको क्षेत्र हो । त्यो ठाउँमा सडक सुरक्षाको दृष्टिकोणले सुरुङ निर्माण एकदमै आवश्यक थियो, त्यही अनुसार त्यहाँ सुरुङ निर्माण गरिरहेका छौं । प्रारम्भिक तहको अध्ययन गर्न राजनीतिक दबाबको कुरा नै हुँदैन । प्राविधिक रूपमा अध्ययन गरिसकेपछि निर्माण गर्न आवश्यक हो/होइन थाहा भइहाल्छ । फेरि हामीले अध्ययन गरेर जथाभावी निर्माण पनि गरेका छैनौं । सामान्य खर्चमै पूर्वसम्भाव्यता अध्ययन गरेर निर्माण गर्न आवश्यक हो कि होइन निर्क्योल मात्र गर्दै आएका छौं । आवश्यक भए थप विस्तृत रूपमा अध्ययनको प्रक्रिया अघि बढाइ निर्माणमा लग्नेछौं ।
सुरुङ निर्माण लागत र सञ्चालन खर्च धान्न महँगो पर्छ, यस्तो अवस्थामा अध्ययन गरिएका सबै सुरुङ कसरी निर्माण गर्न सकिन्छ ?
सुरुङ सञ्चालन र निर्माणबारे हामीसँग दक्ष जनशक्ति पनि छैन । भोलिका दिनमा हामीले आफ्नै ठाउँमा जनशक्ति तयार पार्न सक्छौं । त्यसैले तुलनात्मक रूपमा निर्माण लागत पनि कम पर्न सक्छ । अहिले हाम्रा लागि सवारी साधन गुड्ने पहिलो सडक सुरुङ मार्ग भनेकै नागढुंगा–सिस्नेखोला हो । जुन सुरुङ हाम्रा लागि परीक्षणको रूपमा रहने छ । यो सञ्चालनमा आएपछि धेरै कुरा थाहा हुनेछ ।
अहिले हामी अन्दाजका भरमा पनि काम गरिरहेका छौं । उक्त सुरुङ मार्गको निर्माण सकिएपछि कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरा वास्तविक रूपमा आउने छ । यो सुरुङमा थुप्रै नेपालीले काम गरेर दक्ष बनेका छन् । प्रविधि हस्तान्तरणको काम भइरहेको छ । भोलिका दिनमा अर्को ठाउँमा सुरुङ बनाउँदा उक्त जनशक्ति प्रयोग गर्न सकिन्छ । जसले गर्दा निर्माण लागत र सञ्चालन खर्च कम पर्न सक्छ ।
सुरुङ बनाउनै सकिँदैन भने बर्सेनि संख्या मात्र कति थपिरहने त ?
अहिले सुरुङ थप्ने काम गरिएको छैन । अहिले प्रारम्भिक अध्ययन भएकाले सुरुङको संख्या बढी देखिएको हो । अब प्रारम्भिक अध्ययन गरिएका सुरुङलाई प्राथमिकता तोकेर विस्तृत अध्ययन गरिनेछ । अहिले एकदमै आवश्यक देखिएको सिन्धुलीको खुर्कोट–चियाबारी र नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्नेको दुम्कीबास–बर्दघाट सुरुङ मार्ग हो । यसलाई निर्माणको प्राथमिकतामा राखेका छौं । यो खण्डमा सुरुङ बनाउन सकिए ट्राफिक व्यवस्थापनमा धेरै नै सहज हुनेछ ।
