'अधिकारसम्पन्न नभएसम्म विश्वविद्यालय अघि बढ्न सक्दैन'

पुस १६, २०८१

कान्तिपुर संवाददाता

'The university cannot move forward unless it is empowered'

त्रिविको ५० औं स्वर्ण दीक्षान्त समारोहमा एमएस्सी रसायनशास्त्रमा सर्वोत्कृष्ट नतिजा ल्याएर पदक र पुरस्कार पाउने छात्र सुशील पोखरेलसँग गरिएको कुराकानी

त्रिविबाट पदक पाउँदा कस्तो महसुस गर्नु भयो ?

गोल्ड मेडल एकैचोटि प्राप्त भएको उपलब्धि होइन । यसका लागि कयौं दिनरात मिहिनेत गरेको थिए । दीक्षान्त समारोहमा हजारौं विद्यार्थीको बीचमा आफ्नो नाम सबैभन्दा अगाडि देख्दा निकै उत्साही भए । केमेष्ट्री (रसायनशास्त्र) मलाई विद्यालयदेखि नै मन पर्ने विषय थियो । साइन्स भित्रको पनि केमेष्ट्री जति पढ्दै गएँ । त्यति नै म रम्दै पनि जान थालें । मैले साथीहरुसँग टीयूको गोल्ड मेडलिस्ट नबनेसम्म फेसबुकको प्रोफाईल पिक्चर फेर्दिन भनेको थिएँ । यो व्याचलरमा पढ्दै गर्दाको बेला थियो । अहिले ७ वर्ष भएछ । गोल्ड मेडल बन्न सकिनँ भने ४ वटा विषयमा डिग्री गर्ने बाचा गरेको थिएँ । त्यसका लागि मैले धेरै कुरा गुमाएँ । आफ्नो दैनिक रुटिनलाई कडाईपूर्वक पालना गर्थें । पढाईमा मिहिनेत गर्दा आफन्तहरु टाढा भए होलान् । अवसरहरु गुमे होलान् । यसपछिका लक्ष्यहरु पूरा गर्न विश्वविद्यालयबाट पहिलो लक्ष्य चाहिँ पूरा गरे जस्तो लाग्छ ।

विगतको शैक्षिक यात्रा, स्कुल, प्लस टु, स्नातक तह कहाँ पढ्नु भयो ? कस्तो रह्यो ?

मेरो स्कुले शिक्षा गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको दुर्गमको सामुदायिक विद्यालयबाट पूरा गरे । त्यो पुरानो विद्यालय थियो । तर मैले पहिलो पटक ८० प्रतिशतभन्दा बढी अंक ल्याएँ । त्यतिबेला ठूलो उपलब्धि गरे जस्तो लागेको थियो । खास त्यो केही पनि होइन रहेछ । डिस्टिक्सन ल्याएको मान्छेले त्यतिबेला साइन्सबाहेक पढ्ने कुरा नै भएन । मन पर्ने विषय पनि साइन्स नै थियो । 

पाल्पाको कलेजमा प्लस टु पढें । त्यतिबेला अमेरिकाबाट पीएचडी गरेका एक जना अनुसन्धानकर्ता कलेजमा जानु भएको थियो । उहाँको रसासनशास्त्रसम्बन्धी एक घण्टाको कक्षामा बसेपछि मेरो लगाब झनै बढेर गयो । त्यसपछि डाक्टर, इन्जिनियरतर्फ सोच्न नै छाडेँ । एमएस्सी नै गर्छु भनेर त्यतिबैलै बाचा गरेँ । पछि डिग्रीमा उहाँकै सुपरभिजनमा थेसिस गर्ने मौका पनि पाएँ । 

बुटबल बहुमुखी क्याम्पसबाट स्नातक गरेँ । पढाईसँग समाज, अर्थशास्त्र, राजनीतिक, इतिहास, विज्ञानलाई जोड्नुपर्ने कुरा सिक्दै गएँ । विश्वविद्यालयमा आइपुग्दा पढाईसँगै शैक्षिक मुद्दालाई पनि उठाउँदै जान थालें । 

धेरै विद्यार्थीको रुची टीयूको सेन्टरल डिपार्टमेण्टमा गएर पढ्ने हुन्छ । तर त्यहाँ राजनीतिकरण छ । अस्तव्यस्त छ । नियुक्तिमा भागबन्डा हुन्छ पनि भनिन्छ । खासमा त्रिवि कस्तो छ ?

विश्वविद्यालयमा राजनीतिक बहस हुनुपर्छ । अहिले संसदमा पनि सकारात्मक तरिकाले राजनीतिक बहस हुन सकेको छैन । अदालतमा पनि त्यस्तो भएको देखिँदैन । कम्तीमा त्रिविमा प्राध्यापकहरुले माओ, मार्क्स, गान्धी, फेडल क्लिस्टोको सिद्धान्त यो छ भनेर बहस हुने गरेको छ । राजनीतिक चिन्तन हुन पर्छ । प्राध्यापकहरुले राजनीति गर्नु समस्या होइन । विद्यार्थीले एजेण्डाका लागि राजनीति गर्नु पनि समस्या होइन । कर्मचारी अधिकारका लागि एकीकृत हुनु पनि समस्या होइन । प्राध्यापक बन्न पूरा गर्नुपर्ने शैक्षिक योग्यता, अनुसन्धान रिपोर्ट उसले राजनीतिक संलग्ताले प्राप्त गर्न सक्दैन । आफ्नो क्षमताले बनेको प्राध्यापक विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिन, रेक्टर, रजिष्ट्रार, उपकुलपति बन्न पाटी कार्यालय जानुपर्ने चाहिँ समस्या हो । 

राजनीतिक नियुक्तिले गर्दा योग्यतम मान्छेहरु पछाडि परेको अवस्था छ । विश्वविद्यालय सञ्चालनको व्यवस्था नै गलत छ । प्रधानमन्त्री कुलपति हुने कुरा नै गलत छ । सबैभन्दा ठूलो समस्या नै यही हो । प्रधानमन्त्रीले मेरो यो मान्छेलाई विभागीय प्रमुख राख्न देउ भन्छ । यस कारण पनि विश्वविद्यालय स्वायत्त हुन सकेको छैन । अधिकारसम्पन्न नभएसम्म विश्वविद्यालय अघि बढ्न सक्दैन । नियुक्ति र बढुवाका लागि मापदण्ड तोकेर लागू गर्दियो भने राजनीति गर्नु नै पर्दैन । यो सिष्टम हाम्रोमा लागू हुन सकेको छैन । नेतृत्वमा योग्यता पूरा गरेको उत्कृष्ट व्यक्ति आउने व्यवस्था बनाएपछि राजनीति गर्नु नै पर्दैन । विभागमा आफ्नो फेबरमा नभएको विद्यार्थीलाई विभागीय प्रमुखले फेलसम्म गराउँछन् । फरक राजनीतिक आस्था राख्ने विद्यार्थीको प्राप्तांक कम आउँछ । एसईई परीक्षामा जस्तो कस्को उत्तरपुस्तिका परीक्षण हुँदै छ । त्यो परीक्षकलाई थाहा नहुने बनाउनुपर्छ । 

विद्यार्थीहरु पनि तालाबन्दी गर्ने, तोडफोड गर्ने, पदाधिकारीलाई अवरोध गर्ने गर्छन् । यो पनि राजनीति हो र ?

तपाईंले भनेको एकदम सही हो । तर कतिपय बेलामा यस्तो अवस्था आउँछ । विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिन, रजिष्ट्रार, रेक्टर, उपकुलपति विद्यार्थीबाट टाढा भइदिन्छन् । विश्वविद्यालयमा यस्तो अवस्था छ भनेर एउटा विद्यार्थीले उपकुलपतिलाई भेट्न पाउँदैन । जब आफ्नो समस्या राख्न पाइँदैन । त्यसपछिको विकल्प तालाबन्दी हो । मैले तालाबन्दी सही भनेको छैन । आफू अनुकूलको निर्णय गराउन तालाबन्दी गराउने पनि हाबी छ । अहिले पनि कतिपय ठाउँमा ताला छ । उपकुलपतिको कार्यालयमा धेरै दिनसम्म धर्ना भयो । यो गलत राजनीतिक अभ्यास हो । विद्यार्थी राजनीतिलाई सही ट्याकमा लैजान सक्नुपर्छ ।

नेपालको शिक्षा प्रणाली समग्रमा कस्तो छ ?

हामीले साईन्समा डिनलाई भेटेर पाठ्यक्रममा रहेका कमीकमजोरीको जानकारी गराउने गरेका छौं । विद्यार्थीको समय पनि बचत हुने गरी पाठ्यक्रम बनाउन सुझाव दिएका छौं । जस्तो पहिलो, दोस्रो सेमेष्टरलाई सैद्धान्तिक विषयमा केन्द्रित गरियो भने त्यसपछिका सेमेष्टरलाई प्रयोगात्मक बनाउँदै लैजान सकिन्छ । त्यसपछि रिसर्चमा पनि जान सजिलो हुन्छ । प्रयोगात्मक अभ्यासहरु पनि एकदम पूराना खालका मात्र छन् । प्रविधिका सामग्री र ल्याबमा पनि हामी कमजोर छौं । त्यसमा सरकारले लगानी बढाउनुपर्छ । 

त्रिविको केन्द्रीय पुस्तकालयलाई ल्याबसँग पनि जोड्ने र प्रत्येक विभागका ल्याबहरुलाई सुधार गर्नुपर्छ । त्यति गर्न सक्यो भने अहिले जस्तो परम्परागत रिसर्च र प्रयोगात्मक अभ्यासलाई मार्केट सुहाउँदो बनाउन सकिन्छ । प्रयोगात्मक अभ्यासलाई पनि व्यवहार, उद्योगधन्दा जोड्न सक्ने खालको बनाउनुपर्छ । हरेक विषयलाई त्यसरी जोड्न पनि सकिन्छ । त्यसपछि पाठ्यक्रम पनि अनुसन्धान केन्द्रित बनाएर डिजाईन गर्न सकिन्छ । ५०/६० वर्ष पुरानो पाठ्क्रयम लागू गरेर ठूलो परिवर्तन गर्ने अपेक्षा राखिराखेका छौं । 

पाठ्यक्रमलाई विश्व परिवेश सुहाउँदो बनाउन आवश्यक छ । विभागका उत्कृष्ट विद्यार्थीहरुलाई जागिर दिए पनि नेपाल बस्ने अवस्था छैन । विद्यार्थीको पढाई उद्योगधन्दासँग जोड्न नसक्दा पनि यो अवस्था आएको हो । क्षमतावान प्राध्यापकहरु त्रिविमा हुनुहुन्छ । तर रिसर्च गर्न बजेट पाउनु भएको छैन । बजेट प्राप्त गरे पनि प्रक्रिया झन्झटिलो छ । तर पनि रिसर्चहरु भएका छन् । केही पनि छैन मात्रै होइन, देशभरिका उत्कृष्टहरु त्रिविमा नै छन् ।

टीयूको केन्द्रीय विभागबाट शैक्षिक उपाधि प्राप्त गर्नु भयो । त्यहाँको सुन्दर पक्ष चाहिँ के पाउनु भयो ?

त्रिविको सिकाई वातावरण एकदम राम्रो छ । विद्यार्थीहरु चौरमा बसेर पनि पढिराखेको भेटिन्छ । चिया पसलमा प्राध्यापकहरु समाज, विज्ञान, अर्थशास्त्र, कूटनीति, राजनीतिको कुरा गरिराखेको भेटिन्छ । चिया खाँदै गर्दा पनि केही सिक्न पाइने, चौरमा बसेर बदाम खाँदा पनि केही जान्न सकिने अवस्था छ । यति राम्रो सिकाई वातारण कीर्तिपुरबाहेक नेपालमा अयन्त्र छ जस्तो लाग्दैन । यति राम्रो हुँदाहुँदै पनि राज्यले सही प्रयोग गर्न सके जस्तो लाग्दैन ।

विद्यार्थीको आकर्षण विदेशतर्फ बढ्नुको कारण के होला ?

म पढाई पूरा गरे पनि जागिरको खोजीमा निस्केँ । पढाउन भनेर केही प्लस टुमा पुगें । गोल्ड मेडल पाएको भनेपछि कसैले पनि मलाई राख्न खोजेन । सबैले ६ महिनामा विदेश जान्छ टिक्दैन भन्छन् । म विदेश जान्नँ, नेपाल नै बस्छु भनेको मान्छेलाई सबैले देशमा बस्दैन भनेपछि म कसरी बस्नु ? समाजले नै विदेश जान बाध्य बनाउँछ । सबैले त्यही भनेपछि म नेपालमा बस्न जन्मेको मान्छे नै होइन कि जस्तो लाग्छ । यहाँ बस्ने वातावरण नै छैन । 

सरकार र विश्वविद्यालयले गर्न सक्ने काम पनि गरेका छैनन् । केन्द्रीय विभाग वा सम्बन्धित मन्त्रालयमा इन्टर्नसिप वा करारका रुपमा उत्कृष्ट विद्यार्थीलाई राख्न सकिन्छ । पढाउने शिक्षक र काम गर्ने कर्मचारीको कमी हुन थालेको छ । विद्यार्थीलाई काममा लगाउन राज्यले सक्दैन । सरकारले गोल्ड मेडल प्राप्त गर्नेलाई कुनै पनि क्याम्पसमा करारमा नियुक्त गर्न किन सक्दैन ? म २ वर्षका लागि जुनकुनै क्याम्पसमा जान तयार छु । कम्तीमा २ वर्ष यहाँ बसे भने मेरो विदेश जाने धारणा परिवर्तन हुन पनि सक्छ । प्रधानमन्त्रीसँग पदक लिँदै गर्दा विश्वविद्यालयको अवस्था बताउन समय पनि मागेको थिएँ तर समय मिलेको छैन । 

प्रधानमन्त्रीलाई के भन्न चाहनुहुन्थ्यो र ?

जुन कुनै मेडललिस्टलाई यहाँ जागिरको अवसर दिँदा के बिग्रन्छ र ? व्यवस्थापनको सर्वप्रथम विद्यार्थीलाई सरकारी बैंकमा, शिक्षाको टपरलाई क्याम्पस, स्कुलमा, विज्ञानका मेडललिस्टलाई सरकारी अनुसन्धान केन्द्रहरुलाई नियुक्ति दिन किन सकिँदैन ? वर्षको ४०/५० वटा दरबन्दी विश्वविद्यालयको टपरलाई छुट्टाउन सरकारले सक्दैन । म अनुसन्धान गर्न चाहन्छु तर मैले विश्वविद्यालयको प्राध्यापक नभएसम्म कहींबाट बजेट पाउने अवस्था छैन । विश्वविद्यालयको सेवा आयोग समयमा खुल्दैन । कम्तीमा यहाँ टिक्ने वातावरण हुनुपर्छ । प्रधानमन्त्री, शिक्षामन्त्री उच्चपदस्थहरुले यो कुरा बुझेजस्तो लाग्दैन । उहाँहरुले भेट्ने भनेको नेताहरुलाई हो । नेताहरुले त जहिल्यै राम्रो छ भनिदिनु हुन्छ । वास्तविक समस्या नै नबुझी समस्या समाधान हुन सक्दैन । 

शिक्षा सुधारका लागि सुझाव र तपाईंको शैक्षिक भविष्यबारे केही बताइदिनु न ।

त्रिविको विभागहरुमा सिन्डिकेट छ । विद्यार्थीले प्रश्न पनि गर्न सक्दैनन् । प्रश्न गर्दा नम्बर घट्छ कि भन्ने डर हुन्छ । विश्वविद्यालयमा सुधारका कामहरु गर्न जरुरी छ । विश्वविद्यालयको सेवा आयोग नियमित हुनुपर्छ । त्यसो हुन सकेको भए म पहिले सेवा प्रवेश गरेर मात्र थप अध्ययनतर्फ लाग्थें होला । विदेश जान मन त छैन । सेवा आयोगका लागि यो वर्ष त प्रतिक्षा गरुँला । सधैं प्रतिक्षा गर्न त सक्दिनँ । बाध्यताले विदेश पुगेँ भने फर्कने शतप्रतिशत ग्यारेन्टी हुँदैन । 

विदेशमा पीएचडी गरेका प्राध्यापकहरुलाई फर्कन चाहे पनि वातावरण छैन । विश्वविद्यालयमा प्राध्यापकहरु फास्ट ट्र्याकबाट लिने गर्नुपर्छ । सकभर देशभित्रै बस्ने कोसिस गर्छु । सकिनँ भने हार खाएर विदेश जान्छु । विदेश गएपछि फर्कन्छु भन्ने ग्यारेण्टी गर्न सक्दिनँ ।

कान्तिपुर

Link copied successfully