त्रिविको ५० औं स्वर्ण दीक्षान्त समारोहमा एमएस्सी रसायनशास्त्रमा सर्वोत्कृष्ट नतिजा ल्याएर पदक र पुरस्कार पाउने छात्र सुशील पोखरेलसँग गरिएको कुराकानी
त्रिविबाट पदक पाउँदा कस्तो महसुस गर्नु भयो ?
गोल्ड मेडल एकैचोटि प्राप्त भएको उपलब्धि होइन । यसका लागि कयौं दिनरात मिहिनेत गरेको थिए । दीक्षान्त समारोहमा हजारौं विद्यार्थीको बीचमा आफ्नो नाम सबैभन्दा अगाडि देख्दा निकै उत्साही भए । केमेष्ट्री (रसायनशास्त्र) मलाई विद्यालयदेखि नै मन पर्ने विषय थियो । साइन्स भित्रको पनि केमेष्ट्री जति पढ्दै गएँ । त्यति नै म रम्दै पनि जान थालें । मैले साथीहरुसँग टीयूको गोल्ड मेडलिस्ट नबनेसम्म फेसबुकको प्रोफाईल पिक्चर फेर्दिन भनेको थिएँ । यो व्याचलरमा पढ्दै गर्दाको बेला थियो । अहिले ७ वर्ष भएछ । गोल्ड मेडल बन्न सकिनँ भने ४ वटा विषयमा डिग्री गर्ने बाचा गरेको थिएँ । त्यसका लागि मैले धेरै कुरा गुमाएँ । आफ्नो दैनिक रुटिनलाई कडाईपूर्वक पालना गर्थें । पढाईमा मिहिनेत गर्दा आफन्तहरु टाढा भए होलान् । अवसरहरु गुमे होलान् । यसपछिका लक्ष्यहरु पूरा गर्न विश्वविद्यालयबाट पहिलो लक्ष्य चाहिँ पूरा गरे जस्तो लाग्छ ।
विगतको शैक्षिक यात्रा, स्कुल, प्लस टु, स्नातक तह कहाँ पढ्नु भयो ? कस्तो रह्यो ?
मेरो स्कुले शिक्षा गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको दुर्गमको सामुदायिक विद्यालयबाट पूरा गरे । त्यो पुरानो विद्यालय थियो । तर मैले पहिलो पटक ८० प्रतिशतभन्दा बढी अंक ल्याएँ । त्यतिबेला ठूलो उपलब्धि गरे जस्तो लागेको थियो । खास त्यो केही पनि होइन रहेछ । डिस्टिक्सन ल्याएको मान्छेले त्यतिबेला साइन्सबाहेक पढ्ने कुरा नै भएन । मन पर्ने विषय पनि साइन्स नै थियो ।
पाल्पाको कलेजमा प्लस टु पढें । त्यतिबेला अमेरिकाबाट पीएचडी गरेका एक जना अनुसन्धानकर्ता कलेजमा जानु भएको थियो । उहाँको रसासनशास्त्रसम्बन्धी एक घण्टाको कक्षामा बसेपछि मेरो लगाब झनै बढेर गयो । त्यसपछि डाक्टर, इन्जिनियरतर्फ सोच्न नै छाडेँ । एमएस्सी नै गर्छु भनेर त्यतिबैलै बाचा गरेँ । पछि डिग्रीमा उहाँकै सुपरभिजनमा थेसिस गर्ने मौका पनि पाएँ ।
बुटबल बहुमुखी क्याम्पसबाट स्नातक गरेँ । पढाईसँग समाज, अर्थशास्त्र, राजनीतिक, इतिहास, विज्ञानलाई जोड्नुपर्ने कुरा सिक्दै गएँ । विश्वविद्यालयमा आइपुग्दा पढाईसँगै शैक्षिक मुद्दालाई पनि उठाउँदै जान थालें ।
धेरै विद्यार्थीको रुची टीयूको सेन्टरल डिपार्टमेण्टमा गएर पढ्ने हुन्छ । तर त्यहाँ राजनीतिकरण छ । अस्तव्यस्त छ । नियुक्तिमा भागबन्डा हुन्छ पनि भनिन्छ । खासमा त्रिवि कस्तो छ ?
विश्वविद्यालयमा राजनीतिक बहस हुनुपर्छ । अहिले संसदमा पनि सकारात्मक तरिकाले राजनीतिक बहस हुन सकेको छैन । अदालतमा पनि त्यस्तो भएको देखिँदैन । कम्तीमा त्रिविमा प्राध्यापकहरुले माओ, मार्क्स, गान्धी, फेडल क्लिस्टोको सिद्धान्त यो छ भनेर बहस हुने गरेको छ । राजनीतिक चिन्तन हुन पर्छ । प्राध्यापकहरुले राजनीति गर्नु समस्या होइन । विद्यार्थीले एजेण्डाका लागि राजनीति गर्नु पनि समस्या होइन । कर्मचारी अधिकारका लागि एकीकृत हुनु पनि समस्या होइन । प्राध्यापक बन्न पूरा गर्नुपर्ने शैक्षिक योग्यता, अनुसन्धान रिपोर्ट उसले राजनीतिक संलग्ताले प्राप्त गर्न सक्दैन । आफ्नो क्षमताले बनेको प्राध्यापक विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिन, रेक्टर, रजिष्ट्रार, उपकुलपति बन्न पाटी कार्यालय जानुपर्ने चाहिँ समस्या हो ।
राजनीतिक नियुक्तिले गर्दा योग्यतम मान्छेहरु पछाडि परेको अवस्था छ । विश्वविद्यालय सञ्चालनको व्यवस्था नै गलत छ । प्रधानमन्त्री कुलपति हुने कुरा नै गलत छ । सबैभन्दा ठूलो समस्या नै यही हो । प्रधानमन्त्रीले मेरो यो मान्छेलाई विभागीय प्रमुख राख्न देउ भन्छ । यस कारण पनि विश्वविद्यालय स्वायत्त हुन सकेको छैन । अधिकारसम्पन्न नभएसम्म विश्वविद्यालय अघि बढ्न सक्दैन । नियुक्ति र बढुवाका लागि मापदण्ड तोकेर लागू गर्दियो भने राजनीति गर्नु नै पर्दैन । यो सिष्टम हाम्रोमा लागू हुन सकेको छैन । नेतृत्वमा योग्यता पूरा गरेको उत्कृष्ट व्यक्ति आउने व्यवस्था बनाएपछि राजनीति गर्नु नै पर्दैन । विभागमा आफ्नो फेबरमा नभएको विद्यार्थीलाई विभागीय प्रमुखले फेलसम्म गराउँछन् । फरक राजनीतिक आस्था राख्ने विद्यार्थीको प्राप्तांक कम आउँछ । एसईई परीक्षामा जस्तो कस्को उत्तरपुस्तिका परीक्षण हुँदै छ । त्यो परीक्षकलाई थाहा नहुने बनाउनुपर्छ ।
विद्यार्थीहरु पनि तालाबन्दी गर्ने, तोडफोड गर्ने, पदाधिकारीलाई अवरोध गर्ने गर्छन् । यो पनि राजनीति हो र ?
तपाईंले भनेको एकदम सही हो । तर कतिपय बेलामा यस्तो अवस्था आउँछ । विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिन, रजिष्ट्रार, रेक्टर, उपकुलपति विद्यार्थीबाट टाढा भइदिन्छन् । विश्वविद्यालयमा यस्तो अवस्था छ भनेर एउटा विद्यार्थीले उपकुलपतिलाई भेट्न पाउँदैन । जब आफ्नो समस्या राख्न पाइँदैन । त्यसपछिको विकल्प तालाबन्दी हो । मैले तालाबन्दी सही भनेको छैन । आफू अनुकूलको निर्णय गराउन तालाबन्दी गराउने पनि हाबी छ । अहिले पनि कतिपय ठाउँमा ताला छ । उपकुलपतिको कार्यालयमा धेरै दिनसम्म धर्ना भयो । यो गलत राजनीतिक अभ्यास हो । विद्यार्थी राजनीतिलाई सही ट्याकमा लैजान सक्नुपर्छ ।
नेपालको शिक्षा प्रणाली समग्रमा कस्तो छ ?
हामीले साईन्समा डिनलाई भेटेर पाठ्यक्रममा रहेका कमीकमजोरीको जानकारी गराउने गरेका छौं । विद्यार्थीको समय पनि बचत हुने गरी पाठ्यक्रम बनाउन सुझाव दिएका छौं । जस्तो पहिलो, दोस्रो सेमेष्टरलाई सैद्धान्तिक विषयमा केन्द्रित गरियो भने त्यसपछिका सेमेष्टरलाई प्रयोगात्मक बनाउँदै लैजान सकिन्छ । त्यसपछि रिसर्चमा पनि जान सजिलो हुन्छ । प्रयोगात्मक अभ्यासहरु पनि एकदम पूराना खालका मात्र छन् । प्रविधिका सामग्री र ल्याबमा पनि हामी कमजोर छौं । त्यसमा सरकारले लगानी बढाउनुपर्छ ।
त्रिविको केन्द्रीय पुस्तकालयलाई ल्याबसँग पनि जोड्ने र प्रत्येक विभागका ल्याबहरुलाई सुधार गर्नुपर्छ । त्यति गर्न सक्यो भने अहिले जस्तो परम्परागत रिसर्च र प्रयोगात्मक अभ्यासलाई मार्केट सुहाउँदो बनाउन सकिन्छ । प्रयोगात्मक अभ्यासलाई पनि व्यवहार, उद्योगधन्दा जोड्न सक्ने खालको बनाउनुपर्छ । हरेक विषयलाई त्यसरी जोड्न पनि सकिन्छ । त्यसपछि पाठ्यक्रम पनि अनुसन्धान केन्द्रित बनाएर डिजाईन गर्न सकिन्छ । ५०/६० वर्ष पुरानो पाठ्क्रयम लागू गरेर ठूलो परिवर्तन गर्ने अपेक्षा राखिराखेका छौं ।
पाठ्यक्रमलाई विश्व परिवेश सुहाउँदो बनाउन आवश्यक छ । विभागका उत्कृष्ट विद्यार्थीहरुलाई जागिर दिए पनि नेपाल बस्ने अवस्था छैन । विद्यार्थीको पढाई उद्योगधन्दासँग जोड्न नसक्दा पनि यो अवस्था आएको हो । क्षमतावान प्राध्यापकहरु त्रिविमा हुनुहुन्छ । तर रिसर्च गर्न बजेट पाउनु भएको छैन । बजेट प्राप्त गरे पनि प्रक्रिया झन्झटिलो छ । तर पनि रिसर्चहरु भएका छन् । केही पनि छैन मात्रै होइन, देशभरिका उत्कृष्टहरु त्रिविमा नै छन् ।
टीयूको केन्द्रीय विभागबाट शैक्षिक उपाधि प्राप्त गर्नु भयो । त्यहाँको सुन्दर पक्ष चाहिँ के पाउनु भयो ?
त्रिविको सिकाई वातावरण एकदम राम्रो छ । विद्यार्थीहरु चौरमा बसेर पनि पढिराखेको भेटिन्छ । चिया पसलमा प्राध्यापकहरु समाज, विज्ञान, अर्थशास्त्र, कूटनीति, राजनीतिको कुरा गरिराखेको भेटिन्छ । चिया खाँदै गर्दा पनि केही सिक्न पाइने, चौरमा बसेर बदाम खाँदा पनि केही जान्न सकिने अवस्था छ । यति राम्रो सिकाई वातारण कीर्तिपुरबाहेक नेपालमा अयन्त्र छ जस्तो लाग्दैन । यति राम्रो हुँदाहुँदै पनि राज्यले सही प्रयोग गर्न सके जस्तो लाग्दैन ।
विद्यार्थीको आकर्षण विदेशतर्फ बढ्नुको कारण के होला ?
म पढाई पूरा गरे पनि जागिरको खोजीमा निस्केँ । पढाउन भनेर केही प्लस टुमा पुगें । गोल्ड मेडल पाएको भनेपछि कसैले पनि मलाई राख्न खोजेन । सबैले ६ महिनामा विदेश जान्छ टिक्दैन भन्छन् । म विदेश जान्नँ, नेपाल नै बस्छु भनेको मान्छेलाई सबैले देशमा बस्दैन भनेपछि म कसरी बस्नु ? समाजले नै विदेश जान बाध्य बनाउँछ । सबैले त्यही भनेपछि म नेपालमा बस्न जन्मेको मान्छे नै होइन कि जस्तो लाग्छ । यहाँ बस्ने वातावरण नै छैन ।
सरकार र विश्वविद्यालयले गर्न सक्ने काम पनि गरेका छैनन् । केन्द्रीय विभाग वा सम्बन्धित मन्त्रालयमा इन्टर्नसिप वा करारका रुपमा उत्कृष्ट विद्यार्थीलाई राख्न सकिन्छ । पढाउने शिक्षक र काम गर्ने कर्मचारीको कमी हुन थालेको छ । विद्यार्थीलाई काममा लगाउन राज्यले सक्दैन । सरकारले गोल्ड मेडल प्राप्त गर्नेलाई कुनै पनि क्याम्पसमा करारमा नियुक्त गर्न किन सक्दैन ? म २ वर्षका लागि जुनकुनै क्याम्पसमा जान तयार छु । कम्तीमा २ वर्ष यहाँ बसे भने मेरो विदेश जाने धारणा परिवर्तन हुन पनि सक्छ । प्रधानमन्त्रीसँग पदक लिँदै गर्दा विश्वविद्यालयको अवस्था बताउन समय पनि मागेको थिएँ तर समय मिलेको छैन ।
प्रधानमन्त्रीलाई के भन्न चाहनुहुन्थ्यो र ?
जुन कुनै मेडललिस्टलाई यहाँ जागिरको अवसर दिँदा के बिग्रन्छ र ? व्यवस्थापनको सर्वप्रथम विद्यार्थीलाई सरकारी बैंकमा, शिक्षाको टपरलाई क्याम्पस, स्कुलमा, विज्ञानका मेडललिस्टलाई सरकारी अनुसन्धान केन्द्रहरुलाई नियुक्ति दिन किन सकिँदैन ? वर्षको ४०/५० वटा दरबन्दी विश्वविद्यालयको टपरलाई छुट्टाउन सरकारले सक्दैन । म अनुसन्धान गर्न चाहन्छु तर मैले विश्वविद्यालयको प्राध्यापक नभएसम्म कहींबाट बजेट पाउने अवस्था छैन । विश्वविद्यालयको सेवा आयोग समयमा खुल्दैन । कम्तीमा यहाँ टिक्ने वातावरण हुनुपर्छ । प्रधानमन्त्री, शिक्षामन्त्री उच्चपदस्थहरुले यो कुरा बुझेजस्तो लाग्दैन । उहाँहरुले भेट्ने भनेको नेताहरुलाई हो । नेताहरुले त जहिल्यै राम्रो छ भनिदिनु हुन्छ । वास्तविक समस्या नै नबुझी समस्या समाधान हुन सक्दैन ।
शिक्षा सुधारका लागि सुझाव र तपाईंको शैक्षिक भविष्यबारे केही बताइदिनु न ।
त्रिविको विभागहरुमा सिन्डिकेट छ । विद्यार्थीले प्रश्न पनि गर्न सक्दैनन् । प्रश्न गर्दा नम्बर घट्छ कि भन्ने डर हुन्छ । विश्वविद्यालयमा सुधारका कामहरु गर्न जरुरी छ । विश्वविद्यालयको सेवा आयोग नियमित हुनुपर्छ । त्यसो हुन सकेको भए म पहिले सेवा प्रवेश गरेर मात्र थप अध्ययनतर्फ लाग्थें होला । विदेश जान मन त छैन । सेवा आयोगका लागि यो वर्ष त प्रतिक्षा गरुँला । सधैं प्रतिक्षा गर्न त सक्दिनँ । बाध्यताले विदेश पुगेँ भने फर्कने शतप्रतिशत ग्यारेन्टी हुँदैन ।
विदेशमा पीएचडी गरेका प्राध्यापकहरुलाई फर्कन चाहे पनि वातावरण छैन । विश्वविद्यालयमा प्राध्यापकहरु फास्ट ट्र्याकबाट लिने गर्नुपर्छ । सकभर देशभित्रै बस्ने कोसिस गर्छु । सकिनँ भने हार खाएर विदेश जान्छु । विदेश गएपछि फर्कन्छु भन्ने ग्यारेण्टी गर्न सक्दिनँ ।
