काठमाडौँ — नेपाली कम्युनिस्ट राजनीतिमा कुनै बेलाका चर्चित नेता एवं एमाले पूर्वउपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेताको हैसियत पाएमात्रै नेकपा एकीकृत समाजवादीमा समाहित हुने बताएका छन् । नेकपा एकता अभियानलाई एकीकृत समाजवादीमा विलय गराउन सोमबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्ता गरी फर्किएका गौतमसँग ईकान्तिपुरका लागि गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :
नेकपा एससँग एकताका लागि टुंगोमा पुगिसक्नु भएको हो ?
हामी एकता गर्न सहमत भएका छौं । नेताहरूको जिम्मेवारी मिलाउन छलफल भइरहेको छ । त्यो मिल्ने बित्तिकै एकता हुन्छ ।
तपाईं नेकपा एसको वरिष्ठ नेता बन्ने सहमति भइसकेको हो ?
मलाई वरिष्ठ नेता मान्न उहाँहरू (माधवकुमार नेपालसहित) तयार हुनुहुन्छ । त्यसका लागि विधान संशोधन गर्न जरुरी छ । म सेरेमोनियल वरिष्ठ नेता हुन राजी छैन । एकता हुने हो भने ठोस जिम्मेवारीसहितको वरिष्ठ नेता हुनुपर्छ भनेको छु । म पूराका पूरा जिम्मेवारी लिएर देशव्यापी दौडाहामा होमिने सोच बनाएको छु । मलाई ठोस जिम्मेवारी दिन उहाँहरू तयार नै हुनुपर्छ ।
खासमा तपाईंसँग बलियो पार्टी बनाउने सूत्र के छ ?
म पूरा जिम्मेवारी पाएपछि गतिशील र बलियो पार्टी बनाउन साथीहरूलाई लिएर देशव्यापी रूपमा निस्कन्छु । सबै नेताहरू बलियो पार्टी नबन्दासम्म घर छाडेर जनतासँग बस्नुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ । जनताको सेवामा लाग्नुपर्छ । नेता साँच्चिकै जनताको सेवक बनेर लाग्नुपर्छ । त्यसअघि नयाँ विचार बनाएर अभियानमा निस्कनुपर्छ । त्यो सूत्र मसँग छ ।
कस्तो विचारले पार्टी बन्छ त ?
यो व्यवस्थाको शासकीय स्वरूपमा केही समस्या देखिएका छन् । जसका कारण सरकार फेरबदल भइरह्यो । जसका कारण मुलुकमा अस्थिरता हुन थालेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर जनतासँग जानुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि आन्दोलनको तयारी गर्नुपर्छ । अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति चयनको बाटोमा नगई सुखै छैन ।
संविधान संशोधनबाट पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान सकिन्छ नि ?
त्यसमा वाध्य पार्न पनि आन्दोलन गर्नु पर्यो । एकीकृत समाजवादी पार्टीसँग पनि मैले यसबारे छलफल गरिरहेको छु । अब यही राजनीतिक मुद्दा हुनुपर्छ ।
