'नेपालबाहेक म अरु ठाउँ सोच्नै सक्दिनँ'

'मेरो त अङ्ग्रेजी पनि त्यति राम्रो छैन । म कोसिस गर्छु । मलाई रमाइलो लाग्छ । मैले नेपालीमा बोलेको सुन्दा, नेपालीहरूको रियाक्सन निकै सुन्दर लाग्छ । मैले अझ सिक्नुपर्छ ।'

पुस ८, २०८१

कान्तिपुर संवाददाता

'I can't think of any other place except Nepal'

काठमाडौँ — नेपाली क्रिकेट मन पराउनेका लागि एन्ड्र्यु लियोनार्ड कुनै नयाँ नाम रहेन । लामो समयदेखि कमेन्टेटरका रूपमा नेपाली क्रिकेटसँग उनी कुनै न कुनै रूपमा जोडिँदै आएका छन् । नेपाल जस्ता एसोसिएट देशको क्रिकेटको विस्तार र प्रचारप्रसारमा उनी संलग्न रहँदै आएका छन् । उनी कम्तीमा ३० पल्ट नेपाल ओहोरदोहोर गरिसकेका छन् ।

आयरल्यान्डका एन्ड्रयु  कमेन्टेटरकै रूपमा यसपल्टको नेपाल प्रिमियर लिगसँग पनि जोडिए र यसले उनको लोकप्रियता अझ बढेको छ । ढाका टोपी र दौरा सुरुआलमा सज्जिएर पनि देखा पर्न थालेका उनी नेपाली क्रिकेट प्रशंसकमाझ अझ बढी लोकप्रिय छन् । एन्ड्र्युसँग इकान्तिपुरका लागि खेलपत्रकार हिमेशले गरेको कुराकानीको सम्पादित अंश :  

सबैजना तपाईंका बारेमा कुरा गर्दै छन्, अहिलेको चर्चित अनुहारमध्ये तपाईं एउटा हुनुहुन्छ, के भन्नुहुन्छ ?

म आशा गर्छु सबैजनाले मेरो बारेमा कुरा गरेका छैनन्, त्यो भयो भने चाहिँ डरलाग्दो हुन्छ है । मलाई कसरी  रियाक्ट गर्ने आइरहेको छैन । म आइरिस मान्छे, संसार घुम्छु, क्रिकेटमा कमेन्ट्री गर्छु । म आफूलाई भाग्यमानी महसुस गर्छु । नेपालमा आएर यो काम गर्दा ओभरह्वेल्मिङ महसुस गर्दै छु । तर सबैले देखाउनुभएको हार्दिकताले अझ कृतज्ञ महसुस गर्दै छु ।

तपाईंले नेपाली पनि बोल्न सक्नुहुन्छ भन्ने सुनेका थियौं नि ?  

हो, थोरै जान्दछु । नमस्ते, सन्चै हुनुहुन्छ ? एकदम ठीक छ, राम्रो छ ।

अबका केही वर्षमा त स्पष्ट बोल्न सक्नुहुन्छ होला ?

मेरो त अङ्ग्रेजी पनि त्यति राम्रो छैन । म कोसिस गर्छु । मलाई रमाइलो लाग्छ । मैले नेपालीमा बोलेको सुन्दा, नेपालीहरूको रियाक्सन निकै सुन्दर लाग्छ । मैले अझ सिक्नुपर्छ ।

तपाईंले पहिले पनि भन्नुभएको थियो, नेपाल तपाईंको दोस्रो घर हो, अहिले के भन्नुहुन्छ ?

नेपाल मेरो दोस्रो घर नै हो । नेपालबाहेक म अरु ठाउँ सोच्नै सक्दिनँ, जहाँ मैले घर जस्तो महसुस गर्छु । अझ काठमाडौं जहाँ मैले धेरै समय बिताएको छु । सायद म ३० भन्दा धेरै पटक नेपाल आएको छु । तराई दुई पटक गएको छु । टुरिस्ट एरिया पोखरा, सुदुूरपुर्व र पश्चिम गएको छैन । धेरै पटक यहाँ आएको छु । मलाई यहाँ सहज महसुस हुन्छ । किन थाहा छैन । तर यो सिटीको प्रेमपूर्ण भावना छ । मानिसहरूले देखाएको हार्दिकता सुन्दर लाग्छ । यहाँको खाना मलाई मनपर्छ ।

तपाईको नेपालको मनपर्ने खाना के हो ?

मेरो मनपर्ने नेपाली खाना चिकेन कोथे मःम हो । तर नेपाल अझ काठमाडौंमा धेरै खानेकुराका विकल्प छन् । सबै गल्लीहरूमा चिकेन कट्टीरोल पाइन्छ । दालभात यति पपुलर छ, कतिले नेवारी खाना चखाउनुभएको छ । मैले थकाली खाना सेट खाएको छु । कत्ति पिज्जेरियाहरू छन्, मीठो सुसी पनि पाइन्छ काठमाडौंमै, जुन जोकोहीले सोचेकै हुँदैन । होटलहरूमा पाइने खाना पनि एकदम मीठो हुन्छ । तर मलाई एकदम मनपर्ने भनेको सडक छेउका साना क्याफेहरूका खानेकुरा हुन् ।

'I can't think of any other place except Nepal'मलाई यो ट्रिपमा मन परेको एउटा कुरा भनेको, दुईतीन जनालाई नेपाल देखाउने हो, उनीहरूलाई नेपाल कस्तो छ, थाहा नै थिएन । म कुनै रेस्टुराँ लिएर जान्थेँ, भित्र छिर्दा यो कहाँ लिएर आएको होला, राम्रो छैन भनेर सोच्थेँ । किनकि नेपालमा कुनै पनि गल्लीबाट छिर्दा भित्र साना आँगन छन् र सुन्दर पुराना भवन छन् । त्यहाँ बनेका खानेकुरा एकदम मीठो लाग्छ ।

अनि वातावरण कस्तो लाग्छ ? काठमाडौंको वातावरण तपाईंका लागि राम्रो हुन्छ होला !

हुन्थ्यो होला, तर बिहान नौ बजे चिसोमै गेम नभएको भए । त्यो चाहिँ अलि गाह्रो भयो बिहान, टुर्नामेन्टको समयमा । तर एकदिन बिहान हिमाल खुलेर देखिएको थियो । त्यो हिमालको चिसो यहाँ नै महसुस गर्न सकिन्थ्यो । नेपालका दुई हिरो छन्, जसले नेपाल प्रिमियर लिग भयो, त्यो बारेमा त कुरा गर्नपर्छ । तर अरु दुई हिरोहरू छन् ग्राउन्ड स्टाफहरू, जसको बारेमा कुरा नगरी हुँदैन । उनीहरूले चिसोमा शीत सफा गरे । खेलहरू सफल बनाउन उनीहरूको ठूलो भूमिका छ । त्यस्तै फ्यानहरू अर्का हिरो हुन्, जो बिहान आठ–साढे आठ बजे नै म्याचमा आएका थिए ।

सबैले एनपीएलबारेमा कुरा गरिरहेका छन् । आउँदा वर्षमा यो अझै ठूलो होला है ?

यो ठूलो हुन्छ भन्नेबारे कुनै शंका छैन । यो ठूलो र राम्रो बन्छ । भविष्यको बारेमा सोच्नेभन्दा, यो कति सफलतापूर्वक भयो भन्नेबारे पनि कुरा गर्नुपर्छ । म टुर्नामेन्टका लागि उत्साहित थिएँ । तर नेपालको क्रिकेटबारे झुटा कुराहरू फैलाइएको रहेछ । यो नेपालको क्रिकेट एसोसियनले पहिलोपटक आफ्नै टी२० प्रतियोगिता सुरु गर्‍यो । उनीहरूले गरेको सबै कुरा एकदम राम्रो थियो । पूर्वदेखि पश्चिमका आठ वटा फ्रेन्चाइज टिम बनाउनेदेखि खेलाउनेसम्म त्यो निकै राम्रो तरिकाले काम गरे । ब्रान्डिङदेखि कलर, सिम्बोलको प्रयोग सबै उत्कृष्ट छन् ।

'I can't think of any other place except Nepal'एनपीएलले सामाजिक सञ्जालमा पाएको चर्चा साँच्चै रहेछ भन्ने महसुस भएको थियो । सुरुमा सामाजिक सञ्जालमा लाइक र कमेन्ट आए जस्तो चर्चा छ कि छैन जस्तो लागेको थियो तर रहेछ । जब यो निकै सफलतापूर्वक सकियो । आइसीसीहरूको सफलताको मापन तीन तरिकाले गरिन्छ । एउटा– सिटमा भएको मान्छेहरूको सङ्ख्या, अर्को, डिजिटल सक्रियता, जस्तै टेलिभिजन होस् वा अरु डिभाइसबाट, अर्को, सामाजिक सञ्जालको चर्चा ।

कमर्सियल हिसाबमा पनि मापन गरिन्छ । एनपीएल यी तीनै मापकमा उत्कृष्ट निस्कियो । नेपालीहरूले गर्व गर्नुपर्छ । क्रिकेट मात्र होइन, यसले सिंगो नेपालबारे नै सकारात्मक कुरा फैलाएको छ । मलाई लाग्छ, नेपाल यस्तो समयमा छ, जहाँ आफ्नो क्षमता र सम्भाव्यताबारे आत्मानुभूति गर्ने बेला भएको छ । धेरै जनाले देश छाडेर गएका छन् । त्यसैले एनपीएल हेर्दा नेपालका मान्छेहरू निकै क्षमतावान् छन् । यसले देशलाई माथि उठाउन सक्छ ।

तपाईंले नेपालका प्रधानमन्त्रीलाई भेट्नुभयो, के कुरा गर्नुभयो ?

मैले नेपालका अनुभव सुनाउँदा दुइटा शब्द धेरै प्रयोग गर्छु— ‘ओभरह्वेल्मिङ’ र ‘सर्रियल’ । म शुक्रबार जिम्मी निसम, स्कट कुगल र योङ जोसुवा ट्रम्पसँग गल्फ खेल्न गल्फ लुगामा तयार थिएँ । तर पारस खड्काको मेसेज आयो— प्रधानमन्त्रीले बोलाउनुभएको छ भन्दै । सुरुमा त जानुपर्छ र भनेर पनि सोधेँ ।

'I can't think of any other place except Nepal'पारस दाइ र म तीन बजे पुग्यौँ । नेपालमा अचम्म छ— एउटा कुरा के हुँदै छ भनेर कोही पनि भन्दैन । मलाई के हुन लागेको छ, केही पनि थाह थिएन । हामीले प्रधानमन्त्री कार्यालयको सुन्दर एउटा हलमा पर्खियौँ । उनले हामीलाई नै सेलिब्रेट गरे, जुन आफैँमा सुन्दर अनि मेरा लागि इमोसनल पनि थियो ।

म राजनीतिक मान्छे होइन । प्रधानमन्त्रीले बोलाउनुभयो, हार्दिकता देखाउनुभयो । उहाँले मलाई एउटा सुन्दर पत्र पनि दिनुभएको छ । सुन्दर तरिकाले लेखिएको छ । हस्ताक्षर गरेर नेपाली र अङ्ग्रजी दुइटैमा लेखिएको छ । यो म मेरो पूरै जीवनभरि सँगाल्छु । हामीले क्रिकेट र  खेलकुदको शक्तिबारे कुरा गर्‍यौं । लिगको सफलताबारे कुरा गर्‍यौं ।  

तपाईं घर जाँदै हुनुहुन्छ ?

हो म घर जाँदै छु । क्रिसमसको अघिल्लो दिन पुग्छु ।

किनमेल गर्नुभयो ?

छैन । बाइक लिएर ठमेल जानुपर्ला, केही पस्मिनाका सामान किन्नुपर्नेछ । नेपाली सामान किनेर लान्छु ।

तपाईं इमोसनल मान्छे हो । तपाईंको ३० पटकको भ्रमणका तीन इमोसनल समय कुन–कुन थिए ?

मेरा तीन इमोसनल समय सबै राष्ट्रिय टिमसँग जोडिएका छन् । एउटा कुशल मल्लको सेन्चुरी । म सधैं बसेर कमेन्ट्री गर्छु । तर म त्यस बेला उठेँ । उनको ६१ बलमा सेन्चुरी भएको थियो । कोही युवाको त्यस्तो राम्रो प्रस्तुति देखेर म इमोसनल भएँ ।

सन् २०२३ मेमा नेपालको एसिया कपको क्वालिफाइङ, पहिलो इनिङ सकिँदै गर्दा पानी पर्‍यो । लगभग २५ हजार जना थिए । सबैले छाता ओढेर कुर्न लागे । खेल फेरि हुने सम्भावना थिएन । म ग्राउन्ड घुमें, मानिसहरूले जुन हार्दिकतासाथ जे भने, त्यो इमोसनल थियो । तेस्रो चाहिँ, २०२३ को मार्चमा भएको त्यो खेल एकदम इमोसनल छ । त्यो भिडियो ४० मिलियन पटक हेरिएको छ । त्यो जितको सेलिब्रेसनले मलाई अझ गुजबम्प दिन्छ । अझै मान्छेहरूले त्यो भिडियोबारे मलाई सोध्छन् ।  

हाम्रा दर्शकलाई के सन्देश दिनुहुन्छ ?  

क्रिसमस यहाँ अरू थुप्रै चाडपर्व जसरी मनाइँदैन । तर मेरो तर्फबाट सबैलाई मेरी क्रिसमस । एनपीएलमा दिनुभएको सबै कुराका लागि धन्यवाद । मलाई यहाँका हरेक सेकेन्ड राम्रो महसुस भएको छ । फेरि नेपाल आउनेछु । धन्यवाद, नमस्ते ।

कान्तिपुर संवाददाता

Link copied successfully