नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ । नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि पारित गरेको छ ।
पार्टीको सो निर्णयबारे नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढासँग गरिएको संक्षिप्त कुराकानी :-
नेकपाले कृषि उत्पादनमा जोड दिएको हो कि प्रचार मात्र हो ?
हामीले राजनीतिक र कृषि उत्पादन सँगसँगै लगेका छौं । यो साँच्चै आत्मनिर्भर हुने बाटो हो भनेर कृषि उत्पादनमा लागेका हौं । प्रचार मात्र होइन, तपाईं खेती भएको क्षेत्रमा आएर हेर्न सक्नुहुन्छ ।
कसरी खेती गर्नुभएको छ ?
१ सय २० बिघा जग्गा भाडामा लिएर खेती भइरहेको छ । अब तराईमा थप एक सय बिघा भाडामा लिँदै छौं । सरकारको बाँझो जमिन नराख्ने नीति छ । त्यसलाई कार्यान्वयन गर्दै बाँझो जमिनलाई उपयोग गर्नेछौं ।
सार्वजनिक र व्यक्तिको जग्गा कब्जा गरेर खेतीपाती गरेको भनिन्छ नि ?
हामीले कसैको जमिन कब्जा गरेर खेती गरेका छैनौं । ५, १० वर्षका लागि भाडामा लिएर खेती गरिरहेका छौं । जनयुद्धका बेला छोडेको केही जग्गामा जनताले खेती गरेका होलान् । त्यो कब्जा गरेको भन्न मिल्दैन ।
केन्द्रीय सदस्यलाई एउटै युनिफर्म किन ?
एकरूपता आओस् भनेर पनि हो । आफ्नै गार्मेन्टमा सिलाएको सेट सस्तो पर्यो । कोट, सर्ट र पाइन्ट जम्मा छ हजार मात्र हो । बैठकमा केन्द्रीय सदस्य समान देखिनुपर्छ भनेर एउटै युनिफर्म बनाएका हौं ।
नेकपाले सहकारी पनि चलाएको छ ?
काठमाडौं, कपिलवस्तुलगायत जिल्लामा सहकारी पनि चलाएका छौं । त्यस्तै कपिलवस्तुमा सामुदायिक अस्पताल बनाउँदै छौं । त्यसबाट जनताले सुलभ स्वास्थ्य सेवा पाउनेछन् ।
