काठमाडौँ — वरिष्ठ वामपन्थी नेता एवं नेकपा मसालका पूर्वमहामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’ सार्वजनिक भएको छ ।
उपन्यास कामरेड जलजला प्रेमको कथा र विश्वको दर्शन हो । प्रस्तुत उपन्यास एउटा प्रेमको कथा त हो नै, त्यो प्रेम, समाज र इतिहासमा परिवर्तनको क्रान्तिकारी प्रवाहसित जोडिएर नै अगाडि बढेको छ । तर उपन्यासको प्रधानपक्ष विश्वको दर्शन भएकाे लेखककाे भनाइ छ । उपन्यासले विश्व र मानव समाजलाई दार्शनिक प्रकारले बुझ्ने र विश्लेषण गर्ने प्रत्यत्न गरेको लेखक सिंहकाे भनाइ छ ।
उपन्यासमा दु:खान्त र सुखान्तकाे संयाेजन छ । उपन्यासले ब्रह्माण्ड, भूमण्डल र सम्पूर्ण मानव समाजसित सम्बन्धित विभिन्न पक्षको अध्ययन गर्ने प्रयत्न गरेको सिंहको दाबी छ । त्यसमा पात्रको चरित्र चित्रण र मनोविश्लेषणमा पनि ध्यान दिएको छ ।
एउटा स्वतन्त्र समृद्धशाली र सुन्दर संसारको निर्माण हुने छ भन्ने कुरामाथि उपन्यासले आशा र विश्वास प्रकट गरेको छ । उपन्यास दार्शनिक चिन्तन र क्रान्तिकारी दृष्टिकोणद्वारा अभिप्रेरित भएको लेखककाे भनाइ छ ।
उपन्यासमा जलजलासँगै सुनन्दा पात्र आउँछिन् । नियमितता र आकस्मिकताका बीचको द्वन्द्वात्मक सम्बन्धलाई लेखकले देखाएका छन् ।
कुमाउबाट आएर सुनन्दाले क्रमशः जलजलाको जीवनमा प्रवेश गर्दै जान्छिन् र अन्तमा स्वयम् जलजला बन्छिन् । उपन्यासको सम्पूर्ण कथाप्रवाह त्यही दिशामा बढ्छ र त्यही विन्दुमा गएर समाप्त पनि हुन्छ । उपन्यासकी प्रमुख पात्र जलजला (विद्या ढकाल) को भारतमा सवारी दुर्घटनामा मृत्यु भएको बताइन्छ । उपन्यास वि.सं. २०४१ सम्मका घटनाहरु समेटेर तयार पारेको लेखकको भनाइ छ ।
!['Comrade Jaljala' novel is my real life events and experiences: Mohanvikram Singh [Interview]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2024/jaljala-12122024023138-1000x0.jpg)
उपन्यास ’कामरेड जलजला’ लेख्न करिब २३ वर्ष लागेको लेखकले बताए । ‘उपन्यासले एक प्रकारले विश्वको नै धर्तीदेखि सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्दछ र त्यसले सम्पूर्ण ब्रहृमाण्ड र मानव समाजसमेतलाई समेट्ने प्रयत्न गरेको छ, ’ सिंहले भने ।
सिंहकी ‘पूर्व प्रेमिका’ जलजलालाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको एक हजार ३ सय २० पेज र ५ लाख शब्द छन् । मंसिर १५ मा उपन्यासकी प्रमुख पात्र कामरेड जलजला (स्व.विद्या ढकाल) की आमा ललितादेवी ढकालले पुस्तक लोकार्पण गरेकी थिइन् । याे उपन्यासबारे लेखक सिंहसँग कान्तिपुरका गंगा बीसीले गरेको कुराकानी ।
जलजला उपन्यास कुन परिवेशमा लेखिएको हो ?
मुख्यगरी विश्व दृष्टिकोणबारे मैले सोचाइ स्पष्ट गर्ने प्रयास गरेको छु । समाजमा बुर्जुवा र कम्युनिस्ट गरी दुई चिन्तन प्रणाली छन् । विश्व समाजमा रहेको चिन्तन प्रणाली नै गलत दिशामा गइरहेको छ । यो व्यक्तिवादी, स्वार्थपरक ढंगले गइरहेको छ । यसलाई स्वस्थ र मानवीयस्तरमा माथि उठाउनुपर्छ भन्ने उपन्यासको विषयवस्तु हो । समाजलाई अघि बढाउन विभिन्न घटनाक्रम, प्लटहरुको उपन्यासमा सृजना गरिएको छ ।
जलजला तपाईँको पूर्व प्रेमिका थिइन्, उनैको सम्झनामा उपन्यास लेखिएको हो ?
कामरेड जलजला यो उपन्यासको मुख्य पात्र हुन् । सम्पूर्ण उपन्यासलाई हेर्ने हो भने उनको प्रत्यक्ष र सक्रिय भूमिकाचाहिँ छैन । उनको वैचारिक पक्ष, क्रान्तिकारी आन्दोलनमा भूमिका आएको छ । समग्रमा यो उपन्यासले वैचारिक र दार्शनिक हिसाबले आजको विश्वको विषाक्त प्रकारको परिस्थिति उजागर गरेको छ ।
कामरेड जलजलाले यी विषय उजागर गर्न महत्वपूर्ण भूमिका रहेको छ । वैचारिक पक्षबाहेक सक्रिय भूमिका अत्यन्त कम छ । जलजला वास्तविक पात्र हुन् । उपन्यासमा काल्पनिक, वैचारिक र दार्शनिक पक्षले बढी काम गरेको छ । जलजलाजस्ता पात्र अरु पनि छन् । निर्मल लामा, चित्रबहादुर केसीहरु पनि उपन्यासका पात्र छन् । यी पात्रहरुलाई औपन्यासिक रुपमा प्रयोग गरिएको छ ।
तपाईँको जीवनससँग उपन्यासका सम्बन्ध छ ?
मेरो वास्ताविक जीवनका धेरै घटनाहरु उपन्यासमा छन् । उपन्यासमा कल्पनाको पक्ष त हुने नै भयो । वास्तविक घटनाहरुलाई औपन्यासिक रुप दिइएको छ । नेपाल र विश्वको कम्युनिस्ट आन्दोलन, म आफू स्वयं सामेल भएका घटनाहरु उपन्यासमा आएका छन् ।
यो कम्युनिस्ट आन्दोलनलाई औपन्यासिक रुप दिइएको भन्न सकिन्छ ?
निश्चय नै नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक, दार्शनिक धरातल धेरै नै पतन भइसकेको छ । त्यही प्रकारले विश्व कम्युनिस्ट आन्दोलनम पनि कमजोर भएको छ । दार्शनिक, वैचारिक मान्यताहरुबाट स्खलन भएको छ । मैले उपन्यासमा कम्युनिस्ट आन्दोलन कसरी कमजोर भएको छ भन्ने देखाउन प्रयत्न गरेको छु । वैचारिक र दार्शनिक पक्षबाट नेपालको कम्युनिस्ट आन्दोलन कसरी माथि उठ्नुपर्छ भन्ने मान्यता उपन्यासमा छ । उपन्यासमा नारीवादी रुपमा, दार्शनिक, वैचारिक पक्ष पनि प्रस्तुत गरिएको छ ।
जलजला नै मुख्य पात्र बनाउनुको कारण ?
उपन्यासमा कामरेड जलजलाको घटनाक्रमलाई अघि बढाउन महत्वपूर्ण भूमिका छ । तर यसमा अरु पात्रहरु पनि छन् । अजित, डा. जगदीशलगायत धेरै छन् । धेरै वास्तविक पात्रहरु पनि छन् । ती पात्रहरुले विश्व र नेपालको परिवेश बोल्छन् ।
अरु उपन्यास र यसमा के फरक छ ?
मैलेभन्दा पनि पाठकहरुले बताउने कुरा हो । यो बजार हेरेर लेखेको होइन । यो वैचारिक र दार्शनिक दृष्टिले लेखिएको हो । मन पराउने, नपराउने पाठकको हात छ ।
यो उपन्यास लेख्न यति धेरै वर्ष किन लाग्यो ?
यो उपन्यास लेख्न २३ वर्ष लाग्यो । मेरो काम उपन्यास लेख्ने मात्र भएन । म पार्टीको महामन्त्री भएकोले धेरै दस्तावेज, पुस्तक लेख्नु पर्यो । पार्टीको काम गर्नु पर्यो । त्यसबाट समय निकालेर उपन्यास लेखेको हुँ ।
विश्वको घटनाक्रम, दर्शन, परिस्थिति अध्ययन गरेर लेख्नु पर्ने भएकाले धेरै समय लागेको हो । यो लेख्न नेपालका कर्णाली प्रदेश, लुम्बिनी, भारतका कुमाउ गडवाल, युरोपको जर्मनी, फान्सलगायत विश्वको अध्ययन गर्नु परेकाले ढिलाइ भयो । उपन्यासमा मेरो अध्ययन, अनुभव र भोगाइ छ ।
!['Comrade Jaljala' novel is my real life events and experiences: Mohanvikram Singh [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/mohan-bikram-singh-0712020030056-1000x0-12122024032928-1000x0.jpg&w=1001&h=0)