'डोनाल्ड ट्रम्पले दस्तावेज नभएका नेपालीलाई नेपाल फर्काउन सक्ने सम्भावना छ'

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

'Donald Trump is likely to return undocumented Nepalese to Nepal'

काठमाडौँ — अमेरिकी पत्रकार पिटर गिलको नेपालसँगको साइनो झन्डै दुई दशकको छ । पिस कोर भोलन्टियर भएर नेपाल आएका बेला भेट भएर उनका बाबुआमाको बिहे नेपालमा भएको थियो । त्यही भएर पिटर नेपाललाई बाबुआमाकै भाषामा ‘लमी देश’ भन्छन् ।

नेपालमा बस्दा पिटरले अन्तराष्ट्रिय मिडियाका लागि जलवायु परिवर्तन, आप्रवासन र सामाजिक न्यायका विषयमा दर्जनौं रिपोर्टिङ गरेका छन् । कान्तिपुर कन्क्लेभका वक्ता भएर केही समयअघि नेपाल आएका बेला उनीसँग ईकान्तिपुरका सम्पादक जनकराज सापकोटाले गरेको भिडियो वार्ताको सम्पादित अंश :

नेपालसँग तपाईंको सम्झना सुनाउनुहोस् न ? 

यसपाला म डेढ वर्षपछि नेपाल आएको हुँ । यता आएर धेरै साथीभाइहरूसँग भेट्दै छु । म ६ कक्षादेखि १२ कक्षासम्म म नेपालमै पढेको हुँ । ९ वर्षको हुँदा पहिलो पटक नेपाल आएको सम्झना छ । सानो उमेरमा बाबुआमासँग पनि आएको थिएँ । ११ वर्षको हुँदा यतै पढ्ने गरी आएँ । सबै गरेर मैले झन्डै १८ वर्ष नेपालमा बिताएँ । यस क्रममा मैले पढाइसँगै अध्ययन, अनुसन्धान र पत्रकारका रूपमा पनि नेपालमा काम गरेँ ।

नेपालसँग तपाईंका बाबुआमाको लामो सम्बन्ध छ, होइन र ?

हो, लामो सम्बन्ध छ । सन् १९६८ मा बुबा र सन् १९६७ मा आमा नेपाल आउनुभएको थियो । बुबा जनकपुरमा जेटी (जुनियर टेक्निकल) का रूपमा कृषिसम्बन्धी काम गर्नुहुन्थ्यो भने आमा बनेपाको सरकारी स्कुलमा विज्ञान पढाउनुहुन्थ्यो । उहाँहरूको भेट र विवाह नेपालमै भएको हो । उहाँहरू भन्नुहुन्छ— नेपाल हाम्रो ‘लमी देश’ थियो । अहिले बुबाले नेपालको अनुभवबारे किताब लेख्दै हुनुहुन्छ । म त्यसको सम्पादनमा सहयोग गर्दै छु । उहाँहरू दुवै जना ८० वर्षको हुनुभएको छ ।

तपाईंसँग पनि यहाँका धेरै सम्झना होलान् नि ?

हो, धेरै सम्झना छन् । काठमाडौँसँग मेरो बाल्यकाल र किशोरावस्थाका धेरै महत्त्वपूर्ण पल जोडिएका छन् । यहाँका चोक–चोकमा मेरा साथीहरू छन् । हामी पहिले सानेपामा बस्ने गर्थ्यौं, त्यसपछि बालुवाटार हुँदै नयाँ बजार बसाइ सरेका थियौं । मैले नेपालका ४० जिल्लाभन्दा बढी ठाउँ घुमेको छु । पश्चिमका तराई जिल्ला, पूर्वका पहाड, हिमाल र तराईका प्रायः ठाउँ पुगेको छु । नेपालमा नहुँदा पनि मैले यहाँका साथीहरू, नेपाली स्वादको खाना, नेपालको हिमाल, वातावरण सम्झिएको हुन्छु । मलाई यहाँको थारू खाना घुँगी र चिचर निकै मन पर्ने परिकार हो । यहाँको जीवनशैली निकै सहज छ । यहाँ सबैले सबैलाई समय दिन्छन् महत्त्व दिन्छन् । अमेरिकामा त कसैसँग चिया खान्छु भन्यो भने पनि दुई साताअघि खबर गर्नुपर्छ । यहाँ त त्यस्तो हुन्न । 

तपाईंको पत्रकारिता यात्रा कसरी सुरु भयो ? 

स्कुलमा पढ्दा नै म स्कुल रिपोर्टर थिएँ । मेरो पहिलो समाचार सिनेमाको प्रचारका लागि भित्तामा पेन्ट गर्नेहरूमाथि लेखिएको थियो । त्यति बेला नै मलाई पत्रकारितामा रुचि बढेको हो । अहिले म अमेरिकामा एउटा मिडिया कम्पनीमा पत्रकारका रूपमा काम गर्छु । अफ्रिकन, स्पेनिस आप्रवासीसँग सम्बन्धित समाचार लेख्थें । 

मैले नेपालमा छँदा डिप्लोम्याट, काठमान्डू पोस्टलगायतका पत्रपत्रिकाका लागि लेख्ने गर्थें । मैले खासगरी वन, वन्यजन्तु र वातावरणबारे विशेष लेख लेख्थेँ, किनभने मैले फरेस्ट्री अध्ययन गरेको छु । चितवन राष्ट्रिय निकुञ्ज, अफगानिस्तान र अन्य विषयहरूमा पनि मैले रिपोर्टिङ गरेको छु । मैले कोशीको बाँधका विषयमा पनि रिपोर्टिङ गरेको छु । राजा महेन्द्रका पालाको भूमिसुधारको नीतिबारे पनि ऐतिहासक कोणबाट अध्ययन गरेको छु । 

नेपालको सामाजिक न्याय कति कमजोर र जटिल छ, है ?

सबै देशमा यस्तै अवस्था छ । अमेरिकामा पनि पारदर्शिता छैन । भ्रष्टाचार छ । गएको निर्वाचनमा बिलियन डलर खर्च भयो । पैसा नहुनेहरू अमेरिकामा पनि चुनाव जित्न सक्दैनन् । 

तपाईंले आप्रावासीसँग सम्बन्धित समाचार लेख्नुहुन्छ, नेपालीहरूको अवस्थाबारे केही बताउनुहोस् न ?   

म बसेको सहरमा अरु देशका आप्रावासी जस्तै नेपालीहरूको अवस्था पनि केही उस्तै र केही फरक छ । कोलम्बस सहरमा नेपालीभाषी भुटानी शरणार्थीको संख्या मात्रै करिब ३० हजार हाराहारीमा छ । अमेरिका आउँदा उनीहरूसँग धन–सम्पत्ति थिएन । अहिले उनीहरूको समुदायबाट स्थानीय सरकारमा एक जनाको प्रतिनिधित्व भएको छ । उनीहरू आफ्नो कला, संस्कृतिको संरक्षणमा लागेको देख्छु । त्यहीअनुसार कार्यक्रम पनि गरिरहेका हुन्छन् । मलाई त्यहाँ नेपालकै जस्तै अनुभूति हुन्छ । 

अरु आप्रवासीको तुलनामा नेपाली मूलको मानिस साह्रै सजिला छन् । उनीहरू फरकफरक काममा रमाउने गरेका छन् । भेडा चराउनेदेखि होटल व्यवसायसम्म र बायोमेडिकलको क्षेत्रदेखि फोटोग्राफी जस्ता काम नेपालीहरूले गरिरहेको देख्छु । 

यसबीचमा नेपाली सञ्चारमाध्यममा भुटानी शरणार्थीका विषयमा समाचार आए, के तपाईं त्यस विषयमा जानकार हुनुहुन्छ ?

यो मलाई थाहा छ । यस विषयमा वास्तविक शरणार्थीहरूसँग पनि मेरो कुरा भएको थियो । उनीहरू यस विषयका कारण दुःखी थिए । यस्तो कुरा वास्तविक शरणार्थी समुदायका निम्ति लाजको विषय हो ।  

नेपालबाट अमेरिका पुगेका र त्यहीँका नागरिक भइसकेका भुटानी शरणार्थी र तिनका सन्तानलाई पनि भुटान जान दिइँदैन रे हो ? 

हो । भुटानी शरणार्थीहरूलाई अमेरिकाको पासपोर्ट भए पनि भुटान जान दिइँदैन । पर्यटनका लागि भुटानले आफू खुला भएको भने पनि भुटानी–अमेरिकी नेपालीहरूलाई रोकिएको छ । मैले यस विषयमा रिपोर्टिङ पनि गरेको थिएँ । सायद उनीहरूका सन्तान जो अमेरिकामै जन्मिएका छन्/जन्मिनेछन् उनीहरूलाई भने अवरोध नगरिएला ।

साँच्चै त्यहाँ रहेका भुटानीहरू, जो नेपालको समन्वयमा अमेरिका पुगे, नेपालप्रति उनीहरूको बुझाइ के रहेछ ?

उनीहरूको पहिचान फरक छ । नेपाली भाषा बोल्छन्, पहिचान भुटानी हो । तर नागरिकता भने अमेरिकाको छ । नेपालमा उनीहरूलाई नागरिकता पाउन गाह्रो भयो । शरणार्थी क्याम्पबाट बाहिर गएर काम गर्न पनि दिइएको थिएन । तर अहिले उनीहरूले आर्थिक र राजनीतिक रूपमा गरेको प्रगति हेर्दा खुसी लाग्छ । अहिले हामीले उनीहरूको समुदायका विषयमा नेपाली र अंग्रेजी भाषामा पडकास्ट निर्माण पनि गर्दै आएका छौं ।  

डोनाल्ड ट्रम्पले आप्रवासीको विषयमा कडा नीति लागू गर्छु भन्दै चुनाव पनि जिते । अमेरिकाको चुनावपछि नेपालीलाई के प्रभाव पर्ला ?

जो अमेरिकामा बस्छन्, ती नेपालीहरूका लागि यो विषयले ठूलो प्रभाव पार्न सक्छ । धेरै नेपालीहरूको डकुमेन्ट छैन । केहीको मुद्दा अदालतमा विचाराधीन छ । दस्तावेज नभएका नेपालीहरूलाई नेपाल फर्काउन सक्ने सम्भावना छ । यसले लाखौँ नेपालीलाई असर गर्न सक्छ । यो चुनावको मुख्य विषय आप्रवासी नै थियो । यो जनताको मत हो, हामीले स्वीकार गर्नुपर्छ । हामीले पहिले पनि उहाँको नेतृत्व अनुभव गरेका छौँ । उहाँको पुरानो कुराहरूको निरन्तरता पनि हुन सक्छ । विश्व राजनीतिमा पनि नै उहाँको नेतृत्वले पक्कै प्रभाव पार्नेछ । मुख्य कुरा, चीन र भारतसँगको सम्बन्धमा असर पर्न सक्छ । त्यसको प्रभाव नेपाललाई पनि अप्रत्यक्ष रूपमा पर्न सक्छ । डोनाल्ड ट्रम्प व्यापारी दिमाग भएका मान्छे हुन् । यसले चुनौती र अवसर दुवै ल्याउन सक्छ । 

अमेरिका र नेपालबीच के फरक छ भने— अमेरिकामा संसारभरबाट मानिस जान चाहन्छन् । हाम्रो देशबाट भने नागरिक देश छाड्न चाहन्छन । यसबारे केही भन्नुहुन्छ ? 

मलाई दुःख लाग्छ । नेपाल आत्मनिर्भर नहुनु कमजोरी हो । एक हिसाबले विदेश जानु बाध्यता पनि हो, अर्कोतिर बाहिर जाने र कमाउने रुचि नेपालीमा देखिन्छ । तर पनि नेपाल पहिलेको भन्दा धेरै विकास भएको छ । मेरा बुबा पहिले नेपाल आउँदा जनकपुर जाने बाटो थिएन रे । तर अहिले त्यो समस्या छैन । स्वास्थ्यदेखि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । शिक्षामा पनि धेरै परिवर्तन भएको छ । यद्यपि यहाँको राजनीतिक प्रणालीले मानिसको जीवनशैली सहज बनाउने संकेत देखिँदैन । 

तपाईंलाई नेपालको पत्रकारिता चाहिँ कस्तो लाग्छ ?

अमेरिकाको पत्रकारितामा पनि समस्या छ । कहिलेकाहीँ हामी पनि चुक्छौं, तर त्यसलाई सच्याउँछौं । समग्रमा मलाई नेपाली पत्रकारिता निकै राम्रो लाग्छ । नेपाली पत्रकारीताले सरकारलाई निगरानी गर्ने काम गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully