काठमाडौँ — पार्टी महाधिवेशनपछि शेखर कोइरालालाई २५ औं वरीयतामा राखेका शेरबहादुर देउवा अहिले वरिष्ठ नेताको हैसियत दिन तयार देखिएका छन् । उनलाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष पनि बनाउन थालिएको छ ।
पछिल्लो समय सभापति देउवासँग नजिकिँदो सम्बन्ध र कांग्रेसको भावी रणनीतिलगायतका विषयमा शेखर कोइरालासँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
पछिल्ला घटनाक्रमले पार्टी सभापति शेरबहादुर देउवाबीच सम्बन्ध बढ्दै जान थालेको देखिन्छ । अब सहकार्य गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको हो ?
को–को मिल्ने ? न त शेरबहादुरजीलाई मैले भेट्छु, न भेटघाटमा उहाँले नै बोलाउनुहुन्छ । उहाँसँग भेटिरहनेलाई नै थाहा होला । शनिबार भक्तपुर र शुक्रबार चितवनमा हामी सँगै थियौं, त्यो बेग्लै कुरा हो तर मैले शेरबहादुरजीसँग छुट्टै नभेटेको एक महिनाभन्दा बढी भइसक्यो ।
एकातिर पार्टी रूपान्तरणको मुद्दा अघि सारेर तपाईंकै पक्षका नेताहरू अभियानमा लाग्नुभएको छ, अर्कोतर्फ पार्टी सभापतिसँग सम्बन्ध पनि बढाउन खोजिरहनुभएको छ, भनिन्छ नि ?
यसमा शेरबहादुरजीले नै नबुझ्नुभएको भन्छु । साथीहरू जिल्ला–जिल्ला जान थालेपछि शेरबहादुरजीले फोन गर्नुभयो । मैले उहाँलाई तपाईं जानुभएको छैन, हामी गइरहेका छैनौं, पार्टीले कार्यक्रम दिएको छैन, साथीहरू जान्छन् भने तपाईंले किन चिन्ता गर्नुपर्यो भनेको छु ।
जो रूपान्तरणको मुद्दा लिएर गएका छन्, उनीहरू जुनसुकै गुटका हुन्, घर–घरमा गएका छन्, साथीहरूलाई आउनुहोस् भनेका छन् । पार्टीका धेरै मान्छे राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीमा जान थालिसके । यस्तो बेलामा केही गर्दा पार्टी बलियो हुन्छ, पार्टी छाड्न खोजेकालाई रोक्न मद्दत पुग्छ भने किन विरोध गर्ने ? घरमा बसिरहेर पार्टीर् बलियो हुन्छ र ?
चितवन र भरतपुरका कार्यक्रममा सभापति शेरबहादुर देउवा र तपाईंलाई सँगै देखेपछि दुई नेताबीच सहकार्य भएछ भनेर चर्चा चल्न थालेको छ नि ?
सहकार्य पनि भएको छैन । खराब पनि भएको छैन । डीएलएले बोलाउँदा विशिष्ट अतिथि भनेर शेरबहादुरजीपछि आयोजकले मलाई बोलाए । योभन्दा अरू कुनै सहकार्यको कुरा छैन ।
भक्तपुरमा त तपाईं र पार्टी सभापतिको फोटो राखेरै ब्यानर बनाइयो, यसलाई कतिपयले शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा तपाईंलाई अघि सार्न खोजिएको भनेर पनि बुझेका छन् । तपाईं के भन्नुहुन्छ ?
फोटो राखिदिए त के गर्ने ? शेरबहादुरजीले मलाई उत्तराधिकारी किन बनाउनुहुन्छ ? त्यो केही मान्छेले न्यारेटिभ बनाएका हुन् । शेरबहादुरजीबाट पार्टी चल्दैन भनेर नै म अहिलेसम्म लडेको हो नि । शेरबहादुरजीको साथ पाइएला भनेर लडेको होइन । केही मान्छेले जानीबुझीकन प्रचार गरेका हुन् ।
दिने अवस्था बन्यो भने तपाईं के गर्नुहुन्छ ?
म खोज्न जान्न, खोजेको पनि छैन । शेरबहादुरजीबाट पार्टी चल्दैन भनेर लड्दै आएको मान्छेलाई उत्तराधिकारी बनाउने कुरा कसैले पत्याउन सक्ने कुरा हो ?
तपाईंकै समूहका महामन्त्री गगन थापा सभापतिको कार्यशैलीलाई लिएर कडा रूपमा प्रस्तुत भइरहँदा तपाईं सफ्ट हुनुले शंका त उब्जायो नि ?
होइन । कोइराला भएको नाताले हाम्रो एउटा संस्कार पनि हो– जथाभावी नबोल्ने । गाली गरेर के फाइदा हुन्छ ?
हिजो पार्टीभित्र परिवर्तनको एजेन्डा बोक्दा चर्को भएको शेखर कोइराला आज किन एकाएक मत्थर भयो भन्छन् नि ?
अहिले जिल्ला–जिल्लामा रूपान्तरणको मुद्दा बोकेर जानुभएका साथीहरूलाई मैले नै पठाएको भनेर भनेको छु । कसैसँग पनि सोधेको छैन । हाम्रै समूहमा पनि कसैसँग सल्लाह गरेको होइन । जाऊ, आफ्नो हिसाबले गर भनेर भनेको हो । उनीहरूले आफैं मिलाए, को–को जाने भनेर । आफैं गएका हुन् । त्यो खराब होइन । पार्टीलाई राम्रै काम गरेको छ । एउटा जबर्जस्त न्यारेटिभ आइरहेको छ, पार्टी कमजोर भएको छ भनेर । त्यो होइन ।
तपाईं र महामन्त्री थापाबीच अविश्वास बढ्दै गएको हो ?
गगन र मेरो कुरा भइरहेको छ । भेटघाट भइरहेको छ । चितवन र त्यसभन्दा पहिला मेरै अफिसमा पनि भेटघाट भइरहेको छ ।
तपाईंलाई वरिष्ठ नेता दिने भनेर मिलाउन खोजिएको हो र ?
भएको छैन । म त शेरबहादुरजीसँग गएर यस्तो दिन पर्यो भन्दिनँ । शेरबहादुरजीले दिनुहुन्छ भने ठिकै छ । तर्क र एउटा परम्परा के बसेको छ भने गिरिजाबाबुले शेरबहादुरजीलाई वरिष्ठ नेता दिनुभएको हो । १२ औं महाधिवेशनपछि सुशील दाले शेरबहादुरजीलाई वरिष्ठ नेता नै बनाउनुभएको हो । १३ औं महाधिवेशनपछि शेरबहादुरजीले रामचन्द्रजीलाई हारेपछि वरिष्ठ नेता बनाउनुभयो । साथी भएर दिएको होइन । इमिडेट एराइभल जो हो, त्यसलाई दिने हो । त्यो हिसाबले दिनुहुन्छ भने ठीक छ, दिनुहुन्न भने पनि ठीक छ । म माग्दै गएको छैन । शेरबहादुरजीलाई भनेको पनि छैन ।
पार्टीको आगामी १५ औं महाधिवेशनलाई हेरेर पार्टीभित्र ध्रुवीकरण हुन खोजिरहेको हो ?
१५ औं महाधिवेशनमा ध्रुवीकरण गर्न खोजेको होइन भनेर भन्न सक्दिनँ तर असर गर्दैन । शेरबहादुरजी र उहाँका पक्षमा रहेका साथीहरू अहिले रूपान्तरणको मुद्दा लिएर जिल्ला–जिल्ला गएका टोलीसँग बढी चिन्तित हुनुहुन्छ ।
विशेष महाधिवेशनसम्म जान सक्छ भन्ने हिसाबले संस्थापन पक्षले गम्भीर रूपमा लिएको भन्ने छ नि ?
विशेष महाधिवेशन २५ प्रतिशतले माग्न पाइन्छ । २५ प्रतिशतले सभापतिविरुद्ध अविश्वास ल्याए पनि दुई तिहाइले पारित गर्नुपर्छ । हामीले ०७४ को निर्वाचनपछि नै कोसिस गरेको हो तर सजिलो छैन । जेसुकै होस्, जस्तोसुकै होस्, सभापति शेरबहादुरजी नै हो । त्यसलाई स्वीकार गर्नुपर्छ । पार्टीलाई चलायमान बनाउनुहोस् भन्ने मात्रै हाम्रो मुद्दा हो ।
तपाईंको मुख्य ध्येय पार्टीभित्र द्वन्द्व नबढाउने भन्ने मात्रै हो कि, अरू केही हो ?
पार्टीमा द्वन्द्व बढाएर कहाँ पुगिन्छ ? पार्टी कहाँ पुगिसक्यो ? हाम्रो एउटा संस्कार छ, धेरै चर्को बोल्न हुन्न भन्नेछ । हामी सबै एउटै डुंगामा छौं, डुबे सबै डुब्छौं । कसैलाई गाली गरेर, कसैलाई होच्याएर हामी लक्ष्यमा पुग्छौं भन्ने होइन ।
