अन्तर्वार्ता

‘नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन सकिन्न’

'नक्कली शरणार्थी प्रकरणमा जो–जो संलग्न छन्, तिनले कुनै पनि बहानामा, कुनै पनि नाममा कुनै प्रकारको छुट पाउन हुन्न ।'
'विधिको शासनमा विश्वास गर्नेले अनुसन्धान प्रभावित नहोस् भन्न र पार्टीको प्रतिष्ठाका लागि पनि जिम्मेवारीबाट अलग हुनुपर्छ ।'
'एक पटक हल्लाएपछि के–के भत्किन्छ, भत्किन्छ ? पहिले यथास्थितिलाई हल्लाउने काम त गरौं ।'
उमेश चौहान, गंगा बीसी, कुलचन्द्र न्यौपाने

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न  चर्को दबाब परे पनि सभापति शेरबहादुर देउवाले बेवास्ता गरेका छन् । सरकारमा मन्त्री बनाउँदा पनि उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बेवास्ता गरे । पार्टीमा देखिएका समस्या समाधानका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि अस्वीकार गरे । 

त्यसैले लोकतान्त्रिक पार्टीका सभापतिबाट भएका अलोकतान्त्रिक कदमविरुद्ध कार्यकर्ताको मत बुझ्न भन्दै देशव्यापी अभियान चलाउने तयारीमा छन्– महामन्त्री थापा । उनले यो अभियानलाई पार्टी रूपान्तरण संघर्षका रूपमा लिएका छन् । अभियानको पृष्ठभूमि र योजनालगायतका विषयमा कान्तिपुरका उमेश चौहान, गंगा बीसीकुलचन्द्र न्यौपानेले गगन थापासँग गरेको संवाद :

पार्टी सभापतिप्रति तपाईंको असन्तुष्टि जगजाहेर छ । वैशाख २४ मा तपाईंले ‘अब त अति भो’ भन्दै विद्रोहको शंखघोष गर्ने सन्देश दिनुभयो । त्यसो भनेको दुई साताभन्दा बढी भएको छ । कांग्रेस महामन्त्री गगन थापाले बोल्छु भनेको कुरा के हो भनेर नागरिकले पर्खिरहेका छन् । तपाईं कहिले बोल्नुहुन्छ ?

केही दिनदेखि म केही कुरा सोचिरहेको छु । केही कुरा सोधिरहेको छु । थुप्रै सुनिरहेको छु । अब कांग्रेसकै लागि, कांग्रेसलाई देशको हित हुने काम गर्ने ठाउँमा उभ्याउनका लागि मैले जस्तोसुकै जोखिम उठाउनुपर्छ । पार्टी सञ्चालनको सन्दर्भमा र यससँग जोडिएका निर्णयको सन्दर्भमा सभापतिले महामन्त्रीलाई स्विकार्नुभएको छैन ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

तर, यी विषयमा लड्दै र ठाउँ बनाउँदै जान सक्ने अवस्था छ । कांग्रेसमा अहिलेजस्तो संकटको अवस्था यसअघि कहिल्यै देखिएको थिएन । संघ, प्रदेशको सरकारमा कांग्रेस छ । तीन सयभन्दा बढी स्थानीय तह कांग्रेसले जितेको छ । हजारौं वडामा कांग्रेसको नेतृत्व छ । यो त एक प्रकारले ‘सेलिब्रेसन’ गर्ने बेला हो तर पार्टीका सदस्यहरूमा छटपटी, निराशा, व्याकुलता र आक्रोश छ ।

यस्तो परिस्थिति के कारणले भयो ? यसलाई सम्बोधन गरेमा मात्रै अघि बढ्न सकिन्छ भन्ने निष्कर्षमा म पुगेको हुँ । तर, यसलाई पार्टी सभापतिले बुझ्न चाहेको देखिँदैन । नेतृत्व आफैं पनि समस्या बनेको छ । अहिले जे भइरहेको छ, जे चलिरहेको छ, यो तालले कांग्रेस संकटबाट बाहिर निस्कन सक्दैन भन्ने मेरो निष्कर्ष छ । अर्कोतर्फ, सरकारको ‘परफर्मेन्स’ चित्तबुझ्दो छैन । सरकारमा किन गएको भन्ने जवाफ पनि हामीले दिनुपर्छ ।

तपाईंको ठोस योजना के हो त ?

कांग्रेस सरकारसँग ‘कनेक्टेड’ छ तर नागरिकसँग ‘डिसकनेक्टेड’ छ । २०६० सालमा हामी सत्तामा थिएनौं तर नागरिकसँग ‘कनेक्टेड’ थियौं । अहिले सत्तामा छौं, तर नागरिकसँग ‘कनेक्ट’ हुने तन्तु टुटेको छ । यसलाई कसरी जोड्ने ? त्यसैले म अहिल्यै निर्णयमा पुगिहाल्न चाहन्नँ ।

संसदीय फाँटका काम चाँडै टुंग्याएर लामो समय काठमाडौंबाट बाहिर निस्केर एकपटक देशभर घुम्ने तयारीमा छु । तल्लो तहसम्म पुग्छु । पार्टीका साथीहरू भेट्छु । नागरिकसँग भेट्छु । काठमाडौंमा बसेर नियमित कामकारबाहीबाट अहिलेको समस्याको समाधान निकाल्न त सकिएला तर संकटबाट कांग्रेसलाई पार लगाउन सकिन्न । पार्टीलाई संकटबाट बाहिर निकाल्ने तयारीमा छु ।

तपाईंले देश दौडाहा गर्दा जुन माहोल बन्छ, त्यसले देशको राजनीतिमा कांग्रेसले खेल्ने, कांग्रेसभित्र तपाईंले खेल्ने वा देउवाले सभापतिका रूपमा खेल्ने कुन भूमिकालाई सम्बोधन गर्छ ?

कांग्रेसभित्र पदीय जिम्मेवारीमा रहेका मान्छेले खेल्ने भूमिका मेरो ठाउँबाट हेर्दा दोस्रो विषय हुन्छ । पार्टीको जुन पदीय जिम्मेवारी मलाई प्राप्त छ, मैले प्राप्त गरिरहेका जुन कुराहरू छन् । केही समय यी सबैबाट अलग बस्नुपर्छ । नयाँ ढंगबाट पार्टीका साथीहरूले पार्टीभित्रै सबै खालको जोखिम उठाउनुपर्छ भन्नुभयो भने त्यसका लागि म तयार रहनुपर्छ । सभापतिले के गर्ने, महामन्त्रीले के गर्ने भन्ने दोस्रो कुरा हो । आजको दिनमा कांग्रेस २०६२ को आन्दोलनअघि (एक प्रकारको प्रतिबन्धित अवस्था थियो) त्यतिबेला कांग्रेस विश्वासको केन्द्र थियो, आजको समस्याको समाधान यसैले गर्छ, भविष्य पनि यसैले डोर्‍याउँछ भन्ने थियो ।

०६४ को चुनावमा हामी हार्‍यौं तर कांग्रेसको सान्दर्भिकता थियो । विचार थियो, कार्यकर्तामा उत्साह थियो । ०४६ र २००७ सालअघि पनि कांग्रेस त्यस्तै थियो । प्रत्येक नागरिक आजको समस्या र भोलिको भविष्यका बारेमा सोच्थ्यो, त्यसको उत्तर कांग्रेसबाटै पाउँथ्यो । आजको सन्दर्भमा हेर्ने हो भने आमनागरिकले समस्याको समाधान कांग्रेसबाट देखिरहेका छैनन् । भविष्यप्रति पनि भरोसा राखेका छैनन् । कांग्रेसले कहाँनेर बाटो बिरायो र कहाँनेर उभिँदा हामी आज पनि उत्तिकै सान्दर्भिक हुन्छौं ? यी प्रश्नको जवाफ दिन सक्दा मात्रै कांग्रेस सान्दर्भिक हुन सक्छ ।

तपाईंले तल्लो पंक्तिबाट जनमत बनाएर कांग्रेसको नेतृत्व नै परिवर्तन गर्ने प्रयास गर्नुभएको हो ?

पार्टी भनेकै विचार, नेतृत्व र संगठनले चल्ने हो । अहिलेको परिभाषामा म्यासेज, मेसन्जर र मिसनको कुरा आउँछ । एउटा पार्टी सान्दर्भिक भइराख्नका लागि सबैभन्दा ठूलो कुरा नेतृत्व वा मेसिनको रहेछ । विगतमा नेतृत्वले जगाएको आशा र भरोसालाई हामीले यहाँनेर जोडेर हेर्नुपर्छ । पार्टीको आमनागरिकका लागि विचार, संगठन कार्यक्रम जे भने पनि धुरीमा बस्ने अनुहारलाई आमरूपमा हेरिने रहेछ । धुरीमा बस्ने ठीक भयो भने ऊप्रतिको भरोसाले पार्टीमा आशा जगाउन सकिन्छ । ठीक छैन भने सबै कुरा ठीक हुँदैन । सभापति नै पार्टीको सबैभन्दा ठूलो प्रवक्ता हो । सभापतिले राख्ने भनेकै पार्टीको विचार हो । आजको दिनमा पार्टीको विचार सही छैन ।

नेतृत्वले भरोसा दिन सकिरहेको छैन । आशा जगाउन पनि सकिरहेको छैन । त्यसैले नेतृत्वमा समस्या छ । जहाँ समस्या छ, त्यहीँ हल खोज्नुपर्छ । अब यो नेतृत्वबाट आमनागरिकलाई उत्साही बनाउन सकिन्न । जसले चुनाव जितेको छ, उसैले पार्टी हाँक्छ भनेर मैले त मान्नुपर्‍यो । तर आमनागरिकलाई त्यसको केही सरोकार छैन । यो नेतृत्व रहेसम्म म किन जोडिइरहने भन्ने ठानेको छु ।

आमनागरिकलाई लागिरहेकै कुरा मलाई पनि लागिरहेको छ । तर, पार्टीका तल्लो पंक्तिका क्रियाशील साथीहरूलाई लागिरहेको छ ? तलका साथीलाई लागेको छ भने शक्ति आर्जन हुन्छ । यो नेतृत्वबाट चल्दैन भन्ने त मलाई धेरै समयअघिदेखि लागेको हो । अधिवेशनबाट नेतृत्व फेर्नुपर्छ भनेर पनि लागें । मलाई लागेजस्तै अधिवेशनका बेला धेरै प्रतिनिधिलाई लागेन । धेरै सांसदलाई लागेन । आमसाथीहरूलाई पनि मजस्तै लागेको छ भने केही गर्नुपर्छ भन्ने निष्कर्षमा छु ।

देश दौडाहाबाट केही गर्नुपर्छ भन्नुको अर्थ पार्टीको आगामी १५ औं महाधिवेशनलाई वा ०८४ सालको संसदीय चुनावलाई लक्षित गर्ने हो कि त्यसअघि नै तपाईंको कुनै पहल हुने हो ?

कांग्रेस यतिबेला विचित्र मोडमा छ । यसले चुनावअघि तालमेल रोजेको छ । तालमेलले सफलता प्राप्त पनि गरेको छ । संघ र प्रदेश जताततै सरकारमा कांग्रेस छ । अब चुनाव आउन चार–साढे चार वर्ष पर्खनुपर्छ । नेतृत्वसँग समय पनि छ । सत्ता पनि छ । सबै कुरा छ । कांग्रेसले निर्वाचन नराम्रो गरी हारेको, पुस १० पछि कांग्रेस सरकारमा पुग्न नपाएको वा ०५९/६० सालमा राजाले सत्ता खोसेका बेला होस् । कांग्रेसले फरक–फरक अनुभव र प्रतिकूलता भोगेर आएको छ । तर, यतिबेला विगतमा कहिल्यै नभएको अवस्था कांग्रेसभित्र छ ।

चुनाव जितेको छ तर आनन्दको अनुभूति छैन । यस्तो बेलामा अर्को अधिवेशनमा के हुने ? नेतृत्व बदलेर को आउने भन्ने कुरातिर मेरै ध्यान छैन । पार्टीलाई संकटबाट पार गर्न पार्टीको विधानअनुसार एकपछि, दुई, दुईपछि चार गरेर हुँदैन । सामान्य प्रक्रिया र अवस्थाले अब कांग्रेस सुध्रिने अवस्था छैन । यहाँ त अब एकपछि दस आउने अवस्था बन्न सक्छ । ठ्याक्कै के गर्ने भनेर मलाई पनि थाहा छैन । अहिलेको अवस्था असामान्य हो । त्यसैले १५ औं अधिवेशन, अधिवेशन कहिले हुने यसरी पो समस्याको समाधान निस्कन्छ कि भनेर पर्खने अवस्था छैन ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनले झन्डै दुई तिहाइ स्थान जितेको थियो । त्यो बेला पनि तपाईंहरूले शेरबहादुर देउवाको नेतृत्व असफल भयो, नेतृत्व परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्छ भनेर पहलकदमी लिनुभयो । त्यतिबेला र अहिले लिन खोजिरहनुभएको पहलमा तपाईंहरूको सोच तथा देश र कांग्रेसको परिस्थितिमा के फरक देख्नुहुन्छ ?

०७४ सालको परिस्थिति निर्वाचनको परिणामसँग जोडिएको थियो । पार्टी नेतृत्वले लिएको रणनीतिसँग जोडेर मूल्यांकन भएको थियो । एक प्रकारले त्यतिबेला पार्टीको दीर्घकालीन भविष्यभन्दा पनि तत्कालीन विषयको कुरा थियो । हाम्रो प्रतिक्रिया पनि त्यसैको सेरोफेरोमा रह्यो । पार्टीभित्र हामी आफ्नो ढंगले शक्ति सञ्चय गर्न चाहन्थ्यौं । नेतृत्व बदल्न चाहन्थ्यौं । त्यो प्रकरण हाम्रा लागि आधार बन्न सक्ने स्थिति थियो । त्यतिबेला पार्टीको विधि, प्रक्रिया र सीमाभन्दा बाहिरको स्थिति थिएन । अहिलेको अवस्था बिलकुल फरक हो । हामीले त्यो बेला निर्वाचन हारेका थियौं ।

सरकार नबनेको, वाम गठबन्धन बनेको, अरू केही वर्ष सरकारमा जाने अवस्था नभएको परिस्थिति थियो, तर अहिले जताततै निर्वाचन जितेका छौं । तुरुन्त निर्वाचन पनि आउँदै छैन । अरू साढे चार वर्ष छ । केही समयपछि हाम्रो नेता प्रधानमन्त्री बन्दै हुनुहुन्छ । प्रदेशमा पनि जताततै पार्टी सरकारमा छ । साथीहरू मुख्यमन्त्री हुनुहुन्छ । जता ठोकिए पनि कांग्रेसको मुख्यमन्त्री र मन्त्रीसँग ठोकिने अवस्था छ । तर, नागरिकको त परै जाओस्, कांग्रेसका क्रियाशील सदस्यहरू नै यसबाट उत्साही छैनन् । यस्तो अवस्था हामीले कहिल्यै भोगेका थिएनौं । यो असामान्य स्थितिलाई अब प्रक्रिया र विधानको सीमा हेरेर बस्ने बेला छैन ।

कांग्रेसको एउटा जिम्मेवार नेता, जो तत्कालीन सरकारको दोस्रो वरीयतासहित शक्तिशाली गृहमन्त्री हुनुहुन्थ्यो, उहाँ नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने योजनाका मिसिएको आरोपमा हिरासतमा हुनुहुन्छ । तर, कांग्रेसले उहाँलाई निलम्बनसम्म गर्न सकेन । यति ठूलो प्रकरणमा पार्टीले सामान्य धारणा राख्नका लागि बैठकसम्म बोलाउन नसक्ने परिस्थिति कसरी बन्यो ?

यो सामान्य ठगी र किर्तेको प्रकरण होइन । यो मानव बेचबिखन, राज्यविरुद्धको संगठित अपराध हो । यो प्रकरणमा जो–जो संलग्न छन्, कुनै पनि बहानामा, कुनै पनि नाममा कुनै प्रकारको छुट पाउन हुन्न भन्ने स्थापित कुरा हो । कुन मान्छे राजनीतिक दलमा छ, पूर्वप्रधानमन्त्री हो कि वा बहालवाला कुनै शक्तिशाली मानिस हो कि, त्यसले कुनै माने राख्दैन । विधिको शासनमा राख्न पनि हुन्न । यो प्रकरणको सवालमा कांग्रेस नेतृत्वको धारणा यही हो । तर, मैले चिनेको मान्छे पर्नुभएको छ, त्यस कारणले मेरो यसमा अलग्गै धारणा हुन्छ भनेर भन्न पाइँदैन । एउटा लोकतान्त्रिक पार्टीभित्र हामीले गर्नुपर्ने अभ्यास के हो भने भोलि मलाई होला, पार्टी सभापतिलाई होला ।

सभापति पूर्वप्रधानमन्त्री हुनुहुन्छ । म पूर्वमन्त्री हुँ । कुनै पनि प्रकरणमा हामी अनुसन्धानको दायराभित्र आयौं भने तुरुन्त पार्टीबाट अलग बन्नुपर्छ । विधिको शासनमा विश्वास गर्नेले अनुसन्धान प्रभावित नहोस् भन्न र पार्टीको प्रतिष्ठाका लागि पनि पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्छ । निजामती सेवामा भएको कुनै पनि मानिस अनुसन्धानका क्रममा आएपछि स्वतः निलम्बनमा पर्छन् ।

सबैको हकमा यही हुनुपर्छ भन्दै आएको हुँ । हामीले कमीकमजोरीलाई सच्याउँदै, सुधार्दै जानुपर्छ । हिजोका दिनमा सडकमा आन्दोलन गर्न सबैभन्दा सजिलो हतियार थियो– ‘नेपाल बन्द’ । तर, त्यसको नागरिक स्तरमा ठूलो विरोध भयो । अहिले जस्तोसुकै अवस्था आए पनि ‘नेपाल बन्द’ गर्दैनौं भनेर परम्परा तोडेका छौं । अहिले पार्टीको हकमा पनि त्यही हो । नागरिकको चेतना र चाहना हेरेर निर्णय लिनुपर्छ ।

सुरुमा टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी हुँदा एमाले पनि कारबाही गर्न हिच्किचाएको थियो । तर पछि निलम्बन गर्न बाध्य भयो । यो प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा संसद्बाटै राख्नुभयो तर संसद्को ठूलो र मुख्य सत्ताघटक दल कांग्रेस मौन देखिन्छ । यत्रो प्रकरणमा पनि सभापतिलाई बोल्न के कुराले अप्ठ्यारो पारेको होला ?

यस्ता प्रश्न सभापतिलाई आइरहेका छन् । उहाँलाई आइरहने प्रश्न प्रकारान्तरमा पार्टीलाई आइरहेको हुन्छ । मैले त आफ्नो धारणा सार्वजनिक गरें, बोलें तर मैले बोलेको कुरा गगन थापाले बोलेको हुन्छ । सभापतिले बोलेको कुरा पार्टीको हुन्छ । तत्काल बैठक राखिएन भन्ने हो भने सभापतिले यसअघि लिने नीति, रणनीति र बोल्ने कुरामा सबै बैठक राखेर हुने गरेको छैन । पुस १० गते एमालेसँग भए पनि गठबन्धन बनाएर सरकार बनाउँछु भनेका बखत पार्टीको बैठक डाकिएको थिएन । यो तोड्छु अरू गर्छु भनेको बेला पनि बैठक बसेको छैन । त्यसैले यो प्रकरणमा सभापतिले बोल्नुपर्छ ।

बालकृष्ण खाणप्रति सभापतिजीको करुणा होला तर पार्टी पद्धति र नेतृत्वको प्रवृत्तिका विषयमा तपाईंहरूले कुरा उठाइरहे पनि नेतृत्वबाट सुनुवाइ भएको छैन । यो अवस्था कहिलेसम्म रहला ?

०७८ मा अदालतबाट संसद् पुनःस्थापना भएपछि पार्टी सभापति प्रधानमन्त्री बन्नुभयो । विश्वप्रकाश दाइ र मैले उहाँलाई भेटेका थियौं । त्यतिबेला हामीले एक दिन एक परिणाम दिनुपर्छ भन्यौं । त्यतिबेला स्थानीय निर्वाचन आउने क्रम थियो । नागरिकको मुड चेन्ज भइरहेको हामीले देखिरहेका थियौं । नागरिकले हामी कहाँबाट आएको र को हो भन्ने कुरा हेर्दैन । सुशासन र डेलिभरीको कुरा हेर्छ । कामको प्रभावकारिता हेर्छ । त्यसैले सुशासनको कुरामा नचुकौं र डेलिभरी दिने गरी काम गरौं भन्ने प्रस्ताव गर्‍यौं । यस पटक पनि सुशासन र डेलिभरीकै कुरामा जोड दिएका हौं ।

नागरिकसँग जोडिएर काम गर्ने कुरा मुख्य हो । सरकार बनाउने कुरा नम्बरको विषय मात्रै होइन । हामी सरकारलाई सफल बनाउने कुरामा काम गर्न चाहन्थ्यौं । हामी (विश्वप्रकाश शर्मा र म) आफैं सरकारमा जान्नौं भनेकै थियौं । मैले तीन, चार वर्षदेखि भनेको ‘प्रोजेक्ट गभर्मेन्ट’ को कुरा व्यक्तिगत थिएन, पार्टीका लागि प्रयोगमा आवास र देशकै लागि प्रयोगमा आओस् भन्ने थियो । काम गर्ने छटपटाहट थियो/ छ । यो कुरा नेतृत्वले बुझ्नै चाहेन । बरु, हेप्ने, पेल्ने अर्थमा लियो । हामीले गरेका कुरा निजी थिएन । नागरिकलाई जोड्ने विषयका कुरा थिए । हामी जे गर्दा नागरिक खुसी हुन्छन् त्यही गर्न खोजिरहेका थियौं, तर नेतृत्वले आमनागरिकको धारणा नै बुझ्न सकेन । अंकको हिसाबकिताब मात्रै गरेर वास्ता नै गरेन ।

चितवन र तनहुँको उपनिर्वाचनले एउटा सन्देश दिएको छ । खासगरी सभापतिले तनहुँको निर्वाचनलाई व्यक्तिगत इगोका रूपमा पनि लिनुभएको थियो । तर, परिणाम जस्तो आयो, त्यसबाट अब सच्चिनुपर्छ भन्ने महसुस कांग्रेस नेतृत्वमा भएको तपाईंले पाउनुभएको छ कि छैन ?

पार्टीको नेतृत्वलाई विभिन्न घटनाले ढोकामा ढकढक गरिरहेको थियो, चाहे त्यो विवेकशील पार्टी, मधेशमा नयाँ पार्टी आए । स्थानीय निर्वाचनमा काठमाडौं, धरानका निर्वाचन परिणामलाई बिर्सन भएन । यो सबैले हामीलाई धेरै कुराको संकेत गरिरहेको थियो । त्यसपछि मंसिरको निर्वाचनमा नयाँ पार्टीहरूको उदय भयो । यी सबै कुराले संकेत गरिरहेका कुरालाई उपनिर्वाचनले अझ ठूलो आवाज दिएको छ । यो अहिले मात्रै होइन, पहिल्यैदेखि भई नै रहेको थियो । त्यसलाई नेतृत्वले बुझ्न चाहेन । अझै बुझ्न चाहिरहेको छैन । गहिराइमा जान चाहिरहेको छैन ।

चुनावअघि जसरी पनि तालमेल गर्ने, तालमेल गर्दा देशमा अस्थिरता भयो, दस/पन्ध्र वर्षसँगै रहन्छौं भनेर कुरा गर्ने तर भोट हालेको स्वस्तिक छापको मसी सुक्न नपाउँदै कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरालाई लिएर तत्कालै गुलेटी मार्ने अवस्था रह्यो । गठबन्धनले कांग्रेसलाई सबैभन्दा ठूलो नोक्सान पुर्‍याएको छ । कांग्रेस नेतृत्वलाई आजको दिनसम्म पनि सत्ताभन्दा अरू केही कुरासँग मतलब छैन । सत्तालाई सबैथोक ठानेकैले पार्टी संरचना बिग्रिएको हो । हामी वर्षभरि कहिलेकहिले बैठक बस्छ भन्ने क्यालेन्डर बनाउँछौं । असार पहिलो साता कांग्रेसका भ्रातृ संगठन, शुभेच्छुक संस्था सबै बन्छन् । विभाग पनि बन्छन्, केन्द्रीय सदस्यले जिम्मेवारी पनि पाउनुहुन्छ । यी कांग्रेसभित्रका टेक्निकल कुरा मात्र हुन् ।

हामीले सारा राजनीतिक अधिकारहरू पुनःस्थापना गर्‍यौं तर मान्छे आत्तिएका छन् । यस्तो अप्ठ्यारो बेलामा कांग्रेसले बाहिर निकाल्न सकेको छैन न हाम्रो नेतृत्वलाई हेरेर भरोसा जागेको छ । म यस्तो कांग्रेस बनाउन चाहन्छु, जसको विचारले मान्छेलाई आश्वस्त बनाओस् । कांग्रेस भएकाले ढुक्क छु भन्ने बनाओस् । भोलिका लागि आशावादी, उत्साहित बनाओस् । हामीले जसरी विगतमा उत्साह जगाएका थियौं, २०६० सालमा कांग्रेसको चारतारे झन्डा बोकेर सडकमा आउँदा मुलुकलाई हिंसाको अवस्थाबाट बाहिर निकाल्छ, भोलि अधिकार स्थापित गरेर शान्तिको राजनीति ल्याउँछ भन्ने थियो । त्यो ठाउँमा हामी कांग्रेसलाई पुर्‍याउन चाहन्छौं ।

समाजमा जस्तो असन्तुष्टि छ, त्यो कुनै न कुनै बेला विस्फोट हुन सक्छ भनेर नेतृत्वले बुझ्नुपर्छ भन्नुभयो तर तपाईं उपनिर्वाचन क्रममा तनहुँमा भाषण गर्दा आक्रामक शैलीमा प्रस्तुत हुनुभयो, त्यो शैलीको आलोचना भयो । तपाईंको अभिव्यक्तिले अहिलेको आकांक्षालाई जोड्न सक्यो जस्तो लाग्छ ?

यो सन्दर्भमा मेरो जिम्मेवारी । निर्वाचनका आफ्ना सीमा र बाध्यता हुन्छन् । पार्टीको उम्मेदवारको पक्षमा उभिनु मेरो कर्तव्य हो । मैले त्यतिबेला निर्वाह गरें, भोलि पनि गर्छु । मेरो त्यो प्रस्तुतिमा केही मानवीय कमजोरी पनि होलान् । कांग्रेसको उम्मेदवारबारे पक्षमा उभिने कुरा शतप्रतिशत सही थियो । म त्यसबेला फरक ढंगले प्रस्तुत हुनुपर्थ्यो । सायद मेरा आफ्ना निजी अनुभवको कारणले गर्दा आएका भावना पनि थिए होलान् । सबै कुरा थाहा भएको, विषयवस्तु बुझेको, उम्मेदवारलाई पनि राम्ररी चिनेको, परिवेश थाहा भएको हुनाले त्यो आक्रामक भावना आयो होला । यद्यपि मैले भिन्न ढंगले प्रस्तुत हुनुपर्थ्यो, यो सिकाइको विषय भयो ।

अहिले संसद्मा मिश्रित जनप्रतिनिधित्व छ, नयाँ दलका सांसदका प्रस्तुति, उनीहरूले उठाउने विषयवस्तुले तपाईंहरूलाई सहयोग गरेको छ या चुनौती दिएको छ ?

यसमा मेरो व्यक्तिगत अनुभव छ । पहिलो संविधानसभामा नयाँ माओवादी साथीहरू हुनुहुन्थ्यो । मधेशबाट पनि नयाँ सांसदहरू आउनुभएको थियो । त्यसबेला पनि मैले नयाँ सांसदहरू देखेको हो । मैले २०७० को संसद् पनि देखें । वाम एकता भइसकेपछि २०७४ को करिब–करिब दुई तिहाइ एकातिर भएको र त्यसपछि खुम्चिएको अवस्था पनि देखें । अहिले पनि नयाँ अनुभव हुँदै छ । संसद्मा प्रक्रिया भर्खर सुरु हुँदै छ, नयाँ पार्टी, नयाँ साथीहरू, पुरानै पार्टीका नयाँ साथीहरू पनि हुनुहुन्छ । सबैले संसद्मा आआफ्नो ढंगले मिहिनेत गरिरहनुभएको छ ।

हाम्रै पार्टीका नयाँ साथीहरूले पनि मिहिनेत गरेको पाएको छु ।मलाई के लागिरहेको छ भने संसद् र यसका विषयगत समितिलाई प्रभावकारी बनाउने कुराको सन्दर्भमा अहिले देखिएको ऊर्जालाई प्रयोग गर्न सक्छौं कि सक्दैनौं भन्नेचाहिँ अलिअलि संशय छ । अहिले देखिएको ऊर्जालाई नकारात्मकतर्फ होइन, संसद् पुनःसंरचना गर्नेतर्फ लगाउनुपर्छ । बजेट, नीति तथा कार्यक्रम, अरू छलफलहरूमा म १५ वर्षदेखि प्रतिपक्ष हो । यो छलफल गर्ने तरिका बदल्नुपर्छ ।

पार्टी सभापति शेरबहादुर देउवासँग तपाईंका केही असहमति छन् भनेर स्थापित भइसकेको छ, त्यसमा आमजनतालाई धेरै सरोकार पनि छैन । अब सरोकार के छ भने शेखर कोइराला र गगन थापाको सम्बन्ध कस्तो हुन्छ र सहकार्य कसरी अघि बढ्छ ? अहिले तपाईं र कोइरालाबीच सम्बन्ध कस्तो छ ?

मैले १४ औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति जिताउन मत हालेको, मत मागेको र समर्पित भएर लागेको व्यक्ति हुँ । शेखर कोइराला सभापति भए कांग्रेस ठीक ढंगले चल्छ भनेर मैले समर्थन गरेको हुँ । म ठीक ठाउँमा थिएँ भन्ने लाग्छ । अहिले पनि हामीबीच त्यो सम्बन्ध छ । कांग्रेसलाई कतातिर लिएर जानुपर्छ भन्ने विषयमा हामीबीच केही समस्या भएको पाउँदिनँ ।

मलाई यतिखेर १५ औं महाधिवेशनमा को सभापति हुन्छ भन्ने कुरासँग सरोकार छैन । म त्यसरी कुरेर नियमित अवस्थाबाट हिँडेर पार्टीलाई संकटबाट बाहिर निकाल्न सकिन्न भन्ने अवस्थामा पुगेको छु । शेखर कोइरालाले पनि यसरी नै सोचिरहनुभएको होला भन्ने अपेक्षा गरेको छु । हामीबीच यसबारे छलफल पनि भएको छ । यो यात्रामा जोखिम उठाएर पार्टीलाई संकटबाट बाहिर निकाल्ने यात्रामा जसरी १४ औं महाधिवेशनमा सँगै उभियौं, त्यसरी उभिनेछौं ।

अहिलेको सत्ता गठबन्धन कहिलेसम्म जाला भनेर संशय छ । अर्को निर्वाचनसम्म टिक्न सक्ला ?

एकपछि दुई, तीन अनि चार आउँछ सामान्यतया । मैले यसरी सोचेको भए तोकिएकै समयमा महाधिवेशन हुन्छ, को आउँछ ? अहिले गठबन्धन छ, त्यसपछि समझदारीका आधामा एकपछि अर्को सरकार बन्दै जान्छ भन्ने हुन्थ्यो । मचाहिँ यसलाई हल्लाएर एकपछि सिधै पाँच, छ ल्याउनुपर्छ भन्नेमा पुगेको छु । अहिले स्थितिलाई हल्लाउने काममा लागेको छु । एक पटक हल्लाएपछि के भत्किन्छ, भत्किन्छ ? पहिले यथास्थितिलाई हल्लाउने काम त गरौं, के भत्किन्छ र के रहन्छ भन्ने किन चिन्ता गर्ने ?

सबभन्दा पहिले मैले आफ्नैबारे चिन्ता गर्न छोड्नुपर्छ । म अब सभापति बनुँला कि नबनुँला ? मेरो के होला ? म कहाँ जाऔंला ? समयले के माग राख्यो भने अलि जोखिम उठाउनुपर्छ । अलि फरक ढंगले सोच्नुपर्छ । पार्टी संकटमा परेको छ, देश पनि संकटमा छ । यतिबेला कांग्रेसले संकटबाट निकाल्न सक्दैन भन्ने निष्कर्षमा म पुगिसकें भने बाँकी कुरामा मैले किन चिन्ता गर्ने ? त्यसपछि के-के भंग हुन्छ हुन्छ । हिँड्दै जाऔं, गर्दै जाऔं ।

प्रकाशित : जेष्ठ ११, २०८० ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : केनेडीले गरेका थिए चन्द्रमामा मानिस पठाउने घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (मे २५) मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा गरेका थिए । त्यसका लागि  ५ सय ३१ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जनाउँदै केनेडीले संसद्समक्ष बजेट पारितको प्रस्ताव गरेका थिए । 

१९१७ को मे २९ मा जन्मिएका केनेडी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । १९६१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित केनेडी १९६३ को नोभेम्बर २२ मा हत्या हुनुअघिम्म पदमा थिए ।

केनेडीले घोषणा गरेको आठ वर्षपछि अमेरिकाले चन्द्रमामा मानिस पठाएको थियो । १९६९ को जुलाई २१ मा नील आर्मस्ट्रङ अपोलो–११ यानमार्फत पहिलो पटक चन्द्रमामा पुगेका थिए । त्यसअघि उनी अन्तरिक्ष प्रविधि परीक्षणबारेको १९६२ को गेमिनी मिसन र १९६६ को गेमिनी–८ मिसनमा समेत सहभागी भएका थिए ।

जुलाई १९३० को अगस्ट ५ मा जन्मिएका आर्मस्ट्रङ अमेरिकी अन्तरिक्ष यात्री तथा एरोनटिकल इन्जिनियर थिए । अमेरिकी अन्तरिक्ष एजेन्सीबाट १९७१ मा अवकाश लिएपछि उनी अन्तरिक्षको शोध र अन्वेषणका क्षेत्रमा लामो समय क्रियाशील थिए । उनको २०१२ को अगस्ट २५ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०८० ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×