‘अब हाम्रो पुस्ता कार्यकारी पदमा बस्नु हुँदैन’ [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘अब हाम्रो पुस्ता कार्यकारी पदमा बस्नु हुँदैन’ [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीबाट अलग हुने तयारीमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादवसँग विमति बढेपछि उनी फेरि ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्ने भन्दै नयाँ पार्टी गठनको तयारीमा छन् ।

उनी किन पटक–पटक पार्टी छाडिरहन्छन् ? नयाँ पार्टी खोल्ने नयाँ अभियान कहिलेसम्म चलिरहन्छ ? कान्तिपुरका उमेश चौहान, गंगा बीसीजयसिंह महराले गरेको संवाद:

तपाईंको राजनीतिक करिअर अस्थिर देखिएको छ, मसालबाट माओवादीसम्म, नयाँ शक्तिबाट जसपासम्म, जसपाबाट अब कता ? अस्थिरता कहिलेसम्म चलिरहन्छ ?

पार्टीका नामहरू के रहे भन्दा पनि कुन एजेन्डा, कुन मुद्दालाई लिएर म आजीवन आन्दोलनमा, राजनीतिमा, क्रान्तिमा लागें भन्ने कुरा प्रमुख हो । पहिलो चरणमा पञ्चायत कालखण्ड थियो, त्यतिबेला म मसालमा थिएँ । त्यतिबेला राजतन्त्र र सामन्ती संरचना नभत्काएसम्म नेपालमा विकास र समृद्धि हुन्न भनेर राजनीतिक अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले आन्दोलनमा लागें । त्यसपछि २०४६/४७ को परिवर्तनपछि, त्यो परिवर्तन अपूरो र अधुरो रह्यो, राजतन्त्र राज्यको पुनःसंरचना पूर्ण ढंगले भएन । यसलाई पूरा गर्न फेरि सशस्त्र विद्रोह गर्नुपर्छ भनेर प्रचण्डजीलगायतसँग मिलेर माओवादी पार्टी बनाएर २०६२/६३ को आन्दोलन हुँदै २०७२ सालसम्म पुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍यायौं । २०७२ पछिको अर्को कालखण्ड, त्यो भनेको नेपालमा राजनीतिक उपरिसंरचना ‘पलिटिकल सुपरस्ट्रक्चर’ मा मूलतः अग्रगामी परिवर्तन भयो । केही मुद्दाहरू बाँकी छन् संघीयता, शासकीय स्वरूपलगायत । तर मूलतः राजनीतिक मुद्दा पूरा भयो । अब आर्थिक, सामाजिक मुद्दा प्रमुख हुन् भनेर त्यसका निम्ति एउटा नयाँ वैकल्पिक शक्ति चाहिन्छ भनेर यताको यात्रा सुरु गरेका हौं । त्यसपछि नयाँ शक्ति, समाजवादी पार्टी, जनता समाजवादी पार्टी भन्यौं, यी त्यसैलाई बनाउने प्रक्रिया हो । अझै पूर्ण भएको छैन । म त्यसैको प्रयत्नमा छु ।

तपाईंसमेत मिलेर जसपा मूलतः मधेसका मुद्दाहरूलाई आधार बनाएर गठन भएको क्षेत्रीय पार्टी हो । हिजो फोरम, राजपा वा आज लोसपा र जसपा के उद्देश्य राखेर गठन भएका हुन् भने काठमाडौंमा भएको राज्यशक्तिले मधेसमाथि उपेक्षा गर्‍यो, यो त्यही उपेक्षाविरुद्ध बोल्ने क्षेत्रीय शक्ति चाहियो । तर तपाईं त मूलधारको नेता, देशको प्रधानमन्त्रीका रूपमा काठमाडौंबाट शासन गरेको नेता । आफैंसहितले उपेक्षा गरेको भनेर आन्दोलित समूहमा प्रवेश गर्नु कति स्वाभाविक थियो ? राजनीतिक रूपमा कति ठीक थियो ?

त्यसो होइन । शासक जाति र वर्गमा जन्मनु कसैको इच्छाको कुरा होइन । ऐतिहासिक कालखण्डदेखि सुकरात र बुद्ध कन्फ्युसियसहरूदेखि लिएर पछिल्लो कालखण्डका मार्क्स र हाम्रै क्षेत्रका माओ, गान्धीसम्म, जति पनि इतिहास निर्माताहरू छन्, सबै शासक जाति र वर्गभित्र जन्मेका मान्छे हुन् । उनीहरूको उन्नत, अग्रगामी र वैज्ञानिक चेतनाले गर्दा उनीहरू समाजमा रहेका असमानता विभेदका विरुद्ध लडे । नेतृत्व गरेर विचारको प्रतिपादन गरे । त्यसरी नेपाल पनि जो उत्पीडन र विभेदमा परेको थियो, राज्य सत्ताबाट ठूलो तप्का त्यसलाई मुक्ति दिनका निम्ति हामी संयोगवश एउटा शासक जातिमा जन्मिए पनि वैज्ञानिक चेतयुक्त प्राणी हुनुको नाताले न्यायका निम्ति हामीले पैरवी गर्नु स्वाभाविक हुन्थ्यो, त्यसैले मैले ती मुद्दालाई लिएर उहाँहरूसँग एकाकार हुनु सही थियो । मैले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएकै दिनमा असोज ३ गते यो संविधान आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । संविधानसभाबाट गणतन्त्र आउनु भनेको आधा गिलास भरिएकै हो । तर नेपालजस्तो बहुजातीय बहुभाषिक मुलुकमा अलि जाति क्षेत्रहरूको पहिचान अधिकारसहितको संघीयता बन्नुपर्थ्यो, त्यो बनेन ।

अर्को कुरा, यो शासकीय स्वरूप पनि पुरानै प्रकारको खिचडी खालको संसदीय व्यवस्था भयो । यसको सट्टामा पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हुनुपर्छ भन्ने विषयलाई लिएर मैले अपूरो छ भनेको थिएँ । यही सन्दर्भमा अब फेरि आंशिक लोकतान्त्रिक आन्दोलनका बाँकी जुन कुरा छन्, त्यसलाई पूर्णता दिँदै थप सुशासनसहित देशमा तीव्र विकास र समन्यायिक वितरणको प्रणाली ल्याउनुपर्छ भनेर अभियान सुरु गरें, त्यो अब अलिकति नमिल्ने शक्तिसँग भयो भन्ने सत्य होइन । संघीयता भनेको हामी सबैको साझा मुद्दा थियो । त्यसमा मैले मधेसकेन्द्रित जनजाति आन्दोलनसँग सम्बन्धित दलहरूसँग जोडिन खोजें भने कमसेकम त्यो मुद्दा संघीयतालाई पूर्णता दिने मुद्दामा उहाँहरूसँग मिल्छ भनेर सहकार्य भएको हो । तर, यहाँसम्म आउँदा मैले के देखें भने त्यसका निम्ति राष्ट्रिय सोच भएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अग्रगामी विचार बोकेको नेतृत्व चाहिन्थ्यो । तर मधेस आन्दोलन जनजाति आन्दोलनबाट आएका साथीहरूलाई नै अगाडि सारेर जाँदा राम्रो हुन्छ भनेर जसपा निर्वाचन आयोगमा दर्ता हुँदा उदारतावश म आफैं चौथो नम्बरमा बसें । उहाँहरूमा आपसी छिनाझपटी जस्तो भयो, त्यसपछि म नै पछाडि बस्छु तपाईंहरू अगाडि बढ्नुस् भनेको थिएँ । त्यस अर्थमा चाहिँ मैले सोचविचार गरेरै गरेको थिएँ तर अहिले फर्केर हेर्दा अलि आदर्शवादी भइयो । एउटा जाति र क्षेत्रमा सीमित शक्ति र व्यक्तिले मात्रै राष्ट्रिय शक्ति निर्माण गर्न सक्दैन रहेछ, त्यहाँ अलि आदर्शवादी भएको छु कि भनेर अहिले समीक्षा गरेको छु । तर, मलाई पश्चाताप छैन ।

जुन पार्टी यहाँले संयोजन गर्नुभयो र उदारता देखाएर वरीयतामा चौथोमा पनि बस्न तयार भएँ भन्नुभयो तर उदारता कसले देखाएको हो भन्ने प्रश्न त फेरि पनि जीवित रह्यो किनकि त्यो त मधेसमा जनाधार भएको दल थियो, त्यहाँ जनाधार भएका नेताले तपाईंलाई ठाउँ दिए भन्ने पनि हो नि ।

यो हामीले के गर्न खोजेको हो भन्नेमा भर पर्छ । त्यतिबेलाको हामीले जुन एकता गर्‍यौं, त्यसको सोच के थियो भने संघीयताका बाँकी मुद्दालाई पूर्णता दिने र गरिबी बेरोजगारी कुशासनबाट मुक्ति र समृद्ध नेपालको आकांक्षाको मुद्दा त सम्पूर्ण जाति, क्षेत्र र समुदायको मुद्दलाई उठाउने । यो पहाड मधेसको मात्रै मुद्दा त होइन । त्यसैले केही क्षेत्रीय, जातीय मुद्दाहरू थिए, केही साझा मुद्दा थिए । यसको सन्तुलन मिलाउने कुरा प्रमुख थियो । त्यसो भएको हुनाले हाम्रो लोगो पनि मैले क्वाइन गरेको थिएँ, जसमा ‘संघीयता सुशासन समृद्धि समाजवाद’ भनेर लेखेका थियौं । त्यसको एकताबद्ध ढंगले बुझाइमा समस्या पर्‍यो । हिजो पहिचानका निम्ति हामी पनि लडेको हो नि, जनयुद्धमा संघीयताको अभ्यास व्यावहारिक रूपमा हामीले माओवादीमा हुँदा नै गरेका थियौं ।

१३ प्रदेशको अभ्यास गरेर हामीले मधेस प्रदेश लिम्बुवान खम्बुवान ताम्सालिङ थरुवान आदि भनेर त्यतिबेला अभ्यास गरेका थियौं । लागू गर्नमा अलिकति त्रुटि थियो र मधेसको विद्रोहले त्यसलाई पूर्णता दिएको थियो । खालि के कुरा भयो भने क्षेत्रीय मात्रै चिन्तन राख्ने, त्यसकै शक्तिलाई भजाएर केन्द्रीय सत्तासँग बार्गेनिङ गरेर अभीष्ट पूरा गर्ने जुन अलि पुरानो प्रवृत्ति थियो, त्यसैको पुनरावृत्ति हुनुचाहिँ दुःखद् भयो । मैले पनि साथीहरूलाई बुझाउन सायद सकिनँ । त्यसो हुनाले अहिले हाम्रो अन्तरविरोध त्यहाँनेर पर्‍यो । नेपालमा अहिलेसम्म भीमसेन थापादेखि लिएर ३८ जना प्रधानमन्त्री भए, त्यसमा ३७ जना एक्लो खस आर्य जातिका पुरुष छन् । त्यसैले मधेसी, जनजाति, महिला, दलित किन बनेनन् ? त्यसैले अब मधेसी जनजातिलाई प्रधानमन्त्री बनाउने भनेर अन्तर्यदेखि नै भनेको थिएँ । तर हाम्रो दृष्टिकोणमा फरक पर्‍यो र फेरि पनि क्षेत्रीय संकीर्ण चिन्तन राख्ने र राष्ट्रव्यापी सोच राख्ने चिन्तनबीचको अन्तरविरोध भयो ।

अब तपाईंले जसपाको विभाजन गरेर नयाँ पार्टी बनाउन लाग्नुभएको छ, त्यो भनेको जसपाकै पुनर्गठन हो, नयाँ शक्तिको पुनर्जागरण हो वा अर्को कुनै पार्टीको घोषणा हो ?

यसमा त पहिलो हामीले जसपालाई नै रूपान्तरण गर्ने हाम्रो प्रयत्न छ । त्यसैले हामी काठमाडौंमा असार २८ र २९ गते केन्द्रीय समितिको विस्तारित बैठक गर्दै छौं । त्यसमा हामी हिजोको सबै पृष्ठभूमिका मान्छे छौं । हिजोका मधेसी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी, मार्क्सवादी पार्टीलगायतका विभिन्न धारबाट हामी आएका जम्मै धारका साथीहरू नै हुनुहुन्छ । त्यसैले कुनै समूहलाई पुनर्जागरण गर्ने भन्ने होइन । जसपालाई नै सही अर्थमा रूपान्तरण गर्ने फेरि पनि संघीयता सुशासन र समृद्धिको समष्टिमा जोडेर लाने हाम्रो प्रयत्न हुन्छ । जबकि उपेन्द्रजीले नेतृत्व गरेको पक्ष अत्यन्त संकीर्ण क्षेत्रीयता, जातीयतामा मात्रै अड्केर बस्यो र शैलीको हिसाबले पनि लोकतान्त्रिक सहभागितामूलकभन्दा पनि संकीर्ण स्वेच्छाचारी शैली भयो । त्यसले वैकल्पिक राजनीति निर्माण गरेन भन्ने हाम्रो निष्कर्ष भएको हुनाले पहिले त यसलाई रूपान्तरण गर्ने प्रयत्न गर्छौं ।

तपाईं बीचमा समाजवादी केन्द्र निर्माणमा पनि लाग्नुभयो । यो देशमा गैरसमाजवादी कोही पनि छैन किनभने संविधानले नै समाजवाद उन्मुख देश भनेको छ । संविधानतः सबै दल समाजवादी हुन् तर अभ्यासमा सबै पुँजीवादी हुन्, अझ तपाईंले भनेजस्तै आसेपासे पुँजीवादका पक्षपोषक हुन् भन्नेजस्तो देखिन्छ । अब तपाईंले भनेजस्तै समाजवादी केन्द्रमा अटाउन योग्य र अयोग्य को हुन् भनेर छुट्याउने ? साँच्चै सिद्धान्तनिष्ठ पार्टी बनाउने हो भने त ।

हामीले जनताको प्रत्यक्ष सहभागिता हुने र विविधताहरूको समावेशिता सुनिश्चित गर्ने लोकतन्त्रसहितको बजार र राज्यको समुचित भूमिका रहने समाजवादको खोजी गरेका हौं । त्यसो हुनाले वैचारिक रूपमा हाम्रो सुरुदेखिको प्रयत्न त्यसैमा हो । नेपाल साप्ताहिकमा २०७० सालमा नै मेरो एउटा लेख आएको थियो, त्यहाँ पनि कसरी बन्छ त नयाँ शक्ति भन्दा मेरो भनाइ थियो कि त भएकै पार्टीहरू रूपान्तरित भएर कांग्रेस र कम्युनिस्ट धारभन्दा अगाडि बढेको पुँजीवाद र साम्यवादभन्दा अगाडि समाजवादी शक्ति निर्माण हुनुपर्‍यो । त्यसो हुन सकेन भने त्यसभित्रका समाजवादी सोच राख्नेहरूले बनाउने दोस्रो प्रयत्न हुने भयो, तेस्रोचाहिँ बिलकुल नयाँ हुने भयो भनेर तीनवटा विकल्प राखेको थिएँ । यहाँसम्म आइपुग्दा हामीले भएका पुराना समूहलाई जोडेर केही मिश्रित खालको नयाँ प्रयत्न गर्‍यौं । त्यो समाजवादीको धार नै हो । त्यसमा चाहिँ हामी त्यति धेरै सफल हुन सकिराखेका छैनौं । यसमा साँघुरो घेराभित्र रुमल्लिएर बस्यौं । प्रयास त नेकपामा पनि भयो तर वैचारिक रूपमा प्रस्ट नहुँदा त्यो त एक प्रकारको अन्यथा अर्थ नलागोस्, कुहिएको फर्सीजस्तो बीचैमा फुटेर छताछुल्ल भयो । त्यसैले त्यहाँका नयाँ पुस्ता गम्भीर प्रकृतिका मानिसहरू फेरि सनातनी कम्युनिस्ट पार्टीभन्दा नयाँ कम्युनिस्ट धार निकाल्नतिर जानुपर्छ कि भन्ने बहसमा छन् । हामीले जसपालाई ठीक ढंगले रूपान्तरण गर्न सक्यौं भने केही समयभित्र अथवा कालान्तरमा हिजोका कम्युनिस्ट पार्टीभित्र रहेका र अन्य समूहमा रहेका क्षेत्रीय समूहहरू छन्, तिनीहरू पनि नयाँ ढंगको समाजवादी केन्द्र निर्माणमा आउन सक्छन् भन्ने मेरो मोटामोटी आकलन हो । अहिले भन्न त गाह्रो छ ।

समाजवादी केन्द्र निर्माणका लागि तपाईं र माओवादी अध्यक्ष दाहालसँग केही चरणमा वार्ता पनि भए, त्यसले आकार लिन सकेन भन्ने समाचार आयो । उहाँहरू खासै इच्छुक रहनुभएन भन्ने भनाइ छ । समाजवादी केन्द्र बन्ने, बनाउने सम्भावना अब के कति छ ?

मैले प्रचण्डजी, माधवजी, ओलीजीसँग र अरू पार्टीका नेताहरू, कांग्रेसका समाजवादी सोच राख्ने साथीहरूसँग त पहिलेदेखि नै घनिष्ठ कुराकानी गरेको छु । यो विवेकशील साझाका युवा साथीहरूलगायतका सबैसँग पनि अन्तरसंवाद भई नै राख्छ । मेरो सोच पुराना पार्टीले मात्रै पुगेन भन्ने हो । खासगरी एमाले र कांग्रेस मूलधार रहिरहे २०४६ यता । २०६४ मा अलिकति माओवादी र फोरम अगाडि आउन खोज्या थिए । इतिहास हेर्ने हो भने झन्डै ३५ वर्षजति कांग्रेस र एमालेले नै शासन चलाएको अवस्था छ । त्यसले त यो देशको आर्थिक, सामाजिक, सांस्कृतिक समस्या हल गरेन । त्यसैले अलि नयाँ ढंगले सोच्नुपर्‍यो भन्ने मेरो प्रयत्न निरन्तर पहिले पनि थियो, अहिले पनि छ । त्यसै क्रममा भएको प्रयत्न हो र यो जारी रहन्छ । सांगठनिक ढंगले त ठूलो जनाधार भएका चुनावमा जित हासिल गरेका संसद्मा ठूलो शक्ति भएका दल र नेताहरू उहाँहरू हुनुहुन्छ । मैले मात्रै चाहँदैमा त हुँदैन ।

समाजवादी भन्ने एउटा आवरण बनाउन सिद्धान्ततः गाह्रो विषय होइन तर व्यवहारमा ओली, दाहाल वा नेपाल सहमत हुनुहोला र ?

आशाको त्यान्द्रो त जहिले पनि रहन्छ । विश्वस्त हुन सकिँदैन तर आशा गर्नचाहिँ सकिन्छ ।

अब आगामी निर्वाचनमा तपाईंले नेतृत्व गर्ने पार्टी कहाँ रहन्छ ? कुन गठबन्धनमा रहन्छ ?

केपी ओलीले संसद् दुईपटक विघटन गरी संकटको अवस्था सिर्जना गर्नुभयो, त्यसलाई सम्हाल्ने क्रममा अहिलेको गठबन्धन बनेको हो । यसको कुनै वैचारिक राजनीतिक धरातल थिएन र छैन पनि । मैले त गठबन्धनभित्र रहेर पनि पटकपटक भित्र पनि बाहिर पनि भनिरहेको छु कि गठबन्धन नेपालमा आवश्यक पर्छ, निर्वाचन प्रणालीले गर्दा पनि एउटै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गएनौं भने बहुमत कसैको पनि आउँदैन । त्यसकारण यिनै गठबन्धनको निरन्तरता रहिराख्छन् भन्ने मलाई लाग्दैन । देशको हितमा, सापेक्ष ढंगले विचार नीति कार्यक्रम योजनामा सहमत हुने पक्षहरूको बीचको गठबन्धन राष्ट्रिय हितमा र दिगो हुन्छ । तर, विशुद्ध चुनावी अंकगणितको हिसाबले बन्ने गठबन्धन तत्काल लाभदायी त हुन्छन् तर अन्ततः त्यसले देशको हित गर्दैन । मलाई लाग्छ, आउँदो निर्वाचनसम्म फेरि एकचोटि बहस र छलफल चल्छ अनि विभिन्न प्रकृतिका समीकरण बन्न सक्छन् ।

यथास्थितिमा अहिलेको गठबन्धनको औचित्य छ कि छैन ?

यही रूपमा गणितको हिसाबले त होला किनभने कांग्रेस पनि ठूलो पार्टी त हुने तर एक्लै बहुमत नआउने हिसाबले खतरामा छ । त्यसैले कुन पक्षसँग जोडिएर बहुमत पुर्‍याउने भन्ने उसको ध्याउन्न छ । अर्को ठूलो पार्टी एमालेको पनि एक्लै बहुमत आउन गाह्रो भएको हुनाले अलि सहयोग लिन खोजिरहेको छ । हामी तेस्रो धार बनाउनुपर्छ भन्नेहरू सबैतिरका लोकतन्त्र समाजवाद सुशासनमा प्रतिबद्धता भएका शक्तिहरू एक ठाउँमा आएर अर्को ध्रुव सिर्जना गर्न पाए हुन्थ्यो भन्ने हाम्रो सोच छ । यी तीन थरी सोच कसरी आउँछन्, हेर्नुपर्छ । आगामी दिनमा तीन वटा ध्रुव निर्माण हुन्छन् कि ? तत्काल त भन्न सकिँदैन, ३–४ महिना छ । तर बढी सम्भावना कांग्रेस र एमालेको नेतृत्वमा बन्ने सम्भावना छ । तर त्यसभित्रका पनि अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक सोच राख्ने शक्तिहरू मिलेर तेस्रो धार निर्माण भइदिए हुन्थ्यो भन्ने मेरो पवित्र कामना हो ।

कांग्रेस नेतृत्वमा एउटा प्रजातान्त्रिक र वामपन्थीहरूको नेतृत्वमा अर्को गठबन्धन बन्ने संकेत गर्नुभएको हो ?

मलाई लाग्छ, अहिले कांग्रेस, एमाले, माओवादीको मूल नेतृत्व र प्रवृत्ति हेर्नुभयो, नाम फरक छ तर काम खासै फरक छैन । जसरी हुन्छ चुनाव जितेर सत्तामा पुग्ने, राज्यको दोहन गरेर लाभ हासिल गर्ने र त्यसको बलमा फेरि चुनाव जित्ने । चुनावदेखि चुनावसम्मको जुन यो दुष्चक्र दोहोरिइराखेको छ, उनीहरूमा यो देख्छु । कतिपयले यसलाई क्रोनी क्यापिटलिज्म, आसेपासे पुँजीवादी भन्छन् । जस्तो श्रीलंकाको घटना हेर्दाखेरि त्यो कति दुःखद् हुँदो रहेछ, कति भयानक हुँदो रहेछ भन्ने खतरा नेपालमा पनि देख्छु । त्यसो भएको हुनाले सबै दलहरूभित्र पुनर्विचार हुन्छ । त्यहाँभित्रका नयाँ पुस्ता र अग्रचिन्तन राख्नेहरूले नयाँ ढंगले सोच्छन् र नयाँ विकल्प बन्नेतिर अगाडि बढ्छन् ।

गठबन्धनको कुरा गर्दा तपाईंको पार्टीको झुकाव एमाले नेतृत्वको वामपन्थीतिर हुन्छ कि कांग्रेस नेतृत्वको लोकतान्त्रिकतिर ?

हामी अग्रपन्थ भन्ने शब्दावली क्वाइन गरेका छौं । दायाँ–बायाँ खुट्टाले हिँड्दै मान्छे अगाडि बढ्छ । समाज पनि मूलतः अग्रगमनतिर जान्छ भन्ने हाम्रो अग्रपन्थी धार हो । यसरी हेर्दा मेरो विचार र विश्वास लोकतन्त्र भनेको एउटा पार्टीको मात्रै ब्रान्ड हुन सक्दैन । उदारवादी लोकतन्त्र मात्रै लोकतन्त्र होइन । लोकतन्त्रको आधार व्यक्तिको निजी स्वतन्त्रता आवश्यक हुन्छ । त्यसको पक्षपोषण गर्नेको म विरोध गर्दिनँ । तर सँगसँगै समानताको कुरा गर्ने जुन कम्युनिस्ट पार्टी हुन्, तिनीहरू लोकतन्त्रको विरोधी बन्न पुगे । त्यसैले लोकतान्त्रिक पक्षधरले सामाजिक न्याय र समानता दिन नसक्ने, समानताको कुरा गर्नेले लोकतन्त्रको प्रत्याभूत गर्न नसक्ने, जुन विडम्बना आयो, त्यसैले हामीले स्वतन्त्रता र समानता दुवै रहेको मोडल ल्याउन खोजेको हो । यसलाई वामपन्थ कि दक्षिणपन्थ भन्नुभन्दा पनि यी दुइटैको समिश्रणसहितको अग्रपन्थ हाम्रो खोजी हो र मेरो खोजी हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव अहिलेको सत्ता गठबन्धनतिर मिलेमा तपाईंको पार्टी एमालेसँग मिल्छ । उनीहरू एमालेसँग मिले भने तपाईं अहिलेको सत्ता गठबन्धनतिर जानुहुन्छ भन्ने अनुमान छ नि, यो कति सत्य हो ?

त्यो एकदम गलत हो । यो त मेरो जीवनभरिको सोच चिन्तनको जुन ग्राफ छ, त्यसलाई नबुझेको भन्ने कुरा हो । कहिल्यै पनि चुनावी लाभ–हानिलाई लिएर यस्तो सोच गर्थें भने आफ्नो पार्टी किन दर्ता गर्थें ? त्यहाँ (माओवादीमा) नै बसेर थुप्रै सम्भावना थिए । त्यसैले म त देशलाई एउटा अग्रगामी विकल्प दिनुपर्छ । हामीले प्राप्त गरेको लोकतन्त्रको जगमा टेके पनि हाम्रो देश अहिले पनि संसारका सबैभन्दा गरिब देशमध्ये एक हो । चरम परनिर्भरता छ, बेरोजगारीले युवा पलायनको भयंकर अवस्था छ, यसलाई कसरी छिटो बदल्ने र हाम्रै जीवनकालमा तेस्रो विश्वबाट पहिलो विश्वमा कसरी पुग्ने ? यो पो हो मेरो चिन्तन र सपना त । त्यसका निम्ति लाग्ने हो । कतातिर लागेर लाभ हुन्छ भन्ने विषयमा म छैन । चुनावदेखि चुनावको राजनीति गर्न म चाहन्न ।

७ वर्ष अगाडि माओवादी त्यागेर नयाँ आन्दोलनमा लाग्नुभयो तर माओवादीले हिजो द्वन्द्व र हिंसाको जुन अभ्यास गर्‍यो, त्यसको जवाफदेहिताबाट तपाईं कहिले पनि मुक्त हुनुभएन नि ?

मुक्त हुन चाहँदैन । म जवाफदेहिता लिन्छु । त्यतिबेला आवश्यक थियो, हामीले गर्‍यौं । अब आवश्यक छैन । हिजो व्यवस्था परिवर्तन गर्दा निरंकुश राज्य सत्तासँग लड्दा हतियारविरुद्ध हतियारले लड्न आवश्यक थियो । अब राज्य संरचना रूपान्तरण गर्दै अगाडि जाने सम्भावना खुलेको छ । अब हामी शान्तिपूर्ण ढंगले नै अगाडि जाने हो । त्यसैले हिजो कालखण्डसँग यसलाई जोडिराख्न आवश्यक छैन ।

फेरि राजनीतिको मूल उद्देश्य त राज्यको मूल नीतिमा हस्तक्षेप गर्नु हो तर तपाईं अहिले किनारामा हुनुहुन्छ, बरु माओवादीमै रहेको भए त्यसको संगठनको माध्यमबाट केही हस्तक्षेप गर्न सकिन्थ्यो कि भनेर यो सात वर्षमा कहिल्यै सोच्नुभएको छ ? अथवा अहिले पनि सोच्नुभएको छ ?

यो सत्य र सत्ताबीचको द्वन्द्व इतिहासमा बडो रोचक छ । सत्य, न्याय र समाज रूपान्तरणका विषय निरन्तर हुन्छन् तर सत्ताले प्रत्येक मानिसभित्र जुन लोभी, स्वार्थी स्वभाव हुन्छ, त्यसलाई भ्रष्टीकरण गरेर सत्य मानिस पनि विचलित हुन्छ । त्यसकारण सत्य र सत्ताको सन्तुलन मिलाउन सक्नुपर्छ । सत्ता चाहिन्छ तर सत्यलाई छोडेर होइन । मैले खोजेको के हो भन्दाखेरि माओवादी आन्दोलन महान् थियो, त्यसले परिवर्तन ल्यायो तर अबको बदलिएको परिवेशमा हिजोकै माओवादीको संरचनालाई लिएर समाज रूपान्तरणको अभियानलाई अगाडि बढाउन सकिँदैन । बरु उल्टै हाम्रो ब्रान्ड माओवादी रहने तर व्यवहारमा सत्ताले भ्रष्टीकरण गर्ने अवस्थामा पुग्न सक्छौं । जुन संकेत मैले देखिराखेको छु । त्यसकारण म माओवादीमा भएको भए धेरै गर्न सक्थें भन्दा पनि माओवादीमा लागेका साथीहरूले अब हिजोको माओवादमा गर्व गर्दै आजको नयाँ सन्दर्भको विचार बोक्नु राम्रो हुन्थ्यो । मेरो सुझाव त्यो हो ।

एकातिर नेपालमा भूराजनीति चासो निकै बढेको छ, एमसीसी र बीआरआईका नाममा देशभित्रै पनि अविश्वास पैदा भएको छ, यही बेला तपाईंले फेरि शान्ति क्षेत्रको प्रस्तावको कुरा कुन सन्दर्भमा ल्याउनुभएको हो ?

त्यो एकाएक आएको होइन । नेपालको एकदम जटिल भूराजनीतिक अवस्थितिलाई ठीक ढंगले व्यवस्थापन गर्न नसकेसम्म हामीले न त लोकतन्त्रको रक्षा गर्न सक्छौं, न त देशभित्र आन्तरिक शान्ति कायम गर्न सक्छौं, न विकास र समृद्धिको सपना नै पूरा हुन्छ । त्यसो हुनाले एक्काइसौं शताब्दीको अन्तिम दशकसम्म पुग्दा चीन पहिलो अर्थतन्त्र र भारत तेस्रो अर्थतन्त्र बन्दैछन् र यिनको बीचमा हामी छौं ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

अमेरिका विश्व शक्तिका रूपमा रहिराख्छ । यी तीनवटै शक्तिको चासो नेपालमा बढ्छ । त्यसलाई ठीक ढंगले सम्बोधन गर्दै नेपालको स्वाधीनताको रक्षा गरेर समृद्धितिर जाने हो भने हामीले मौलिक ढंगले सोच्नुपर्छ भन्ने अर्थमा शान्ति क्षेत्रको कुरा गरेको हो । हामीले युद्ध लडेर त ठूला शक्तिलाई जित्न सक्दैनौं । त्यसैले अन्तर्राष्ट्रिय ग्यारेन्टीमा शान्ति क्षेत्र निर्माण घोषणा गर्ने हो भने देशको साधन स्रोत छ, त्यसलाई विकास र शान्तिमा लगाउन सक्छौं । यसरी ठूला शक्तिहरूको हस्तक्षेपबाट बच्न सक्छौं भन्ने ढंगले शान्ति क्षेत्रको प्रस्तावको कुरा गरेको हो ।

मान्छेले राजनीतिक समीक्षा गर्ने क्रममा पूर्वपश्चिम राजमार्ग, कोदारी राजमार्गको कुरा गरेर राजा महेन्द्र नै ठीक थिए भन्छन्, अब तपाईं स्वयंले पनि शान्ति क्षेत्रका नाममा वीरेन्द्रको एजेन्डालाई ब्युँताउँदा त अहिलेको सबै व्यवस्थाभन्दा त राजतन्त्र ठीक थियो, राजा नै दूरदर्शी थिए भन्नेजस्तो भाष्यलाई सहयोग हुने होइन र ? जबसम्म शान्ति क्षेत्रको विश्वसनीय आधार बन्दैन, त्यसले पुरानै भाष्य मात्र दोहोर्‍याउने अवस्था रहन्छ नि ?

कुनै पनि चीजको एउटै मोनोलिथ भन्ने हुन्न । ठीक छ भने पूरै ठीक छ भन्ने, बेठीक छ भने पूरै बेठीक छ भन्ने हुँदैन । संसारमा विपरीतहरूको एकत्व हुन्छ । त्यसमा सकारात्मक र नकारात्मक दुइटै हुन्छ । त्यस अर्थमा राजा–महाराजाहरूको गलत पाटो भनेको उनीहरू अत्यन्तै निरंकुश स्वेच्छाचारी थिए । तर, फेरि उनीहरूले सत्ताकै स्वार्थका लागि भए पनि देशलाई केही गरौं त भन्थे । राणाहरूकै पालामा पनि फर्पिङको बिजुली र त्रिचन्द्र कलेज खुलेको हो । तर मूल पक्ष उनीहरू निरंकुश थिए । महेन्द्रले केही पूर्वाधारका योजना ल्याएकै हुन् तर आफ्नो निरंकुश सत्तालाई टिकाउन बढी प्रयत्न गरेको कारणले गर्दा राम्रा कामभन्दा नराम्रा काम बढी भए । वीरेन्द्रले शान्ति क्षेत्रको कुरा गर्नु सिद्धान्तः बेठीक त थिएन । तर त्यतिबेला उनको निरंकुश शासनलाई बलियो पार्नका निम्ति त्यो हतियार अगाडि बढाएका थिए । त्यो समयानुकूल थिएन । त्यसैले योसँग तुलना गर्न मिल्दैन ।

तपाईं पुराना दललाई पुनर्गठन गरेर पुरानै नेतृत्व स्थापित गर्दै हुनुहुन्छ जबकि मतदाता हर्क साम्पाङदेखि सन्तोष जोशीसम्मलाई जिताएर दलहरूलाई सन्देश दिएका छन्, जनताको सन्देश र तपाईंहरूको नीति कसरी मिल्ने होला ? तपाईं त जसपामा चौथो वरीयतामा बस्नुभयो, फेरि पार्टी पुनर्गठन गरेर पहिलो वरीयतामा आउने सम्भावना छ ?

यो एकदमै सही छ । त्यसैले मैले भन्न खोजेको के हो भने नयाँ भनेको एउटा त विचारमा नयाँ हो । नीति कार्यक्रममा नयाँ बन्नुपर्छ । दोस्रो, नेतृत्वमा पनि नयाँ बन्नुपर्छ । त्यसैले युवा पुस्तामा जुन खालको जोस, जाँगर, नवीनतम खालको सिर्जनशीलता, गतिशीलता हुन्छ, त्यो पुरानो, बूढो हुँदै गएपछि हुन्न । म आफैंले अनुभूति गरेको छु । त्यसो हुनाले मेरो निरन्तर आग्रह के हो भने कार्यकारी भूमिका लिएर अब हाम्रो पुस्ता बस्नु हुँदैन । हामीले राजनीतिमा समाज रूपान्तरणमा आफ्नो ज्ञान, अनुभव जे छ, त्यसलाई बाँड्नुपर्छ । एउटा अभिभावकको भूमिका खेल्नुपर्छ । अब हामी आफैं क्रियाशील भएर भूमिका लिनु हुन्न भन्ने मान्यता छ । मेरो स्पष्ट धारणा के हो भने विचार र उमेरमा नयाँ अगाडि आउनुपर्छ र तिनलाई हामीले सघाउनुपर्छ । जसले सघाउँदैन उसलाई इतिहासले गलहत्याउँछ । त्यसो भएकाले अहिले पनि जुन तपाईंले उदाहरण दिनुभएको छ कि जुन व्यक्तिहरू निर्वाचित भइराखेका छन्, यो एकदमै सकारात्मक छ । तर संगठित ढंगले आउनुपर्छ, व्यक्ति–व्यक्तिको जितले मात्रै पुग्दैन । अर्को कुरा फेरि म चौथो वरीयताबाट एक नम्बरमा आउन खोजेको हो कि भन्नुभयो, तपाईंले थाहा पाउनु हुनेछ, तपाईंको अनुमान गलत सावित हुनेछ । मैले तपाईंलाई नयाँ ढंगले म को हुँ भनेर परिचय दिने अवसर पाउनेछु ।

तपाईंले अघि श्रीलंकाको प्रसंग ल्याउनुभयो, नेपालको अर्थतन्त्र पनि ठूलो संकटउन्मुख छ । अहिले नेपाल श्रीलंकाजस्तो हुन सक्ने स्थिति छ कि छैन र त्यसबाट जोगाउनका निम्ति सरकार र दलहरूले के गर्नुपर्छ ?

धेरैले श्रीलंका र नेपालको तुलना गर्छन् । केही त तुलना गर्न मिल्ला तर धेरैजसो तुलना गर्न मिल्दैन । किनकि श्रीलंका दक्षिण एसियाको सबैभन्दा विकसित मुलुक हो । उनीहरूका केही पछिल्ला गलत नीतिले गर्दा खासगरी त्यहाँ परिवारवाद जसरी हाबी हुन पुग्यो, आसेपासे पुँजीवाद र स्वेच्छाचारिता मौलायो र उनीहरूले अत्यन्त बुद्धि नै नपुर्‍याई ऋण लिने र ब्याज तिर्नै नसक्ने दुष्चक्रमा अर्थतन्त्रलाई पुर्‍याए, त्यसको परिणाम हो त्यो । तर नेपाल भनेको अहिले पनि औद्योगिक अर्थतन्त्रमा रूपान्तरण हुन नसकेको देश हो । नेपालमा अहिले पनि ६० प्रतिशत जनता कृषिमा आश्रित हुने देश हो, यो अवस्थामा कुनै पनि देश कसरी सम्पन्न हुन्छ ? विकसित देशको ५–१० प्रतिशत जनसंख्या मात्रै कृषिमा आश्रित हुन्छ । उद्योगबाट ३५–४० प्रतिशतसम्म जीडीपी प्राप्त गर्न सक्नुपर्छ जबकि हाम्रो ५–१० प्रतिशत मात्रै छ । यसरी संरचनात्मक ढंगले नै हाम्रो अर्थतन्त्र कमजोर छ । त्यसैले संरचनात्मक परिवर्तन गरेर भूमिको आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै देशी/विदेशी पुँजी परिचालन गरेर औद्योगिक अर्थतन्त्रको निर्माणसँगै आधुनिक प्रविधि, शिक्षा, स्वास्थ्यको वैज्ञानिकीकरणको बाटो हो, जुन अपूरो छ । पञ्चायतकालदेखि खासखास रूपमा रूपान्तरण हुनै सकेन । २०५१ सालमा खुलापन ल्याएर पुँजी परिचालन गरेर केही वृद्धि भएको हो तर त्यो ज्यादै उदारवादी नीति मात्रै लिँदाखेरि केही विकृति रहे । तर, पछि २०६२/६३ को आन्दोलनपछि म अर्थमन्त्री छँदाखेरि, भलै म माओवादीका तर्फबाट अर्थमन्त्री थिएँ, मैले केही कुरा बजार र राज्यको कुन–कुन क्षेत्रमा भूमिका हुनुपर्छ र नेपालको कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्र बनाउन कसरी ठूला पूर्वाधारमा लगानी गरेर परिवर्तन गर्नुपर्छ भनेर केही कुरा गरेको थिएँ । राष्ट्रिय गौरवका योजनाका अवधारणा ल्याएको थिएँ भारत र चीनसँग बिप्पा सम्झौता गरेर दुवैको लगानी यहाँ ल्याउने उनीहरूको मूल्य शृंखलासँग जोडिएर जाने र खालि उताका वस्तु आयात र श्रम निर्यात गर्ने जुन अर्थतन्त्र छ, त्यसको सट्टामा पुँजी र प्रविधि आयात गरेर वस्तु निर्यात गर्ने अर्थतन्त्रको रूपान्तरण गर्ने भन्ने मेरो सोच थियो । त्यसअनुसार हामी जान सकिराखेका छैनौं । त्यसैले अहिले जे भइराखेको छ, त्यो हिजोकै निरन्तरता हो । यस्तो प्रकारको निर्वाहमुखी कृषि र श्रम निर्यातमा आश्रित अर्थतन्त्र रहेसम्म यो संकट रहन्छ । सँगसँगै भारतसँगको सुगौली सन्धियताको निरन्तरको परनिर्भरता छ, उताबाट वस्तु आयात गर्ने र यताबाट खालि श्रम मात्रै निर्यात गर्ने जुन सम्बन्ध छ, यसलाई नसच्याएसम्म नेपालको विकास हुन सक्दैन । त्यसैले श्रीलंका र नेपालको मिल्दो पक्ष के हो भने यो चरम ढंगको परिवारवाद र आसेपासे पुँजीवादको विकृतिले गर्दा जनताले जुन विद्रोह ल्याए, नेपालमा माथिल्लो चरणमा नपुगी अल्पविकसित अवस्थामा नै जुन प्रकारको आसेपासे पुँजीवाद र परिवारतन्त्र, आफन्ततन्त्र हाबी भइराखेको छ, यसले भ्रष्टाचारको बिगबिगी छ, यसैले पनि त्यस प्रकारको विद्रोह नहोला भन्न सकिँदैन ।

प्रकाशित : असार २८, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

श्रीमतीसहित दुई पक्राउ

कान्तिपुर संवाददाता

सोलुखुम्बु — सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ का ५७ वर्षीय सुब्बा कामीको हत्या आरोपमा उनकै श्रीमती ५५ वर्षीया बुदमाया तामाङ र छिमेकी ५३ वर्षीय ङिमा तामाङ पक्राउ परेका छन् । 

सदरमुकाम सल्लेरीस्थित जैदु गाउँका कामीको हत्या आरोपमा उनीहरूलाई पक्राउपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डीएसपी सुनीलजंग शाहले जानकारी दिए । राति मादक पदार्थ सेवन गरी सुतेका पति–पत्नीमध्ये बिहान पति मृत भेटिएपछि हत्या आशंकामा पत्नील पक्राउ परेपछि खुलासा भएको प्रहरीले जनाएको छ ।

अघिल्लो दिन साँझ छिमेकी तामाङ पनि मृतकको घरमा डोको बुनेको पैसा लिन गएको र मृतकले पैसा नदिएपछि झगडा गरेर सुब्बालाई दाउरा र हँसियाले प्रहार गरेर हत्या गरेको सुरुवाती बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७९ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×