२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ: शेखर कोइराला

'यस्तो गम्भीर विषयमा लाचारी देखाउने, खेलाँची गर्ने काम प्रधानमन्त्रीले गर्न हुन्न । यस्तो गतिविधिलाई बचाउन थालियो भने मुलुकमा अराजकता निम्तिन्छ । गठबन्धन भत्किन्छ भन्ने होइन, बरु यस्ता काम सच्याउँदा गठबन्धन अझ बलियो हुन्छ । माओवादीले पनि गठबन्धन तोड्दैन ।'

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ: शेखर कोइराला

चौतर्फी रूपमा अर्थमन्त्रीको राजीनामा माग भइरहेका बेला कांग्रेस नेता शेखर कोइरालासँग गरिएको संक्षिप्त कुराकानी :

चौतर्फी रूपमा अर्थमन्त्रीको राजीनामा माग भइरहेका बेला सरकारकै नेतृत्व गरेको कांग्रेस भने चुप लागेको आरोप लाग्न थालेको छ नि ?

इतिहासमा राणाकाल, पञ्चायत कालमा समेत यस्ता घटना भएका थिएनन् । करको दररेट घटाउने, बढाउने काम अर्थमन्त्री र मन्त्रालयका पदाधिकारीको अधिकार क्षेत्र हो । तर, स्वार्थवश अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय लगेर करको दररेट घटाउँदा अर्थतन्त्र मात्रै होइन, यसको असर सबै क्षेत्रलाई पारेको छ । अहिले अर्थतन्त्र जसरी चलाइएको छ, यसले सबै क्षेत्र अस्तव्यस्त हुने अवस्था सिर्जना हुँदै छ ।

तर, कांग्रेस नेतृत्वमा सरकार हुने अनि प्रधानमन्त्रीले यस्तो विवादास्पद घटनामा पनि नसुनेझैं गरेर बस्न मिल्छ ?

यस्तो घटनालाई नसच्याउने हो भने भोलि गलत नजिरले मुलुकको प्रणालीलाई समाप्त पार्छ । प्रधानमन्त्रीले अर्थमन्त्रीबाटै राजीनामा आओस् भन्ने ठान्नुभएको होला । तर, राजीनामा आएन भने प्रधानमन्त्री लाचार भएर बस्न हुन्न । यसले कांग्रेस वा माओवादी मात्रै होइन, मुलुकको अर्थतन्त्र कमजोर हुन्छ । चुनावमा मुद्दा बन्छ । त्यतिबेला हामीले कसरी प्रतिरक्षा गर्ने ? मैले केही गर्न सक्दिनँ भनेर प्रधानमन्त्रीले लाचारी पनि देखाउन मिल्दैन । राजीनामा आउँदैन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ । नत्र त्यसको दोषको भागीदार प्रधानमन्त्री र सिंगो कांग्रेस बन्छ ।

प्रधानमन्त्रीले गठबन्धन कमजोर हुन्छ, हटाउन सक्दिनँ भन्दै आउनुभएको छ सुनिन्छ नि ?

यस्तो गम्भीर विषयमा लाचारी देखाउने, खेलाँची गर्ने काम प्रधानमन्त्रीले गर्न हुन्न । यस्तो गतिविधिलाई बचाउन थालियो भने मुलुकमा अराजकता निम्तिन्छ । गठबन्धन भत्किन्छ भन्ने होइन, बरु यस्ता काम सच्याउँदा गठबन्धन अझ बलियो हुन्छ । माओवादीले पनि गठबन्धन तोड्दैन ।

के कारणले प्रधानमन्त्रीले हटाउन नखोज्नुभएको होला ?

प्रधानमन्त्रीले प्रचण्डीजीसँग कुराकानी गर्नुभएको होला । तर, किन आलटाल भइरहेको छ, त्यो थाहा छैन । राजनीतिक दलका नेता, सांसद, नागरिक समाज र मिडियाले प्रधानमन्त्रीमाथि प्रश्न उठाउन थालेका छन् । प्रधानमन्त्रीमाथि प्रश्न उठ्नु भनेको कांग्रेसमाथि उठ्नु हो । देशको इज्जत र अन्तर्राष्ट्रिय साखसँग पनि यो विषय जोडिएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल हुन नदिन पनि प्रधानमन्त्रीले लाचारी देखाउन हुन्न ।

प्रकाशित : असार २२, २०७९ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?