२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘माओवादीले हामीलाई लाल कांग्रेस बनाउन खोज्दै छ’– रिजाल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसी सम्झौता अनुमोदनमा सहकार्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ हात अघि बढाएका छन् । बालुवाटारमा भएका चरणबद्ध छलफलबीच पनि सत्ता साझेदारसँग सहमति हुन नसकेपछि देउवा बिहीबार राति बालकोट पुगेका थिए । यसअघिका भेटवार्तामा एमसीसी सम्झौता अनुमोदनमा सहयोग माग्दै आएका प्रधानमन्त्रीले यसपालि भने आवश्यक परे सरकारमै सहकार्यका लागि समेत अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले भेट्नुअघि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका कांग्रेस नेता मिनेन्द्र रिजालसँगको संक्षिप्त कुराकानी :

‘माओवादीले हामीलाई लाल कांग्रेस बनाउन खोज्दै छ’– रिजाल

प्रधानमन्त्रीले भेट्नुअघि तपाईं प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्न बालकोट पुग्नुभएको थियो । के कुरा भयो ?

म मेरै अग्रसरतामा भेट्न गएको हो । बेलाबेला भेट्ने गर्थें, यस पटकको भेटचाहिँ चर्चामा भयो ।

कुरा के भयो त ?

ओलीजी विपक्षमा हुनुहुन्छ । अहिलेसम्म बहुमत सत्ता गठबन्धनमै छ । हामीले के गर्ने भन्ने निर्णय नगर्दासम्म एमालेले केही गर्दैन । सायद ओलीजीले सत्ता गठबन्धनमा प्रधानमन्त्रीले कस्तो निर्णय लिनुहुन्छ भनेर पर्खनुभएको छ ।

प्रधानमन्त्री र ओलीबीचको भेटबारे केही जानकारी छ ?

मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएँ । लोकतन्त्रमा प्रधानमन्त्री र विपक्षी दलको नेताबीच भेटघाट भइरहनु राम्रो हो । आज भेट्नुभएछ खुसी लाग्यो ।

एमालेसँग तपाईंहरूको अपेक्षा के छ ?

एमसीसी नेपालको हितमा छ । यो परियोजनामा कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्छ ।

कांग्रेस सत्ता गठबन्धन फेर्ने दिशामा अग्रसर भएको हो ?

सत्ता रहोस्, नरहोस्– त्यो मतलब छैन तर मुलुकको हित र राष्ट्रिय स्वार्थका लागि अब उग्रवाम भड्कावबाट सम्भव छैन भन्ने निष्कर्षमा कांग्रेस पुगेको छ ।

एमसीसी टेबल भए सरकारबाट अलग भए पनि समर्थन फिर्ता नलिने कुरा माओवादीबाट भएको छ नि ?

हाम्रा नेता गिरिजाप्रसाद कोइरालाले जंगलमा युद्ध गरिरहेको माओवादीलाई शान्ति र लोकतान्त्रिक प्रक्रियामा ल्याउनुभयो । हामीले ठान्यौं– माओवादीहरू अब सच्चिनुभएको छ तर होइन रहेछ । कांग्रेसलाई नै लाल कांग्रेस बनाउन कोसिस गर्नुभएको छ । यस्तो कोसिस निरर्थक हुन्छ । कसैले पनि एउटा सीमासम्म थेग्न सक्छ ।

एमालेसँग गठबन्धन गर्न तपाईंहरू सभामुख फेर्न पनि तयार हो ?

सभामुखबारे अहिले टिप्पणी नगरौं । सभामुख पदीय भूमिकामा रहुञ्जेल अन्यथा टिप्पणी गर्नु राम्रो हुन्न ।

प्रकाशित : फाल्गुन ६, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?