'अन्तर्राष्ट्रिय संघ–संस्थाहरु शक्तिराष्ट्रले चलाएका गोटीका पेन्डुलम मात्रै रहेछन् ।'
काठमाडौँ — तीन दशकअघि भुटानबाट लखेटिएका नेपालीभाषी भुटानी (ल्होत्साम्पा) को मानव अधिकार र घरफिर्तीको लडाइँमा सुरूआती दिनदेखि जोडिएका अधिकारवादी नेता टेकनाथ रिजाल झन्डै २० वर्षयता नेपालमा शरणागत छन् । दक्षिण भुटानको लामीडाँडा क्षेत्रको जनप्रतिनिधि तथा भुटानी राजाको सल्लाहकार रहेकै बेला अप्रिल १९८८ मा आफूमाथि विभिन्न राजनीतिक अभियोग लगाइएपछि उनी राज्यसत्ताको विद्रोही बने ।
पहिलोपटक १९८८ मा ३ दिन जेल परेर निस्किएपछि त्यही वर्षको मे महिनामा नेपाल आएका रिजाललाई भुटानी प्रहरीले १६ नोभेम्बर १९८९ मा झापाको बिर्तामोड बजारबाट फेरि पक्राउ गरेर लग्यो । भुटानमा सैन्य कारागार हुँदै चेम्गाङ जेलमा गरेर १० वर्ष लगातार सजाय बेहोर्नुपर्यो । उनी १७ डिसेम्बर १९९९ मा जेलमुक्त भए । हाल झापाको बिर्तामोडमा बस्दै आएका रिजालसँग अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को पूर्वसन्ध्यामा भुटानको मानवअधिकार स्थिति, जनसाधारणले बेहोरेको ज्यादती र ल्होत्साम्पा विद्रोहको कारणबारे कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको कुराकानी :
सन् नब्बेको दशकमा भुटानमा आन्दोलन के कारणले सुरु भयो ? आन्दोलन गर्ने र चम्काउनेमा नेपालीभाषी भुटानी मात्रै थिए ?
म जेल परेका बेला दक्षिणी भुटानका गाउँगाउँमा जनसाधारण आफ्आफ्नै कामधन्दामा थिए, आफ्नै खेतीपाती र छाक टार्ने धुनमा थिए । राजनीति के हो, कसैलाई केही थाहा थिएन । सरकारलाई तिरो तिर्न र सरकारले अह्राएको काम गर्नमै जनता लागिरहेका हुन्थे । अनायासै होमा हो गर्दैमा र धेरै कुरा नसोचीकनै आन्दोलनको कुरा फैलिएको हो । तर, भुटानमा नेपालीभाषी अर्थात् ल्होत्साम्पाले आन्दोलन गरेकै कारण उनीहरू लखेटिएका हुन् भन्न किन मिल्दैन भने, ‘भुटानले एक दिन हामीलाई खेद्छ’ भनेर कहिल्यै कल्पना गरेकै थिएनौं ।
जनगणना गर्दा वा जमिन नापी गर्दा त्यहाँका ल्होत्साम्पाले वर्षौंवर्षदेखि चर्चेको जमिनलाई ‘भोगचलनभन्दा बढी देखिएको’ भन्दै खोंचे थाप्ने काम गरिंदै थियो, देख्दादेख्दै त्यो जमिन काटेर भुटानी राजाले आफ्ना मान्छेलाई बाँड्दासम्म पनि ल्होत्साम्पाको होस खुलेको थिएन, कुनै दिन भुटानी राज्यसत्ताले हामीलाई खेद्छ भनेर । हामीले कुनै दिन आफूलाई नेपाली सम्झेनौं, सधैं भुटानी भनिरह्यौं ।
राम्रो–नराम्रो जस्तो होस्, राजा नै सर्वेसर्वा हो र राजाले दिएको निसाफ मान्छौं भनेरै बसेका थियौं । तर, बाँधेको बाच्छालाई लट्ठीले हिर्काएजस्तो गरेर भुटानका राजाले कहालीलाग्दो किसिमले हामीलाई लखेटे । हो, त्यो खेदाइमा परेर बाहिर आएका मान्छेलाई अरूहरूले नसोचीकन आन्दोलनकारी भने । आन्दोलन के हो, केलाई आन्दोलन भनिन्छ भन्ने पत्तो नहुनेहरू लखेटाइमा परे । आखिर ती मान्छे किन भागे त ? आन्दोलन गरेका भए त जेननेलमै हुनुपर्ने थियो । नेपालीभाषीले आन्दोलन गरेका हुन् भनेर बाहिरी जगत्मा नराम्रो मेसेज गएको छ ।
पीडितले चाहेजस्तो निसाफ त संसारमा कहीँ हुँदैन होला ।
दार्जिलिङमा नेपालीभाषीको आन्दोलन छ, सिक्किमको राजा पनि खुस्किसक्यो, यता भुटानमा पनि तिमीहरूले राजालाई खेद्न खोजेछौ, त्यही भएर राजाले तिमीहरूलाई खेदेछ भन्ने अर्थ लगाएका छन् धेरै बुद्धिजीवीले । यो गलत हो । हामीले आन्दोलन गरेको हुँदै होइन । भुटानका नेपालीभाषीका बारेमा संसारका कोही पनि बुद्धिजीवी नबोलिदिएको अवस्थामा यिनलाई जे गरे पनि हुन्छ भनेरै भुटानी राज्यसत्ताको मनोबल बढेको हो ।
त्यसभन्दा पहिले उसले दुई खाले नागरिक खेदिसकेको थियो । एक, वर्षौंवर्षदेखि भुटानमा शरण लिएर बसेका तिब्बतीलाई उनीहरूको सारा सम्पत्ति लुटेर खेदिएको थियो । त्यसमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीबाहेक कोही बोलेका थिएनन् । ‘भुटान त्यस्तो नगर्, तँ पाल्न सक्दैनस् भने मलाई दे’ भनेकी थिइन् गान्धीले । त्यसपछि बल्ल उसले खेद्न छाडेको थियो । दोस्रो, कामको खोजीमा भौंतारिएका नेपाली नागरिकहरूलाई सिलिगुडीमा एजेन्ट राखेर भुटानमा काम गर्न लगिएको थियो, तिनलाई पनि पछि लखेटियो । वर्षौंवर्ष विकासका काम गराएर ज्यालासम्म नदिई भुटानले तिनलाई जयगाउँमा ल्याएर फ्याँकिदिएको थियो ।
नब्बेको दशक वा त्यसअघिका जातीय दमनप्रति भारतको दृष्टिकोण कस्तो रह्यो ?
त्यस्ता घटनाबारे भारतका केही पत्रपत्रिकाबाहेक कसैले लेखेन । इन्दिरा गान्धीले बरु भुटानमा भैरहेको नागरिकमाथिको दमन, तिब्बती मूलका नागरिकमाथिको लखेटाइमा प्रश्न गरेकी थिइन् । सन् १९८४ मा हत्या हुनुअघिसम्म उनको बोलीले भुटानमा एउटा प्रतिरोधको काम गरेकै थियो ।
अझ अघि जवाहरलाल नेहरू स्वयंले पनि भुटानमा रहेका नेपालीभाषीका पक्षमा बोलिदिने गरेका थिए । नेहरूले ‘भुटानमा बसेका नेपाली मूलका नागरिक ब्रिटिस साम्राज्यवादले सेनाको रूपमा राखेका हुनाले यिनलाई तपाईंले चलाउन पाउनुहुन्न’ भनेका थिए र भुटानले पनि ‘दक्षिण भुटान र भारतको सीमा सुरक्षा गर्नुपर्छ’ भन्ने सम्झौता गराएका थिए, भुटानको बडापत्रमा यो कुरा उल्लेख गरिएको थियो ।
इन्दिरा गान्धी जीवित रहुन्जेल भुटानका नेपालीमाथि अन्याय भयो भने भारतको राजदूतावासले बोल्ने गरेको थियो । तर, उनको देहान्तपछि प्रतिरोधमा बोलिदिने बाहिरी शक्ति नभएको मौका भुटानले छोपेको हो । भुटानी राजा जिग्मे सिंग्ये वाङचुकमाथि श्रीमती गान्धीको विश्वासै थिएन । वाङचुककी कान्छी आमा याङ्की तिब्बती मूलकी थिइन्, जसले अनेक अभियोग लगाइएपछि भारतमा शरण लिइन् । राजाले कान्छी आमालाई फिर्ता माग्दा इन्दिरा गान्धीले कहिल्यै दिइनन् । त्यही कारण भुटानी राजा र गान्धीबीच राम्रो सम्बन्ध थिएन ।
भुटानले बोल्ने बोली र लगाउने अभियोग पनि हरघडी फेरिने गरेको इतिहास छ । भुटानी राजाले सन्धि–सम्झौता गर्ने नाममा भारत सरकारसँग ‘दक्षिण भुटानमा गोर्खाल्यान्डका मान्छेहरू पसेको पाइयो, यी १ लाख मान्छे खेद्नका लागि हामीलाई भारत सरकारको सहायता चाहिन्छ’ भनेको छ । ती १ लाख मान्छे कहाँ थिए, को थिए ? त्यसको कसैले खोजीनिती गरेन । जबकि १ लाख मान्छे छन् भन्ने भुटानले आरोप लगाइरह्यो, त्यहाँ कोही छँदै थिएन । किनभने दोष लगाउन खोजिएको दक्षिण भुटानका ल्होत्साम्पालाई थियो ।
गोर्खाल्यान्डसँग नेपालीभाषीको भाषा मिल्छ भन्दैमा र विश्वले पत्याइहाल्छ भनेरै यो उपाय निकालिएको थियो । भुटानमा कुनै स्वतन्त्र पत्रकार थिएनन्, सत्य–साँचो बाहिर आउने कुरै भएन । भुटानमा न कुनै विपक्षी खेमा थियो, न मानव अधिकार संगठन नै थियो । आखिरमा कोही बोल्दैन, राजाले जे भन्यो त्यही हुन्छ भनेर एकैचोटि यस्तो आरोप लगाएर एकापट्टि १ लाख मान्छे खेद्ने काम थालियो, अर्कातिर जनगणना सुरु गरियो ।
कतै यी मेरा मान्छेलाई बीच बाटोमै छोडेर म यो संसार छाडेर त जान्नँ भन्ने चिन्ता मलाई लाग्न थालेको छ ।
त्यो बेलामा ‘राजा, तपाईं यो जे गर्दै हुनुहुन्छ, यो अत्याचार हो, अन्याय हो ! यी मानिसहरू न गोर्खाल्यान्डका हुन्, न नेपालसँग यिनको कुनै सम्पर्क छ! कसैले पनि यी मान्छेलाई विदेशी भन्न मिल्दैन ! ल्होत्साम्पामाथि अन्याय हुँदै छ, तपाईंले हेरिदिनुपर्छ’ भनेर मैले बिन्तीपत्र लेखेर राजा जिग्मेलाई दिएको थिएँ । मैले लेखेर दिएको त्यो कागजमा अरू अत्याचारका कुरा छैनन्, कुनै डिमान्ड पनि छैन । भुटानीहरूले पछि देशबाहिर आएर आन्दोलन गरेका हुन्, डिमान्ड राखेका हुन्, राजनीतिक दल खोलेका हुन् । त्यो त भुटानले जबर्जस्ती बाहिर खेदिसकेपछिको कुरा हो । भुटानीहरूले भुटानभित्र बसेर भुटानी राजाको विरुद्धमा कुनै आन्दोलन गरेनन् । यहाँसम्म कि, सामान्य मानव अधिकारको कुरासम्म उनीहरूले निकालेका थिएनन् । उनीहरूले त ‘हामी यहीँका मान्छे हौं, हामीलाई नखेद’ मात्रै भनेका थिए ।
त्यसपछि म भुटानी राज्यसत्ताको तारो बनिहालें, अनि अरूहरू पनि एकपछि अर्को टार्गेटमा पर्न थाले । तर भन्नैपर्छ, भुटानभित्र आन्दोलन गरेकै कारण ल्होत्साम्पाहरू लखेटिएका होइनन् ! यसमा ठूलो षड्यन्त्र मात्रै लुकेको छ ।
भुटानभित्रका कारागारहरूको अहिलेको अवस्थाबारे तपाईं कत्तिको जानकार हुनुहुन्छ ? तपाईंको जेलजीवन कस्तो थियो ?
एउटा देशको कानुन कस्तो छ, त्यहाँको शासक कस्तो छ, त्यसले कसरी देश सञ्चालन गरेको छ, त्यो देशमा कानुनको पालना भएको छ कि छैन, कानुन एकपक्षीय छ कि बहुपक्षीय छ भन्ने कुरामा कारागारको आकार–प्रकार, नियम र संरचना निर्भर गर्दो रहेछ । बरु भुटानी जेलमा बसुन्जेल मलाई यसबारे त्यति अनुभव भएन । बाहिर आएपछि अरू देशका राजबन्दीहरू, जेल जीवन बिताएका अरू साथीभाइसँग घुलमिल हुँदा हामी कति ठगिएका रहेछौं भन्ने थाहा हुन थाल्यो । एउटा कुरा के स्पष्ट छ भने, आज भुटान जहाँ छ, यसमा भारतको ठूलै योगदान छ । आज भुटानमा जेजति नियमकानुन वा संविधान बनेका छन्, यसमा विश्वसमुदायको दबाब र भारतको पनि भूमिका छँदै छ ।
सन् नब्बेको दशकमा शरणार्थी निकाल्नुअघिसम्म भुटानमा प्रधानमन्त्रीको पदसम्म थिएन । जम्मा चार जना मन्त्री लिएर वाङचुक राजाले देश चलाउँदै थिए । राजपरिवारबाट मात्रै सञ्चालित देशमा यस्तो मनपर्दी शासनको विरोध हुनासाथ विरोधीमाथि राज्यसत्ता र सेना खनिएका हुन् । अन्याय–अत्याचारको पराकाष्ठाबाट गुज्रेको भुटानको जेलको अवस्था कति कहालीलाग्दो छ भनेर म वर्णन गर्नै सक्दिनँ । सन् १९९३ पछि भुटानमा रेडक्रस गयो र त्यहाँका जेलमा कति मान्छे परेका थिए, कहिले परेका थिए, कति मारिए भनेर प्रश्न गर्न थाल्यो ।
रेडक्रसजस्ता निकायको मुखबुझो लगाउन रातारात तिनै कैदीहरू लगाएर, कति कैदीलाई फकाएर ‘तिमीहरू यो कागज बनाउन सघाऊ अनि तिमीहरूलाई छोड्छौं’ भनेर देखावटी कागज गराइयो । भुटानी जेलमा रहेका बन्दीहरूलाई कुनै अदालत वा न्यायालयले छोड् भनेर मात्रै हुँदैन, राजाले नै छोड् भनेपछि मात्र बन्दी छुट्न सक्छ । त्यसमा पनि थिम्पुका केही जेलमा मात्रै रेडक्रस जान सक्यो । धेरै यस्ता जेल छन्, जहाँ बाहिरका पर्यवेक्षक वा पत्रकार कोही गएकै छैनन् । भुटानका प्रहरी चौकीपिच्छे जेल छन् । प्रहरी चौकी भएको ठाउँमा मान्छे बाँधेर राखिन्छ, खान दिँदैन । उसले ‘म पनि मान्छे हुँ’ भन्नै पाउँदैन । जेलभित्रै कति मारिए, कति बेपत्ता बने भन्ने हिसाब कसैले कतै राखेन । ती सबै हतकन्डामा गृहमन्त्री दागो छिरिङ संलग्न थियो जसलाई आज जापानजस्तो लोकतान्त्रिक मुलुकले विशिष्ट अवार्ड दिएको छ भन्ने सुनिंदै छ ।
अहिले भुटानमा प्रजातन्त्र आयो भनिन्छ, कति पटक चुनाव भइसक्यो, तर दमन र अत्याचारको यो पाटो भने लुकिरहेकै छ । गाउँमा रेडक्रस वा एमनेस्टीले भ्रमण गर्छ रे भन्ने हल्ला चलेपछि त्यहाँका सबै डुक्पाहरूले दौरा–सुरुवाल लगाएर नेपालीमा कुराकानी गर्दै अनेक नौटंकी देखाउने रहेछन् । अनि ‘यहाँ त यस्तोयस्तो अत्याचार गरेको छ रे’ भन्दा ‘होइन, दार्जिलिङ–गोर्खाल्यान्डतिरका मान्छेले बदनाम गर्नकै लागि भनेका हुन्’ भन्छन् रे ! तर, त्यहीँ बसेको नेपालीभाषी निरीह मात्रै बनिरहन्छ, बोल्नै मिलेन । अब यही देश अहिले दुनियाँकै ‘खुसी देश’ बनेको छ रे ! कसरी, कुन हिसाबमा खुसीको देश ? यसरी खुसीको देश भनेर लेख्नेहरू भुटानी होइनन्, पैसा खाएर बाहिरिया एजेन्टहरूले लेखेका हुन् ।
राष्ट्रसंघीय शरणार्थी आयोग शिविरमा रहेका ६–७ हजार भुटानी नागरिकको समस्या समाधान नगरीकन कसरी भाग्न सकेको हो ?
म भुटानमा कानुन नभएको बेलाको टेकनाथ रिजाल हुँ, त्यो इतिहासले बताउँछ । सन् १९७९ मा जब मैले सम्पूर्ण भुटानीलाई नागरिक परिचयपत्र दिनुपर्छ भनें, अनि भुटानका राजाले सबैलाई परिचयपत्र दिन थालेका हुन् । हामीले नै परिचयपत्र दिन लगाएर जसलाई भुटानी बनायौं, पछि तिनैले हामी नेपालीभाषीलाई उठीबास लगाए ।
भुटानमा विधानसभाबाट पारित भएका कागजातहरूका एक–एक प्रति भारतको राजदूतावासमा पठाउने गरिन्थ्यो, भारतले सत्यसाँचो भन्यो भने - आज भुटानले लुकाउन खोजे पनि, जति नै छलकपट गरे पनि — ल्होत्साम्पा को हुन्, कहिलेदेखि बसेका थिए भन्ने छर्लंग हुन्छ । अर्को कुरा, भुटानले सेना लगाएर गाउँमा ज्यादती गरेको बेला केही भूतपूर्व प्रहरी जवानहरू ‘हामीमाथि अन्याय भयो’ भनेर प्रतिरोधमा उठेका रहेछन् । ‘ए, यिनीहरू पनि हामीविरुद्ध उठ्ने रैछन्’ भनेर सेना/प्रहरीका भएजति पूर्वजवानहरूलाई हातपाउ बाँधेर कसैलाई सोझै सैन्य कारागार त कसैलाई चेम्गाङमा लगेर थुनामा हालिएको थियो । एकपल्ट सैनिक जेलमा १५० जना बन्दी छन् भनिएको थियो, पछि ११० जना मात्रै भनियो । अहिले बुझ्नै नसक्ने गरी सेक्रेसी राखिएको छ ।
तपाईं जेलमा हुँदा आईसीआरसी, एमनेस्टी इन्टरनेसनल कति पटक पुगे ?
सबभन्दा पहिला म रेडक्रस र एमनेस्टी इन्टरनेसनलका अधिकारीहरूलाई धन्यवाद भन्न चाहन्छु जसका कारण धेरै कैदीबन्दीको जीवन जोगियो । म जेलमा छँदा एमनेस्टी इन्टरनेसनलका प्रतिनिधि दुईपल्ट आएका थिए । सन् १९९२ मा म सैन्य जेल (राबुना) मा भएकाले भेट्न पाइनँ, पछि सन् १९९७ मा भने थिम्पुको डडिमाखा जेलमा रेडक्रसका अधिकारीसँग भेट भएको थियो । रेडक्रसको जुन टोली गयो, त्यसले धेरै मसिनोसँग धेरै राम्रो काम गर्यो ।
तर, हामी साना देशका, गरिब मान्छेहरू सबै संघ–संगठन र अभियान मानवहितमा केन्द्रित होलान् भन्ठान्छौं, यो सोचाइ धेरै त भ्रम रहेछ । कोहीकोही त बडा जहरिला पनि हुँदा रहेछन् । ठूलठूला देशले आफ्नो स्वार्थका लागि बनाएका यस्ता संगठनले पीडित भएको देशमा गएर सरकारबाट पैसा लिने, त्यसकै आधारमा रिपोर्ट बनाउने र सरकारको विपक्षमा कोही–केही नबोल्ने ट्रेन्ड रहेछ ।
एउटा उदाहरण, म जेलमा भएको बेला आर्बिट्ररी ग्रुप भन्ने एउटा टोलीमा भारतीय प्रतिनिधि, विदेशी कानुनविद् र अधिकारकर्मीहरू चेम्गाङ आएका थिए । टोलीमा भारतको कंग्रेस (आई) का नेता कपिल सिब्बल पनि थिए जसले काठमाडौंमा गएर पत्रकार सम्मेलनमा बोलेका थिए, ‘भुटानका राजाले टेकनाथ रिजाललाई जेलमा राख्नु सही हो, उनी दोषी छन् ।’ तर, बाहिरी विश्वले सिब्बलका कुरा पत्याएन । मलाई जेलबाट निकाल्न बाहिरी जगत्ले मद्दत गर्यो पनि । अमेरिका नउठेको भए म पनि सायद जेलमै मारिन्थें होला । भुटानमा रेडक्रस, एमनेस्टी इन्टरनेसनल पठाएको पनि अमेरिकाले नै हो ।
तपाईं सन् १९९० देखि २००० सम्म आन्दोलनको उत्कर्षका बेला जेलमा हुनुहुन्थ्यो । त्यो बेला बाहिरी विश्वमा के भइरहेको थियो, ल्होत्साम्पाहरूलाई कहाँ लगिँदै छ भन्ने केही थाहा थियो ?
मैले भुटानी जेलमा रहँदा जुन टर्चरको अनुभूति गरें, जुन कुरा मैले बाहिर आएर लेखें पनि, यो विषय उजागर गर्न म भारतदेखि स्विटजरल्यान्ड, हल्यान्ड, बेल्जियम, जर्मनी हुँदै अमेरिकासम्म पुगें । जहाँ गए पनि यो कुरा बुझ्न खोज्ने मान्छे नहुने र जसले विश्वास गर्छ त्यो डराएरै पछि सर्ने अवस्था देखियो । भुटानमा मलाई त पूरै अलमल्याएर जेलभित्र राखिएको हुनाले बाहिरी जगत्मा के भैरहेको छ, त्यति थाहा पाइनँ ।
दक्षिण भुटान खाली भैसकेछ भन्ने कुरा प्रस्ट रूपले त जेलबाट छुटेपछि मात्रै चाल पाएँ । दसवर्षे मेरो जीवन पूरै अन्धकारमै बित्यो । जेलभित्र कैदीहरू आपसमा बोल्न पाइँदैनथ्यो, कसैले केही भन्दैनथ्यो पनि । कतिपय कैदीले केही भनिहाले पनि त्यो हो जस्तो लाग्दै नलाग्ने । मलाई पक्रेको पर्सिपल्ट एक जना सिपाहीले ‘तिम्री श्रीमतीलाई अर्कैले लगिदियो, नानीहरूलाई पनि मारे’ भनेको थियो । म त मेरा नानीहरू, श्रीमती पनि छैनन् होला भनेरै बसेको थिएँÙ पछि श्रीमतीले चिठी पठाउँदा म होसमा फर्केजस्तै भएँ ।
म चेम्गाङमा बस्दा बिहान छ बजेदेखिको काम थियो— यो ठाउँको ढुंगा उहाँ पुर्याउनुपर्ने, एक गाडी ढुंगा । भोलि फेरि ती ढुंगा यहाँ ल्याउनुपर्ने । मलाई अरू काम लगाएको थिएन । अरू देख्ने मान्छेले टेकनाथले त काम गर्दैन भन्थे तर मेरा हात हेरिसक्नु थिएनन् । ‘भुटानी शरणार्थी’ भन्ने प्रमाणित गरेरै पुनर्बसोबासमा लगिएको छ र यसबाट भुटानले यति वर्षदेखि आफ्ना नागरिक होइनन् भन्नु गलत रहेको प्रमाणित भएको छ । यस्तो कुरामा अन्तर्राष्ट्रिय समुदायले किन बोल्दैन ?
एमनेस्टी इन्टरनेसनलदेखि केके संस्थाहरू छन् नि, यी सबै शक्तिराष्ट्रले चलाएका गोटीका पेन्डुलम मात्रै रहेछन् । विश्वसमुदायले पहिला त भुटानी जेलमा राजबन्दी भनेर थुनिएकालाई निकाल्नुपर्ने हो नि ! भुटान त्यस्तो स्पेसल देश हो, जसले जे गर्न पनि पाउने ? उसलाई किन छुट ? नेपालमा रहेका भुटानी शरणार्थीबारे गिरिजाबाबुले पनि भन्नुभएको थियो, ‘पहिला भुटान लैजाऊ अनि त्यहाँबाट जता लैजान्छौ लैजाऊ ।’ हामीले पनि त्यही भन्यौं । बीचैबाट किन बाहिर लैजाने ? त्यसो नगर्दा त हाम्रो परिवार वियोग हुने थिएन नि त ! कम से कम को मान्छे कहाँ बस्ने, रोज्न पाउने थियौं ।
विश्वले हामीलाई भेडाबाख्रालाई जति पनि निसाफ दिएन । आफ्नै घरबाट खेदिएका मान्छेलाई भुटानी भनेर लग्यो, भुटानभित्रै बसेकालाई गैरभुटानी भनेर भुटानमै राखेको छ । ८० हजार मान्छे (ल्होत्साम्पा) जो भुटानमै छोडिएका छन्, तिनका बारेमा विश्वसमुदाय बोल्दैन । यसरी हामीले सुरुमा हामी भुटानी हौं भनेर संघर्ष गर्नुपर्यो । विश्वले तिमीहरू भुटानी हौ त भन्यो, तर हामीलाई निसाफ दिलाएन । हामीलाई छिन्नभिन्न बनाइदियो ।
भुटानका जेलमा रहेका नेपालभाषी भुटानीका हकमा आईसीआरसीले कुनैकुनै बेला आफन्तसँग भेट्न दिने भनेको रहेछ । यसबाट जेलमा मान्छे छन् भन्ने नै पुष्टि हुन्छ । तर पनि उनीहरूको मानव अधिकारबारे कसैले चासो नदिएको किन होला ?
रेडक्रसले भुटानको हकमा थोरै पक्षपात गरेजस्तो लाग्छ । म त नेपालीभाषी भुटानी मात्र नभएर त्यो देशको जनप्रतिनिधि हुँ । त्यो देशको राजसंस्था, लामा, डुक्पाले भोट दिएको मान्छे हुँ म । १५१ जना सदस्यमा १४३ जनाले भोट दिएको मान्छे हुँ म । मैले दक्षिण भुटानका नेपालीभाषीका लागि मात्रै बोलें भने मेरो देश र जनतामाथि अन्याय गरेको हुन्छ । भुटानले नेपालीभाषीमाथि मात्रै होइन, त्यहाँका सबै जातिमाथि अन्याय गरेको छ । उसले आँखा लगाएको मान्छे कोही कतै जानै पाउँदैन । बरु नेपालीभाषी भुटानी त बाहिर आउन पाए, ‘हामीलाई यस्तो भयो’ भन्दै, अरू त त्यही पनि पाउँदैनन् । बाहिर आएर बोल्ने भनेको भारतमा हो, तर बोल्यो कि भारतले बाँधेर उतै पठाइदिन्छ ।
एउटा सत्य घटना म सम्झन्छु । सन् १९९१ को सुरुआतमा जेलबाट पहिलो पटक बाहिर निस्कँदा रोङथोङ किन्ले दोर्जीलाई ‘तिमीले धेरै दुःख पाएँ भन्यौ रे’ भनेर राजा जिग्मेले सोधेका थिए रे ! किन्लेले जवाफमा भनेका रहेछन्, ‘जेलको दुःख त मलाई केही दुःख लागेको छैन, तर हिजो तपाईंले नै हामीहरूलाई नेपालीभाषी बिहे गर्यौ भने पुरस्कार पाउँछौ भन्नुभएको थियो, अहिले यिनै भुटानीलाई तपाईंले भुटानी होइनन् भनेर खेद्नुभयो । यी मान्छेलाई खेद्दा हाम्रो परिवार खेदियो, तपाईंको नीति मानेर मेरी बहिनी नेपालीलाई दिएको छु, त्यो नेपालीलाई तेरो छोराछोरीलाई छोडेर तँ जा भन्दा त्यसको बाबुलाई कसरी नानीबिना पठाउनू ? मेरी बहिनीले ज्वाइँलाई माया गर्छे । उसलाई कसरी नजा भन्नू ? आज तपाईंले दागो छिरिङ वा कसैको कुरा सुनेर आफ्नै नागरिकलाई लखेट्नुभएको छ, यो एकदम गल्ती हो ।’
यति सुनेपछि ‘ए, तिमी पनि नेपालीको पक्षमा लागेको ?’ भनेर उनलाई फेरि जेलनेल थपिएछ । यसरी कति हाम्रो पक्षमा बोल्नेलाई गोली ठोकेर मारियो । कति अझै जेलमै छन् । कति त्यस्ता मान्छे यहाँ बसेका छन्, यिनीहरूको सुनुवाइ हुँदैन । रेडक्रसले पनि नेपाली मूलका मान्छेको कुरा गर्छ, ती पीडित डुक्पाको कुरा गर्दैन । भुटानका राजाले मलाई निकालेको बेलामा एउटा कागजमा जबर्जस्ती सही गर्न भनियो । त्यसबारे मैले ‘निर्वासन’ मा लेखेको छु, ‘म राजाले छोडेर जेलबाट निस्केको होइन, रेडक्रसका प्रतिनिधिको कृपाले निस्केको हुँ’ भनेर लेखेको छु ।
भुटानमा अन्याय–अत्याचार जारी छ भन्ने कुरा जेनेभादेखि ब्रसेल्ससम्मका मानव अधिकार निकायमा पुगिसकेको छ तर सुनुवाइ कहीँबाट भएन । एक जना मात्र रहे पनि घरफिर्तीको माग गरिराख्ने तपाईंको आवाजमा कसैलाई मतलब छैन । यसको कारण के हो ?
यो लाचारी सुरुदेखिकै हो । नेपालले पनि हामीलाई विश्वास गरेर आफ्नो लाचारीपन के हो, भन्दिनुपर्थ्यो । नेपालको लाचारीलाई छिचोलेर हामीले बाँकी काम गर्न सक्थ्यौं कि ? भुटानसँग कुरा गर्ने बेलामा नेपालले भुटानी शरणार्थीलाई पनि सँगै राख्नुपर्ने थियो । कुराकानीमा नेपालले के भन्यो होला ? फेरि वार्तामा पनि दलहरू अदलीबदली भई सहभागी भएका छन् ।
एक पटक भुटानले माधवकुमार नेपाल र चक्रप्रसाद बाँस्तोलालाई बोलायो । उहाँहरू भुटान जानुअघि यहाँ (नेपालमा) कोहीसँग भेट्नुभएन । त्यहाँ गएको दोस्रो दिन उहाँहरूले ‘भुटानी समस्या त हामीले यहाँ आएर पो बुझ्यौं’ भन्नुभयो । उहाँहरूले के बुझ्नुभयो, मैले अझैसम्म बुझेको छैन । भुटानमा वार्ता गर्न जानेमा एक–दुई जनाबाहेक कसैको सही प्रतिनिधित्व हुनै सकेन, अलिकति हाम्रोपट्टिबाट पनि कमजोरी भयो । हामी भुटानीहरू पनि एकमुख हुन सकेनौं । अमेरिकाले तेस्रो देश लाने भनेर घोषणा गरेको समयमा केही बोल्ने राम्रो मौका हामीलाई थियो । ‘ठीक छ, हामीलाई तेस्रो देश लैजानुहुन्छ, हामी जान्छौं, तर भुटानको जेलदेखि अरूतिर रहेका हाम्रा आफन्तको के हुन्छ त ?’ भनेर हामीले उसलाई सोध्नुपर्ने थियो । हामीमाथि त्यत्रो ठूलो शक्ति लागेपछि के गर्न सक्छौं र, केवल निरीह मात्रै बन्यौं !
शिविरमा बसिरहेको शरणार्थीलाई सादा पोसाकका भुटानी प्रहरीले आउँदै उठाउँदै लैजाने र गुमनाम बनाउने स्थिति अहिले पनि रहेछ । यस्तो कसरी सम्भव भइरहेको छ ?
यसलाई नयाँ नमानौं । बसिरहेका ठाउँबाट लैजाने घटनामा भारत र भुटानलाई मात्र के दोष दिनु ? नेपालका वीरेन्द्र राजाले मलाई नै मार्न आदेश दिएका होइनन् र ? मलाई बिर्तामोडको चौरस्ताबाट उठाएर भुटानी शासकलाई जिम्मा दिइएको होइन र ? पछिल्लो उदाहरण चाहिने हो भने, दक्षिण भुटानीका लागि बोलिदिने विद्वान् तेन्जिङ जाङ्पोलाई झुक्याएर सिलिगुडीदेखि बाँधेर गुवाहाटीमा राखियो, सन् २००७ तिर । गुवाहाटी अदालतले छोडेपछि लगत्तै ढोकाबाटै फेरि जाङ्गोलाई बाँधेर भुटानलाई जिम्मा दियो इन्डियाले । अहिले उनी साम्ड्रुप जोङ्खर जेलमै छन् । ठूलो शक्तिका अगाडि हामी निरीह मान्छेको केही नलाग्ने रहेछ ।
झन्डै ७ हजार भुटानी नागरिक अहिले पनि शरणार्थी शिविरभित्र र बाहिर बसिरहेका छन् । यिनीहरूको हैसियत केही छैन । अब स्थानीय बसोबासको प्रक्रिया अगाडि बढाइँदै छ भन्ने चर्चा छ । स्थानीय बसोबास सम्पूर्ण समाधान हो ?
एउटा कुरा, नेपालमा ७ हजारजति मात्रै भुटानी शरणार्थी छैनन् । हरेक साल भुटानले भित्रभित्रै मान्छे खेदेको छ । ससानो समूहमा खेद्ने क्रम जारी छ । अहिले पनि थुप्रो नयाँ मान्छे आएका छन् झापामा । अन्तअन्त पनि गएका छन् । तर, विश्वसमुदायले समस्या समाधान भयो भन्दा म निरीह मान्छेले के भन्न सक्छु र ? मलाईधरि विश्वसमुदायले भुटानी शरणार्थी मानेको छैन, नेपालले एउटा कागज दिन मानेको छैन । म नै यहाँ कसरी बसेको छु होला ? अरूभन्दा पनि राष्ट्रसंघीय शरणार्थी आयोग शिविरमा रहेका ६–७ हजार भुटानी नागरिकको समस्या समाधान नगरीकन कसरी भाग्न सकेको हो ? यी आम भुटानी नागरिकको अबको हैसियत के ? मैले जवाफ पाएको छैन ।
अहिले तपाईंको ‘स्टाटस’ के हो ?
म आफैं पनि जान्दिनँ । पहिला पनि एकपल्ट भुटानले मान्छे खेद्दै छ भनेर यता सहयोग माग्न आएको मलाई यताबाट हात बाँधेर उतै पठाइयो । दोस्रो पालि पनि म यहाँ जग्गाजमिन माग्न त आएको होइन ! यहाँका सात क्याम्पका सचिवहरूले लेखेको पत्र लिएर डा. एसपी सुब्बा फुन्चोलिङ आएपछि म नेपाल आएको हुँ । म भारतमा पनि बस्न पाइनँ, भुटानमा बस्ने अवस्था पनि नभएकाले यहाँ आएँ ।
यहाँ आउँदा मलाई तत्कालीन शरणार्थी आयोगका प्रमुख अब्राहम अब्राहमले ‘काकरभिट्टाबाट आउनुभएको भए तपाईंलाई हामीले शरणार्थी हैसियतमा लिइहाल्थ्यौं, धनगढीबाट आउनुभएछ, मिल्दैन’ भनेर पन्छाए । मलाई शरणार्थी परिचय दिनै मानेनन् । तल क्याम्पले दर्ता गर्दैन, शरणार्थी आयोगले दर्ता गरिदे भन्दैन । म फोकनटाट भएर बसेको छु । मेरो स्टाटस अब आम नागरिक र पत्रकार जगत्ले नै छुट्याइदिनुपर्यो । मजस्तै पूर्वी भुटानका डुक्पाहरू र अरू गरेर हामी पाँच जनाजति स्टाटसलेस छौं ।
जीवनको यो चरणमा आइपुग्दा केसम्म भइदिए आत्मसन्तुष्टि हुन्थ्यो भन्ने लाग्छ ?
हामी घायल भयौं, पीडितले चाहेजस्तो निसाफ त संसारमा कहीँ हुँदैन होला, हुने रहेनछ तर मैले एउटा मुद्दामा एउटा समाजको प्रतिनिधित्व गरें । समाज भन्नाले दक्षिण भुटान मात्रै होइन, पूरै भुटानको प्रतिनिधित्व गरेको हुँ । म केही गल्ती गरेर होइन, जनप्रतिनिधित्व गर्दागर्दै राजाबाट जबर्जस्ती खेदिएको हुँ । जुन राजाले मलाई निकाले, जेलनेल गरे, जेलबाट छोड्ने बेलामा उनैले ‘यो मान्छे निर्दोष पाइयो’ भने । मैले व्यक्तिगत स्वार्थ मात्रै हेरेको भए भुटान छाड्नुपर्ने थिएन ।
अत्याचार गर्नेभन्दा अत्याचार सहने पापी हुन्छ भनेर शास्त्रमा पढेको हुनाले यिनै मान्छेको उद्धारका लागि म आएँ । तर यहाँ रहेका साढे ६ हजार भुटानीका लागि राजनीतिक पहलमा भारत र भुटानसँग कुरा गरेर यिनको समस्या समाधान हुनैपर्छ भन्ने लाग्छ । यी मान्छेलाई कि ससम्मान मुलुक फर्काइदिने कि त यिनीहरूको परिवार जहाँ छ, त्यहाँ पठाइदिने काम नेपालले गरिदिए मेरो आत्माले शान्ति पाउँथ्यो । अर्को चाहना, नेपाल भुटानसँग यति साह्रो नझुकोस् भन्ने हो । हाम्रा मान्छे पनि बाहिर गइसकेपछि मौन नबसिदिऊन् । किनभने तिनका आफन्तहरू भुटानी माटोमा मारिएका छन्, तिनका पूर्वजले कमाएको धनसम्पत्ति भुटानले लुटेको छ । दोषीलाई कारबाही हुने वातावरण बनेर भुटानभित्र बसेका मान्छेलाई मान्छेजस्तो भएर बाँच्ने अवस्था नमिलुन्जेल यो आन्दोलन जारी रहनुपर्छ ।
एउटै कुरा, मैले भुटानी नागरिकलाई ससम्मान आफ्नो देश फर्काउन सकिनँ । धेरै मानिस परिवार वियोग भएर छिन्नभिन्न भएको देख्दा ७४ वर्षको उमेरमा पाइला टेक्दै गरेको मलाई कताकता खल्लो लागिरहेको छ । कतै यी मानिसलाई बीचबाटोमै छोडेर म यो संसार छाडेर त जान्नँ भन्ने चिन्ता मलाई लाग्न थालेको छ ।
तस्बिरहरू : कञ्चन अधिकारी/कान्तिपुर
