– हामीले नवौं महाधिवेशनबाट समाजवादका आधारहरू तयार पार्ने कार्यदिशा, नीति र सिद्धान्त अगाडि सारेका थियौं । ती सबैलाई केपी ओलीले भुस बनाइदिनुभयो ।
नयाँदिल्ली — पूर्वप्रधानमन्त्री झलनाथ खनाल असार २ गतेदेखि भारतको राजधानी नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचारार्थ छन् । यस अवधिमा उनको मृगौला प्रत्यारोपण गरिएको छ । उनी दिल्लीमा रहेका बेला नेपालमा कैयौं राजनीतिक घटना भएका छन् । संसद् विघटनको निर्णय उल्ट्याउने सर्वोच्चको निर्णय, प्रधानमन्त्रीबाट केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेश, प्रदेशहरूमा मुख्यमन्त्रीहरूको परिवर्तन र उनीसमेतले बनाएको नेकपा एमालेमा विभाजन यही अवधिमा भएका छन् ।
प्रत्यारोपणपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा अस्पतालमै रहेका खनालसँग उनको स्वास्थ्य, मुलुकको राजनीति, पार्टी विभाजन र नयाँ पार्टी गठनलगायतका सन्दर्भमा कान्तिपुरले शुक्रबार कुराकानी गरेको थियो । प्रस्तुत छ, कान्तिपुरका दिल्ली ब्युरो प्रमुख राजेश मिश्रले अस्पतालको बेडमै ७१ वर्षीय खनालसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको स्वास्थ्य अहिले कस्तो छ ?
काठमाडौंबाट उपचारका निम्ति हिँड्दा म अब फर्किन्छु कि फर्किन्नँ भन्ने लागेको थियो । यहाँ आएपछि तुरुन्तै एपोलो अस्पतालमा भर्ना भएँ । जुन १६ तारिख यहाँ आइपुगें, जुन १८ देखि डायलिसिस सुरु गरें । डायलिसिसले पनि मलाई खासै ठीक गर्न सकेन । अन्तत: किड्नी ट्रान्सप्लान्टको योजना बनाउनैपर्यो ।१५/२० दिनजस्तो भयो, ट्रान्सप्लान्ट गरेको । त्यसपछि मेरो स्वास्थ्य आमुलचुल रूपले परिवर्तन भएको छ । म अब पहिलाभन्दा धेरै राम्रो अवस्थामा छु । नर्मल लाइफमा फर्किंदैछ । मैले प्रोफिटको लाइफ पाएको छु । अब मेरो जीवनलाई देश, जनता, लोकतन्त्र, शान्ति र समाजवादका लागि समर्पित गर्नेछु ।
तपाईंको किड्नी ट्रान्सप्लान्ट आकस्मिक गर्नुपर्ने स्थिति आयो कि, पहिले चिकित्सकहरूले भनेका थिए ?
म गत फरवरीमा एपोलो अस्पताल आएको थिएँ । त्यतिबेलै चिकित्सकहरूले किड्नीले केही प्रतिशत मात्रै काम गरिरहेको भन्दै ट्रान्सप्लान्टका बारेमा सोच्न भनेका थिए । तर, फर्किएपछि यतापट्टि ध्यानै दिन सकिनँ । पछि मलाई कोभिडपनि भयो । त्यसले मेरो फोक्सो र किड्नीलाई आक्रमण गर्यो । त्यस अवस्थामा काठमाडौंमै कहिले सुमेरु, कहिले मनमोहन र नर्भिक अस्पतालमा भर्ना भएँ । तर, ठीक हुन सकेन । त्यही क्रममा मलाई भेट्न आउनुभएका केही नेताले तुरुन्त पहिले उपचार गराएको ठाउँमै जान सल्लाह दिनुभयो । चिकित्सकहरूले पनि त्यस्तै भन्नुभयो । त्यसपछि मैले सरकारसँगपनि कुराकानी गरें । सरकारले पनि जान भनेपछि यता आएको हुँ ।
किड्नीदातालाई आकस्मिक रूपमा कसरी भेट्नुभयो ?
हेर्नुस्, चिकित्सकले किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने भनेपछि म दाता खोज्दै थिएँ, अलिअलि सूचना प्रवाह गरिरहेको थिएँ । त्यही बेला मेरी श्रीमतीकी दिदीकी छोरी मेरिना चित्रकारले आफैं सम्पर्क गरिन् । यस्ता दाता असाध्यै दुर्लभ हुन्छन् । मेरिनाले मलाई नयाँजीवन दिएकी छन् ।
यसबीच नेपालमा धेरै राजनीतिक घटनाक्रमहरू विकसित भएका छन् । तिनलाई कसरी हेर्नुभएको छ ?
नेपालको राजनीति अहिले उथलपुथल र पुनर्गठनको बीचबाट अगाडि बढिरहेको छ । खास गरीकन पछिल्लो निर्वाचनपछि नेकपा एमालेलगायतले करिब दुईतिहाइ बहुमत प्राप्त गरे । र, हामीले केपी ओलीलाई प्रधानमन्त्री बनायौं । यसलाई हामीले ऐतिहासिक अवसर ठानेका थियौं तर त्यो आफैंमा दुर्भाग्य भइदियो । किनभने उहाँले सत्ता प्राप्त गरेपछि पार्टी कमिटी, पार्टीका नीति, कार्यदिशा, सिद्धान्त, कार्यक्रम, घोषणापत्र सबै बिर्सनुभयो । नितान्त निरंकुश, एकतन्त्रीय र मनपरी ढंगले उहाँले प्रशासन सञ्चालन गर्न थाल्नुभयो । प्रशासनमा पनि केन्द्रीकरण गर्नुभयो । मैले कुनैपनि प्रधानमन्त्रीले यस्तो केन्द्रीकरण गरेको देखेको थिइनँ । उहाँले गफैगफ हाँक्नुभयो र देशका निम्तिजुन सम्भावना थियो, त्यसलाई तुहाइदिनुभयो । हेर्दाहेर्दै करिब दुईतिहाइको बहुमत समाप्त पार्नुभयो । आफ्नो नेतृत्वमा पैदा भएको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकार र व्यक्तिवादका कारण उहाँले त्यो बहुमत गुमाउनुभयो । हामीले दुइटा पार्टीलाई एकीकृत गरेका थियौं । एकीकृत सशक्त पार्टी निर्माण हुँदै गएको थियो । त्यो पार्टीलाई समेत उहाँले तहसनहस बनाइदिनुभयो ।
हामीले नवौं महाधिवेशनबाट समाजवादतर्फ अगाडि बढ्ने, समाजवादका आधारहरू तयार पार्ने कार्यदिशा, नीति र सिद्धान्त अगाडि सारेका थियौं । ती सब विराट् सम्भावना थिए । सबैलाई उहाँले भुस बनाइदिनुभयो । तीनतीन पटक नीति रकार्यक्रम ल्याउनुभयो । दलाल पुँजीवादको घेराभित्र ती नीति र कार्यक्रम आए । बजेटहरूपनि नवउदारवादी र पुँजीवादी घेराभन्दा कतै बाहिर नजाने गरी ल्याउनुभयो । समाजवादको ‘स’ पनि उच्चारण भएन । पार्टीका नीति र कार्यदिशा कुनैलाई पनि उहाँले प्रतिनिधित्व गर्न सक्नुभएन । त्यसले गर्दा पार्टीको विकासक्रम पूर्णत: रोकियो । पार्टीको वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक विकास सबै ठप्प भयो । पार्टीमा माथिदेखि तलसम्म गुटबन्दी गराइयो । मदन भण्डारीका नाममा उहाँले जुन गुट खडा गर्नुभयो, त्यसले पार्टी तलदेखि माथिसम्म, हरेक जनवर्गीय संगठनमा चिरा पर्ने स्थिति बन्यो । गुटैगुटको अवस्था आयो । कम्युनिस्ट पार्टीमा जुन आदर्श, जुन आचारणको माग गरिन्छ, ती सबै ध्वस्त पार्दै लानुभयो । नेतृत्वले पार्टीलाई अग्रगतितिर लैजाने सम्भावना नै समाप्त भयो । त्यस्तो अवस्थामा हामीले ‘कमरेड, पार्टी कमिटी भित्र यी कुरा सच्याउनुपर्यो; कम्युनिस्ट पार्टी भनेको एउटा व्यक्तिको बपौती होइन, यो त कलेक्टिभ्ली चल्नुपर्ने संस्था हो; हामीले जुन प्रिन्सिपलमाथि विश्वास गरेर पार्टी बनाएका छौं, त्यो कुरालाई अगाडि बढाउनुपर्यो’ भन्यौं । तर, यसलाई लिएर उहाँले पार्टीले घेराबन्दी गरेको आरोप लगाउन थाल्नुभयो । र, अनाहकमा करिब दुईतिहाइ बहुमत रहेको संसद् असंवैधानिक ढंगले विघटन गर्नुभयो ।सारा जनमतलाई अपमान गर्नुभयो । हामी अदालत र सडकमा जान बाध्य भयौं । कोर्टले असंवैधानिक भनेपछिपनि संसद् विघटन गर्नुभयो । एक पटक होइन, दुईदुई पटक संसद् विघटन गर्नुभयो जबकि प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन । हामीले बनाएको संविधानले त्यो अधिकार दिँदैन । वर्षौं लगाएर बनाएको संविधान हो यो । संविधानको धारा ७६ मात्रै बनाउनका लागि एक घण्टा, दुई घण्टा होइन; व्यापक छलफल गर्दा धेरै समय लागेको थियो । जस्तोसुकै क्राइसिसमा पनि संसद् पाँच वर्ष रहनुपर्छ भन्ने मान्यताका आधारमा त्यस्तो व्यवस्था गरेका हौं ।
अस्थिरताको सम्पूर्ण दोष केपी ओली एक्लैको हो ?
हो । सम्पूर्ण अस्थिरता, अराजकता, गुटबन्दी आदिको मूल स्रोत भनेकै केपी ओलीको दक्षिणपन्थी अवसरवाद, गुटवाद, व्यक्तिगत अहंकारवाद, व्यक्तिवाद हो ।
तपाईंहरूले पनि त आफ्नै पार्टीको सरकार ढाल्नुभयो । अस्थिरताको दोष तपाईंहरूले बोक्नुपर्दैन ?
केपी ओलीले देश, लोकतन्त्र र संविधान नै चल्न नदिएकाले तथा कलिलो गणतन्त्रमाथि खतरा पैदा गरेपछि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिलाई गोलबद्ध गरेर हामीले त्यसको प्रतिकार गरेका हौं । अहिले आएर पार्टीभित्र विद्रोह गर्नसमेत बाध्य हुनुपर्यो । रहरले होइन, बाध्यताले यो सब गर्नुपर्यो । केपी ओलीको सरकारका विरुद्ध सडकमा समेत जानुपर्यो । उहाँले हाम्रोसामु बाध्यता खडा गर्नुभयो । देशको प्रजातन्त्र, गणतन्त्र अहिलेपनि कलिलो छ । संविधान सबै ढंगले कार्यान्वयनमा आइसकेको छैन । संघीयताले केवल आकार मात्रै लिएको छ, संघीयता प्रयोगमै छ । यस्तो अवस्थामा संविधानलाई लत्याएपछि संघीय लोकतान्त्रिक गणतन्त्र बच्न सक्थ्यो र ? हामीले प्रतिकार नगरेका भए देश ठूलो संकटतर्फ जान्थ्यो । कोरोना महामारीले सारा देश ग्रस्त भएको बेला उहाँले दुईदुई पटक आम चुनावको घोषणा गर्नुभयो । त्यस अवस्थामा अरूकति हजार मानिसको मृत्यु हुन्थ्यो ! मुलुक संकटमा पुगेको थियो । अन्त्यमा सर्वोच्च अदालतको पछिल्लो फैसलाले मुलुकको संसद्, लोकतन्त्र र गणतन्त्र बच्यो ।
तपाईं दिल्लीमै रहेका बेला तपाईंसमेतको संलग्नतामा नयाँ पार्टीदर्ता भएको छ । तपाईं नयाँ पार्टीमा सक्रिय हुनुहुन्छ ?
हो । केपी ओलीको दक्षिणपन्थी अवसरवादमा अब डुब्न सकिँदैन, यो गुटवादका सामु झुक्न सकिँदैन, ओलीको अहंकार र व्यक्तिवादका सामु निहुरिन सकिँदैन । यस्तो अवस्थामा पार्टीको असल क्रान्तिकारी परम्परा, मूल्य र मान्यतालाई जोगाउन हामीले विद्रोह गर्न बाध्य हुनुपर्यो । यो पार्टी विभाजन होइन । यसलाई म पार्टीमा फुट भन्दिनँ । पेरिस र झापा विद्रोहजस्तै यो एउटा दक्षिणपन्थी अवसरवादका विरुद्धको विद्रोह हो । जसरी आरके मैनाली, नेत्र घिमिरे, रामचन्द्र दाहाल आदिले झापा विद्रोह गर्नुभएको थियो, त्यसलाई हामी कसैले टुटफुट, विभाजन भनेनौं, ऐतिहासिक विद्रोहको झिल्को थियो त्यो ।
तपाईं स्वयं संलग्न भएर निर्माण गरेको पार्टी । तपाईं दुई पटक गरेर ११ वर्ष पार्टीको नेतृत्वमा रहनुभयो । जीवनको ५०–५५ वर्ष जुन पार्टीलाई दिनुभयो, त्यो पार्टी तपाईंसमेत भएर फुटाउनुभएको छ । त्यसले कस्तो अनुभव दिइरहेको छ ?
पार्टीमा विद्रोह गर्नुपर्दा मलाई असाध्यै नमीठो लागेको छ । तर कहिलेकाहीँ आफैंले बनाएको संस्थामा गलत नेतृत्व हावी भएर विद्रोह गर्नुपरेका थुप्रै घटनाछन् । कार्ल मार्क्सले संसारभरिका मजदुरहरूलाई एक बनाउनका लागि फर्स्ट इन्टरनेसल बनाउनुभयो । तर, त्यसलाई केही समयभित्रै दक्षिणपन्थी अवसरवादी र सुधारवादीहरूले यसरी कब्जा गरेकि मार्क्स र ऐंगल्सका विचारहरू प्रवाह नै हुन नसक्ने स्थिति बन्यो । कम्युनिस्ट पार्टीको घोषणापत्र पनि लागू गर्न नसकिने स्थिति आयो । त्यसले गर्दा मार्क्सले फर्स्ट इन्टरनेसनललाई विघटन गर्दिनुभयो । आफैंले बनाएको संस्था घोर अवसरवादीमा बदलिएकाले फेरि अर्को इन्टरनेसनल गठन गर्छौं भनेर उहाँले आफ्नै संगठनका विरुद्ध विद्रोह गर्नुभयो । कहिलेकाहीँ त्यस्तो स्थिति आउँदो रहेछ । नेकपा एमाले हामीले बनाएको पार्टी हो, पार्टीको हरेक पहलुमा हाम्रो रगत, पसिना र मिहिनेत छिपेको छ । तर अहिले नेतृत्वमा जाम भएर बसेको अवसरवाद छ, जो सुझाव, आलोचना आदिबाट सुध्रिन सक्दैन । त्यसो भएर विद्रोह गर्नुपर्यो, विद्रोह नै अनिवार्य र अत्यावश्यक बन्यो ।
सिद्धान्तभन्दा पनि व्यक्तिबीचको टकरावले नै नयाँ पार्टी आएको हो ?
होइन, यो नितान्त वैचारिक, राजनीतिक कार्यदिशाको कुरा हो । केपी ओलीले दक्षिणपन्थी, अवसरवादी, विसर्जनवादी वैचारिक राजनीतिक कार्यदिशा र गुटवादी आचरण, अहंकारवादी शैली लिएर पार्टीलाई अग्रगतितर्फ जानलाई अवरुद्ध गरेकाले एउटा सही वैचारिक, राजनीतिक दिशाका आधारमा पार्टीलाई पुनर्गठन गर्नका निम्ति, लोकतन्त्र, शान्ति र समाजवादलाई अगाडि बढाउने पार्टी बनाउनुपर्ने अवस्थाका कारण हामीले विद्रोह गरेका हौं ।
ओलीको व्यक्तिगत कार्यशैली नै होइन त पार्टी विभाजनको कारण ?
म त्यो ठान्दिनँ । व्यक्तिगत कार्यशैलीभन्दा पनि केपी ओलीमा आएको दक्षिणपन्थी भड्काउ यसको प्रमुख कारण हो । गुटवाद पनि अर्को कारण हो । ओलीले जति मानिस नियुक्ति गर्नुभयो, सबै उहाँकै गुटका मानिस हुन्, एमालेका योग्य मानिस होइनन् । उहाँलाई प्रशंसा गर्नेहरूनियुक्तिमा परे । उहाँले जति मान्छे मन्त्री बनाउनुभयो, ती सबै उहाँकै गुटका मानिस ।पछि घनश्याम भुसाल र योगेश भट्टराईलाई लान बाध्य हुनुभयो ।
तपाईंहरूको नयाँ पार्टीको सिद्धान्त पनि करिबकरिब एमालेकै जस्तै छ । अनि भिन्नता कहाँ भयो ?
घोषणापत्र र पार्टीको नवौं महाधिवेशनको कार्यदिशा रहुन्जेल त त्यस्तो हुने नै भयो । त्यो हामीले नै पास गरेको कार्यदिशा हो नि । नवौं महाधिवेशनपछि ओलीले कुनैपनि रूपमा पार्टीका नीति, कार्यदिशा, सिद्धान्त लागू गर्नुभएन । त्यसपछि उहाँले निकाल्नुभएका सबै डकुमेन्टमा दक्षिणपन्थ हावी छ । त्यही भएर ठूलो फरक छ हामी र उहाँबीच । त्यसलाई बिस्तारै जनसमक्ष ल्याउँछौं ।
कम्युनिस्ट पार्टी एक भएर बस्न सक्दैन, सरकार चलाउन सक्दैन भन्ने सन्देश प्रवाह भएको छ नि । यसलाई कसरी लिनुहुन्छ ?
म त्यो मान्दिनँ । केपी ओलीको घटना एउटा अपवाद हो । २००७ सालदेखि यता हेर्नुभयो भने देशका सबै परिवर्तन संयुक्त रूपमा ल्याइएका हुन् । कुनै एउटा पार्टीले मात्रै भूमिका खेलेर नेपालमा ठूलो परिवर्तन आएकै छैन । संविधान सभाबाट संविधानसम्म हामी सबै मिलेरै बनाएका हौं । तर, नेकपा एमालेले ल्याएको करिब दुईतिहाइ बहुमतको ऐतिहासिक, अभूतपूर्व, असाधारण अवसरलाई प्रयोग गर्ने नेता हामीसँग भएन ।स्वार्थी, दक्षिणपन्थी स्वार्थको अहालमा डुबेका नेता हाम्रासामु आइलागे । त्यसले गर्दा ती विराट् सम्भावनाहरू तुहिएर गए । अब फेरि नयाँ ढंगले ती सम्भावनाहरू सृजना गर्नुपर्नेछ । र, कम्युनिस्ट पार्टीले मज्जासँग देश हाँक्न सक्छ भन्ने कैयौं देशका उदाहरण यहाँपनिस्थापित गर्नुपर्छ । तर, कुनैपनि पार्टीमा एउटा व्यक्तिले सम्पूर्ण कुरा हाँक्नसम्भव छैन ।
कम्युनिस्टहरू हतारहतार एकता गर्ने र छिट्टै टुक्रिने आम बुझाइ बन्दै गएको छ । यसबारे के भन्नुहुन्छ ?
तपाईंले महत्त्वपूर्ण प्रश्न गर्नुभयो । योपनि केपी ओलीको महत्वाकांक्षा र दक्षिणपन्थी अवसरवादकै कारणले हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकता हुँदाताका जेठ १ गते म राष्ट्रिय सभा गृहमा सँगै थिएँ, वक्ताका रूपमा । म भोलिपल्ट चीन जाँदै थिएँ । मैले पार्टी अध्यक्ष केपी ओलीलाई भनें, ‘म भोलि चीन जाँदैछु, छेन्दुमा एउटा कार्यक्रम छ । त्यहाँ उनीहरूको केन्द्रका मान्छेपनि आउँदैछन्, तपाईंको केही सन्देश छ ?’‘केही छैन,’ भन्नुभयो । त्यसको पर्सिपल्ट पार्टी एकता हुँदै रहेछ । पार्टीमा म त सोझै सेकेन्डम्यान हो नि, मलाईसमेत थाहा नदिईकन जुन ढंगले ओलीले एकता गर्ने कोसिस गर्नुभयो, त्यो आफैंमा स्वार्थी एकता थियो । त्यो नीतिनिष्ठ, सिद्धान्तनिष्ठ एकता थिएन । स्वार्थका निम्ति गरिएको एकतामा जब अलिकति पनि धक्का लाग्न पुग्यो, उहाँले एकतालाई चकनाचुर पार्नुभयो । त्यसकारण यो एउटा अपवाद हो । मैले मेरै नेतृत्वमा विभिन्न ३५ घटकलाई एमालेमा मिलाएको थिएँ । वैचारिक रूपमा मिलाइएकै कारण उनीहरूसँगको एकता टिक्यो, एमालेको निर्माण भयो । ओलीले गरेको स्वार्थको एकता टिक्नै सकेन । यसले एउटा नकारात्मक सन्देश गएको छ । तर, त्यसलाई मेट्ने गरी नयाँ ढंगले वामपन्थी एकता निर्माणको काममा नयाँ पार्टी नेकपा(एकीकृत समाजवादी) लाग्छ ।
तपाईंले केपी ओलीको कार्यशैलीको व्यापक आलोचना गर्नुभयो । अनि तपाईं पार्टीको नेतृत्वमा रहँदा पनि एक्लै ढंगले काम गर्नुभएको ओली पक्षले आरोप लगाउँछ नि ?
म पार्टी नेतृत्वमा रहेको बेला मैले पार्टीलाई अधिकतम लोकतान्त्रिक ढंगले सञ्चालन गरें । म अध्यक्ष रहेको बेला केपी ओली जथाभावी, अराजक ढंगले भाषण गर्दै हिँड्नुहुन्थ्यो; गुटवादी काम गर्नुहुन्थ्यो । तर, उहाँलाई केन्द्रीय कमिटिमा ल्याएर एक घण्टा, दुई घण्टा, तीन घण्टा पूरा बोल्न दिन्थें । आफ्ना सबै कुरा वाकिसकेपछि बैठकमा एकछिन पनि बस्नुहुन्नथ्यो उहाँ । तर, त्यस अवस्थामा पनि मैले पार्टीलाई एकताबद्ध बनाइराखें ।तेस्रो नम्बरमा पुगेको पार्टीलाई मेरै कार्यकालमा माथि लगें ।
तपाईं प्रधानमन्त्री हुने बेलापनि पार्टीमा सरसल्लाह नगरी एक्लै सहमति गर्नुभएको थियो भन्ने आरोपछ ।
त्यस्तो होइन । म पार्टी केन्द्रीय कमिटीको निर्णयले प्रधानमन्त्री भएको हुँ । प्रधानमन्त्री भइसकेपछि पनि पार्टीसँग निरन्तर सल्लाह गरिरहें, पार्टीका निर्देशनहरू मानिरहें । जुन कुरा मैले प्रधानमन्त्रीको हैसियतले मात्रै गर्नुपथ्र्यो, त्योत्यहीअनुसार गरें । तर जुन कुरामा पार्टीको निर्णय र नीति आवश्यक पथ्र्यो, ती विषयमा पार्टीकै मार्गनिर्देशनलाई मानेर हिँडें । राजीनामा दिनुपर्छ कि दिनुपर्छ भनेर कुरा आएपछि मैले आफैंले राजीनामा दिएँ । केपी ओलीको जस्तो ढिठ भई पदका पछाडि लागेर राष्ट्रलाई बरबाद पार्ने काममा कहिल्यै लागिनँ ।
नेताहरू शक्तिमा पुगेपछि सबै स्वेच्छाचारी बन्न पुग्छन्, हो ?
मानिसलाई शक्तिले घमण्डी बनाउन सक्छ । यो कुरा केपी ओलीमा टड्कारो लागू भयो । तर, अरू नेताहरूको आचरणमा त्यो स्तरको गिरावट देखेको छैन । मैले आफूमापनि त्यस्तो कहिल्यै पाइनँ । सानातिना कमजोरी त सबैका हुन्छन् । किनभने मन्त्री, प्रधानमन्त्री त कोही कुनै तालिम प्राप्त गरेर बनेको हुँदैन । पदमै पुगेर अध्ययन गर्नुपर्ने र निर्णय गर्नुपर्ने हुन्छ ।
थोरै प्रसंग बदलौं, विगतमा तपाईंसहितका नेताहरूले भूमिगत कालमै जनजागरण गर्दै, पञ्चायतको विरोध गर्दै मानिसहरूलाई संगठित गरेर पार्टी बनाउनुभयो । अहिलेको अवस्थामा नयाँ पार्टीको संगठन निर्माण कसरी गर्नुहुन्छ ?
हेर्नुस्, त्यतिबेला सामान्य मौलिक हकसम्म हामीसँग थिएन । पार्टी खोल्ने कुराको सामान्य आभास पाउनासाथ लाखौं रुपैयाँ तोकेर टाउको ल्याउन भन्थे त्यतिबेलाका पञ्चहरूले । मेरो टाउकाको पनि १०/१२ लाख तोकिएको थियो । त्यति कठिनाइमा पनि हामीले पार्टी निर्माण गर्यौं । पञ्चहरूको जालो वडासम्म थियो । उनीहरूले सुराकीका काम गर्थे । धेरै चुनौतीका बीच काम गरियो । मेरै नेतृत्वमा पार्टीमा धेरै काम भयो । २०४० को दशकबाट पार्टी तीव्र वेगसँग फैलिएर आयो । विशाल पार्टीका रूपमा आयो । २०४६ सालमा यथार्थमा हामीले निर्णायक भूमिका खेल्यौं । नेतृत्वमा नेपाली कांग्रेसको भूमिका रह्यो । तर, फिल्डको संघर्षमा हामी थियौं । परिणामस्वरूप शक्तिशाली संसदीय दलको रूपमा विकसित भएर आयौं ।
अहिले हामी धेरै अनुकूलताको अवस्थामा छौं । हामीसँग लोकतन्त्र छ । लोकतान्त्रिक अधिकार छन् । सकारात्मक वातावारण छ । कानुन छ । यस्तो अवस्थामा जे विकार–विकृति देखिएका छन्, जे अवरोध देखिएका छन्,तीविरुद्ध विद्रोह गर्दै हामीले सही वैचारिक, राजनीतिक, सैद्धान्तिक र सांगठनिक कार्यदिशाको विकास गर्न सक्छौं । पार्टी दर्ता गर्नकै निम्ति केही आधारहरू तयार पारेका छौं । यथाशीघ्र राष्ट्रिय सम्मेलन गर्छौं, जसबाट हाम्रा नीति, कार्यक्रम, विधिविधान र सिद्धान्तहरूलाई संस्थागत गर्छौं । र, तिनका आधारमा दक्षिणपन्थी अवसरवादका विरुद्ध व्यापक भण्डाफोर अभियान चलाउँछौं ।
ओलीविरुद्धको मोर्चामा सँगै रहेका धेरै नेताले तपाईंहरूको साथ छोड्नुभयो नि ?
यो व्यक्तिहरूको दृष्टिकोणको प्रसंग हो । जब कुनै पार्टीमा विद्रोह भइरहन्छ, त्यस बेला दुई–तीन खालका चिन्तनहरू प्रकट हुन्छन् । एउटा दक्षिणपन्थी अवसरवादी चिन्तन, त्यसको मूल नेता केपी ओली हुन् । अर्को विद्रोही क्रान्तिकारी दिशा जसलाई हामीले प्रतिनिधित्व गरेका छौं । र, कहिलेकाहीँ दुइटा चिन्तनको बीचमा मध्यपन्थी चिन्तन पनि प्रकट हुन्छ । त्यो अस्थायी रूपमा आउँछ, आयु लामो हुँदैन । त्यसले दुवैतर्फ सम्झौता गराउने कोसिस गर्छ । र, अन्तिममा त्यसको लाभ दक्षिणपन्थलाई पुग्छ । मध्यपन्थको चिन्तन पनि अवसरवादकै एउटा रूप हो ।
साथीहरूले एकताको सम्भावना बढी देख्न थाल्नुभयो । र, आखिरमा गएर वार्ताकार साथीहरू र केपी ओलीका बीचमा १० बुँदे सम्झौता भयो । त्यो प्राविधिक एकता हो, वैचारिक होइन । वैचारिक र राजनीतिक एकता नभईकन कुनैपनि पार्टी एकताबद्ध हुँदैन । उहाँहरू त्यहाँभित्र त जानुभयो, अब केपी ओलीको दक्षिणपन्थी, अवसरवादी कार्यदिशा लागू गर्नुहुन्छ कि ? उहाँहरू आफ्नो पुनर्गठनको कुरा गर्नुहुन्छ ?उहाँहरूका सामुठूलो संकट छ । मैले हिजोअस्ति सुन्दै थिएँ— केपी ओली ‘मैले दुई–दुई पटक संसद् विघटन गरें, त्यसको औचित्य साबित भइरहेको छ’ भनेर कराउँदै हुनुहुन्थ्यो । र, ती साथीहरू थपडी मार्दै हुनुहुन्थ्यो । अनि उहाँहरूले दक्षिणपन्थलाई मद्दत गरेको हो कि, दक्षिणपन्थसँग जुधेको ? बाठो लड्छ तीन बल्ड्याङभएको हो यो । एमालेभित्र बसेर, नेतृत्वमा पैदा भएको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकरवाद र व्यक्तिवादका विरुद्ध लडाइँ लड्न सक्नुहोस्; पार्टीलाई रूपान्तरण गर्न सक्नुहोस्; मेरो उहाँहरूलाई शुभकामना छ । र, हामी भविष्यमा एउटै मञ्चमा पुग्नेछौं ।
एमालेको २० प्रतिशत हिस्सा मात्रै हो तपाईंहरू ?
२० प्रतिशत भनेको कानुनको आधार मात्रै हो । हामीसँग त्योभन्दा धेरै प्रतिशत मानिस छन् । सनाखत पनि कतिपय सांसदलाई गर्न दिइएन । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी छनोट गर्न २१ दिनको समय बाँकी छ । हेर्दै जानुहोला, कार्यकर्ता पंक्तिको ठूलो संख्या हामीसँग हुनेछ ।
केपी ओलीले अध्यादेश ल्याउँदा तपाईंहरूले चर्को विरोध गर्नुभयो । अहिले त्योभन्दा पनि कमजोर रूपमा ल्याइएको अध्यादेशबाट लाभ लिनुभयो ।
त्यतिबेला पार्टी फोड्ने आधार स्वयं केपी ओलीले बनाउँदै हुनुहुन्थ्यो । र, हामी पार्टी विभाजनविरुद्ध थियौं । पार्टी कुनै हालतले पनि विभाजन नगरौं, पुनर्गठन गरौं, क्रान्तिकारी पार्टीमा रूपान्तरण गरौं भनेर हामीले काम गरिरहेका थियौं । तर यहाँसम्म आइपुग्दा केपी ओलीको नेतृत्वमा पुनर्गठनर सुधार बिलकुलै असम्भव हुने भन्ने विन्दुमा हामी सबै पुगेका थियौं । विद्रोह अनिवार्य थियो । त्यो विद्रोहलाई देउवाजीले ल्याइदिएको अध्यादेशले वैधानिक रूपले विस्फोटित हुने आधार तयार पार्दियो ।
हिजो विरोध गरेको विषय आज देउवाले ल्याउँदाचाहिँ कसरी जायज भयो ?
यो अध्यादेश अहिले ठीक छ । अहिलेको परिस्थितिमा पार्टीहरू गुम्सिएर आफैं विसर्जनतर्फ जाने हुन् कि भन्ने खतरा भइरहेको बेला विसर्जन होइन, निकासतर्फ जाने अवस्था त्यसले सृजना गरिदियो । यस अर्थमा त्यो सकारात्मक छ ।
अनि तपाईंहरू लाभान्वित भएपछि अध्यादेश खारेजीको कुरा आएको छ ?
अध्यादेशको आयु त्यसैपनि लामो हुँदैन । संसद्ले जे भन्छ, त्यही हुन्छ । भोलि लोकतन्त्रर संविधानलाई स्थिर बनाएपछि पार्टीहरूको विभाजन, पुनर्गठन, एकीकरणलाई मार्गदर्शन गर्न योभन्दा उचाइबाट हेर्नुपर्ने, विश्लेषण गर्नुपर्ने र त्यही ढंगका प्रावधान निर्माण गर्नुपर्ने आवश्यकता हुनसक्छ ।
तपाईंहरूले माओवादीसँग छिट्टै एकता गर्दै हुनु्हुन्छ, हो ?
अहिले कुनै समूहसँग एकताको कुरा वा सम्भावना छैन । पहिले हामी आफ्नै खुट्टामा उभिनुपर्छ । हामीले चाहेको कुरा के हो, तीन करोड जनतासामु पुर्याउनुपर्छ । नयाँ पार्टीको आवश्यकता के हो, पहिला यसको औचित्य साबित गर्छौं ।
कांग्रेस, माओवादी, जसपा र तपाईंहरूबीचको गठबन्धन कति लामो जाला? आगामी चुनावमा सँगै जाने सम्भावना छ ?
लोकतन्त्र, गणतन्त्र र संघीयता कलिलो छ । अन्य थुप्रै समस्या पनि छन् । विदेशनीति अझै ट्रयाकमा उभ्याउन सकेका छैनौं । केपी ओलीको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध झन् असाधारण रूपले खलबलिएको छ । यी सबै कुरालाई हामीले ट्रयाकमा ल्याउनुपर्नेछ । त्यसका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू जसले २०६२/६३ को परिवर्तन गरे, संविधानको निर्माण गरे, ती शक्तिका बीचमा सहकार्य आवश्यक छ । त्यसका लागि अहिलेको सहकार्यलाई सकेसम्म लामो समयसम्म लैजान चाहन्छौं । साथसाथै एकअर्काबीच प्रतिस्पर्धा पनि भइरहन्छ ।
राजनीतिमा सम्भावनाका सबै ढोका खुला हुन्छन् भनिन्छ । चुनावअगाडि केपी ओलीसँगै तपाईंहरूको एकता वा सहकार्य कति सम्भव छ ?
दक्षिणपन्थ अवसरवाद, गुटवाद,अहंकार हावी रहेसम्म केपी ओलीलाई हामी विश्वास गर्न सक्दैनौं । यदि ओली प्रवृत्ति पराजित भएछ, ओली प्रवृत्तिबाट नेकपा एमाले मुक्त भएछ भने हाम्रा सम्भावनाका सबै ढोका खुला छन् ।
तपाईं ३२/३३ वर्षकै उमेरमा २०३९ सालमा पार्टी महासचिव बन्नुभएको थियो । अहिलेका युवाहरूले त्यस्तो अवसर कहिले पाउलान्?
यो प्रश्न दूरगामी महत्त्वको हो । यो प्रश्नलाई मैले एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा विधान निर्माण गर्ने बेला उठाएको थिएँ । त्यसमा व्यापक छलफल गरेर ७० वर्षसम्मको उमेरलाई एउटा स्ट्यान्डर्ड बनायौं । त्यहाँभन्दा माथि गएपछि सक्रिय राजनीतिबाट बाहिरिनुपर्छ भनेर विधानमै लेख्यौं । त्यसमा म अहिले पनि दृढ छु । मैले ७० वर्ष काटिसकें । अब मलाई कार्यकारी पद चाहियो भनेर भन्दिनँ । त्यो अनैतिक कुरा हुन्छ । त्यतिबेला जुन नेताहरूले त्यो प्रस्तावलाई पारित गर्नुभएको छ, त्यो सबैका लागि लागू हुन्छ । अहिले ओलीले पनि उमेर हद नाघिसक्नुभएको छ । अध्यक्षको निर्धारित अवधिपनि नाघिसक्नुभएको छ । उहाँलाई अध्यक्षमा रहिरहने नैतिक अधिकार छैन । तुरुन्तै राजीनामा दिएर युवालाई मौका दिनुपर्छ । ७० वर्ष नाघेका सबै नेतालाई म युवाहरूलाई अगाडि ल्याऔं भन्छु ।
त्यसो भए अब तपाईं पार्टी वा सरकारको कार्यकारी भूमिकामा जानुहुन्न ?
डाक्टरहरूले किड्नी ट्रान्सप्लान्टपछि १५–२० वर्षसम्म ढुक्क हुनुस्, काम गर्न सक्नुहुन्छ भनेर भन्नुभएको छ । त्यो हिसाबले मैले दाबी गर्दा पनि हुन्छ । तर, राजनीतिमा नैतिकता रहेन भने त्यो नेताबाट केहीपनि हुँदैन । अब म एड्भाइजरी वा अरू कुनैपनि सम्मानित भूमिका खेल्छु, आइडोलोजिकल स्ट्रगलमा लाग्छु । तर पार्टीको कार्यकारी पोस्ट मलाई दिनुस् भन्दिनँ । सरकारको अलि बेग्लै कुरा हो । राष्ट्रपति, प्रधानमन्त्री पदमा जान सकिन्छ । अमेरिकामा ७८ वर्षका बाइडेन भर्खरै राष्ट्रपति भएका छन् ।
तपाईंहरू मिलेर बनाएका प्रधानमन्त्री देउवाका कामहरू पनि आलोचित हुन थालेका छन् नि ?
देउवा सरकार एउटा दुर्लभ अवसरबाट बनेको हो । मुलुकको क्राइसिसलाई म्यानेज गर्ने हिसाबले कलेक्टिभ्ली पाँचवटा पार्टीले मिलेर बनाएको सरकार हो यो । त्यसो भएर देउवाजीले आफ्नो कार्यशैलीमा ठूलो परिवर्तन गर्नुपर्छ, होसियारीका साथ अगाडि बढ्नुपर्छ । सबैका भावनालाई प्रतिनिधित्व गर्दै सामूहिक निर्णय गरेर लोकतन्त्रका मूल्यमान्यता र संविधानको मर्मका आधारमा अगाडि बढ्नुपर्छ । महामारीबाट देशलाई कसरी मुक्त गर्ने, त्यसलाई प्राथमिकता दिइनुपर्छ । अझै पनि २५ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । उनीहरूलाई कसरी माथि ल्याउने, गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । देशको ठूलो जनसंख्या अनकन्टार भीरपाखाहरूमा अत्यन्तै असुरक्षाका साथ बसिरहेको छ । त्यसलाई व्यवस्थित गर्नुपर्छ ।
केपी ओलीले धेरैतिर संवैधानिक प्रक्रिया मिचेर विभिन्न नियुक्ति गरेका थिए । तपाईंहरू सहितको सरकारले त्यसबारे केही निर्णय लिन्छ ?
जुनजुन ठाउँमा अयोग्य, स्वार्थी र केपी ओलीलाई देवत्वकरण गर्ने मानिसहरू भरिएका छन्, तिनलाई हटाउनैपर्छ । जहाँ योग्य परेका छन्, उनीहरूलाई राख्नु पनि पर्छ ।
‘अर्ली इलेक्सन’ को कुरा पनि सुनिएको छ । त्यस्तो सम्भावना छ र ?
म त्यस्तो सम्भावना देख्दिनँ । मलाई पूरा विश्वास छ, संसद्ले आफ्नो बाँकी डेढ वर्षजतिको अवधि पूरा गर्छ । संसद् त्यो अवधिसम्म जान सकेन भने सरकारको ठूलो असफलता हुनेछ, यसले केपी ओलीको निरंकुशताले गरेको कामलाई नै आधार दिनेछ । त्यसो हुनाले एट एनी कस्ट, यो सरकार सफल हुनुपर्छ; राम्रो डेलिभरी दिएर देशलाई अगाडि बढाउनुपर्छ ।
तपाईं दिल्ली बसेयता भारतीय सरकारका अधिकारी वा नेताहरूसँग कुनै भेटघाट भएको छ ?
म यहाँ आउँदा गम्भीर अवस्थामै थिएँ । पछि ट्रान्सप्लान्टेसन गरिसकेपछि केही समय आईसीयूमै बिताएँ । त्यही भएर कुनैपनि भेटघाट भएको छैन । विदेश मन्त्रालयका सचिव र कतिपय मित्रले स्वास्थ्यलाभको कामना गर्दै बुके पठाउनुभएको थियो ।
नेपाल सरकारले तपाईंको उपचार खर्च बेहोर्ने भनेको थियो नि ?
उपचार खर्च सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत अस्पताललाई दिइरहेको छ । अब अन्तिम बिल तिर्ने बेला भएको छ । म सोमबार डिस्चार्ज हुँदैछु ।प्रधानमन्त्रीसँगै मेरो कुराकानी भएको थियो, ‘तपाईं चिन्ता नगर्नुस्,स्वास्थ्य राम्रो बनाएर फर्किनुस्, खर्च सरकारले बेहोर्छ’ भन्नुभयो ।
तपाईंको उपचार खर्च सरकारले बेहोर्ने विषयको व्यापक आलोचना भएको छ । तपाईं आफैंले बेहोर्नुपथ्र्यो भनेर मानिसहरूले लेख्ने–बोल्ने गरेका छन् । त्यसबारे के भन्नुहुन्छ ?
अप्रत्यक्ष रूपमा ‘झलनाथ खनालमर्नुपर्छ’ भन्या हो त्यो । म कहाँबाट ल्याएर तिरूँ ? म जागिरदार पनि होइन, व्यापारी पनि होइन, उद्योगपति होइन । पैतृक सम्पत्तिबाट मैले इलाममा लेकको चौरमा ७० रोपनी जग्गा पाएको थिएँ, प्रधानमन्त्री भएको बेला त्यसमध्ये ५५ रोपनी जग्गा सरकारलाई नै दिएँ । अहिले त्यहाँ सीटीईभीटीको विद्यालय बनेको छ । काठमाडौंबाट दिल्ली हिँड्दा त मेरो सांसद पद पनि खोसिएको थियो । मेरो आम्दानी के ? मसँग त केही पनि थिएन ।सरकारले यता नल्याएको भए त म पशुपतिको घाटमा पुगिसकेको हुन्थें । यहाँका डाक्टरले गरेको विश्लेषणअनुसार,दुई–तीन दिन मात्रैपनि म ढिला आएको भए केही भन्न सकिँदैनथ्यो । मेरो उपचार खर्चलाई लिएर प्रश्न उठाउनेहरू अत्यन्तै हावादारी र गैरजिम्मेवार हुन् ।
तपाईंलाई लाग्दैन, आम मानिसको उपचारको जिम्मा पनि राज्यले नै लिइदिनुपर्छ ?
एकदम लिनुपर्छ । राज्यले मानिसलाई बचाउनुपर्छ । उसले हेल्थ केयर दिनैपर्छ । कतिपय यस्ता रोगहरू हुन्छन्, जसलाई व्यक्तिले केयर नै गर्न सक्दैनन् । आम मानिसले पनि राज्यबाट सहयोग प्राप्त गर्नुपर्छ । हाम्रो अर्थतन्त्रलाई तीव्रताका साथ विकास गर्नुपर्छ । देशलाई धनी बनाउँदै लानुपर्छ । र, सोसियल केयरलाई नि:शुल्क गराउँदै लानुपर्छ । अनि मात्रै हामी समाजवादतर्फ पुग्छौं ।
