कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुद्दाकेन्द्रित छलफल गर्दै छौं : राजेन्द्र महतो

'मुद्दा सम्बोधन भएन भने कुनै पनि सरकारलाई सहयोग र समर्थन गर्ने कुरा हुँदैन । हामी आश्वासनको भरमा सरकारमा जाँदैनौं । पुरानो राजपा र समाजवादी पार्टी होइन, पाएपछि दौडिहाल्ने । अब उधारोमा हुँदैन '
कान्तिपुर संवाददाता

काठमाडौँ — भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ ।

मुद्दाकेन्द्रित छलफल गर्दै छौं : राजेन्द्र महतो

अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो । यसै सेरोफेरोमा रहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरिएको कुराकानी :

प्रधानमन्त्री केपी शर्मा ओलीकै गठबन्धनमा जसपा जान लागेको हो ?

सहकार्यको कुरा भएको छैन । ओलीलाई राम्रोसँग चिनेका छौं । एकपटक समर्थन गर्‍यौं, पछि फिर्ता लियौं । ओलीमाथि विश्वास छैन । कांग्रेस र माओवादी केन्द्रमाथि पनि विश्वास छैन । हाम्रा मागप्रति विगतमा कोही सकारात्मक देखिएनन् ।

तपाईंहरू कस्तो गठबन्धनको पक्षमा हुनुहुन्छ ?

खाली हात, उधारोमा कतै पनि जानेवाला छैनौं । रेशम चौधरीलगायत मधेस विद्रोहका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको सवाल हाम्रा मुख्य माग हुन् । यी सवाललाई केन्द्रमा राखेर अडान लिन्छौं ।

प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा जान कार्यदल बनेको भनिएको छ नि ?

कार्यदलले सबैसँग कुरा गर्ने हो । जसले हाम्रो माग पूरा गर्छ, पूरा गर्ने आधार ल्याउँछ, त्यसलाई सहयोग हुन्छ । अहिलेसम्म कसैसँग विश्वास गर्ने आधार बनेको छैन । ओली, देउवा र प्रचण्डको कुरा हामीले गरेको छैन । विगतमा जस्तो धोकाधडी नहोस् भन्ने हो ।

तपाईंहरूले सहयोग नगरे त सरकार निर्माण नै नहुने स्थिति देखिन्छ त ?

तालाचाबी कांग्रेससँग पनि छ । कांग्रेस र एमाले मिले भने हाम्रो काम छैन ।

कार्यदल बनाएको विषयले पार्टीमा हंगामा भयो नि ?

नेत्रविक्रम चन्द छुटेपछि रेशम चौधरी पनि छुट्नुपर्छ भनेर महन्थजीले अपर्झट सरकारसँग कुरा गर्न भनेर दुई जनालाई पठाउनुभएको रहेछ । पार्टीमा जानकारी नभएपछि अलिअलि विरोध त भइहाल्छ । यसलाई पूर्णता दिन बाँकी छ । वार्ता समितिले सरकारसँग मात्रै होइन, सबै पक्षसँग सबै विषयमा खुला रूपमा छलफल गर्छ ।

सरकार गठबन्धनको विषयले जसपा फुट्ने त होइन ?

यो बकवास कुरा हो । पार्टी कुनै हालतमा पनि फुट्दैन । राम्रो कामका लागि नेताहरूले जानकारी नदिईकन यस्ता काम गर्छन् । पार्टी एकीकरण पनि हामी आठ जना नेता मिलेर गरेको हो । महन्थजीले सरकारसँग छलफल गर्न भनेर दुई जना पठाएकै कारण पार्टी फुट्ने कुरा कहाँ, कसरी आयो ? फलानोसँग मिल्नै हुन्न भन्ने छैन । सबै परीक्षण भइसकेका नेता हुन् । त्यसैले हामीले अनुहार होइन, हाम्रो मुद्दा सम्बोधन गर्न को कसरी आउँछ, हेर्ने हो ।

गठबन्धनमै नजाने सम्भावना छ कि छैन ?

मुद्दा सम्बोधन भएन भने कुनै पनि सरकारलाई सहयोग र समर्थन गर्ने कुरा हुँदैन । हामी आश्वासनको भरमा सरकारमा जाँदैनौं । पुरानो राजपा र समाजवादी पार्टी होइन, पाएपछि दौडिहाल्ने । अब उधारोमा हुँदैन ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?