‘चिनियाँ रक्षामन्त्रीको भ्रमण अस्वाभाविक र आकस्मिक होइन’- कुराकानी - कान्तिपुर समाचार

‘चिनियाँ रक्षामन्त्रीको भ्रमण अस्वाभाविक र आकस्मिक होइन’

– राजदूतले जहाँ बसेर जति गर्नुपर्ने हो, त्योभन्दा बढी केही गर्नै सक्दैन
– आफ्नो ठाउँको महत्त्वपूर्ण कामलाई नजरअन्दाज गरिरहेका हुन्छौं, तर बाहिरबाट कसैले आँखा झिम्क्यायो भने पनि गोली पड्किएजस्तो व्यवहार गर्न हतारिन्छौं
– पार्टीको आन्तरिक झगडा आफैं मिलाउने हो, न दक्षिणले मिलाउने हो, न उत्तरले
— चिनियाँ राजदूतको भेटघाटलाई हाम्रो आन्तरिक पार्टी–पोलिटिक्समा जोडेर हेर्नु हुँदैन
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपालको दुईदिने भ्रमण गरेर शुक्रबार दिल्ली फर्किएलगत्तै आइतबार चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर काठमाडौं उत्रँदै छन् ।

उत्तर र दक्षिणका दुई छिमेकीको यो तारन्तारको नेपाल भ्रमण र दौडधुपको के राजनीतिक अर्थ होला ? अथवा यो संयोग मात्रै हो ? बेइजिङस्थित राजदूत महेन्द्रबहादुर पाण्डेसँग कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको फोन वार्ता :

चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको एकदिने नेपाल भ्रमणको सन्दर्भ र एजेन्डाबारे राजदूतको तहमा कत्तिको जानकारी गराइएको छ ?

यो नियमित तवरमा हुन लागेको भ्रमण हो । कुनै विशेष एजेन्डा वा कार्यक्रम लिएर रक्षामन्त्री वेई नेपाल जान लाग्नुभएको होइन । नेपालपछि अरू केही दक्षिण एसियाली मुलुकमा पनि रक्षामन्त्री भ्रमणमा जाने सूचना पाएको छु । यसकारण यो अप्रत्याशित वा अस्वाभाविक होइन । हाम्रा प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा र नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । यसमा अरू खोतल्नुपर्ने विषय छ जस्तो मलाई लाग्दैन ।

भारतीय विदेश सचिवको नेपाल भ्रमणलगत्तै चीन सरकारको उच्च तहबाट हुन लागेको भ्रमणबारे स्वभावतः सरोकार त उब्जिहाल्छ नि ?

यो सरोकारलाई तपाईं स्वाभाविक भन्नुहुन्छ, म भने अस्वाभाविक भन्छु । नेपालमा के छ भने दक्षिणबाट कोही आयो भने उत्तरतिर फर्केर संशय गरिन्छ, उत्तरबाट कोही आयो भने दक्षिणतिर फर्केर अनेक खालको आशंका गर्न सुरु भइहाल्छ । उत्तरबाट गए पनि, दक्षिणबाट गए पनि हाम्रो सम्बन्ध र सहयोगको दायरा त यथावतै हो । कामकारबाही नियमित भएकै हुन्छन् । तर दुईतिरका भ्रमण र सम्बन्धलाई जुधाएर वा मिलाएर आफूअनुकूलको व्याख्या निकाल्ने काम हामीकहाँ भइरहेकै हुन्छ । यो नेपालीको आफ्नै बानी व्यवहार हो । यस्ता भ्रमणताका रहे, भएका आ–आफ्नै एजेन्डामा छलफल हुन्छ । उत्तर र दक्षिणका हाम्रा दुवै छिमेकीमा हामी पनि आउने, जाने गरिरहेकै हुन्छौं । यसलाई विशेष दृष्टिले हेर्नुपर्छ भन्ने मलाई लाग्दैन । बरु यस्तो भ्रमणमा सौहार्द्रता विकास गर्ने र आपसमा केही समस्या छन् भने त्यसलाई सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ ।

तपाईं आफूले २ महिनाअघि बेइजिङमा बसेर दिल्लीतिर लक्ष्य गर्दै 'केही भारतीय मिडियाले नेपाल–चीन सम्बन्धलाई बिगार्न चाहेको’ भावको धारणा राख्नुभएको थियो । यो पनि उपल्लो कूटनीति तहमा बसेर गरिएको सम्बन्धको अपव्याख्या थियो नि ?

त्यसबेला नेपाल–भारत दुई देशबीचमा सहज संवाद भएको थिएन । मैले त्यही सन्दर्भमा मिडियासामु भनेको थिएँ— ‘हामीले संवादका लागि धेरै प्रयत्न गरेका हौं तर संवाद हुन सकेन । अब संवाद होला, अनि सकारात्मकता विकास होला ।’ तर चलन कस्तो भैइदियो भने भनेको ‘सकारात्मक कुरा’ लाई हाइलाइट नगरिदिने अनि विग्रह मात्रै रुचाउने । अस्ति मैले कतै सुनेको थिएँ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनिरहेका थिए— ‘मैले कसैलाई तपाईंले एकपाखे कुरा गर्नुभयो भनेको थिएँ, मलाई त मैले पाखे कुरा गरेको भन्दै खेदो गरियो ।’ यसरी धेरैजसो अर्थको अनर्थ पनि हुने गरेको छ ।

आपसी सम्बन्ध र सहयोगको सहजीकरणको कुरा गर्दा कुनै प्रकारको देखिने बाधा–अवरोध नभए पनि नेपालसँग जोडिएका चिनियाँ नाकाहरू तातोपानी तथा केरुङबाट निर्बाध सामान ल्याउन सकिएको छैन । महिनौंदेखि व्यापारिक प्रयोजनका कन्टेनर रोकिएका छन् । यसबारे चिनियाँ अधिकारीसामु तपाईंले सरोकार उठाउनुभएको छैन ?

त्यसो होइन । सरोकार र दोहोरो संवाद निरन्तर छ । तर केही कोभिड संक्रमण, केही नेपालतर्फको सडकको अवस्था र केही हामीकहाँ रहेको भण्डारण क्षमताको कठिनाइले पनि यो समस्या देखिएको हो । रसुवा (केरुङ) नाकाका हकमा चिनियाँ पक्षले बताएअनुसार सामान लगेर राख्ने तथा भण्डारण गर्ने ठाउँको निकै कठिनाइ देखिएको छ । विशेषतः तातोपानी नाकामा पुगेर लामो समयसम्म सामग्री अड्किएकोबारे तत्काल द्वितर्फी सहजीकरण गर्ने भनेर काम सुरु भइसकेको छ ।

अर्को सन्दर्भमा, नेपालमा सत्तारूढ पार्टीभित्रको शक्ति–संघर्ष र पार्टीगत असहज अवस्थाका माझ प्रधानमन्त्री, पार्टी अध्यक्षदेखि राष्ट्रपति तहसम्मको भेटवार्तामा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता देख्नुभएकै छ । आफू पनि राजदूत भएर हेर्दा घरभित्रको यो दृश्य कस्तो लाग्छ ?

त्यो पनि यो मामलालाई कसरी हेरिन्छ, यसैमा भर पर्छ । म पनि यहाँ विभिन्न प्रान्तमा गएर त्यहाँका उच्च पदस्थहरूसँग भेट गरिरहेको हुन्छु । यो कुरालाई के–के न गर्न यसले यस्तो सक्रियता बढायो भन्दै हेरियो/बुझियो भने के होला र ? हरेक खालका अर्थ लगाउनेका पछाडि हिँडेर कहाँ सकिन्छ र ? अब यो पटक चिनियाँ सरकारकै उपल्लो तहका वरिष्ठ मन्त्री एवं स्टेट काउन्सिलर नेपाल भ्रमणमा आउन लागेका बेला काठमाडौंमा राजदूत तहको ब्रिफिङ होला, सूचना सम्प्रेषणका कुरा होलान् । यो त स्वाभाविक प्रक्रिया हो नि । एउटा राजदूतले जहाँ बसेर जति गर्नुपर्ने हो, त्योभन्दा बढी केही गर्नै सक्दैन । हामी कस्तो भइदियौं भने आफ्नो ठाउँको महत्त्वपूर्ण कामलाई पनि नजरअन्दाज गरिरहेका हुन्छौं तर बाहिरबाट कसैले आँखा झिम्क्यायो भने पनि गोली पड्किएजस्तो व्यवहार गर्न हतारिन्छौं । हाम्रो पार्टीको आन्तरिक झगडा आन्तरिक रूपले आफैं मिलाउने हो, कसैले ‘डिक्टेट’ गरेर मिलाउने त हुँदैन नि । न दक्षिणले मिलाउने हो, न उत्तरले । मिल्ने–मिलाउने आफैंले हो, चिनियाँ राजदूतको भेटघाटलाई हाम्रो आन्तरिक पार्टी–पोलिटिक्समा जोडेर हेर्नु हुँदैन ।

प्रकाशित : मंसिर १४, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

सिटीका लागि मेहरेजको ह्याट्रिक

रोयटर्स

लन्डन — रियाड मेहरेजको ह्याट्रिकमा  म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नलीलाई ५–० ले हराएको छ । घरेलु मैदान एतिहाडमा पेप ग्वार्डिओलाको सिटीले बर्नलीलाई पाँच गोलले हराएको यो लगातार चौथोपल्ट हो ।

अल्जेरियाली खेलाडी महेरेजले ६९औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । टिमको सुरुआती दुई गोल उनकै नाममा रह्यो । सिटीका लागि बेन्जामिन मेन्डी र फेरान टोरेसले पनि एक–एक गोल गरे ।

सिटीको नौ खेलबाट १५ अंक भएको छ । टोली अझै आठौं स्थानमा रहेको छ । बर्नली भने पाँच अंकसहित लिग तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर १४, २०७७ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×