कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा. सन्दुक रुइतसँग कुराकानी ‘मलाई सधैंजसो इच्छाशक्तिले डोर्‍यायो’

काठमाडौँ — नेत्र विशेषज्ञ डा. सन्दुक रुइत यो वर्ष भारत सरकारको प्रतिष्ठित सम्मान पद्मश्रीबाट विभूषित भएका छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

डा. सन्दुक रुइतसँग कुराकानी ‘मलाई सधैंजसो इच्छाशक्तिले डोर्‍यायो’

रूइतले दार्जिलिङको सेन्ट रोबर्ट्स स्कुल हुँदै काठमाडौंको सिद्धार्थ वनस्थली र भारतको किङ जर्ज मेडिकल कलेज (लखनउ), अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (दिल्ली) आदिबाट नेत्र विज्ञान विषयमा अध्ययन गरेका हुन् । मोतीविन्दुको अप्रेसन गर्ने सूक्ष्म पद्धति उपयोग गर्दै नेपालसहित एसियाली र अफ्रिकी मुलुकमा गरेर एक लाखभन्दा बढी मानिसलाई दृष्टि दिने काम गरेका कारण डा. रूइतको कल्याणकारी प्रतिष्ठा अलग छ । यसअघि प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार, अर्डर अफ अस्ट्रेलिया, नेसनल अर्डर अफ मेरिट अफ भुटान आदि सम्मान पाएका डा. रूइत अहिले पनि दैनिक १२ घण्टाभन्दा बढी आफ्नो काममा दत्तचित्त भएर लागिरहेका भेटिन्छन् । २५ वर्षअघि काठमाडौंमा तिलगंगा आँखा अस्पताल स्थापना गरेर ‘उज्यालो बाँड्ने’ काममा निरन्तर लागिरहेका ६३ वर्षीय डा. रूइतसँग मुलुकको राजनीति, समाज र बदलिँदो समय–सन्दर्भमा कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको कुराकानी :

......................................

  • हामी सबैमा यथार्थबाट पन्छिने स्वभाव बढी छ ।
  • विकराल स्थिति सबैतिर छ तर पोस्टमार्टम भने मेडिकल जगत्को मात्रै भएको छ ।
  • गाउँहरू एकदमै ‘डिजर्टेड’ छन्, परित्यक्तजस्तो । हरेक घरमा बूढाबूढी र केटाकेटी मात्र छन् ।
  • नेपाली जनताजस्तो असल, विवेकी र धैर्यशील अरू कोही हुनै सक्दैन, तर सत्ता/शक्तिले जनतालाई सधैं उपयोग मात्रै गर्‍यो ।
  • जतिबेला मेडिकल काउन्सिलको चुनाव हुन्छ, त्यतिबेला राजनीतिक गुट–उपगुट देख्दा भने म साँच्चै रुन्छु ।
  • कुनै सानो कामका लागि मन्त्रालय धाउनुपर्दा र निरन्तर धाइरहनुपर्दा बढो निराशा जाग्छ ।
  • जनताका बीचमा गएर आँखाको उपचार गरिरहँदा मलाई सबैभन्दा ठूलो सफलता पाएजस्तो लाग्छ ।


पद्मश्रीजस्तो भारत सरकारको विशिष्ट सम्मान पाउने खबरले कस्तो अनुभूति गरायो ?

सम्मान भनेको जहिल्यै पनि भित्रैसम्म खुल्दुली लगाइरहने, आनन्दित बनाउने चिज हो । मनमा एउटा भावना आइहाल्छ, मेरो कामको ‘रिकोग्निसन’ भयो भन्ने हुन्छ । यो सम्मान मलाई ‘नेभर एभर एक्स्पेक्टेड’ हो । भारतमा रहेका मेरा डक्टर साथीहरूले पद्मश्री सम्मानबारे फोनमा जानकारी गराउँदा ‘यो गलत नम्बरमा फोन आएको होला’ भनेर पन्छिरहेको थिएँ । तर होइन रहेछ ।

दुर्गम ताप्लेजुङ जिल्लाको पनि ओलाङचुङगोलाजस्तो पल्लो भित्तोमा जन्मे/हुर्केर यहाँसम्म आइपुग्नुभएको छ । तैपनि तपाईंको जन्मथलो अझै ‘दुर्गम’ भनेर कहलिन्छ, कस्तो लाग्छ ?

तपाईंले यो प्रश्न गरिरहँदा म आफैंलाई लाज लागेर आउँछ । म पनि त्यही भूभागको हिस्सेदार हुँ । मेरो चेतनामा भने ओलाङचुङ एकदमै ‘भाइब्रेन्ट’ थलो थियो । पारि तिब्बतसँग व्यापार गर्ने व्यापारीका लागि ‘ट्रान्जिट’ थियो गोला । निकै चहलपहल रहन्थ्यो । पछि तमोर खोलाको पोखरी फुटेर दुई पटकसम्म ठूला बाढीहरू आए । ती बाढीले गोलाका आधाभन्दा बढी बासिन्दालाई विस्थापित गरायो । त्यसमा गाउँमा स्कुल थिएन, स्वास्थ्यचौकी थिएन । एउटा समाज, गाउँमा चाहिने आधारभूत कुरा पनि थिएन । अहिले स्कुल, हेल्थपोस्ट छ तर शिक्षक, औषधि छैन । साँच्चै भन्नुपर्दा परिवर्तित समय र विकासको तुलनामा त्यो ठाउँ अहिले पनि ३०/३५ वर्ष पछाडि परेजस्तो लाग्छ । गोला मात्रै होइन, अलि तलतिर लेलेप, तापेथोक, मिस्चुङ सबैतिरको हालत उस्तै देख्छु ।

यो अवस्था देखिरहँदा तपाईंको आफ्नो जिम्मेवारीको कुरा पनि आउला । के गर्नुभयो त आफ्नो जन्मथलोलाई ?

हो, यो प्रश्नले मलाई पनि ब्युँताइरहन्छ । तीन वर्षअघि मात्रै धनकुटाको पाख्रीबास हुँदै वसन्तपुर, गुफापोखरी, तीनजुरे, दोभान, हाङदेवा, सिंवालगायत ठाउँमा आँखा–क्याम्प गर्दै म गोला पुगेको थिएँ । गाउँको स्थिति कस्तो छ भने ती एकदमै ‘डिजर्टेड’ छन्, परित्यक्त जस्तो । हरेक घरमा बूढाबूढी छन्, केही केटाकेटी छन् । तर, युवा उमेरका कोही पनि छैनन् । ती सबै कि अवसर खोजेर सहर पसे, कि विदेश गए । व्यापारको ‘बार्टर’ पद्धति छैन, उब्जनी–अनाज रोकिएको छ । जे कुरामा पनि पैसा चाहिने स्थिति छ । यसो भनिरहँदा ‘तैंले के गरिस् त’ भन्ने प्रश्न उब्जन सक्छ । हो, आफ्नो कामको ‘लोड’ले गर्दा म राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारमा बाँधिएर हिँड्न थालेँ । म बहकिएँ भनौं न । आँखा उपचार र उज्यालो बाँड्ने कुरामा म यो/त्यो नभनी कुदिरहेँ– उत्तर कोरियादेखि घानासम्म । अब भने ६० वर्षको उमेर नाघेपछिको अन्तरचेतनाले म आफ्नो घर फर्केको छु । मेरो जन्मथलो मात्रै होइन, सिंगो ताप्लेजुङ जिल्लामा केही हितकारी काम गर्ने अठोट लिएर अघि बढेको छु । अहिले पनि निक साइमन इन्स्टिच्युटको सहयोगमा ताप्लेजुङ हस्पिटललाई सबलीकरण गर्ने दिशामा काम भइरहेको छ ।


त्यो कुनामा जन्मे/हुर्केर पनि तपाईं नाम–कामको यो विन्दुमा आइपुग्नुभएको छ । के कुरा होला जसले तपाईंलाई यहाँसम्म डोर्‍यायो– शिक्षा, अवसर वा भाग्य ?

हेर्नुस्, म भाग्यवादी मान्छे हुँदै होइन । हाम्रो बाटोलाई सुस्पष्ट र निर्देशित बनाउने सबै कुरा शिक्षा नै होलाजस्तो लाग्छ । त्यो कालमा सातवर्षे एउटा बालक छोरालाई लगातार १५ दिनसम्म पैदल हिँडाउने र दार्जिलिङको शिक्षा/चेतनाको स्कुलसम्म पुर्‍याइदिने मेरा अभिभावक नभइदिएको भए म पनि आज माथि गोलातिरै भाग्यको कुरा गर्दै बसिरहेको हुने थिएँ होला । यस बीचमा ‘फोकस्ड विल–पावर’ (सुस्पष्ट इच्छाशक्ति) पनि महत्त्वपूर्ण आधार हो भन्ने लाग्छ । पछि काठमाडौं आउँदा पनि यो सहरमा ओलाङचुङगोलाको कुनै नाता–पहुँच र आफन्त नभएको एउटा ‘पराई भोटे केटो’ थिएँ म । मलाई सधैंजसो इच्छाशक्तिले डोर्‍यायो । योसँगै आफ्नो पेसामा लगनशीलता र इमानदारी त चाहिन्छ नै ।

तर, नेपालीहरूमध्ये धेरैजसो ‘भाग्यवादी’ पनि छन् नि ? भाग्य छ भने डोकामा दूध दुहे पनि हुन्छ भन्ने जड सोचाइ यहाँ छ ।

सोचाइको यो कुरा होला पनि । तर मेरो बुझाइमा शिक्षा र इच्छाशक्तिले अवसर र भाग्यलाई एकैसाथ डोर्‍याएर ल्याउँछ जस्तो लाग्छ । अरू सबै आधारलाई पन्छाएर भाग्य अघिअघि लाग्छ भन्ने मलाई लाग्दैन । कम्तीमा म भने विश्वस्त छैन ।

तपाईं आफैंमा फरक धारको व्यक्ति भए पनि, नेपालको बदलिँदो राजनीतिक सन्दर्भ र राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दाको यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

जे भइरहेको छ, त्यो एकदमै शतप्रतिशत ठीक भइरहेको छ भन्ने मलाई लाग्दैन । म उदाहरण दिएरै बोल्छु । म सन् ७० को दशकमा भारतको लखनउमा मेडिसिन पढ्न गएको थिएँ । त्यसबेला त्यहाँ भेटिने साथीभाइले ‘वाह, तपाईं त सांग्रिलाबाट आउनुभएको है’ भनेर नेपालीलाई शिर उँचो बनाएर हेर्ने गरेका थिए । त्योबेला व्यवस्थित, विकसित र उल्लेख्य बनिनसकेको त्यही लखनउमा आज म पुग्दा ‘इग्नोर’ भएजस्तो अनुभव हुन्छ ।

देशमा पञ्चायती व्यवस्थापछि फेरबदल पक्कै पनि चाहिएको थियो । उकुसमुकुस हट्नैपर्ने थियो । पछि बहुदलीय प्रजातन्त्र, पार्टीगत कुरा र नेताहरू केही हदसम्म उज्यालो देखिने पाटो बनेका थिए । यी हरेक परिवर्तनहरूमा नेपाली जनता यति विवेकी, धैर्यशील र सचेत छन् कि यो कहींकतैसँग अतुलनीय छ । २०४६ पछिको पहिलो संसदीय निर्वाचनमा विवेकी जनताले शतप्रतिशत बहुमत दिएर नेपाली कांग्रेसलाई राज्यसत्ताको बागडोर सुम्पिएकै हो । त्यो ठूलो परिवर्तनसँगै स्थायित्व र सुशासन जनताले चाहेका थिए । काठमाडौंको कुर्सीमा बसेर बैतडी वा ताप्लेजुङमा परिवर्तन गराउन सक्ने सामथ्र्य त्योबेला कांग्रेससँग थियो । तर भयो के ? एकपछि अर्को गर्दै ‘म्यान्डेट’लाई लत्याउने काम भइरह्यो । राजनीतिक संस्कृतिको विकास हुनै पाएन । मेरो घर राम्रो होस्, मेरो आँगन र मेरो समाज राम्रो होस्, समग्रमा मेरो देश राम्रो होस् भन्ने चाहना राख्ने जनता सधैं हेरेको हेर्‍यै भए । गुट, उपगुट, द्वन्द्व, सत्ता, कुर्सी र ६–६ महिनामा फेरिने प्रधानमन्त्रीको अनुहार सम्झनेभन्दा बिर्सनेलायक बन्दै गयो । म जनताका बीचमा बसेर काम गर्ने मान्छे हुँ । नेपाली जनताजस्तो असल, विवेकी र धैर्यशील अरू कोही हुनै सक्दैन । तर, सत्ता र शक्तिले जनतालाई सधैं उपयोग मात्रै गरेको छ ।


यसो भनेर ‘ब्याक टु स्क्वायर वन’ को निराशा राख्दैमा र यथास्थितिवादी बन्दैमा के हुन सक्छ र ?

यो निराशा होइन । मैले अघि पनि भनेँ, म जनताका बीचमा गएर जनताको मन–मस्तिष्क पढ्दै, आँखा छामेर काम गर्ने मान्छे हुँ । मैले जनताले ‘फिल’ गरेको यथास्थितिलाई सम्झाएको मात्रै हुँ । अब हेर्नुस्, त्यत्रो १० वर्षे द्वन्द्वले कति के उथलपुथल गरायो, भताभुंग स्थिति उब्जियो– सबैलाई थाहा छ । दुईपटक भएको संविधानसभा निर्वाचनलगत्तै भएको स्थानीय तह, संसदीय र संघीय निर्वाचनकै खर्च र परिणाम हेरौं । यसबाट पूर्व–पश्चिम रेलमार्ग वा निजगढजस्ता एक–दुई ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने खर्च सकिएको अवस्था छ । यसपटकको चुनावमा जनताले विवेकी बनेर स्थायित्वको सरकारका लागि जनमत दिएका छन् । तैपनि यहाँ गुट–उपगुट र अरू खेलकुद सुरु भइसकेको छ । भ्रममा नपरे हुन्छ– जनताले कम्युनिस्ट शक्तिलाई बहुमत दिएका होइनन्, यो त स्थायित्व र सुशासनको अपेक्षामा आएको जनाधार हो । तर, यहाँ अपव्याख्या सुरु भइसकेको छ– अनेक कोणबाट । आजको आर्थिक–विश्वमा हामी भने राजनीतिक कुरामै अल्झिरहेका छौं । सिंगापुर भन्नुहोस् वा इथियोपिया– आर्थिक दृष्टिकोण र लक्ष्यले ती मुलुक ‘अलग’ बन्ने क्रममा छन् । हामी भने अझै कहींकतै हराइरहेका छौं । जनताको सिधा सरोकार, आवश्यकता र कुरा भनेको जनजीविकाको दह्रो उपाय पहिल्याउने अथवा रोजगारी बढाउने, बाढीपहिरो नियन्त्रण गर्ने अथवा शिक्षा–स्वास्थ्यको पहुँच बढाउने नै हो । तर केन्द्र, राज्य, संघ, क्षेत्रको यो तातो राजनीतिमाझ स्थायित्व र जनताको कुरा कहिलेबाट बाहिर आउने हो– यो ‘ग्यारेन्टी’ गर्न कसैले सकेको छैन । एउटापछिको अर्को संक्रमण कहिले टुंगिने हो, भन्न सकिएको स्थिति छैन । यो निराशा होइन, यथार्थ हो ।

यति कुरा भइरहँदा आआफ्ना क्षेत्रमा दक्षता राख्ने डा. उपेन्द्र देवकोटा, अनुराधा कोइरालाहरू राजनीतिमा आउनुभएको यहाँलाई थाहै छ । तपाईंलाई राजनीतिले कहिल्यै तानेन ? अथवा कुनै प्रस्ताव आएन ?

होइन, प्रस्ताव मलाई पनि आएको थियो । तर कतै गइनँ । मलाई जनताका बीचमा गएर आँखाको उपचार गरिरहँदा, ‘तमसोमा ज्योतिर्गमय’को काम गरिरहँदा सबैभन्दा ठूलो राजनीतिक सफलता आफूले पाएजस्तो हरेक दिन लाग्ने गरेको छ । मलाई के लाग्छ भने आफ्नो ‘लिमिटेसन’ बुझ्न सक्नु पनि राम्रै कुरा हो जस्तो लाग्छ । मैले मेरो क्षमता बुझेको छु ।

पछिल्लो समयमा नेपालको मेडिकल क्षेत्रमा नामभन्दा बढी बदनाम फैलिएजस्तो स्थिति छ । मेडिकल क्षेत्रकै शुद्धीकरणका नाममा धर्ना, जुलुस, आमरण अनशन हुने गरेको छ । यस्तो विकराल स्थिति किन र कसरी आएको होला ?

यो विकराल स्थिति मेडिकल फिल्डमा मात्रै होइन, सबैतिर छाएको छ । तर, पोस्टमार्टम भने मेडिकल जगत्को मात्रै भएको छ । इन्जिनियरिङ, शिक्षा, पुनर्निर्माण सबैतिर उस्तै छ । तर बढी संवेदनशील र सरोकारसम्बद्ध भएकाले मेडिकल मात्रै देखिएको हुन सक्छ । डा.गोविन्द केसीले इमानदारीपूर्वक जेजस्ता विषय उठाउनुभयो, त्यसकारणले गर्दा पनि धेरै कुरा सतहमा देखिएका हुन सक्छन् । हाम्रो राम्रैसँग ‘पोस्टमार्टम’ भएको छ, गरिएको छ । तर यति बुझ्नुपर्छ कि हामीले आफूले आफैंलाई नियाल्नु एकदमै जरुरी छ । हाम्रा हरेक तन्तुमा जोडिएको राजनीतिले के–कति बिगार्ने वा सपार्ने काम गरेको छ, त्यो पनि बुझनु जरुरी छ । मलाई कतिबेला रुन मन लाग्छ भने जतिबेला हाम्रो नेपाल मेडिकल काउन्सिलको चुनाव हुन्छ, त्यतिबेला राजनीतिक गुट–उपगुटका तीन धार/चार धार देखिरहँदा भने म साँच्चिकै रुन्छु । खोइ, हाम्रो ‘प्रोफेसनल’ कुरा ? खोइ हाम्रो आफ्नै चिनारी ? शतप्रतिशत राजनीतिक गुट बोकेर हिँडेपछि व्यावसायिकता खोइ कहाँ रहन्छ भनेको ? यो कुरा हामीले ‘करेक्ट’ गर्नु जरुरी छ । आफ्नो प्रोफेसनलाई राजनीतिबाट बाहिर राख्नैपर्छ । ‘पोलिटिसाइजेसन अफ प्रफेसनल बडिज’ एकदमै गलत कुरा हो, यसमा सबैभन्दा ठूलो गल्ती हामी ‘कथित’ प्रोफेसनलकै छ ।

आफ्नो व्यवसाय, दक्षता विस्तारका क्रममा तपाईं अफ्रिका, एसिया, अमेरिका, युरोपका ८० भन्दा बढी मुलुक पुग्नुभएको छ । त्यहाँको राजनीतिक, आर्थिक वा सामाजिक स्थिरताको नेपालसँगको तुलना कहींकतै पुगेर गर्नुभएको छ ?

हो, पक्कै पनि तुलनात्मक अध्ययन भइहाल्छ । जस्तो, अफ्रिकी महादेशमा पर्ने इथियोपिया पनि आन्तरिक द्वन्द्व, विद्रोह र संकटबाट गुज्रिएको मुलुक हो । तर, २० वर्षअघिको इथियोपिया र आजको इथियोपियामा आर्थिक–सामाजिक स्थिरता तथा समृद्धिका हिसाबमा भिन्न चित्र छ । आज इथियोपियन एयरलाइन्स हेरांै अथवा अन्य सूचकांकहरू धेरै माथि आइसके । अर्को अफ्रिकी मुलुक रुवान्डा पनि स्थिरताको बाटोमा छ । अरूभन्दा पनि आफ्नो समाज, मुलुकको परिवर्तन र अपरिहार्यताका निम्ति ती मुलुकमा युवाशक्ति निकै जागरुक बनेको देखिन्छ । हामीकहाँ भने सबैतिर राजनीति नै राजनीति हावी छ ।

नेत्ररोग उपचारमा तपाईं लामो समयदेखि संलग्न हुनुहुन्छ, आँखाबारे सचेतना पनि निकै बढेको छ । तर, अझै पनि अन्धोपनको सूचकांक उस्तै छ । सामान्य मोतीविन्दुको अप्रेसन गर्न पनि पहुँच नपाइरहेको स्थिति छ । यसमा सरकारी सदासय र पहल कत्तिको छ ?

सरकारी सदासय र पहल पक्कै पनि छ, नभएको होइन । तर, यस्ता हरेक साथ र सहयोगमा सबैभन्दा महत्त्वपूर्ण प्रशासनिक भरथेग महत्त्वपूर्ण हुने रहेछ । अहिले कुन धारा अथवा कुन आधारले ‘यो काम नगरौं’ भन्छ, त्यही नकारात्मक टेकोलाई समातेर अघि बढ्ने प्रवृत्ति बढेको छ । आफैंमा दह्रो र सक्षम हुनुपर्ने प्रशासनयन्त्रको ‘मोराल’ अहिले पूरै गिरेको अवस्था छ । समस्या के छ भने कहींकतै आँखा क्याम्प राख्ने वा नि:शुल्क उपचार अघि बढाउने कुरामा प्रशासनिक सहयोग खोज्न गएमा एकपछि अर्को समस्या र बहानाहरू मात्रै तेस्र्याउने गरिन्छ । यस्तो कुरामा मसँग खासै धैर्य छैन, समय पनि धेरै छैन । राजनीतिक दृढ शक्ति र सबल नेता, नेतृत्वको हस्तक्षेप नभई यो प्रशासनयन्त्र साह्रै गतिशील बनेर हिँड्न सक्ला भन्ने मैले देखेको छैन ।

तथ्यांकगत कुरा गर्दा, नेपालमा अहिले रहेको अन्धोपनको संख्या र स्थिति के छ ?

हामी तिलगंगा आँखा अस्पताल मात्रै होइन, यो अभियानमा नेपाल नेत्रज्योति संघ र शिक्षण अस्पतालका नेत्र एकाइहरू पनि लागेर आँखा उपचारलाई प्रभावकारी ढंगमा अघि बढाउन लागिरहेकै छौं । सन् १९८१ को सर्भे तथ्यांकमा नेपालमा अन्धोपन (विशेषत: मोतीविन्दुका कारण) कुल जनसंख्यामा शून्य दशमलव ८ प्रतिशत थियो । तर, पछिल्लो तथ्यांकमा यो अनुपात झन्डै शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । तर, यो संख्या र अनुपातको कुरा गरिरहँदा नेपालको उच्च हिमाली भूभाग र भित्री तराईमा समेत अन्धोपनको उपचारमा हामी त्यति सहजै पुग्न सकिरहेका छैनौं ।

तपाईंले अवलम्बन गर्नुभएको आँखा उपचार पद्धति (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) के–कति कारणले सर्वस्वीकार्य बनेको हो ?

यसमा ‘सर्जिकल टेक्निक’ र ‘सर्जिकल डेलिभरी सिस्टम’ले ठूलो काम गरेको छ । तिलगंगाको टिम–वर्क पनि धेरैतिर प्रशंसित भएको छ । सक्नेले पैसा दिनुहुन्छ, नसक्नेका लागि नि:शुल्क काम गरेका छौं । हेटौंडामा एक मोडल अस्पताल स्थापना गरेका छौं, ‘ग्रासरुट’मा गएर नेत्ररोगमा सहयोगी र समन्वयी हुने गरी । यही प्रोजेक्टअन्तर्गत रहेर भुटान र घानामा अस्पताल बनेको छ । मोतीविन्दु उपचारको यो सजिलो पद्धति अहिले चीनका विभिन्न भूभाग, बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियामा निकै स्थापित भएको छ । साउथ अमेरिकाबाट डक्टरहरू तालिमका लागि यहाँ आइरहनुहुन्छ । र, आफूले जे जहाँ गएर यो पद्धति प्रयोग गरे पनि ‘नेपाल टेक्निक’ भनिरहेका छन्, यो खुसी लाग्ने कुरा हो । भन्नैपर्ने हुन्छ, समृद्धिको उचाइमा जाँदै गरेको छिमेकी भारतमा ‘हुने’ र ‘नहुने’ वर्गका कारण आँखाको उज्यालो वा अँध्यारो त्यही स्थितिमा विभाजित छ । आर्थिक हैसियत हुनेले जहाँ जुन मुलुकमा गएर पनि उपचार गराएका छन्, नहुनेहरू थन्किएर अँध्यारैमा बसेका छन् । कम्तीमा आँखा उपचारमा, मोतीविन्दुको जालो हटाउने कुरामा नेपालमा यत्रो विभेद छैन ।

धेरैले भन्छन्– नेपाल सकियो, नेपाल बिग्रियो । डीभी भरेर अमेरिका छिर्ने अथवा शरणार्थी बनेर युरोप लुक्ने नेपालीको ‘ट्रेन्ड’ अझै उस्तै छ । के कारणले अधिकांशमा नकारात्मकता र निराशाको चित्र कोर्ने अभ्यास बढेको होला ? तपाईंलाई के लाग्छ ?

यसलाई भिन्न दृष्टिबाट म हेर्न चाहन्छु । प्राकृतिक सम्पदा र स्रोत तथा मौसमको विशिष्टताका आधारमा नेपालजत्तिको सुन्दर र सम्पन्न देश अर्को मैले देखेकै छैन । सानो भूगोलमा यति धेरै ‘फ्लोरा–फउना’ भएको अर्को मुलुक कहींकतै छैन । तर, हामी सबैमा यथार्थबाट पन्छिने स्वभाव बढी छ । यसमा राजनीतिक अस्थिरता र प्रशासनिक अन्योलको स्थान पक्कै छ । तर यथार्थमा भन्दा ‘फेस’ गर्न नसक्ने, फेस गर्न नचाहने र हदैसम्म उम्कने स्वभाव हामीमा एकदमै बढी छ । मलाई एकदमै दु:ख लाग्ने र निराश हुने प्रमुख कुरो भने हामीमाझ अधिकांशमा रहेको नकारात्मकता पनि हो । यो भएन र त्यो भएन भन्नेहरू मात्रै यहाँ धेरै भेटिन्छन् । ‘के गर्दा हुन्छ होला’ भनेर सकारात्मक उपाय सोच्नेहरू पाउन मुस्किल छ । देशै छाडेर जानेहरूको कुरा पनि धेरैजसो यही ‘स्केप्टिजम्’कै यथास्थिति होलाजस्तो लाग्छ ।

यति साह्रो व्यस्तता तपाईंसँग छ । दैनिक १२ घण्टा काम गर्ने तालिका अझै रहेछ । तपाईं निराश कुन बेला हुनुहुन्छ ?

हाहाहा...भन्नैपर्ने हुन्छ, यो बढो चाखलाग्दो जिज्ञासा हो । मलाई कुनै सानो कामका लागि मन्त्रालय धाउनुपर्दा र निरन्तर धाइरहनुपर्दा बढो निराशा जाग्छ । अर्को कुरा– भेटघाटहरूमा र यत्रतत्र नकारात्मक सोच भएका मानिस भेट्दा पनि म निराश हुन्छु । मसँग उपचार गर्ने क्रममा पनि ‘नेक्स्ट’, ‘नेक्स्ट’ मात्रै भन्ने बानी छ । म अगाडि मात्रै हेर्नेखालको मान्छे परेँ । एकाएक आइपर्ने ‘नेगेटिभ एप्रोच’ले निराश मात्रै बनाउँछ ।

प्रकाशित : माघ २१, २०७४ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?