छोराछोरीलाई अब विदेश जानु पर्दैन भन्ने विश्वास किवी खेतीले दिएको हो । यही मेरालागि सबैभन्दा ठूलो खुसी हो।
What you should know
रामेछाप — पाखा, पखेरो, चिसो हावा र दुःखसँगै हुर्किएँ । त्यसैले मेरालागि गाउँघरको वातावरण नयाँ होइन । केही वर्षदेखि गाउँबाट मानिस बसाइँ सर्न थाले । अनि जग्गा जमिन बाँझिन थाले । त्यो देखेर मेरो मन चसक्क हुन्थ्यो ।
अहिले पनि गाउँबाट रोजगारीको खोजीमा युवाहरु काठमाडौं र विदेश पलायन भइरहेका छन् । गाउँमा बस्नेहरूमा पनि निराशा छ ।
यस्तो अवस्था देखेरै मैले गाउँमैं केही गर्नुपर्छ भन्ने सोच बनाएँ । यहाँ ठूलो लगानी गरेर कल कारखाना बनाउन सम्भव छैन । त्यसैले आफ्नै पखेरामा किवी खेती सुरु गरे । अनन्त एग्रोभेट बायो फार्म दर्ता गरेर किवी खेती थाले । यसमा अहिलेसम्म करिब एक करोड रुपैयाँ लगानी भैसकेको छ । अहिले पो धेरै लगानी पुग्यो । सुरुमा सजिलो थिएन । बाँझो जमिन सम्याउनु पर्यो । सिँचाइको व्यवस्था गर्नु पर्यो । महँगो दरमा बिरुवा किन्नु पर्यो । एउटा बिरुवाको ३ सय ५० रुपैयाँ तिरेर रोपेको हुँ ।
बिरुवा खरिद गरेर आधा खेती गरे । पछि आफैले बिरुवा उत्पादन गरेर बाँकी जमिनमा रोपेँ । मल, पाइप, ट्यांकी, कामदार खर्च जोड्दा धेरै लगानी भयो । मिहेनतले एक दिन पक्कै फल दिन्छ भन्ने आत्मविश्वास थियो । सोचे जस्तै भयो । त्यसपछि किवी खेती बिस्तार गरे । अहिले मेरो तीन ठाउँमा किवी बगान छन् । करिब २ हजार मिटर उचाइमा बगान छन् । दुई खोलाको बीचमा छ । पानीको अभाव छैन ।
जिल्ला कृषि कार्यालयको सहयोगमा ३ लाख लगानी गरेर ट्यांकी बनाएको छु । ७५ एमएमका पाइपबाट सिँचाइ प्रणाली मिलाएको छु । गाउँघरबाट किनेर वार्षिक ५० गाडी गोबर मल प्रयोग गर्छु । यसले स्थानीय किसानलाई पनि आम्दानी भएको छ ।
यस वर्ष करिब १० हजार किलो किवी उत्पादन भयो । केही काठमाडौं लगेर बेचे । केही गाउँमै पनि विक्रिी भयो । अहिलेपनि चानचुन ४ हजार किलो किवी मेरो चिस्यान केन्द्रमा छ । अफ सिजन भएकाले अहिले ३ सय रुपैयाँ प्रतिकिलो घरबाट बिक्री भइरहेको छ । काठमाडौंमा ३ सय ५० रुपैयाँ पुग्छ । सुरुमा १ सय ५० रुपैयाँ किलोमा बेचेको थिएँ । अहिले खरिद गर्न आफैं आउँछन् । साथीभाइ, ग्राहकले फोन गरेर किवी मागिरहेका छन् । माग धान्न नसक्ने भएको छु ।
सुरुमा धेरै चुनौती थिए । प्राविधिक ज्ञानको कमी, तालिम अपुग, किवीबारे जानकारी थिएन । पहिलो वर्ष थोरै फलेपछि निराश पनि भए । बगान पाखो जमिनमा भएकाले किवी मिठो र रसिलो भयो । यही गुणस्तरले बजारमा माग बढ्यो । यस वर्ष एक बोटबाट ८० किलोसम्म उत्पादन भयो । ५० देखि १ सय २० ग्रामसम्मका किवी उत्पादन भएका छन् ।
हिमाली क्षेत्र भएकाले रोगकीरा कमै लाग्छन् । बगान छेउछाउ रहेका उत्तिसका बोट हटाएर र पानी जम्न नदिएपछि समस्या घटयो । यसले खेती सजिलो भएको छ । व्यक्तिगत कमाउने मात्र मेरो उद्देश्य होइन । उमाकुण्डका बाँझो जग्गामा हरियाली बनाउने र रोजगारी सिर्जना गर्ने योजना छ ।
मेरो घर खर्च यही किवीको कमाईले चलेको छ । परिवारको दैनिकी, मजदुरको ज्याला, गाउँको चहलपहल सबैमा यसको असर देखिन्छ । म भन्छु सही योजना, धैर्य र मेहनत भए गाउँमै सम्भावना छ । किवी खेतीले मेरो जीवन मात्र होइन, उमाकुण्डको भविष्य पनि हरियो बनाउने आशा दिलाएको छ । मैले किवी खेती सुरु गर्दा धेरैले पाखोमा फल लाग्ला र ? भने । आज यही पाखो जमिनबाट करोडौं कमाउन सकिने सपना देख्न थालेको छु । यही विश्वासले सोच बदलिएको छ ।
मेरा छोराछोरीले पनि अहिले ‘बाबाको पेसा गर्छौं, यही गाउँमै बस्छौं’ भन्न थालेका छन् । एउटा छोरा इन्जिनियरिङ पढ्दै छ । एउटी छोरीले ब्याचलर पूरा गरिसकेकी छन् । उनीहरूलाई अब विदेश जानु पर्दैन भन्ने विश्वास किवी खेतीले दिएको हो । यही मेरालागि सबैभन्दा ठूलो खुसी हो । किवी खेतीबाट राम्रो आम्दानी मात्र होइन, सुरक्षित भविष्यको आधार पनि बनेको छ । यस फलको विशेषता नै टिपिसके पछि दुईदेखि अढाई महिनासम्म बिग्रिादैन । चिस्यान केन्द्रमा राखेर सही समयमा बजार पुर्याउन सकिन्छ । त्यसैले मूल्य पनि राम्रो पाइन्छ ।
प्रस्तुति: नवराज श्रेष्ठ
