'आजकल त केटाकेटीले चाउचाउ, भुजिया, चटपटे के–के भन्छन्, त्यसमा पनि निकै खर्च हुन्छ । यस्तै हो हामीले सकुन्जेल त हो नि गर्ने पनि'
What you should know
ताप्लेजुङ — म गर्भमा हुँदादेखि आमा बाख्रा गोठालो जानुहुन्थ्यो । त्यसैले मपनि गर्भैबाट बाख्रा गोठालो थिए भन्दा फरक पर्दैन । जन्मिएको ६ वर्षदेखि आमासँगै बाख्रा चराउन जङ्गल जाान्थें अरे । त्यसयता जान्ने भएदेखि लगातार बाख्रा चराइरहेको छु। एकपटक त एक्लैले ७६ वटासम्म बाख्रा चराए।
मेरो जन्म २००७ सालमा भएको हो । अब त बुढो भइयो । अहिले पनि १३ वटा बाख्रा पालेको छु । बाख्राको संख्या थपघट भइरहन्छ । मलाई ढाडस दिने श्रीमतीको मृत्यु भइसक्यो ।
अहिले छोराबुहारी र नातीनातिना छन् । अहिलेसम्म बाख्रा बेचेरै घर खर्च चाँही धानिरहेको छु भन्दा पनि भो । हामीलाई यो भन्दा धेरै केही चाहिएको पनि छैन । वर्षमा दुई–तीन वटा खसी बिक्री गर्छु । एउटाबाट १६ देखि २१ हजारसम्म आउँछ । मसिना पाठा, बोका पनि बिक्री गर्छु । एक रंगको भयो भने एउटा बोका बेचेर १०/१२ हजार कमाउँछु । रंगको भएन भने पनि सात/आठ हजार त आइनै हाल्छ ।
यसैबाट मरमसला, तेल, चामल, नुन भुटुन खान त पुर्याइरहेकै छु । ५० किलोको एक बोरा चामललाई ३ हजार ५ सय भन्दा बढी नै पर्छ । गाउँले भएकाले तरकारी, सागसब्जी किन्नु पर्दैन । वर्षमा दुई वटा खसी बेचेको पैसाले दाल–चामल किन्न पुग्छ । पाहुना जाँदा, विवाह, बर्खान्तमा अलिक धेरै खर्च हुन्छ । त्यस्तो बेला बही खातामा पैसा लेखाउनुपर्छ । कम्तीमा २ सय ५० लेखाउनु पर्यो । अहिले त आधा/एक घण्टा भन्दा टाढाको बाटोमा हिँड्ने चलन हरायो । ट्याम्पुमा जानुपर्र्यो । त्यसमा पनि धेरै नै खर्च आउँछ ।
मामा मावली, भाना भान्जा, कुल कुटुम्ब, अरु पाहुना आउँदा राम्रै खर्च हुन्छ। भाले काट्नुपर्छ । छोरी ज्वाई, नातिनातिना आउँछन् । तिनीहरु त घरकै भए तर पनि टीका लगाएर दक्षिणा दिनुपर्छ । नदेखिने, वास्ता नहुने तर ससानो कुरामा धेरै नै खर्च हुन्छ । शरीरले साथ दिउन्जेल त यसोउसो गरेर पुर्याइँदैछ । भविष्य कसैले जानेको देखेको हुँदैन । पहिला हिँड्ने चलन थियो । आफै खेती गरेर वर्ष दिनका लागि धान राख्ने चलन थियो । पैसाको कारोबार कम हुन्थ्यो । तयस्ता दिन हराए । खर्चालु दिन आए ।
मेरो खर्क भनेको धुसेनी भीर हो । मेची राजमार्गको वरिपरि चराउँछु । कहिले तल तमोर खोला किनारसम्म पनि पुर्याउँछु । त्यहाँ पुगेर फर्काउन त पाँच/छ घण्टा लाग्छ । चार/ पाँच जनाको परिवार छौं । एक्लैलाई भएचाँही वर्षमा तीन वटा खसी र पाँच/छ वटा बोका पालियो भने पुग्छ । तर एक्लै बस्न पनि सकिदैन । बस्नु पनि हुँदैन, साथी चाहिन्छ । साथीका रुपमा छोरा, नातिनातिना छन् । आजकल त केटाकेटीले चाउचाउ, भुजिया, चटपटे के के भन्छन् त्यसमा पनि निकै खर्च हुन्छ । यस्तै हो हामीले सकुन्जेल त हो नि गर्ने पनि । केही गरी मैले गर्न सकेन भने छोराबुहारी, नातिनातिना, छोरी ज्वाइँले पनि हेर्छन्।
बाख्रापालनका लागि खोर बलियो बनाउनु पर्छ । माैसम खुल्दा चराएर पाल्छु । चराएर पालेको खसी बाख्राको मासु खाँदिलो हुन्छ । किन्नेले पनि खुसी भएर मोल लगाउँछन् । पानी परेको बेला बर्खाको समयमा चाहीँ खोरमै राखेर घाँस हाल्नुपर्छ । घाँस काटेर हाल्न चाहीँ चराउन जस्तो सजिलो हुँदैन । पशुलाई जस्तो बानी लगायो त्यस्तै हुन्छ । आफुले उसको हेरचाह गर्यो भने उसले पनि आफुलाई पुग्ने गरि आम्दानी दिलाइदिन्छ । हामी जस्तो सामान्य जीवन भएको अरु कमाउने बाटो नभएकालाई हात पाउ लागुन्जेलको खर्च र आम्दानी सरोवरी नै होला ।
प्रस्तुति: आनन्द गौतम
