'यहीँको बाटो, यहीँको बजार र यहीँका ग्राहकले मेरो मिहिनेतको रोटी मीठो बनाइदिएका छन्'

२२ वर्षको अनुभवले ‘देशमै बसेर श्रम गरे कमाउन सकिन्छ’ भन्ने सिकाएको छ।

मंसिर २३, २०८२

जनक खत्री

'The roads here, the markets here, and the customers here have made my hard work sweet'

डडेलधुरा — मेरो पुर्ख्यौली घर जुम्ला हो । केही गर्न सकिएला भनेर बसाइँ सरेर कैलालीको टिकापुर आएँ। तर एकै ठाउँमा बसिरहेर हुँदैन रहेछ। पेट पाल्न केही न केही गर्नुपर्छ भनेर व्यापार गर्न डडेल्धुरा आएको हुँ । यहीँको बाटो, यहीँको बजार र यहीँका ग्राहकले मेरो मिहिनेतको रोटी मीठो बनाइदिएका छन्। म घुम्ती व्यापारका लागि डडेलधुरा आउन थालेको २२ वर्ष भइसक्यो।

अहिले म ४५ वर्षको भएँ। उमेरसँगै जिम्मेवारी पनि बढ्दै गाछ। त्यही जिम्मेवारीले काम गर्न सिकाएको हो। छोराछोरीको पढाइ निरन्तरता दिनैपर्छ। परिवारको खर्च पनि बढ्दो छ।यस्ता कुरा मनमा खेलाउँदा आफ्नै भविष्यप्रति चिन्ता लाग्छ। तर जस्तोसुकै परिस्थितिमा पनि आफूलाई कमजोर महसुस गरिनँ। बाबु–बाजेको सम्पत्ति बेचेर होइन, पसिनाले आर्जन गरेको धनले घमण्ड गर्न सकिन्छ भन्ने थाहा थियो। पढाइ–लेखाइ खासै भएन। स्कुल छाडेर जीवन चलाउन संघर्ष सुरु गरेँ। व्यापार, घाटा, फाइदा, भरोसा, धैर्य र परिश्रम के हो भनेर बुझें।
कहिलेकाहीँ ‘पढ्न पाएको भए सरकारी जागिर खान्थेँ कि’ जस्तो पनि लाग्छ। तर फेरि आफैँलाई सम्झाउँछु—‘कर्मले यतै ल्यायो, यही मेरो भाग्य रहेछ।’

पहिले गाउँमा दाइसँग मिलेर घोडाको व्यापार गर्थ्यौँ। व्यापार राम्रै चल्थ्यो। कहिलेकाहीँ घाटा पनि हुन्थ्यो। घाटा बढ्न थालेपछि नयाँ बाटो रोजेँ। दाइ पुरानै व्यापारमा हुनुहुन्छ। म भने घुम्ती व्यापारतिर लागेँ। हामी सगोलमै छौँ। एउटै घरमा चौध सदस्य बस्छौँ। एउटै चुल्होमा खाना पाक्छ। तर कमाउने जिम्मेवारीले कहिलेकाहीँ टाढा पुर्‍याउँछ।
घुम्ती व्यापार सुरु गर्दा जे अवस्था थियो, अहिले पनि उस्तै छ। न त हवात्तै अगाडि बढ्न सकेँ, न पछि परें। गुजारा चलिरहेको छ। ऋण छैन, त्यसैले सन्तोष छ।

पहिले गलैचा, ब्ल्याङ्केट, तन्ना, पर्दा, फाइबरजस्ता सामान बोकेर घर–घर डुल्थेँ। अहिले ‘रेडिमेड’ कपडा बिक्री गर्न थालेको ५ वर्ष भयो। ज्याकेट, स्विटर, हाइनेक, ट्राउजर बोकेर गाउँ–बजार जान्छु। व्यापार बदलिए पनि मेहनत घटेको छैन। बदलिने त सिजन मात्र हुन्।

सदरमुकामभन्दा तीन किलोमिटर टाढा स्याउले बजारमा दुई हजार महिनाको भाडा तिरेर कोठामा बस्छु। होटलमा दिनको ५ सय तिरेर बिहान–बेलुकाको खाना खान्छु। बिहान चिया–नास्ता १००–२०० खर्च भइहाल्छ। खाना–खाजामा मासिक करिब २० हजार खर्च हुन्छ। कहिलेकाहीँ मासु पनि खान्छु। मिठो खान कठोर मिहिनेत गर्छु। बिहान ७ बजेदेखि राति ८ बजेसम्म बजारमै डुल्छु। महिनाभर दौडधुप गर्दा ५० हजार हाराहारी कमाइ हुन्छ। बचत २०–२५ हजार जति हुन्छ।

नयाँ व्यापारीले नगदमै सामान बेच्छन्। पुराना चिनेका साहुँले आधा रकम उधारो राखेर दिन्छन्। त्यसैले काठमाडौं जानुपर्‍यो भने एकैचोटि लाखौँको सामान उठाएर आउनुपर्छ। बारम्बार काठमाडौं धाउन सकिँदैन। सामान बिक्री गरेर उधारो चुक्ता गर्नुपर्छ।

ग्राहकसँग व्यवहार पनि मिठै गर्नुपर्छ। घरमै सामान ल्याइदिँदा धेरै ग्राहक खुसी हुन्छन्। कोही–कोही धेरै बार्गेनिङ गर्छन्। म सबैलाई एउटै मूल्यमा बेच्ने प्रयास गर्छु। आज ५०/१०० रुपैयाँ बढी फाइदा लिँदैमा व्यापार चल्छ भन्ने लाग्दैन। व्यापारका लागि बागबजार, तुफानडाँडा, कीर्तिपुर, खलंगा, टुँडिखेलसम्म पुग्छु। गाउँतिर खासै पस्दिन, किनकि बजारमा नै ग्राहक धेरै भेटिन्छन्।

डडेल्धुरामा सबै सिजनका कपडा बिक्छन्। दशैं–तिहारदेखि फागुन–चैतसम्म व्यापार राम्रो हुन्छ। त्यसबेला बिहानदेखि बेलुकासम्म भारी पनि धेरै हुन्छ, ग्राहक पनि। कहिलेकाहीँ समय मिल्यो भने घर जान्छु। १०–१५ दिन परिवारसँग बसेर फेरि व्यापारका लागि डडेल्धुरा फर्किन्छु।

२२ वर्षको अनुभवले ‘देशमै बसेर श्रम गरे कमाउन सकिन्छ’ भन्ने सिकाएको छ। धेरैले विदेश रोज्छन्। मैले पनि बीचमा विदेश जाने सोचें, तर हिम्मत गरिनँ। आफ्नै माटोमा केही गर्छु भनेर आँटेँ।

 प्रस्तुति : तर्कराज भट्ट

जनक खत्री जनक खत्री डडेलधुराका व्यापारी हुन् ।

Link copied successfully