‘फलफूल बेचेरै बस–मालिकसम्म बनेँ’

मेरो विचारमा अहिलेका युवामा लाज धेरै छ  ।  काम गर्नभन्दा विदेश जान सजिलो ठान्छन्  ।  तर म भन्छु– ‘लाजले पेट भरिँदैन, काम कुनै सानो–ठूलो हुँदैन ।’

कार्तिक २२, २०८२

केशव ओली

'I sold fruits and became a bus owner'

What you should know

डडेल्धुरा — मेरो उमेर अहिले ५२ वर्ष भयो । जीवनका आधा शताब्दीभन्दा बढी मैले व्यापारमै बिताएँ । बाल्यकालमा जब अरू साथीहरू खेलकुदमा रमाइरहेका हुन्थे, म बजारका गल्लीमा सुन्तला बोकेर हिँड्थेँ । सय रुपैयाँको सुन्तला किनेर दुई सयमा बेच्थेँ । त्यो नाफा सानो थियो । तर त्यसले व्यापारप्रति मेरो लगाव र आत्मविश्वास जगायो ।

मेरो घर नवदुर्गा गाउँपालिका–१ को कोटेलीमा छ । अहिले डडेल्धुरा सदरमुकामको तुफानडाँडामा सानो जमिनमा बनाइएको कच्ची घरमा बस्छु । यहीँ मेरो पसल छ । एसएलसी पास गरेको भए पनि मैले कहिल्यै सरकारी जागिरको सपना देखिनँ । मेरो सपना आफ्नै पसल, आफ्नै व्यवसाय र आफ्नै खुट्टामा उभिएको जीवन थियो । 

गाउँमा हुँदा म गाउँघरमै फलेका सुन्तला, कागती, नास्पाती लगाायतका फलफूल किन्थेँ र गाउँ–बस्तीमा बेच्थेँ । कहिले बाख्रा पालन, कहिले भैंसी, कहिले कुखुरा पालन, जुनसुकै काममा हात हाल्न म हिचकिचाइनँ । ममा लाज थिएन, म व्यापारको मान राख्थेँ । जिन्दगीले थुप्रै चोट दियो, तर मैले कहिल्यै हार मानिनँ । व्यापार गर्न लाज नमानेको यही बानीले नै मलाई आजसम्म अड्याइरहेको छ । 

अहिले पनि म बिहान–बिहान केरा, बदाम र फलफूलले भरिएको क्रेट बोकेर बजारका गल्ली–गल्ली हिँड्छु । कहिले ‘केरा लिनुहोस्, ताजा बदाम’ भन्दै ग्राहक बोलाउँछु, कहिले आफ्नै पसलमा बसेर ग्राहक पर्खिन्छु । जिन्दगी यही मिहिनेतमा रमाएको छ । फलफूल व्यापारले कमाएको पैसाले मैले बससमेत किनेँ ।

केही वर्ष त म आफ्नै बसको मालिक थिएँ । राम्रो किसिमले व्यवसाय गर्न नसक्दा बस बेच्नु पर्‍यो । त्यसपछि अन्य व्यापार व्यवसायमा लागेको हुँ । बससँगै व्यापार पनि जारी थियो तर पसलबाट ग्राहकले उधारोमा सामान लिएर पैसा नतिर्दा घाटा खेप्नुपर्‍यो । नाफा हुने व्यवसाय घाटामा परिणत भयो । अन्ततः बस बेचेर फेरि खुद्रा पसलमै फर्किनु पर्‍यो । अब त एउटै नियम बनाएको छु, ‘उधारो सधैंका लागि बन्द ।’

अहिले पनि आफ्नै घरको आँगनमा पसल छ । बिहान साग, तरकारी, फलफूल, बदाम र चुरोटसम्म बेच्छु । सिजन अनुसारको व्यापार गर्छु । यो जमिन पनि मैले करिब २० वर्षअघि व्यापारकै कमाइले किनेको हुँ । 

जिन्दगीमा मैले धेरै पैसा कमाएँ होला तर कहिल्यै ‘पर्स’ किनिनँ । बाल्यकालदेखिको झिल्ली वा पोलिथिनमा पैसा राख्ने बानी आजसम्म छ । त्यसैले कतिपय ग्राहक मलाई ‘पोलिथिनवाला व्यापारी’ भनेर चिन्छन् । खै किन मलाई पोलिथिनमै पैसा राख्न मन पर्छ । 

हाम्रो परिवारमा अहिले छ जना छौं । यही सानो व्यापारबाट सबैको पेट पालिएको छ । हामी धनी छैनौं, तर भोकै पनि छैनौं । बिहानको दालभातका लागि पसिना बगाउँछु, तर त्यसमै सन्तुष्टि छ । मैले कहिल्यै अरूको लोभ गरिनँ । मिहिनेत गरेर खाने जीवनमा आनन्द छ । अब उमेरले बिस्तारै साथ छोड्दैछ तर व्यापार गर्ने उत्साह अझै पनि घटेको छैन । यतै पसलमा बस्छु, यहीँ खाना पकाउँछु, यहीँ सुत्छु ।

कहिलेकाहीँ भोक लाग्दा आफैंले बेच्ने फलफूल वा बदामै खान्छु । बिहानको दाल–भात र साँझको राटी–तरकारीका लागि धेरै समस्या छैन । तर दिनभरि काम गरेर साँझ थकाइले मार्छ । त्यही पनि खाना पकाउन अल्छी गर्दिनँ । 

गाउँमा मेरा परिवारजन छन्, तर म डडेल्धुरा सदरमुकाममै बस्छु । गाउँ टाढा छैन, कहिलेकाहीँ जाँदै आउँदै गर्छु । मलाई सहरका गल्ली, बजारका ग्राहक र बिहानको चहलपहल मन पर्छ । यही ठाउँ मेरो जिन्दगीको हिस्सा बनिसक्यो ।

मेरो विचारमा अहिलेका युवामा लाज धेरै छ । काम गर्नभन्दा विदेश जान सजिलो ठान्छन् । तर म भन्न चाहन्छु– ‘लाजले पेट भरिँदैन, काम कुनै सानो–ठूलो हुँदैन ।’ व्यापारले मलाई इज्जत दिएको छ, आत्मनिर्भर बनाएको छ, जीवनको अर्थ सिकाएको छ । पैसाभन्दा पनि आत्मसन्तुष्टि ठूलो कुरा रहेछ । म आज पनि त्यो महसुस गर्छु । 

मलाई थाहा छ, अब जीवन बुढ्यौलीले छोएको छ । तर जबसम्म हात चल्छ, व्यापार छोड्दिनँ । व्यापार नै मेरो जीवन हो, मेरो परिचय हो । यही पसल, यही बजार यही पोलिथिनमै राखेका नोटहरू, यी सबै मेरो कथाका पाना हुन् । 

प्रस्तुतिः तर्कराज भट्ट

केशव

Link copied successfully