‘दुःख र कष्टले जस्तै बुढ्यौलीमा सियो र धागोले पनि साथ छोडेको छैन’

‘कहिलेकाहीँ त नुन पनि हुँदैन, अनि निस्तै भात खानुपर्छ । तर त्यसैलाई भाग्य ठानेर बाँच्दै आएको छु । भोकै सुत्नुपरेका रात त कति छन् कति, ती दिन म गन्नै सक्दिनँ ।’

कार्तिक १६, २०८२

लालबहादुर नेपाली

”Like sorrow and hardship, even needles and threads have not left our side in old age.”

डडेल्धुरा — अमरगढी नगरपालिका–३ स्थित गजुरलेकमा सानो घर छ । टिनको छानो छ । छानाका कुनाबाट वर्षातका बेला पानी चुहिन्छ । हिउँदमा चिसो हुन्छ । घामपानी नछेक्ने घरभित्र परिवारका ७ जना ओत लाग्छौं । मेरो दुखिया जिन्दगी यस्तै छ । कसैसित कुनै गुनासो छैन । गाउँघरका बासिन्दाको लुगाफाटा सिलाएरै अहिलेसम्म गुजारा चलाइरहेको छु ।

अब त थाकिसकेको छु । जतिखेरै शरीर लखतरान हुन्छ । पहिलेको जस्तो छैन । अचेल हिँड्दा पनि लठ्ठीको सहारा लिनुपर्छ । दुःख र कष्टले जस्तै बुढ्यौलीमा सियो र धागोले पनि साथ छाडेको छैन । बिहान घाम झुल्किनेबित्तिकै पुराना कपडा सिलाउन मेसिनतिर पुग्छु । मेसिनको ‘टकटक’ आवाजमा रुमल्लिएर दिन कटाउँछु । मेरो र परिवारको दिनहुँको घरखर्च यही मेसिन चलाएर जुटाउँछु । 

लुगा सिलाएर दिनमा कहिले सय त कहिले दुई सय रुपैयाँ कमाउँछु । ग्राहक नआएर कहिलेकाहीँ दिनभरि बेकामे जस्तै भइन्छ । यति थोरै आम्दानीले परिवारका लागि आवश्यक सामान जुटाउन धौ धौ हुन्छ । त्यस्तो बेला मैले पाउने वृद्धभत्ताले भरथेग गर्छ । त्यतिले नपुगेका बेला खोजखाज र मागेर सात जनाको पेट पालिन्छ । परिवारमा अर्को आपत् छ । मेरा तीन सन्तान अपांग छन् । म आफैं अशक्त छु । यस्तो बेला जिन्दगीसित हार मान्ने कुरा भएन । कमजोर किन महसुस गर्नु भनेर हिम्मत जुटाएर काम गर्छु । 

मैले त विवाह पनि दुईपटक गरेँ । पहिलो विवाह १८ वर्षको उमेरमा भयो । सन्तानको आशा थियो, तर वर्षौंसम्म त्यो आशा पूरा भएन । गाउँका मानिसले कुरा काटे, ‘सन्तान नभए घर अधुरो रहन्छ ।’ ती शब्दले मन पोल्थे, तर केही भन्न सक्दिनथेँ । त्यसपछि आजभन्दा १८ वर्षअघि ५० वर्षको उमेरमा दोस्रो विवाह गरेँ । सन्तान भए । चार सन्तानलाई अहिले बुढेसकालमा पालिरहेको छु । गरिबीले बालबच्चाको लालनपालनमा समस्या आएको छ । बालबच्चालाई पोषिलो खाना त कहाँ हो कहाँ, पेटभरि खाना दिन सकिने अवस्था पनि छैन । गरिबीले घेरा हालेपछि सन्तानको पालनपोषण पनि चुनौतीपूर्ण बन्दो रहेछ ।

यही झुपडीमा गाउँघरका पुराना लुगाफाटा सिलाउन आउने गरेका छन् । यहाँ च्यात्तिएका र फाटेका कपडामात्रै टालटुल गर्न ल्याउँछन् । यहाँबाट जिल्ला सदरमुकाम बागबजार ३/४ किलोमिटरको दूरीमा छ । नयाँ कपडा सिलाउन सबै बजारतिरै जान्छन् । सदरमुकामतिर गएर काम गर्ने मन पनि नभएको होइन, तर शरीरले साथ दिएन । घुँडाले नमानेपछि मेसिनमै टेकेर बस्नेबाहेक उपाय छैन । त्यसैले गाउँकै घरमा थापेको पसलमै जीवन बित्दै गएको छ, बिहानदेखि बेलुकीसम्म ।

पुर्खाहरूले कपडा सिलाएरै जिन्दगी काटे । आफूले पनि बा–बाजेसँगै कपडा सिलाउन जानेँ । तर, अहिलेको महंगीको जमानामा यो व्यवसायले पेट पाल्न सकिँदैन । त्यसका लागि त व्यावसायिक रूपमा काम गर्नुपर्छ । अहिले मसँग धन छैन, जग्गा छैन, मात्र सानो घर छ, टाउको लुकाउने ठाउँ । मसँग परिवार छ, जसका लागि म बाँचिरहेको छु । खानपिनको कुरा गर्दा मन भारी हुन्छ । मिठो–मसिनो हाम्रा लागि सपना हो । हामीकहाँ बिहान–बेलुका हातमुख जोड्न सकियो भने त्यो नै ठूलो कुरा हो । कहिलेकाहीँ सिलौटोमा नुन दलेर रोटी खाएको दिन सम्झँदा आँखामा आँसु आउँछ ।

कहिलेकाहीँ त नुन पनि हुँदैन, अनि खाली भात निस्तै खानुपर्छ । तर त्यसैलाई भाग्य ठानेर बाँच्दै आएको छु । भोकै सुत्नुपरेका रातहरू कति छन्, म गन्नै सक्दिनँ । कहिलेकाहीँ छिमेकीले ल्याइदिएको साग नै रातको खाना हुन्छ । रोटीसँग दाल नपरे पनि पेट पालिन्छ, तर बच्चाहरू भोकाएको देख्दा मन पोल्छ । 

चाडपर्वकै कुरा गर्दा अरूको घरमा रमाइलो हुन्छ, हाम्रो घरमा त जुन दिन पेटभरि खान पायौं त्यही दिन पर्व हो । आफूसँग अन्न उत्पादन गर्न जग्गा–जमिन छैन, सबै कुरा बजारबाटै किनेर खानुपर्छ । खानपिन र दैनिक खर्चमा वृद्धभत्ताले ठूलो सहायता गरेको छ । 

प्रस्तुति : तर्कराज भट्ट 

लालबहादुर नेपाली

Link copied successfully