अहिले त आरन व्यवसाय पनि हराउँदै गएको छ । यो पेसा हस्तान्तरण र पुस्तान्तरणको अभाव संकटमा देखिएको हो ।
गुल्मी — आरनमै काम गरेर जिन्दगी बित्यो । मेरा लागि फराकिलो संसार भनेकै यही गाउँ हो । जति परिश्रम गरे पनि बालीघरे प्रथाबाट माथि उठ्न सकिएन । केही उपती नलागेपछि गाउँको पेसा छाडेर गुजारा गर्न सदरमुकाम तम्घास आएँ । अहिले तम्घास देउरालीमा पनि आरन व्यवसाय गरिरहेको छु ।
अहिले ५८ वर्षको भएँ । मेरो घर मुसिकोट नगरपालिका–३ बडागाउँमा हो । पूर्खादेखिको आरन हाम्रो मुसिकोट मैदानमै थियो । मेरा पाँच छोरा र दुई छोरी छन् । सबै आ–आफ्ना कर्ममा लागिसकेका छन् । अहिले तम्घास खानीगाउँमा श्रीमती बसन्ती र म सानो आफ्नै घरमा बस्दै आएका छौं ।
गाउँमा बालीघरे रूपमा आरन व्यवसाय गरेर कहिल्यै प्रगति हुन सकेन । घरखर्च पनि धेरै अप्ठ्यारोसँग चल्यो । वर्षभरि फलाम पिटेर अन्नपात पाउँदा ६ महिना पनि खाना नपुग्ने अवस्था थियो । त्यसैले म बुढेसकालमा भए पनि बालीघरे प्रथा अन्त्य गर्ने आँट गरे । गाउँमा त्यति धेरै सम्भव भएन । अनि म तम्घास आएँ । ढिलै भए पनि अन्नपातबाट ज्यालामा रूपान्तरण गर्न सकेको छु । यो रूपान्तरणपछि कमाइ हुन थालेको हो । होइन भने कमाइ थिएन, काम मात्रै थियो । मैले पाएको अन्नपातले गुजारा चल्ने भए त ठिकै भन्न हुन्थ्यो । तर, गुजारा नै नचलेपछि बालीघरे कामले के दिन सक्यो र !
तम्घास आएपछि बालीघरे प्रथा अन्त्य भयो । मैले मेरो पेसालाई आधुनिक बनाउन सकेको छु । अर्डरअनुसार सबै फलामका हतियार बनाउने गर्छु । हँसियामा धार लगाएको ५० रुपैयाँका दरले लिन्छु । नयाँ पनि बेच्ने गरेको छु । चार सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्ममा हँसिया बेच्छु । अहिले म देउराली चोकमा मासिक भाडा १४ सय रुपैयाँ तिर्दै आएको छु । बिहानैदेखि साँझसम्म काम गर्छु । चोकमा भएकाले यताउताबाट राम्रै काम आउने गरेको छ । फलाम पिट्न सघाउन एक जना सहयोगी पनि मसँगै छन् ।
औसतमा दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । जिन्दगीभर गरेको पेसामा बालीघरे हुँदा सधैं घाटा भयो । तर यसमा ठिक छ । प्रविधिको सहयोग आवश्यक छ । तर कतैबाट सहयोग भएन । सहयोगको अपेक्षामा वर्षौं बिते । सबैलाई काम लाग्ने भए पनि कसैले वास्ता गर्दैनन् । आगोको रापसँग बसेर यतिधेरै वर्ष बिते । आगोमा जति खटेको छु, त्यति धेरै मनमा पिर लिएर खटेको छु ।
मलाई अहिले आधुनिक किसिमका आरनका सामग्री आवश्यक छ । तर कसैले वास्ता नगरेपछि निराश मात्रै छु । अनुदानमा भए पनि सहयोग हुन्थ्यो । मैले ठूलो व्यवसाय गरेको होइन नि ! खाना मात्रै पुगेको छ । अरु केही काम लागेको छैन ।
अहिले त आरन व्यवसाय पनि हराउँदै गएको छ । यो पेसा हस्तान्तरण र पुस्तान्तरणको अभाव संकटमा देखिएको हो । हामीले जस्तो पुरानै तबरबाट नगरे पनि आधुनिक तरिकाले पछिल्लो पुस्ताले गर्नुपर्ने हो । तर यसमा आकर्षण नै छैन । पछिल्लो पुस्ता यस्तो पेसामा लाग्दैन । परम्परागत रूपमा गर्ने हो भने त ज्यादै दुःख छ । कमाइ छैन । तर, यसलाई कम्तीमा पनि सामान्य भए पनि आधुनिक बनाउन सक्ने हो भने यो पेसा राम्रै छ ।
आरन व्यवसायलाई चाहिने मुख्य कुरा कोइला हो । अहिले कोइला बनाउन निकै कष्ट छ । सामुदायिक वनमा जान मिल्दैन । अहिले गाउँगाउँबाट कोइला किन्ने गरेको छु । एकदमै अप्ठ्यारो छ । सबैलाई सुविधा छ । तर हामीलाई कसैले केही सहयोग गरेका छैनन् ।
कोइलाका लागि समस्या झन् पछि झन् बढ्दै गएको छ । यो समस्या समाधान हुनपर्छ । कम्तीमा पनि कोइलाका लागि मात्रै भए पनि हामीलाई छुट दिइयो भने सजिलो हुने थियो । तर, हाम्रो पेसामा कसैलाई ध्यान छैन । आफ्नो काम भए भइहाल्यो ।
आरन व्यवसायमा कोइला र आधुनिक प्रविधि भए पुग्छ । अरु त्यस्तो कुनै ठूलो अपेक्षा छैन । खानामा र लगाउनमा आधुनिकता चाहिँदैन । सामान्य दाल, भात र तरकारी भए खाना पुग्छ । सामान्य लुगाफाटा भए लगाउन भइहाल्छ । यसैमा सन्तुष्ट छु ।
ढिलै भए पनि बालीघरे आरन व्यवसायलाई आधुनिकताका साथ व्यावसायिक बनाउन सकेको छु । यसैमा निकै आनन्द आउँछ । अरु त्यस्तो कुनै पछुतो छैन । तर, सुधारिएका आधुनिक आरन र कोइलाको भनेको सहयोगको अपेक्षा छ । यति भएमा सजिलोसँग आफ्नो पेसा गर्न सकिन्छ भन्ने लाग्छ ।
प्रस्तुति : सन्तोष महतारा
