‘अम्बा बेचेर नुनतेल किन्छु, अघिपछि मेलापात गरेर हातमुख जोड्छौं’

'जीवनमा त्यस्तो ठूलो अपेक्षा केही छैन । नुनतेल किन्न सक्ने हो भने भइहाल्यो । खानामा भातसँग दाल या तरकारीमध्ये एक भए भइहाल्छ । तरकारी र दाल दुवै चाहिँदैन । लुगाफाटामा त केही रंग नै छैन । नाङ्गो नभए भइहाल्यो ।'

कार्तिक ११, २०८२

अनिल कुमाल

”I sell mangoes and buy salt oil, and we join hands by holding fairs and festivals.”

What you should know

गुल्मी — मेरा घर इस्मा गाउँपालिका–६ अम्मरपुर हो । म अहिले २६ वर्षको भएँ । घरमा आमा धनकुमारी कुमाल र म मात्रै बस्छौं । बुबा अर्घाखाँचीमा अरुको घरमा खेतीपाती गरेर आफ्नो घरखर्च चलाउनुहुन्छ । मैले म र आमालाई खर्च पुर्‍याउनु पर्छ ।

मैले राम्रोसँग पढ्न पाइनँ । गरिब परिवारमा जन्मिएपछि कक्षा ८ सम्म मात्रै मेरो पढाइ भयो । अहिले बेलाउती (अम्बा) को समय छ । हाम्रो गाउँघरमा अम्बा टन्न फल्छ । म यही बेचेर नुनतेल किन्छु ।

अघिपछि आमाछोराले मेलापात गरेर घरखर्च चलाउँछौं । अहिले अम्बा बेचेर दैनिक २ सयदेखि ३ सय रुपैयाँसम्म कमाउँछु । यो सबै फाइदा नै हो । किनभने, अम्बा किनेर ल्याउनु पर्दैन । घरवरिपरिकै बारीबाट टिपेर ल्याउने हो । यही रकमले मैले घरको नुनतेलको जोहो गरिरहेको छु । 

घरायसी काम पनि गर्छु । एउटा गाई र दुइटा बाख्रा पालेका छौं । यिनैलाई घाँसपात गरेर दिन बित्छ । घरखर्च चलाउन म र आमा दुवै मेलापात जान्छौं । मेलापातमा मैले अरुले जस्तो ज्याला पाउँदिनँ । सानोमा लडेर ढाडमा चोट लागेको थियो । त्यसपछि अपांगजस्तै छु । काम अरुले जस्तो गर्न सक्दिनँ । दैनिक ३ सय रुपैयाँ ज्याला पाउँछु । सधैं त काम हुँदैन । गाउँमा कहिलेकाहीँ मेलापातको काम हुन्छ । त्यतिबेला मात्रै काम गर्ने हो । 

आमाले पनि मेलापातको काम गर्नुहुन्छ । मेलापात र अम्बा बेचेर सानोतिनो भए पनि आम्दानी हुने गरेको छ । यसैमा सन्तुष्ट छु । गाउँमै काम पाउने सिजनमा हामीलाई खोज्छन् । अनि दैनिक ज्यालादारीमा काम दिन्छन् । धेरै काम चल्दा अलिकति भए पनि पैसा जम्मा हुन्छ । त्यही मेलापात गरेर बचेको पैसा जम्मा गरेरै स्मार्ट फोन किनेको छु । अरुले फेसबुक चलाउँछन् भन्ने सुनेर फोन किनेको हुँ । अब मैले पनि फेसबुक खोल्छु । फेसबुक चलाएर रमाइलो गर्न मन छ । फेसबुकमा अरुले रमाइलो हुन्छ भनेको सुनेको छु । 

जीवनमा त्यस्तो ठूलो अपेक्षा केही छैन । नुनतेल किन्न सक्ने हो भने भइहाल्यो । खानामा भातसँग दाल या तरकारीमध्ये एक भए भइहाल्छ । तरकारी र दाल दुवै चाहिँदैन । लुगाफाटामा त केही रंग नै छैन । नाङ्गो नभए भइहाल्यो । अरुको देखासिकी पनि गर्दिनँ । आमाछोरा नै सामान्य कपडा लगाउँछौं ।

म र आमाको पालनपोषणको जिम्मेवारी त बुबाको हो । तर बुबा नामका लागि हुनुहुन्छ । हामीलाई हेर्नुहुन्न । हुनुहुन्न भन्नका लागि बुबा हुनुहुन्छ तर हाम्रो जिन्दगीमा हुनुहुन्न । हामीलाई केही सहयोग छैन । बस्, आफ्नो ज्यान पाल्नुभएको छ । आमा र मैले सुखदुःख गरेर हातमुख जोडेका छौं । मेलापात गरेपछि घरखर्च चल्छ । दसैं र तिहारको समयमा अम्बा बेचेर नुनतेल किन्न पुग्छ । यसैमा सन्तुष्ट छु । 

म अहिले यहीँ सडकमा अम्बा बेच्न बस्छु । यताउता हिँड्ने रोकिन्छन् । अम्बा किनिदिँदा पनि मलाई खुसी लाग्छ ।अम्बाको सानो पोका ५० रुपैयाँ र ठूलो पोका १ सय रुपैयाँमा बिक्री गर्छु । पैसा जम्मा भएपछि घरमा नुन र तेलको समस्या हुँदैन । यसैमा आनन्द लाग्छ ।

पढ्न नपाए पनि अशक्त नभएको भए म अरूजस्तै विदेश गएर पैसा कमाउँथेँ । तर म सानोमा बाटोमा लडेर घाइते भएँ । ढाडमा चोट लाग्यो । अनि सञ्चो त भयो । तर पहिलेजस्तो गरेर हिँडडुल गर्न सक्दिनँ । अनि ढाडको सधैंको समस्या भयो । अहिले केही काम गर्न सक्दिनँ । ढाड दुखिहाल्छ । त्यसैले मेलापातमा सकेको काम र यसरी अम्बा बेचेर आफ्नो घरखर्च चलाउँछु ।

प्रस्तुति : सन्तोष महतारा

अनिल

Link copied successfully