सुरुमा त राम्रो कमाइ होला भन्ने पनि लाग्या थिएन । पछिपछि ठीकठीकै हुन थालेपछि यसैलाई मैले जीवन धान्ने काम बनाएको हुँ । अब जतिबेलासम्म सक्छु, त्यतिन्जेल यही काम गर्छु । यसैमा म रमाएको छु ।
What you should know
धनगढी — ठ्याक्कै ३० वर्ष भयो गाउँघर डुलेर साइकलमा माछा बेच्न थालेको । अहिले म ४७ वर्षको भएँ । ०५२ सालमा १७ वर्षकै उमेरबाट यसैगरी साइकल कुदाएर धनगढी लगायत विभिन्न ठाउँका घर–घरमा माछा बेच्न सुरु गरेको हुँ ।
उहिले उहिले धनगढीमा अहिलेजस्तो घना बस्ती थिएन, त्यसबेला सस्तो थियो तर पनि कम मूल्यमा बिक्री हुन्थ्यो । अहिले त जाडो सिजनमा हरेक दिन २५ देखि ३० किलो र गर्मीमा १० किलोजति माछा बेच्छु ।
मेरो घर कैलारी गाउँपालिकाको समरचौरामा छ । घरबाट धनगढी पुग्न साइकलमा कम्तीमा दुई घण्टा लाग्छ । हरेक दिन करिब सात–आठ घण्टा साइकलको पाइडल घुमाएर गाउँगाउँ–घरघर डुल्छु । दैनिक सात–आठ घण्टा साइकल चलाउँदा सुरुसुरुमा त शरीर पनि खुबै गल्थ्यो । अहिले त जति चलाए पनि खासै थकान हुँदैन । गर्मी सिजनमा भने सास्ती हुन्छ ।
यो मेरो तेस्रो साइकल हो । पछाडि डब्बा राखेर यही साइकलको पाइडल घुमाउन थालेको पनि १० वर्ष भइसक्यो । अब त पुरानो भयो । बेलाबेला बिग्रिरहन्छ । अब बदल्ने बेला भयो ।
हाम्रो गाउँपालिकाका विभिन्न ठाउँमा ठूलठूला माछा पोखरी छन् । मैले प्रायःजसो कोइलही तालबाट माछा किनेर ल्याउँछु । बढीजसो रहु र कमनकार्प जातका माछा बिक्री गर्छु । सिल्भर, बैखाजातको माछा खोज्नेहरू पनि हुन्छन् । माछा किन्नेलाई मैले तौलेर काटकुट गरेर दिने गरेको छु । आन्द्राभुँडी घरमै लैजान्छु । घरमा एउटा बंगुर पालेको छु, आन्द्राभुँडी उसैलाई दिन्छु । बंगुरलाई पनि टन्न पोषिलो आहार हुन्छ । मैले बजारभन्दा केही सस्तो मूल्यमा, त्यो पनि ताजा माछा दिएपछि माछा मन पराउनेहरू अक्सर मैसँग किन्छन् । कतिपयले त अघिल्लै दिन फोन गरेर पनि अर्डर गर्छन् ।
ख्यालख्यालमै माछा बिक्री गर्ने काम सुरु गरेको हुँ । पढाइलेखाइ खासै गर्न सकिएन । थारु समुदायमा त्यसबेला अहिलेजस्तो व्यापार व्यवसाय गर्नेहरू पनि कमै हुन्थे । चलन नै थिएन भन्दा पनि हुन्छ । प्रायःजसोले गर्ने भनेको खेती किसानी नै हो । तर हाम्रो गाउँतिर प्रशस्तै माछा उत्पादन हुने भएकाले मेरो मनमा भने साइकलमा ठाउँठाउँ लिएर माछा बिक्री गर्ने सोच आयो । सुरुमा त राम्रो कमाइ होला भन्ने पनि लाग्या थिएन । पछिपछि ठीकठीकै हुन थालेपछि यसैलाई मैले जीवन धान्ने काम बनाएको हुँ । अब जतिबेलासम्म सक्छु, त्यतिन्जेल यही काम गर्छु । यसैमा म रमाएको छु ।
मेरा ग्राहक लगभग फिक्स छन् । जाडो सिजनमा त हरेक परिवारले हप्ताको एक दिन माछा किन्छन् । जाडोका बेला माछाले शरीरलाई धेरै फाइदा हुन्छ भन्छन् । माछामा भिटामिन पनि धेरै पाइन्छ रे ! माछाले मुटुलाई पनि राम्रो गर्छ भन्छन् । त्यस्तै, दमका बिरामीका लागि, आँखाका लागि माछा खुबै राम्रो भन्छन् । तालमा खरिद गर्दा कमनकार्प र रहुको प्रतिकिलो तीन सय पर्छ । मैले धनगढीमा ल्याएर प्रतिकिलो चार सय रुपैयाँमा बेच्छु । धेरै माछा बिक्री भएको दिन राम्रै नाफा हुन्छ । तर, कतिपयले उधारो मागेर पनि हैरान गर्छन्, तर पछि दिन मान्दैनन् । कतिपयले आधा पैसा मात्र दिन्छन् । माछा बिक्री गरेर साहुलाई पैसा बुझाउने गरेको छु ।
कैलारी गाउँपालिकालाई माछाको राजधानी भने पनि हुन्छ । हाम्रो गाउँपालिकामा डेढ दर्जनभन्दा बढी ठूलठूला ताल छन् । गाउँपालिकाको अधिकार क्षेत्रका तालहरू गाउँपालिकाले ठेक्का लगाएको छ । कुनै कुनै वर्ष माछाको मूल्य केही सस्तो पनि हुन्छ । कुनै वर्ष त भाउ निकै बढ्छ । सधैं माछाको उत्पादन एकै प्रकारको हुँदैन । कुनै वर्ष त मर्छन् । कम उत्पादन भएका वर्ष मूल्य पनि बढ्छ । घरमा अविरल र सुनिल दुई छोरासहित चार जनाको परिवार छ । आमाबाबु छुट्टिएर बसेका छन् । मैले माछा बिक्रीबाट राम्रै कमाइ गरेको छु । मिहिनेतको कमाइ हो, धेरै बिक्री भएको दिन त निकै खुसी लाग्छ । छोराहरूको पढाइ, घरखर्च यही माछाको बिक्रीबाट जुटाउँछु ।
प्रस्तुति : अर्जुन शाह
