‘नास्ता र चटपटे बनाउनै भ्याइ नभ्याइ भएकाले स्वदेशमै खुसी छु’

भारतको जागिर छाडेर गाउँमै नास्ता र चटपटे पसल सञ्चालन गर्दा नाफा बढ्यो, परिवारसँग खुसीसाथ बस्न पाउँदा जीवनमा नयाँ उत्साह आएको छ।

आश्विन २८, २०८२

मनोज साह

”I'm happy in my country because I don't have to make snacks and hot cakes”

What you should know

राजविराज — अभावले पिरोल्न थालेपछि सुरुमा त विदेश जान्छु नै भनेर कस्सिएको थिएँ । तर, मनले मानेन । बालबच्चासित टाढिएर बस्ने हिम्मतै भएन । तैपनि, परिवार त चलाउनु थियो । बालबच्चालाई राम्रो स्कुलमा पढाउनका लागि चाहिने खर्चले पनि चिन्ता बढाइरहेको थियो । यस्तो बेला कसको पो मुख ताक्नु भनेर आफैंले आठ वर्षअघि सानै भए पनि नास्ता र चटपटे पसल सुरु गरेँ ।

त्यही पसल अहिले परिवार चलाउने र बालबच्चालाई पढाउने आधार बनेको छ । अहिले म ३५ वर्षको भएँ । खडक नगरपालिका–२ सिस्वा वेल्ही टोलमा घर छ । हुन त म १४ वर्षको उमेरमै मजदुरी गर्न भारतको नयाँ दिल्ली पुगेको थिएँ । त्यहाँ १३ वर्षसम्म एउटा कम्पनीमा काम गरेँ । 

भारतीय कम्पनीमा ‘सेफ’ भएर काम गरिरहँदा श्रीमतीलाई पनि साथै राखेको थिएँ । त्यहाँ मेरो ‘अन्डर’मा चार जना काम गर्नु हुन्थ्यो । त्यही अवधिमा ठूलो छोरा जन्मियो । कमाउनका लागि जहाँ गए पनि एक न एक दिन घर त फर्किनैपर्छ । लामो समयको बसाइपछि म पनि फर्किएँ । गाउँमै केही गर्छु भन्ने सोचेरै फर्किएको थिएँ । तर, यहाँ वातावरण नै थिएन ।

त्यसबेला गाउँका अधिकांश युवा खाडी लगायतका देश गइरहेका थिए । सबैलाई विदेश गइरहेको देख्दा मलाई पनि विदेश नै गइहालौं कि भनेर सोच पलाइसकेको थियो । तर, छोरा र श्रीमतीको अनुहार हेरेर हिम्मतै गर्न सकिनँ । श्रीमतीले पनि नजानु नै भनिन् ।

त्यसपछि फेरि विचार गर्न बाध्य भएँ । अनि विदेश नजाने निधो गरेँ । तर, आफ्नै गाउँठाउँमा बस्ने भएपछि के गर्ने भन्ने विषयमा द्विविधा अझै थियो नै । आफूसँग खाना बनाउने बाहेकका सीप पनि थिएन । साउथ इन्डियन र चाइनिज खाना मिठो पकाउन आउँछ । त्यसैले पनि होटल खोल्ने सोच पनि आएकै हो । तर, बढी लगानी गरेर होटल खोल्छु र चलेन भने समस्या थपिने खतरा देखेँ अनि नास्ता र चटपटे पसल खोल्ने सोच आयो ।

अरुले के भन्छन् भन्ने सोचेर द्विविधा भइरहेकै थियो । सोचविचार गर्दै दिन बित्दै थियो । आफ्नै व्यवसाय गर्न किन लाज मान्नु र भन्ने पनि मनमनै चलिरहन्थ्यो । फेरि व्यवसाय भनेको त सानो/ठूलो नै हुँदैन । यी सबै कुरा मनमा खेलाएपछि पसल थाप्छु भन्ने निधो गरेँ ।

भीडभाड हुने स्थानको खोजी सुरु गरेँ । अन्ततः बलान बिहुल गाउँपालिका–१ चन्ही चोकमा चौबाटोमै सडकको पश्चिमतर्फ सटर पाएँ । सटरकै अगाडि नास्ता र चटपटेको ‘स्टल’ राखेर व्यवसाय सुरु गरेँ । बिहान ८ बजेदेखि नै पसल खोल्छु । त्यसपछि त बिहानैदेखि ग्राहकको लाइन नै लाग्न थाल्यो । सोचेको भन्दा बढी नै ग्राहकको भीडभाड हुन थाल्यो । मलाई त नास्ता र चटपटे बनाउनै भ्याइ नभ्याइ हुन थाल्यो ।

अहिले पनि दिनभरि उभिएर काम गर्दा पनि खुसी छु । बस्ने फुर्सद नै पाउँदिनँ । साँझ ७ बजे मात्रै पसल बन्द हुन्छ । ताजा र मिठो नास्ता र चटपटे खुवाउँदा साँझैसम्म ग्राहकको भीड रहन्छ । नास्ता ४० रुपैयाँमा दिन्छु । त्यसमा एउटा १० रुपैयाँवाला आलु चप र दुईवटा १० रुपैयाँकै पकौडी राख्छु । चटपटे चाहिँ न्यूनतम २० रुपैयाँमा दिन्छु ।

नास्ता र चटपटेका लागि आवश्यक पर्ने खाने तेल, मसला, मुरही, प्याज, आलु र चना सबै सरसमान किनेरै ल्याउँछु । सटरको भाडा पनि मासिक ४ हजार रुपैयाँ तिर्छु । त्यसमा बिजुलीको थप तिर्नुपर्छ । दिनभर ४ देखि ५ हजारसम्मको नास्ता र चटपटे बिक्री हुन्छ । त्यसमा नाफाको कुरा गर्नुहुन्छ भने सबै खर्च काटेर हजारदेखि १२ सयसम्म भइहाल्छ । 

अब आफ्नो कमाइमा सन्तुष्ट हुने कुरा न हो ! म पूरै सन्तुष्ट छु । किनकि, घर चलाउनेदेखि दुई जना छोरालाई बोर्डिङ स्कुलमा पढाउन पाएको छु । ८ वर्षका मनमोल ३ र कान्छो छोरा आदित्य २ कक्षामा पढिरहेका छन् । त्यही आम्दानीबाट दुई/चार पैसा उनीहरूको भविष्य र औषधि उपचारका लागि पनि जोगाउँछु ।

यहाँबाट घर पनि खासै टाढा छैन । तर, दिल्लीमा कमाएको थोरै पैसा र यही पसलले जोडेको पैसाबाट यही पालिकामा जग्गा पनि किनेँ । त्यसमा अहिले ५ कोठाको पक्की घर बनाएको छु । आफ्नै गाउँठाउँमा गरेर खाने चाहना हुनेलाई खासै समस्या छैन भन्ने मैले महसुस गरेको छु । अर्काको देशमा गएर दुःख गर्नुभन्दा पनि आफैं मालिक भएर व्यवसाय गर्दै घर–परिवारसँग बस्न पाउँदा आनन्द छ ।

प्रस्तुति : विद्यानन्द राम

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पढ्नुहोस्

मनोज

Link copied successfully