‘मजदुरी गरेरै एक छोरीलाई नर्स र अर्कीलाई एचए पढाउँदैछु’

श्रीमान् सम्पर्कविहीन र आर्थिक संकटबीच पनि छोरीहरूको उज्ज्वल भविष्यका लागि अछामकी आमाले हिम्मत नछोडी निरन्तर संघर्ष गरिरहेकी छिन् ।

आश्विन २७, २०८२

प्रेमकला बजगाईं

”I am teaching one daughter to be a nurse and the other to be a nurse by working as a salary”

What you should know

अछाम — त्यसबेला पहिलोपटक महिनावारी नहुँदै कन्यादान गर्ने चलन थियो । कमलबजार नगरपालिका–९, बजगाउँमा बिहे भएको हो । अहिले ४८ वर्षकी भएँ । १५ वर्षकै उमेरमा मेरो बिहे भयो । बिहेपछि घरमा जम्माजम्मी दुई वर्ष मात्रै बसेँ । त्यसपछि श्रीमान् र म भारतको महाराष्ट्रमा कामको खोजीमा गयौं ।

करिब २० वर्ष भारतका विभिन्न सहरमा कामको खोजीमै बित्यो । भारत गइसकेपछि श्रीमानको साथ पाइएन । मेरो श्रीमानले आफूले कमाएको पैसा मात्रै होइन, मैले कमाएको पैसा पनि आफैं लिने गर्थे । उतै बस्दा मेरा दुई छोरी जन्मिए । अहिले जेठी छोरी २१ वर्षकी भइन् । कान्छी छोरी १५ वर्षकी भइन् । 

छोरीहरूलाई नपढाए मैलेभन्दा बढी दुःख पाउँछन् भन्ने लाग्यो ।जसोतसो भारतमा काम गरेर छोरीलाई उतै पढाइरहेकी थिएँ । त्यसैबीचमा मेरो श्रीमान् परिवारको सम्पर्कबाट टाढा गए । धेरै खोजी गर्दा पनि कुन ठाउँमा, कुन अवस्थामा छन् भन्ने पत्ता लागेन । मदिरा सेवन गरेर दुःखै दिए पनि अर्काको देशमा श्रीमान् साथमा हुँदा काम गर्न सक्ने अवस्था थियो । श्रीमान् सम्पर्कविहीन भएको पाँच वर्ष भइसकेको थियो । नातागोता, आफन्त सबैको सहयोग लिएर खोजेँ । कतै नभेटिएपछि १० वर्षअगाडी दुई छोरी बोकेर अछाम फर्किएँ । 

दुई दशकअगाडि छोडेको घरमा बस्न सक्ने अवस्था थिएन । मेरो माइतीघर सदरमुकाम मंगलसेन हो । गाउँमा मजदुरीको काम गर्न पनि नपाइने, छोरीहरूलाई पढाउन पनि नसक्ने अवस्था भएपछि माइतीको भरोसामा मंगलसेनमा बस्ने र यतै मजदुरीको काम गरेर छोरीको लालनपालन र पढाइ पूरा गर्छु भनेर आएको अहिले १० वर्ष भइसक्यो । यही १० वर्षको बीचमा श्रीमान् सम्पर्कमा आए । केही समय अछाममा बसे, बाँकी समय भारतमै बिताए । श्रीमानबाट सहयोग पाइएन । एकातिर छोरी मात्रै भएको, छोरा नभएको भन्दै समाजले दिने पीडा र अर्कोतिर छोरीको भविष्यको चिन्ताले धेरै गाह्रो बनायो ।

छोरीहरूलाई नपढाए मैलेभन्दा बढी दुःख पाउँछन् भन्ने लाग्यो । मंगलसेनमा दाउरा बेचेर, मजदुरीको काम गरेर जेठी छोरीलाई स्टाफ नर्स पढाएँ । छोरीलाई नर्सिङ पढाउने निर्णय लिएका बेला दाउरा बेचेर, अरूकै काम गरेर जम्मा गरेको १ लाख ६० हजार रुपैयाँ मसँग थियो । त्यही पैसा दिएर आफन्तको सहयोगमा काठमाडौं पठाएँ । तीन वर्षमा सकिने पढाइ कोरोनाका कारणले पाँच वर्ष लाग्यो । छोरीलाई पढाउनका लागि दिनरात नभनी जता काम पाइन्छ, उतै दौडिएँ । छोरीलाई नर्सिङ पढाउँदा करिब १४ लाख रुपैयाँ लाग्यो । त्यसमध्ये ५ लाखजति ऋण नै छ । अरु पैसा मजदुरी काम गरेर जुटाएँ । अझै त्यो ऋण तिर्न सकेकी छैन ।

कान्छी छोरी पढाइमा राम्रो छिन् । उनलाई पनि राम्रो विषय पढाइदिए भविष्य सुखमय हुन्थ्यो भन्ने लाग्यो । यही वर्ष मंगलसेन बहुप्राविधिक शिक्षालयमा एचए (हेल्थ असिस्टेन्ट) मा पढ्न पाउने गरी नाम निस्केको छ । ऋण गरेर ६० हजार यो वर्षको लागि तिरिसकेकी छु । कान्छी छोरी पढाउने भरोसा सबै अरुकै काम गरेर हो । यही असार २० गतेसम्म ढुंगा बोक्ने, गिट्टी बोक्ने जस्ता काम पाइएको थियो । त्यसपछि तीन महिना भयो, कतै काम भेटिएको छैन । 

यसरी काम गर्दा दिनको ६ सय दिन्छन् । त्यही पैसा छारीलाई पढाउनका लागि जम्मा गर्छु । पहिले जंगलबाट दाउरा ल्याउन पाइन्थ्यो । एक भारी दाउरा बेचेको दुई सय दिन्थे । अहिले जंगलमा जान पाइँदैन । बन्द भयो । दाउरा बेच्न पनि छुट्यो । यता केही काम पाइएला जस्तो पनि छैन । यो हिउँदसम्म हेर्छु । यता केही काम पाइएन भने इन्डियामा गएर काम गरेरै भए पनि कान्छी छोरीलाई पनि पढाउँछु ।

अभावमाथि अभाव थपिँदै गएको छ । भारतमा भएका श्रीमान‍्लाई दुई महिनाअगाडि जिब्रोमा क्यान्सर देखिएछ । भारतमा उपचार पनि महँगो रहेछ । क्यान्सर भएको थाहा पाएपछि नेपाल बोलाएँ । आफन्तहरूसँग ऋण मागेर चितवनको बीपी कोइराला क्यान्सर अस्पतालमा लगेँ । त्यता पनि उपचारको क्रममा ५ लाखजस्तो खर्च भयो । पिठ्यूँको भारी र मजदुरी काम गरेर भए पनि मैले मागेको ऋण तिर्न सक्छु भन्ने विश्वासले नै आफन्तहरूले पत्याइरहेका छन् । 

मंगलसेनमा एउटा सानो घर छ । अहिले त्यहीँ बस्छौं । यो ठाउँमा जग्गा जमिन केही छैन । सबै किनेर खानुपर्छ । कहिलेकाहीँ त छाक टार्न पनि मुस्किल हुन्छ । अहिले जे जस्तो दुःख पाए पनि छोरीहरू पढ्दै छन्, मेरो पनि दिन फर्केला भन्ने आशामा बाँचिरहेकी छु ।

प्रस्तुति : मेनुका ढुंगाना

घरखर्च स्तम्भका प्रकाशित अन्य सामाग्रीहरु पढनुहोस 

प्रेमकला बजगाईं

Link copied successfully