‘खेतीपाती गर्न नपाएपछि झोले व्यापार सुरु गरेको हुँ’

मलाई छोराबुहारीप्रति कुनै गुनासो छैन । उनीहरू मलाई हिँड्न नसक्ने भए गाउँगाउँ गएर झोलामा व्यापार नगर, हामी गुजारा गरिहालौंला भन्छन् । मेरै मनले मान्दैन । प्रत्येक दिन बिहान हिँडेर गाउँगाउँ घुमेर साँझ घर फर्किन्छु । मेरा सबै प्रकारका ग्राहक छन् ।

आश्विन २५, २०८२

देवदत्त भट्ट 

”After not being able to do farming, I started a small business”

What you should know

बैतडी — परिश्रम नगरे अल्छी भइन्छ ! फेरि अल्छीले जिन्दगीमा प्रगति गर्न सक्दैन भन्छन् । त्यसैले म अल्छी बन्न चाहन्नँ । मेरो उमेरका धेरै साथीहरू घरमै बसेर परनिर्भर भएका छन् । हातखुट्टा चलुन्जेलसम्म झोला बोक्ने काम छोड्ने छैन । यही झोलाले घरखर्च चलाएर मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो ।

मेरो घर मेलौली नगरपालिका–६ हतरंगामा छ । म अहिले ७७ वर्षको भएँ । उमेरले मेरो काममा कुनै प्रभाव पारेको छैन । तर खुट्टाले मलाई उमेर सम्झाइरहन्छन् । पहिले मेरो पानी लाग्ने खेत थियो । म त्यही खेतमा तरकारी फलाउँथेँ ।

घरमा खपत नभएको तरकारी गाउँघरमा बेच्ने गर्थें । १२ वर्षअघि बाढीले मुद्रेस्यालतडी कुलो बगायो । बगाएको कुलो न हामी गाउँलेले बनाउन सक्यौं, न त स्थानीयदेखि केन्द्र र प्रदेश सरकारले पुनः निर्माण गर्न सके । त्यसपछि म तरकारी खेतीबाट मात्र होइन, आफ्नो ठाउँबाटै विस्थापित भएँ । 

खेतीपाती गर्न नपाएपछि केही नगरी घरमै बसिरहन मनले मानेन । त्यसपछि झोले व्यापार सुरु गरेको हुँ । म यो व्यापारलाई सेवा पनि सम्झिन्छु । मैले झोलामा दैनिक उपभोग्य सामान तेल, चिनी, चियापत्ती, मिठाइ, नम्किन, बिस्कुट, तरकारीका बिउबिजन र तरकारी, फलफूलका उम्रेका बोट सबैको घर आँगनमा पुर्‍याइदिने गरेको छु । यस बाहेक बाँकी उपभोक्ताहरूको अर्डर अनुसारका समान पनि ल्याउने गरेको छु । त्यसैले मैले यो पेसालाई सेवा पनि सम्झने गरेको छु । मैले यसबाट राम्रै घरखर्च चलाएको छु । 

ठूलो व्यापार गर्ने आफूसँग पुँजी छैन । घरमा मेरा छोराबुहारी, नातिनी, श्रीमती र १ सय ३ वर्षकी आमा छन् । छोरो भारतमा मजदुरी गर्छ । उसको मजदुरीले उनीहरूकै खर्च चल्छ । अनि बाँकी खर्च चलाउन मैले यो व्यापार गर्नैपर्छ । मलाई छोराबुहारीप्रति कुनै गुनासो छैन । उनीहरू मलाई हिँड्न नसक्ने भए गाउँगाउँ गएर झोलामा व्यापार नगर, हामी गुजारा गरिहालौंला भन्छन् । मेरै मनले मान्दैन । प्रत्येक दिन बिहान हिँडेर गाउँगाउँ घुमेर साँझ घर फर्किन्छु । मेरा सबै प्रकारका ग्राहक छन् ।

म उनीहरूको माग अनुसारको सामान पनि झोलामा बोकेर उनीहरूसँग बेच्ने गर्छु । मलाई बच्चाहरू सबैभन्दा बढी मन पराउँछन् । म उनीहरूका माग अनुसारका खेलौना पनि बेच्ने गर्छु । बच्चाहरू म आउने दिन बाटो हेरिरहन्छन् । म घामपानी नभनी हिँड्ने गर्छु । मेरो एकमात्र सहारा भनेको यही छाता हो । यसले मलाई घाम र पानी दुवैमा साथ दिन्छ । यो झोला व्यापारले मेरो प्रत्येक गाउँमा चिनाजानी भइसक्यो । चिनाजानी नै मेरो सम्पत्ति हो ।

अहिले त गाउँमा सडक पुगी सक्यो । मेरो पहिलेको जस्तो व्यापार छैन । म अहिले मेलौली बजारबाटै सामान किनेर ल्याउँछु । पहिले डडेल्धुराको बगरकोटबाट समेत सामान ल्याएर बेचेको छु । म यो सब पेटको लागि गरिरहेको छु । मैले यो झोला व्यापारबाटै र छोराको भारतको मजदुरीबाट बस्नलाई एक घर बनाएको छु । म आफ्नो गाउँ हतरंगाको घरघरमा मात्रै सामान बेच्दिनँ, अरु गाउँ देही, काँडा, गाउँकोट, बागोट, असुर, कोटीगाउँ र खलीगाडसम्म पुगेर पनि झोलामै सामान बोकेर बेच्ने गरेको छु । 

मसँग स्थायी पोलीहाउस छैन । स्थायी पोलीहाउस भएको भए म तरकारीका र फलफूलका बोट आफैं उमार्न सक्ने थिएँ । अहिले गाउँकै तुलसा कृषि तथा पोल्टी फोमबाट तरकारी र फलफूलका उम्रेका बोट किनेर ल्याएर बेच्ने गरेको छु । गत वर्ष १५ प्रतिशत नगद लगानी लगाए मुख्यमन्त्री कृषि योजनाबाट स्थायी पोलीहाउस दिँदै थिए । तर मैले १५ प्रतिशत नगद बुझाउन नसक्दा स्थायी पोलीहाउस पाइनँ ।

मसँग त्यति नगद नै थिएन । मेरै गाउँका एक जना वडा सचिव चिन्तामणी भट्टजीले अस्थायी पोलीहाउस निर्माणका लागि पोलिथिन किनेर दिए । अनि अहिले अस्थायी पोलीहाउस निर्माण गरेको छु । अहिले त्यसैमा फलफूल र तरकारीका बीउ उम्राइरहेको छु । 

गर्न सके आफ्नै घरवरिपरि पनि पैसा हुँदो रहेछ । विदेशको जस्तो महिनामा एकमुष्ट तलब नआए पनि दिनदिनैको जोडेपछि महिनाको तलब पुग्दो रहेछ । म दिनमा सामानको पैसा कटाएर दिनको ज्याला निकाली हाल्छु । गाउँघरतिर लाग्ने स्थानीय मेलापर्वमा पनि यही झोलामा सामान बोकेर बेच्ने गरेको छु । 

झोलामा २० किलोभन्दा बढी सामान बोकेर हिँड्छु । दुई दिनको जिन्दगी हो । मलाई लाग्छ– यसमा हामीले धेरै संघर्ष गर्नुपर्छ र आफ्नो लक्ष्यमा पुग्नु पर्छ । मेरो एकमात्र लक्ष्य हो– भाडामा नै भए पनि सानो पसल खोल्ने र बसेर व्यापार गर्ने । त्यससँगै स्थायी पोलीहाउस बनाएर घरवरिपरि तरकारी फलाउने ।

चल्न सकुन्जेल त झोलामा गाउँगाउँ गएर व्यापार गरौंला, हिँड्न नसक्ने भए बसी बसी व्यापार गर्न पसल नै चाहिने हो भनेर सोचेको छु । उमेरले डाँडा काट्न लाग्दा पनि मैले हिम्मत हारेको छैन ।

प्रस्तुति : मोहन चन्द

देवदत्त

Link copied successfully