शौचालयको छेउमा वडा कार्यालयले बनाइदिएको सानो टिनको छाप्रो छ । त्यहीँ म मिनरल वाटर, बिस्कुट, गुटका राखेर बेच्छु ।
What you should know
डडेलधुरा — स्याउले बजारमा मेरो बसोबास छ । स्याउले बजार सानै छ । तैपनि, यो सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने चौराह हो । यहाँ मेरो घर छैन । मेरो घर, संसार जे भने पनि बजारको सार्वजनिक शौचालयको ढोका र छेउको सानो टिनको छाप्रो हो । म यहीँ सीमित छु । स्याउले बजारको तराई रुटमा रहेको सार्वजनिक शौचालय सरसफाइ गरेर गुजारा चलाइरहेकी छु ।
पहिले म यो काम गर्थिनँ । दुई वर्षअघिसम्म शौचालयको हेरचाह मेरो छोराले गर्थ्यो । यहाँबाट खासै कमाइ नहुने भएपछि ऊ बाध्य भएर मजदुरी गर्न भारत गएको पनि एक वर्ष भयो । छोरा परदेशमा पसिना बगाइरहेको छ र म शौचालयको ढोका खोल्ने–बन्द गर्ने जिम्मेवारी सम्हालिरहेकी छु ।
श्रीमान् बितेको धेरै वर्ष भइसक्यो । उमेरमै, एक्कासि हामीलाई छाडेर संसारबाट बिदा हुनुभयो । त्यो दिनदेखि मेरो जीवन फिक्का भयो । १४ वर्षको उमेरमै बिहे भएको थियो । गरिबीले अचेट्दा साँझ–बिहान हातमुख जोड्न कहिले घाँस–दाउरा बोकें, कहिले मजदुरी गरेँ । त्यही अभावका बेला श्रीमान्को मृत्युले त्यो दुःख दोब्बर बनायो ।
अहिले म ७० वर्षकी भएँ । काम गर्ने शक्ति छैन, तर पेट त जसरी पनि पाल्नु पर्छ । यही शौचालयमै बसेर, कोही पिसाब–दिसा गर्न आएर दिएको पाँच–दस रुपैयाँ बटुल्दै दिन बित्छ । कसैले ‘बुढी आमालाई केही दिनुपर्छ’ भनेर पचास–सय रुपैयाँ थमाइदिएर जान्छन् । कहिले कसो दुई/तीन सय रुपैयाँ पनि हुन्छ । शौचालय सरसफाइ गर्ने जिम्मा पनि मेरो हो । कहिले वडाबाट त कहिले नजिकै रहेको ट्राफिक कार्यालयबाट सरसफाइका लागि सामान उपलब्ध गराइदिन्छन् । त्यसले केही राहत महसुस हुने गरेको छ ।
मालम गाउँमा मेरो घर छ । यहाँबाट पैदल स्याउली बजार पुग्न करिब एक घण्टा लाग्छ । राती सुत्न घरमै जान्छु । सबेरै आउँछु । बिहान घरमा रोटी र तरकारी पकाएर खान्छु । सधैं तरकारी हुँदैन । कहिले सिलौटोमा थिचेको मुलाको चटनी र रोटी खानुपर्छ । त्यो मुलाको गन्ध, हल्का नुन र खुर्सानी मिसिएको स्वाद मेरो बिहानको नास्ता हो । कहिलेकाहीँ भात खाएर १०/११ बजे पनि निस्किन्छु । बुढेसकालमा सधैं सञ्चो पनि कहाँ हुँदो रहेछ र !
साधारण पिठो, पानी र नुन मिसाएर रोटी बेलेर तावामा पकाउँछु । कहिलेकाहीँ त रोटी कडा हुन्छ, दाँतले टोक्न गाह्रो हुन्छ, तर म चुपचाप चपाउँछु । किनभने मलाई थाहा छ, यो खानेकुरा मैले आफ्नै पसिनाबाट जोडेको हो । दिउँसो म प्रायः बजारको चहलपहलमा हुन्छु । यस समयमा पेटभरि खान पाउनु मेरो कमाइमा निर्भर हुन्छ । कहिले नजिकैको होटलवालाले ‘बुढी आमाले त नास्ता खाएर जानुपर्छ’ भनेर बोलाउँछन् । कहिले ट्राफिक प्रहरीहरू, जो नजिकैको कार्यालयमा छन्, भात–दाल र तरकारी ल्याएर राखिदिन्छन् । यो खाना महँगो होटलको परिकार जस्तो त हुँदैन, तर माया र आदर मिसिएको हुँदा मलाई स्वर्गीय आनन्द लाग्छ ।
बेलुका फेरि रोटी र तरकारी खाना हुन्छ । कहिले बिहानको बाँकी तरकारी तातो पारेर, कहिले बजारबाट कसैले दिएको तरकारी पकाएर खान्छु । कहिलेकाहीँ त तरकारी नै छैन, केवल रोटी र नुनमै रात टार्छु । तरकारी स्याउले बजारमा रहेका तरकारी पसलवालाले कहिलेकाहीँ घर फर्कंदा ‘बुढी आमालाई’ भन्दै निःशुल्क तरकारी थमाइदिन्छन् । त्यस दिन मेरो मुहारमा मुस्कान फर्कन्छ । जब कमाइ धेरै हुन्छ, पेटभरि खान पाइन्छ । जब कमाइ थोरै हुन्छ, रोटी पातलो हुन्छ, तरकारी झन् पातलो । बजारमा पिसाब–दिसा गर्न आउनेको संख्याले नै मेरो खानाको थालीको आकार निर्धारण गर्छ । कहिलेकाहीँ दिनभरमा ४०–५० रुपैयाँ मात्र बटुलिन्छ । त्यस दिन बेलुकीको रोटी चपाउँदा, मलाई श्रीमानको याद आउँछ । उहाँ हुँदा कम्तीमा पेट भर्ने चिन्ता त थिएन ।
शौचालयको छेउमा वडा कार्यालयले बनाइदिएको सानो टिनको छाप्रो छ । त्यहीँ म मिनरल वाटर, बिस्कुट, गुटका राखेर बेच्छु । तर, यो छाप्रोले मलाई वर्षा र घामबाट जोगाउँछ । छिमेकी होटल र ट्राफिक कार्यालयका मानिसहरूले कहिले खाना, कहिले नास्ता ल्याइदिन्छन् । कहिलेकाहीँ पानीको ड्रम भर्न पनि मद्दत गर्छन् । यहाँ मलाई कुनै तलब दिइएको छैन । तर, वृद्धभत्ता पाइन्छ । त्यो रकम ठूलो होइन, तर लुगाफाटो र बिरामी हुँदा औषधिका लागि सहारा हुन्छ । वृद्धभत्ता बुझेका दिन बजारबाट तरकारी किनेर ल्याउँछु, त्यो दिनको खाना अरूभन्दा मीठो लाग्छ । मलाई रोटी र तरकारीमै सन्तोष छ ।
प्रस्तुतिः तर्कराज भट्ट
