पहिलो भेटमै सँगै बाँचौला-मरौँला भनेर कसम खाँदैं फकाउनु भयो । अनि त २०५२ सालमा तमोर तरेर हाङपाङमा उहाँका घरमा भित्रिएँ ।
सम्झेर ल्याउँदा त्यो जमाना नै रमाइलो लाग्छ । जोडाजोडी भएर हाटबजार गइन्थ्यो । कहिलेकसो इष्टमित्र र आफन्तकोमा पुगेर भलाकुसारी गरिथ्यो । साथीभाइसित मिठो–मसिनो खाँदै दु:ख–सुख साट्दामनका दर्द मेटिन्थे । अहिले त त्यसरी मनको बह पोख्ने कोही छैन । झन आफ्नो सहारा श्रीमान् नै गुमाएपछि त जिन्दगी अन्धकार हुनेरहेछ ।
२०७९ सालमा ५६ वर्षको उमेरमै श्रीमान् (सन्तमान) खसे । त्यसपछि म एक्लै छु । रित्तै छु । चार छोरी र दुई छोरा हुन् । अहिले कान्छी छोरी र छोरामात्रै साथमा छन् । सन्तानको माया धेरै भए पनि श्रीमान्को जस्तो साथ नहुँदो रहेछ । मेरा श्रीमान् रसिलो स्वभावका हुनुहन्थ्यो । उहाँसित भेट हुँदा २४ वर्षकी थिए । पहिलो भेटमै सँगै बाँचौँला–मरौँला भनेर कसम खाँदै फकाउनु भयो । अनि त २०५२ सालमा तमोर तरेर हाङपाङमा उहाँका घरमा भित्रिएँ । श्रीमान्को आफ्नै जग्गा जमिन थिएन । जोशिलो हुनुहुन्थ्यो । बिहेपछि उहाँले चँदाराको (खोलामा बसेर काठको भाँडा बनाउने) काम गर्न थाल्नु भयो । घरधन्दा, मेलापात गरेर छोराछोरी हुर्काउने मेरो जिम्मा भयो ।
केही समयपछि हाङपाङबाट मेरो माइती गाउँ आगेदिममा बसाइँ सरेर आयौं । सासू–सुसुरा वृद्ध भइसकेका थिए । छोराछोरी र वृद्ध सासू-ससुराको हेरचाह राम्रोसित गर्यौं । छोराछोरी हुर्किए । चारजना छोराछोरीको बिहेदान गर्यौं । त्यहीबेला श्रीमान्लाई जण्डिसले भेट्यो । उहाँ थलिएपछि उपचारका लागि जिल्ला अस्पताल लग्यौं । जिल्ला अस्पतालले धरान लैजान भन्यो । निको भइहाल्छ कि भनेर घोपा क्याम्पसम्म पुर्यायौँ । तर बचाउन सकिएन । उपचारमा २ लाख खर्च भयो । उहाँ बितेपछि काजकिरिया गर्दा तीन लाख रिन पुग्यो ।
गरिबको जिन्दगीमा दिनभर काम गर्यो, बिहान–बेलुका खायो ठिक्क त हुन्छ नि । हाम्रो पनि त्यहीँ चाल भयो । गुजाराका लागि साहुको खेतमा अधियाँमा खेती गर्न थाल्यौं । गाउँकै तेजबहादुर लिम्बूले अधियाँ कमाउने सर्तमा दिएको त्यही जग्गामा अहिलेसम्म हाम्रो बास छ । त्यही जग्गामा १२ वर्षअघि घर बनायौं । छोरा–छोरीको विवाह धूमधाम गर्न धन थिएन । त्यसैले गच्छेअनुसार गरगहना बनाइदियौं ।
छोराछोरी पढाउँदा अलिअलि त्यसमा पनि खर्च भयो । अहिले कान्छो छोरो सडक निर्माणमा मजदुरी गर्छ । छोरी पनि गाउँमा मेलापातदेखि अर्मपर्म गर्छिन् । मौका मिलेका बेला मजदुरी गरेर २/४ पैसा कमाउँछिन । मैले खेतीपाती गरेकी छु । सागपात, तरकारी किनेर खानु नपरोस् भनेर बिहानदेखि बेलुकासम्म बारीमा खट्छु । सागसब्जी बिक्री गर्न जाउँ भने बजार टाढा छ । बजार जाँदा तरकारी बेचेको पैसाले टेम्पो भाडामात्र पुग्छ । अहिले त ट्याम्पोमा एकतर्फी भाडा नै १ सय ५० रुपैयाँ भन्छन् ।
बेला–बेला श्रीमान् भइदिएको भए राम्रै कमाइ हुन्थ्यो जस्तो लाग्छ । दु:ख बिसाउने मान्छे नहुँदा सार्है पीडा हुने रहेछ । खेती गरेर ६ महिनामात्र खान पुग्छ । बाँकी ६ महिना किनेरै खानुपर्छ । पाहुनापाछा आउँदा, आफू पाहुना लाग्न जाँदा धेरै खर्च हुन्छ । गाउँमा खाद्यान्न पाइँदैन । चामल, चिउरा, तेल, मरमसला सदरमुकाम फुङलिङबाट किनेर ल्याउनुपर्दा गाडीभाडामा थुप्रो खर्च लाग्छ । महिनामा ठ्याक्कै यति खर्च हुन्छ भनेर हिसाब राखेका छैनौँ । चाहिएको सामान छोराले छोरीले नै ल्याउँछन् ।
गाउँमा बसे पनि किनेर खानुपर्दा बढी नै खर्च हुन्छ । पहिला-पहिला गाउँमा ऐँचोपैँचो गरेर पनि पाइन्थ्यो । अहिले त त्यस्तो समय रहेन । सबैले आफ्नो दुनोमात्र सोझ्याउने हुन् । हामीजस्तो कम आय भएकालाई गरिखान कठिन छ । हिम्मत हार्नु त भएन । आफ्नो जग्गा नभएकाले कुन दिन साहुले छोड भन्ने हुन भन्ने चिन्ताले सार्है सताउँछ ।
प्रस्तुति : आनन्द गौतम
