'८२ वर्षको भएँ, केही न केही काम नगरी बस्ने बानी छैन'

बसेर खान कहिले पो पुग्यो र ? सानैदेखि दौडधुप गर्नुपर्‍यो । २०१८ सालमा खस्यौली (बुटवल) बजार पुगेर कोदोसित नुन साटेको सम्झना छ ।

वैशाख २३, २०८२

काशीराम शर्मा

'I am 82 years old, I am not used to sitting idle'

गुल्मी — घर त मेरो बाग्लुङको बडिगाड गाउँपालिका–७, भीमगिठे हो । गाउँमा रोजीरोटीलाई समस्या भएपछि तीन वर्षअघि श्रीमती तिताकुमारी र म तम्घास आएका हौँ । दाम कमाउन नसके पनि सन्तानका सुखी छौं । हाम्रा ६ छोरा र ३ छोरी छन् । यहाँ सदरमुकाममा साइला छोरा–बुहारीसँग बसिरहेका छौं ।

अहिले ८२ वर्षको भएँ । गाउँमा छँदा केही न केही काम नगरी बस्ने बानी थियो । यहाँ पनि खाली बस्न मन लागेन । पहिल्यैदेखि मसित नाम्लो बुन्ने सीप थियो । उता पनि सिस्नोका नाम्लो बुनेर बिक्री गरेर घरखर्च चलाउँदै छोराछोरी हुर्काएँ । नाम्लो बेचेर मात्र खर्च धानिन्थेन । त्यसैले मौसमअनुसारको घुम्ती व्यापार पनि गर्थें । कृषि कर्म त गाउँमा साझा पेसा नै भइहाल्यो । जीविकोपार्जनका लागि मैले पनि यही काम गरेको थिएँ ।  

बसेर खान कहिले पो पुग्यो र ? सानैदेखि दौडधूप गर्नुपर्‍यो । २०१८ सालमा खस्यौली (बुटवल) बजार पुगेर कोदोसित नुन साटेको सम्झना छ । एकपाथी कोदो बराबर त्यतिनै नुन आउँथ्यो । गाउँ फर्केर दोब्बर नाफा हुन्थ्यो । उताबाट बोकेर ल्याएको नुन गाउँमा कसैले माग्दा एक पाथी नुन बराबर २ पाथी कोदो लिन्थे । केही समय यसरी घरखर्चको जोहो गरेको थिएँ ।

उमेर बढ्दै गएपछि हातखुट्टा चल्न छाडे  । पहिले जस्तो श्रम गर्न सक्दिनँ । यति भएपछि बसेर समय पनि कटाइने, कमाइ पनि हुने नाम्लो बुन्ने सहज काम रोजे । नाम्लो बनाउन बजार डुलेर खेर गएका बोरा संकलन गरेर ल्याउँछु । अनि बोराबाट धागो निकालेर ५ दिनमा एउटा नाम्लो तयार गर्छु । नाम्लो तयार भएपछि बिक्री गर्न लैजान्छु । एउटाको २ सय ५० रुपैयाँ मूल्य तोकेको छु । कोही–कोही ग्राहकले मलाई देखेर एउटाको ३ सय पनि दिन्छन् ।

महिनामा मुश्किलले ६ वटा बुनेर बिक्री गर्दा १५ सयजति कमाइ हुन्छ । यत्तिले घरखर्च त चल्दैन । कहिलेकाहीँ बुढाबुढीलाई फलफूल किनेर खान भने पुगेको छ । वृद्धाभत्ताले घरखर्च चलेको छ । श्रीमान्–श्रीमतीको गरेर महिनामा ८ हजार भत्ता आउँछ । भत्ता मिल्थेन भने त बुढेसकाल बिताउन गार्‍हो हुनेरहेछ । सामान्य दाल, भात र तरकारी भए पुग्छ । बाहिरफेर डुलेर खाने उमेर पनि भएन । मिठाेमसिनो भान्छामा तयार गर्छौं । चामल, दाल, तरकारी र मरमसलामा महिनाको ८/१० हजार खर्च हुन्छ ।

अहिले त आधुनिक जमाना आयो । सबैको हातहातमा मोबाइल छन् । गेम हो कि के-के खेलेर टन्न पैसा कमाउँछन् भन्छन् । हाम्रो जमानामा त हातमा सीप नभए भोकै परिन्थ्यो । मसित नाम्लो बुन्ने सीप भयो । जति उमेर बढ्दै गयो, त्यति नै समस्या थपिँदै जाने रहेछन् । फेरि आधुनिक जमाना आयो । पहिले जस्तो नाम्लो पनि बिक्री हुँदैन । बुढेसकालमा नाम्लो बेच्न हिँडेको भनेपछि केही–केहीले खरिद गरिदिन्छन् । त्यसपछि आफ्नाे सीपले मूल्य पायो भनेर खुसी हुन्छु । बुढेसकालमा आफूले गरेको कर्ममा सन्तुष्ट हुन्छु ।    
        
प्रस्तुति : सन्तोष महतारा

काशीराम

Link copied successfully