'साँच्चिकै ऋणमुक्त हुने दिने कहिले आउला ?'

महिनाको ३० हजार कमाउँछौं तर, त्यति रकम कहाँ बिलाउँछ पत्तै हुँदैन

वैशाख २२, २०८२

रमितादेवी कुर्मिन

'When will the day come when we will be truly debt free?'

पर्सा — जगरनाथपुर गाउँपालिका-४ मा हाम्रो पुर्ख्यौली बसोबास छ । गाउँमा जति दु:ख गरे पनि गुजारा मात्र चल्थ्यो । त्यसैले दुई वर्षअघि उज्यालो भविष्यको सपना देखेर बसाइँ सरेर पूरै परिवारै वीरगन्ज आयौं । अहिले वीरगन्ज–११, मा २ वटा कोठा भाडामा लिएर २ छोरी, १ छोरा र दम्पती गरी ५ जना सँगै बसेका छौं ।

अहिले ३८ वर्षकी भएँ । मेरो बिहेबारी १८ वर्षकै उमेरमा भयो । जेठी छोरीको बिहे भइसक्यो । माइली छोरी हेटौंडामा रहेका आफन्तको घरमा बसेर पढिरहेकी छन् । साइँली विद्यालय जाँदिनन् । कान्छी छोरी सामुदायिक विद्यालयमा ४ कक्षामा पढ्छिन् ।

एउटा छोरा १६ वर्षको भयो । छारेरोगी भएकाले बेलाबेला समस्यामा पर्छ । तैपनि वीरगन्जकै एउटा मोटरसाइकल ग्यारेजमा काम गरिरहेको छ । नियमित काम गर्न सक्दैन । एक साता ग्यारेज गएर काम गरेपछि अर्को साता बिरामी भएर घरमै बस्छ । मेरा श्रीमान् एउटा कम्पनीका सवारी चालक हुनुहुन्छ । उहाँको कमाइले नधान्ने भएकाले म पनि वीरगन्जको चप्पल उद्योगमा काम गर्छु । श्रीमान्-श्रीमतीले काम गरेर महिनाको ३० हजार कमाउँछौं । तर, त्यति रकम कहाँ बिलाउँछ पत्तै हुँदैन । महिना नमर्दै पैसाको खाँचो भइहाल्छ ।  

दुईवटा कोठाको महिनाको ४ हजार ५ सय भाडा छ । एक महिनामा त्यही ४ हजारजतिको ४० किलो चामल चाहिन्छ । महिनाको ५ किलो दालमा ८ सय ४० रुपैया खर्च हुन्छ । एक सिलिन्डर ग्यासलाई मासिक २ हजार चाहिन्छ । तरकारी, तेल, मसला, हरियो तरकारीमा लमसम महिनाको ५/६ हजार खर्च हुन्छ । महिनामा १ देखि २ पटक कुखुराको मासु खान्छौं ।

गाउँमा भलुवाही नदी किनारमा डेढ कठ्ठा जग्गा र त्यसमै दुईकोठे घर छ । त्यहीँ घर बनाउन कोरोना महामारीअघि बैंकबाट २ लाख ५० हजार ऋण लिएकी थिएँ । त्यसमध्ये अहिलेसम्म ५० हजार रुपैयाँ मात्र तिर्न सकेकी छु ।

जेठी छोरीको विवाह गर्दा तीनवटा लघुवित्त बैंकबाट ६० हजार र बाँकी दुईवटाबाट १/१ लाख रुपैयाँ ऋण लिएकी थिएँ । २ लाख ६० हजार ऋणमध्ये अहिलेसम्म ५० हजार रुपैयाँ मात्र तिरेकी छु ।

'When will the day come when we will be truly debt free?'

गाउँमा कपाली तमसुक गरेर ६० हजार रुपैयाँ ऋण लिएकी थिएँ । त्यसमध्ये २० हजार मात्र चुक्ता भएको छ । ती साहुले मेराविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका छन् । गाउँकै एक महिलासित १ लाख सापटी लिएकी थिएँ । उनले ३ लाख ऋण लिएको भनेर कागज बनाएकी छिन् । सुरुमा लिएको १ लाख चुक्ता गरिसके पनि साहुनीले कागज फिर्ता दिएकी छैनन् ।

एकातिर ऋणको भारी छ । अर्कोतिर दिनरात नभनी गुजारा चलाउन काम गर्नुपरेको छ । कहिलेकाहीँ अलि धेरै पैसा चाहियो भने फेरि कर्जा नलिई सुखै छैन । गरिबको जुनी यस्तै हुने रहेछ । छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउँला भनेर सदरमुकाम आएपछि ऋणको भारीले थिचेर सपना सपनै हुने भो ।

यो जुनीमा सुखसँग बस्ने दिन आउला जस्तो लाग्दैन । अझै ४ सन्तानको जिम्मेवारी काँधमा छ । उनीहरुलाई हुर्काउने, बढाउने र बिहेबारी गरिदिने जिम्मेवारी पूरा गर्नै बाँकी छ । जिम्मेवारी पूरा गर्न पनि कर्जा थप्दै जानुपर्ने होला । सबै ऋण कर्जा चुक्ता गरेर फुक्का भएको दिनको कल्पना गर्छु । साँच्चिकै ऋण मुक्त हुने दिने कहिले आउला ?

प्रस्तुति : शंकर आचार्य

रमितादेवी

Link copied successfully