महिनाको ३० हजार कमाउँछौं तर, त्यति रकम कहाँ बिलाउँछ पत्तै हुँदैन
पर्सा — जगरनाथपुर गाउँपालिका-४ मा हाम्रो पुर्ख्यौली बसोबास छ । गाउँमा जति दु:ख गरे पनि गुजारा मात्र चल्थ्यो । त्यसैले दुई वर्षअघि उज्यालो भविष्यको सपना देखेर बसाइँ सरेर पूरै परिवारै वीरगन्ज आयौं । अहिले वीरगन्ज–११, मा २ वटा कोठा भाडामा लिएर २ छोरी, १ छोरा र दम्पती गरी ५ जना सँगै बसेका छौं ।
अहिले ३८ वर्षकी भएँ । मेरो बिहेबारी १८ वर्षकै उमेरमा भयो । जेठी छोरीको बिहे भइसक्यो । माइली छोरी हेटौंडामा रहेका आफन्तको घरमा बसेर पढिरहेकी छन् । साइँली विद्यालय जाँदिनन् । कान्छी छोरी सामुदायिक विद्यालयमा ४ कक्षामा पढ्छिन् ।
एउटा छोरा १६ वर्षको भयो । छारेरोगी भएकाले बेलाबेला समस्यामा पर्छ । तैपनि वीरगन्जकै एउटा मोटरसाइकल ग्यारेजमा काम गरिरहेको छ । नियमित काम गर्न सक्दैन । एक साता ग्यारेज गएर काम गरेपछि अर्को साता बिरामी भएर घरमै बस्छ । मेरा श्रीमान् एउटा कम्पनीका सवारी चालक हुनुहुन्छ । उहाँको कमाइले नधान्ने भएकाले म पनि वीरगन्जको चप्पल उद्योगमा काम गर्छु । श्रीमान्-श्रीमतीले काम गरेर महिनाको ३० हजार कमाउँछौं । तर, त्यति रकम कहाँ बिलाउँछ पत्तै हुँदैन । महिना नमर्दै पैसाको खाँचो भइहाल्छ ।
दुईवटा कोठाको महिनाको ४ हजार ५ सय भाडा छ । एक महिनामा त्यही ४ हजारजतिको ४० किलो चामल चाहिन्छ । महिनाको ५ किलो दालमा ८ सय ४० रुपैया खर्च हुन्छ । एक सिलिन्डर ग्यासलाई मासिक २ हजार चाहिन्छ । तरकारी, तेल, मसला, हरियो तरकारीमा लमसम महिनाको ५/६ हजार खर्च हुन्छ । महिनामा १ देखि २ पटक कुखुराको मासु खान्छौं ।
गाउँमा भलुवाही नदी किनारमा डेढ कठ्ठा जग्गा र त्यसमै दुईकोठे घर छ । त्यहीँ घर बनाउन कोरोना महामारीअघि बैंकबाट २ लाख ५० हजार ऋण लिएकी थिएँ । त्यसमध्ये अहिलेसम्म ५० हजार रुपैयाँ मात्र तिर्न सकेकी छु ।
जेठी छोरीको विवाह गर्दा तीनवटा लघुवित्त बैंकबाट ६० हजार र बाँकी दुईवटाबाट १/१ लाख रुपैयाँ ऋण लिएकी थिएँ । २ लाख ६० हजार ऋणमध्ये अहिलेसम्म ५० हजार रुपैयाँ मात्र तिरेकी छु ।
गाउँमा कपाली तमसुक गरेर ६० हजार रुपैयाँ ऋण लिएकी थिएँ । त्यसमध्ये २० हजार मात्र चुक्ता भएको छ । ती साहुले मेराविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका छन् । गाउँकै एक महिलासित १ लाख सापटी लिएकी थिएँ । उनले ३ लाख ऋण लिएको भनेर कागज बनाएकी छिन् । सुरुमा लिएको १ लाख चुक्ता गरिसके पनि साहुनीले कागज फिर्ता दिएकी छैनन् ।
एकातिर ऋणको भारी छ । अर्कोतिर दिनरात नभनी गुजारा चलाउन काम गर्नुपरेको छ । कहिलेकाहीँ अलि धेरै पैसा चाहियो भने फेरि कर्जा नलिई सुखै छैन । गरिबको जुनी यस्तै हुने रहेछ । छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउँला भनेर सदरमुकाम आएपछि ऋणको भारीले थिचेर सपना सपनै हुने भो ।
यो जुनीमा सुखसँग बस्ने दिन आउला जस्तो लाग्दैन । अझै ४ सन्तानको जिम्मेवारी काँधमा छ । उनीहरुलाई हुर्काउने, बढाउने र बिहेबारी गरिदिने जिम्मेवारी पूरा गर्नै बाँकी छ । जिम्मेवारी पूरा गर्न पनि कर्जा थप्दै जानुपर्ने होला । सबै ऋण कर्जा चुक्ता गरेर फुक्का भएको दिनको कल्पना गर्छु । साँच्चिकै ऋण मुक्त हुने दिने कहिले आउला ?
प्रस्तुति : शंकर आचार्य
