मुसाफिरजस्तै कामको खोजीमा डुलिहिँड्ने हो । जहाँ काम मिल्छ, त्यहीँ बास हुन्छ ।
कास्की — गरिखानेको ठेगान हुन्छ न ठेगाना । मुसाफिरजस्तै कामको खोजीमा डुलिहिँड्ने हो । जहाँ काम मिल्छ, त्यहीँ बास हुन्छ । काम खोज्दै रुपन्देहीको मायादेवी–२, बाट पोखरा आएको झन्डै २० वर्ष भयो । पुल र भवन निर्माणस्थलमा डन्डी (छड) मिस्त्रीको काम गर्छु । यसबाहेक मजदुर खोजी गरेर काम पनि मिलाउँछु ।
म ६० वर्षको भएँ । घरमा श्रीमती, दुई छोरा–बुहारी र नातिनतिना गरेर १० जना छौं । बुढेसकालमा नातिनातिना स्याहार्ने बेला पनि म डन्डीकै काम गरिरहेको छु । काम नगरी खान नपुग्ने भएपछि काम गर्नुको विकल्प पनि भएन ।
रुपन्देहीको मायादेवीमा धागो, बोरा प्लान्ट, स्टिल, प्लास्टिक, सिमेन्ट, पेपर बनाउने कारखाना छन् । त्यहीँको एक उद्योगमा मजदुरी गरिरहेको थिएँ । गाउँबाट एउटा साथी काम गर्न पोखरा आएको थियो । एक दिन साहुले मेरो साथीलाई कामदार चाहिएको छ, कोही भने ल्याइदेउ भनेछ । साथीलाई मलाई भन्यो- काम गर्ने पोखरा आइज ।
त्यही साथीको सम्पर्कबाट म पोखरा आएँ । लेकसाइडस्थित साहुको अफिसमा आएर काम गर्न थालेँ । सुरुमा पर्वतको फलेवासस्थित खोलामा पुल बनाउने काममा गएको सम्झना छ । त्यसपछि त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको हेम्जा, पामे, चोरसाँघु, म्याग्दी, पर्वतमा काम गरिसकेँ ।
कामकै सिलसिलामा अरु ठेकदारहरुसँग चिनजान भयो । आजकाल नयाँ काम आउनासाथ उनीहरुले खबर गर्छन् । बसेर खान पुग्ने भए त यति टाढा किन आउथेँ र ? परिवारसित रमाएर बस्थेँ नि । कष्टको काम भए पनि सबैले सम्मान गर्नुहुन्छ । हिसाब–किताब चित्त बुझाएर गर्नुभएको छ । केही फरक परेको छैन । जहाँ काम गर्छौं, त्यहीँ बस्ने भएकाले स्थायी ठेगान छैन । कहिलेकाहीँ साहुले नै कोठा खोजेर बसाउँछन् । यदि कोठा पाइएन भने निर्माणस्थलमा टिनको छाप्रा बनाएर बस्छौं ।
गाउँमा एक बिघा खेतमा हुने धान, गहुँ, तोरी खेतीले खान पुग्छ । अहिलेसम्म कुनै रोग नलागेकाले पनि सहज छ । साकाहारी भएकाले धुम्रपान, मद्यपान गर्दिनँ । तैपनि काम गरेरै परिवालाई खुवाउने/पियाउने चिन्ता छ । अहिले दुवै छोरा कमाउने भएका छन् । जेठो छोरा छुट्टिएर बसेको छ । कान्छो छोरा बेलाबेला मसँगै पुलको काम गर्न आइरहन्छ ।
मेरो घर जाने निधो हुँदैन । कहिले ३ त कहिले ६ महिनामा घर जान्छु । यहाँबाट ६/७ घण्टा बसमा यात्रा गरेर पुग्छु । यो जुनीमा घर बनाउँला भन्ने त सोचेकै थिइनँ । तर, भगवानको कृपाले पोखराकै एकजना साहुसित भेट भयो । नसिबले साथ दिएपछि बल्लतल्ल एउटा ४ कोठाको ढलान घर बनाउन सकेँ । अझैं प्लास्टर गरेको छैन । घर बनाउने बेला छड आफैंले बाँधे । बाँकी काम ठेकेदारले गर्यो । आफैले कमाएर छोराको बिहेबारी गर्न सकेँ । यसैमा परिवार खुसी छौं ।
सुरु–सुरुमा जमिनदारकहाँ हलो जोत्ने काम पनि गरेँ । त्यसबेला एक दिनको ज्याला ४० रुपैयाँ थियो । एक दिन काम गरेपछि दुई माना दरले धान–गहुँ दिन्थे । त्यसैले गुजारा चल्थ्यो । पोखरा आएपछि दिनकै ६ सय रुपैयाँ ज्याला थियो । अहिले मिस्त्रीलाई दिनको १२ सय दिन्छन् । खाना खाएर राम्रै कमाइ हुन्छ । मेरो मिहिनेतले परिवारलाई पुगेको छ ।
मलाई अहिले केही चिन्ता छैन । घर बनाउँदाको ऋण घटाएर डेढ लाख पुर्याएको छु । छोरालाई विदेश पठाउँदा र बिहे गराउँदा ३/४ लाख ऋण लिएको थिएँ । तिरनतारन गरेर सकेपछि घरमै आराम गरेर बस्छु । अब उमेरले पनि साथ दिँदैनजस्तो छ । बढीमा २/४ वर्षपछि काम गर्न सक्दिनँ होला । त्यही भएर कान्छो छोरालाई सीप सिकाएको छु । बुढेसकालमा उसैले पाल्छ कि !
प्रस्तुति : अनुप पौडेल
