तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावतीका पालामा गोपेटार बजारमा चीज फ्याक्ट्री खुलेपछि गाउँबाट दूध बिक्री हुन थालेको थियो
पाँचथर — हिलिहाङ गाउँपालिका–५, सुभाङबाट गाउँभरिका किसानले उत्पादन गरेको दूध बोकेर संकलन केन्द्र (डेरी) सम्म पुर्याउँछु । व्यावसायिक रुपमा दूध उत्पादन गरेर डेरीमा पुर्याउने चलन सुरु भएका बेला २०५० सालदेखि यही काम गरेर घरखर्च चलाइरहेको छु । दूध संकलनको काम थाल्नुका पछाडि पनि एउटा कारण छ ।
तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावतीका पालामा हाम्रै जिल्लाको गोपेटार बजारमा चीज फ्याक्ट्री खुल्यो । त्यही बेलादेखि गाउँघरबाट दूध बिक्री हुन थालेको हो । फ्याक्ट्री खुलेपछि दूध बोकेर मैले पनि गुजारा सुरु गरेँ । त्यतिबेला उमेर र बल दुवै थियो । दिनको ७० लिटर दूध बोकेर फ्याक्ट्री पुग्थेँ ।
तीन वर्ष पिठयुँमा दूध बोकेपछि फ्याक्ट्री बन्द हुँदा बेरोजगार भएँ । गाउँघरमा भौंतारिएर खान पुग्थेन । त्यसैले दुई/चार पैसा कमाउने सपना बोकेर गाउँका संगीसाथीसित भारतमा मजदुरी गर्न पुगेँ । तीनवर्ष भारतका विभिन्न सहर भौंतारिएर घर फर्किंदा त गाउँमा निजी लगानीमा डेरी पसल खुल्न थालेका रहेछन् । त्यो देखेपछि दूध ओसार्ने कामलाई पुनः निरन्तरता दिएँ ।
हरेक दिन बिहान सुभाङका किसानले उत्पादन गरेको दूध संकलन गरेर डेरीमा पुर्याउने दिनचर्या दोहोरियो । हिलिहाङका पूर्व गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले साबिक पञ्चमी–३ थुम्कीमा सञ्चालन गरेको डेरीमा ३ वर्ष, त्यही स्थानमा बखत लिङदेनले सञ्चालन गरेको अर्को डेरीमा थप ३ वर्ष दूध पुर्याएँ । त्यसपछि हिलिहाङ–६, चतुरेमा पञ्चमीकै योङयाङ दाइको डेरीमा ७ वर्ष र पञ्चमीको तीनपानेमा खुलेको डेरीमा ५ वर्ष बोकेर पुर्याएँ ।
सुभाङका महेश्वर भण्डारीले गाउँमै दूध डेरी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ । ६ वर्षदेखि भण्डारीकै डेरीमा दूध पुर्याउने गरेको छु । यसरी दूध ओसार्ने डेरी फेरिए । दूध जम्मा गर्ने थुप्रै ट्यांकी फाटे । तर, मेरो मन कहिल्यै फेरिएन । यति दु:ख गर्दा धेरथोर कमाएर खर्च पनि गरियो । काम सुरु गर्दा दूध बोकेको पारिश्रमिक प्रतिलिटर आठ आना (पचास पैसा) मिल्थ्यो । त्यसबेला ७० लिटर दूध बोक्दा दिनमा ३५ रुपैयाँका दरले महिनाको १ हजारजति कमाइ हुन्थ्यो ।
उतिबेला कमाइअनुसार खर्च थोरै हुन्थ्यो । महिनामा सरदर ५ सय रुपैयाँले घर खर्च चल्थ्यो । अहिले श्रीमान्–श्रीमती मिलेर दिनकै १ सय १० लिटर दूध डेरीमा लैजान्छौं । प्रतिलिटर ७ रुपैयाँका दरले ज्याला मिल्छ । महिना मरेका दिन त्यही २५ हजार हाराहारी हात पर्छ । डेरी र चीज कारखानामा दूध ओसारेको ३० वर्ष बितिसक्यो । दूध बोकेर जम्मा गरेको केही रकममा ऋणधन थपेर ९ रोपनी जग्गा किनेको छु । जग्गा किन्ने बेला साहुबाट सयकडा २ रुपैयाँका दरले ब्याज तिर्ने सर्तमा २ लाख ऋण लिएको थिए । अपुग ऋण गुराँस लघुवित्तबाट निकालेको छु । साहुलाई ब्याज तिर्न महिनामा ४ हजार र लघुवित्तका लागि १२ हजार चाहिन्छ ।
२ छोराछोरी १२ कक्षामा पढ्छन् । कापी, कलम र पोसाकमा ४ हजार खर्च हुन्छ । तरकारी किन्न पर्दैन । चामल, नुन, भुटन र मरमसलाका लागि महिनामा ५ हजार खर्च हुन्छ । श्रम गरेपछि मासु खान परिहाल्यो । खसी र लोकल कुखुरको मासु किन्दा प्रतिकिलो ७ सय पर्छ । ब्रोइलर कुखुरा र राँगाको ३ सय ५० रुपैयाँ किलोमा आउँछ । महिनामा पाँचपटक मासु खाँदा त तीन हजार रुपैयाँ खर्च भइहाल्छ । ब्याजसमेत गरेर महिनामा २८ देखि ३० हजार घरखर्च चाहिन्छ ।
के गर्ने ? बेलामा लेखपढ गर्न सकिएन । सरकारी जागिर खाएको भए बरु २० वर्षमा पेन्सन मिल्थ्यो होला । तैपनि जिन्दगीसँग गुनासो छैन । परिवारसँग हाँसीखुसी बस्न पाइएको छ । लिटोपिठो खुसीसाथ बाँडेर खान्छौं । धेरै सम्पत्ति जोड्न नसके पनि हातमुख जोर्न समस्या छैन । धेरै कमाउनेले पनि मरेर जाँदा एकसरो कात्रोबाहेक केही लगेको देखेको छुइनँ । त्यसैले बाँचुन्जेल सुखसँग बाँच्न पाइयोस् भन्ने लाग्छ । नमिठो बोलेर अहिलेसम्म कसैको मन दुखाएको छैन । बाँचुन्जेल सबैसँग राम्रो व्यवहार गर्ने संकल्प लिएको छु ।
प्रस्तुति : लक्ष्मी गौतम
