‘३० वर्षदेखि डेरीमा दूध ओसारेर गुजारा चलाइरहेको छु’

तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावतीका पालामा गोपेटार बजारमा चीज फ्याक्ट्री खुलेपछि गाउँबाट दूध बिक्री हुन थालेको थियो

वैशाख २०, २०८२

हरि श्रेष्ठ

”I have been making a living by carrying milk in the dairy for 30 years”

पाँचथर — हिलिहाङ गाउँपालिका–५, सुभाङबाट गाउँभरिका किसानले उत्पादन गरेको दूध बोकेर संकलन केन्द्र (डेरी) सम्म पुर्‍याउँछु । व्यावसायिक रुपमा दूध उत्पादन गरेर डेरीमा पुर्‍याउने चलन सुरु भएका बेला २०५० सालदेखि यही काम गरेर घरखर्च चलाइरहेको छु । दूध संकलनको काम थाल्नुका पछाडि पनि एउटा कारण छ । 

तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावतीका पालामा हाम्रै जिल्लाको गोपेटार बजारमा चीज फ्याक्ट्री खुल्यो । त्यही बेलादेखि गाउँघरबाट दूध बिक्री हुन थालेको हो । फ्याक्ट्री खुलेपछि दूध बोकेर मैले पनि गुजारा सुरु गरेँ । त्यतिबेला उमेर र बल दुवै थियो । दिनको ७० लिटर दूध बोकेर फ्याक्ट्री पुग्थेँ ।  

तीन वर्ष पिठयुँमा दूध बोकेपछि फ्याक्ट्री बन्द हुँदा बेरोजगार भएँ । गाउँघरमा भौंतारिएर खान पुग्थेन । त्यसैले दुई/चार पैसा कमाउने सपना बोकेर गाउँका संगीसाथीसित भारतमा मजदुरी गर्न पुगेँ । तीनवर्ष भारतका विभिन्न सहर भौंतारिएर घर फर्किंदा त गाउँमा निजी लगानीमा डेरी पसल खुल्न थालेका रहेछन् । त्यो देखेपछि दूध ओसार्ने कामलाई पुनः निरन्तरता दिएँ । 

हरेक दिन बिहान सुभाङका किसानले उत्पादन गरेको दूध संकलन गरेर डेरीमा पुर्‍याउने दिनचर्या दोहोरियो । हिलिहाङका पूर्व गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले साबिक पञ्चमी–३ थुम्कीमा सञ्चालन गरेको डेरीमा ३ वर्ष, त्यही स्थानमा बखत लिङदेनले सञ्चालन गरेको अर्को डेरीमा थप ३ वर्ष दूध पुर्‍याएँ । त्यसपछि हिलिहाङ–६, चतुरेमा पञ्चमीकै योङयाङ दाइको डेरीमा ७ वर्ष र पञ्चमीको तीनपानेमा खुलेको डेरीमा ५ वर्ष बोकेर पुर्‍याएँ । 

सुभाङका महेश्वर भण्डारीले गाउँमै दूध डेरी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ । ६ वर्षदेखि भण्डारीकै डेरीमा दूध पुर्‍याउने गरेको छु । यसरी दूध ओसार्ने डेरी फेरिए । दूध जम्मा गर्ने थुप्रै ट्यांकी फाटे । तर, मेरो मन कहिल्यै फेरिएन । यति दु:ख गर्दा धेरथोर कमाएर खर्च पनि गरियो । काम सुरु गर्दा दूध बोकेको पारिश्रमिक प्रतिलिटर आठ आना (पचास पैसा) मिल्थ्यो । त्यसबेला ७० लिटर दूध बोक्दा दिनमा ३५ रुपैयाँका दरले महिनाको १ हजारजति कमाइ हुन्थ्यो ।

उतिबेला कमाइअनुसार खर्च थोरै हुन्थ्यो । महिनामा सरदर ५ सय रुपैयाँले घर खर्च चल्थ्यो । अहिले श्रीमान्–श्रीमती मिलेर दिनकै १ सय १० लिटर दूध डेरीमा लैजान्छौं । प्रतिलिटर ७ रुपैयाँका दरले ज्याला मिल्छ । महिना मरेका दिन त्यही २५ हजार हाराहारी हात पर्छ । डेरी र चीज कारखानामा दूध ओसारेको ३० वर्ष बितिसक्यो । दूध बोकेर जम्मा गरेको केही रकममा ऋणधन थपेर ९ रोपनी जग्गा किनेको छु । जग्गा किन्ने बेला साहुबाट सयकडा २ रुपैयाँका दरले ब्याज तिर्ने सर्तमा २ लाख ऋण लिएको थिए । अपुग ऋण गुराँस लघुवित्तबाट निकालेको छु । साहुलाई ब्याज तिर्न महिनामा ४ हजार र लघुवित्तका लागि १२ हजार चाहिन्छ ।”I have been making a living by carrying milk in the dairy for 30 years”२ छोराछोरी १२ कक्षामा पढ्छन् । कापी, कलम र पोसाकमा ४ हजार खर्च हुन्छ । तरकारी किन्न पर्दैन । चामल, नुन, भुटन र मरमसलाका लागि महिनामा ५ हजार खर्च हुन्छ । श्रम गरेपछि मासु खान परिहाल्यो । खसी र लोकल कुखुरको मासु किन्दा प्रतिकिलो ७ सय पर्छ । ब्रोइलर कुखुरा र राँगाको ३ सय ५० रुपैयाँ किलोमा आउँछ । महिनामा पाँचपटक मासु खाँदा त तीन हजार रुपैयाँ खर्च भइहाल्छ । ब्याजसमेत गरेर महिनामा २८ देखि ३० हजार घरखर्च चाहिन्छ । 

के गर्ने ? बेलामा लेखपढ गर्न सकिएन । सरकारी जागिर खाएको भए बरु २० वर्षमा पेन्सन मिल्थ्यो होला । तैपनि जिन्दगीसँग गुनासो छैन । परिवारसँग हाँसीखुसी बस्न पाइएको छ । लिटोपिठो खुसीसाथ बाँडेर खान्छौं । धेरै सम्पत्ति जोड्न नसके पनि हातमुख जोर्न समस्या छैन । धेरै कमाउनेले पनि मरेर जाँदा एकसरो कात्रोबाहेक केही लगेको देखेको छुइनँ । त्यसैले बाँचुन्जेल सुखसँग बाँच्न पाइयोस् भन्ने लाग्छ । नमिठो बोलेर अहिलेसम्म कसैको मन दुखाएको छैन । बाँचुन्जेल सबैसँग राम्रो व्यवहार गर्ने संकल्प लिएको छु । 

प्रस्तुति : लक्ष्मी गौतम 

हरि

Link copied successfully